डराउँछ अमेरिका,
बॉंसघारीमा लागेको आगोदेखि डराउँछ
कुनै उत्सवमा आकाश च्यात्दै
पड्किने रकेट पटेकादेखि
डराउँछ।
एक बटुको अँध्यारोदेखि
डराउँछ
अमेरिका।
जब मजदूरको टिपिन खोेलिन्छ र
निस्किन्छ डड़ेको रोटी
अमेरिकाको सातो जान्छ।
रोटीको रङ किन कालो?

मनाेज बाेगटी (दार्जीलिङ)

रोटीको आकार किन गोलो?
सोध्छ अमेरिका
सोधेर हैरान पार्छ अमेरिका।
नानीहरू स्कूल जान अघि
व्याग खोतल्छ
हरेक पन्ना पल्टाउछ
र उसले सिक्दै
गरेको बाङ्गो वर्णलाई
घोत्लिएर हेर्छ
क्याफेबाट
जब निस्किन्छ युवक
स्वास्नीलाई ईमेल गरेर
उसको भाषाको पछि लाग्छ गुप्तचर
‘के लेख्यो त्यसले?’
सोध्छ अमेरिका।
कतै जोरले कुकुर भुक्यो भने सुत्न
सक्तैन अमेरिका
कतै सुनसान भयो भने सुत्न सक्दैन
अमेरिका
डराउँछ अमेरिका।
जब अमेरिका डराउँछ
विचारमाथि नागरानी शुरु हुन्छ
गीतको पछि लाग्छ
कविताको भाषा केलाउँछ
र निकाल्छ अर्थ
र घन्टौं घोरिन्छ।
जब अमेरिका डराउँछ
कुनै पनि घरको शान्ति
हराउँछ
जब अमेरिका डराउँछ
अँध्यारोमा चल्ने हावा संदिग्ध बन्छ
जब अमेरिका डराउँछ
आफ्नै छोरीको
भित्री लुगा छाम्छ
अगेनोमा आगो कराउन थाल्यो भने
अमेरिकाको दिमाग सल्किन्छ
आँगनमा घाम
विस्तारै हिँड्यो भने
अमेरिकालाई लुगा बिझाउँछ
ठूलोस्वरमा
कतै नानी रोयो भने
अमेरिका गोजी छाम्छ
ठीक ठाउँमा छ कि छैन पिस्तोल?
चित्रकारको क्यानवसमा
किन
रातो रङ धेर छ?
कविले कविता वाचन गर्दा
किन
मुट्ठी उठाउँछ?
गायकको सङ्गीतमा किन
कर्कशता धेर छ?
स्वास्नीको क्लिपमा क्यामेराजस्तो के
हो त्यो?
छोरीको बोइफ्रेन्डले बोक्ने
लाइटरमा किन कम्पनीको नाम छैन?
डराउँछ अमेरिका।
जब अमेरिका डराउँछ
पृथ्वीको छाया हराउँछ।
काफरे अमेरिका
दिमागदेखि डराउँछ
मर्नदेखि डराउँछ
कि बॉंच्नदेखि डराउँछ?
डराउँछ अमेरिका।

कवितासंग्रह “काफरे अमेरिका”बाट