१. आरम्भ
गीतकार विश्वराज अधिकारी र म दुवै अमेरिकामा बस्छौँ । भौतिक भेट त त्यस्तै कुरा हो, तर प्रविधिका कारणले आफन्तिएका छौँ । अधिकारीको गीतसङ्ग्रह ‘अधुरो प्रेम’ प्रविधिको घोडा चढी अचम्मले मेरा कम्प्युटरका भित्तामा आयो । त्यसले मेरो सामिप्य खोजिरहेको थियो । म गीतको यस्तो फ्यान हुँ, जसलाई न त गीत लेख्न आउँछ, न त सङ्गीत भर्न, न गाउँन । तर म गीत नसुनी कुनै काम गर्न नै सक्दिनँ । आफ्ना कलेजीय जीवनमा अति सानो तर थोत्रो जापानी नेसनल पानासोनिक रेडियोको एरियलमा बिजुलीको तार बाँधेर छानामा लगी लामो एण्टिना बनाएको क्षण अहिले सम्झिरहेको छु । किनभने मधुरो स्वरमा नेपाली वा हिन्दी गीत सुनिरहेर मात्र पढ्न, लेख्न मन लाग्थ्यो । त्यो गीतको मधुरतामा ध्यान एकत्रित हुन्थ्यो । अहिले पनि त्यस्तै हुन्छ । मध्यरातको सुन्यतामा मधुरो भोलुम बनाएर सङ्गीत सुन्नुको आनन्द केही कसै गरे अन्यत्र पाइन्न ।
अँ त अहिले म बहुप्रतिभाशाली गीतकार विश्वराज अधिकारीको ‘अधुरो प्रेम’का सामिप्यमा छु । त्यसो त म उहाँका अरू व्यक्तित्वहरूसँग पनि परिचित छु । कथा लेख्नु हुन्छ । लघुकथा लेख्नु हुन्छ । उपन्यास लेख्नु हुन्छ । कविता लेख्नु हुन्छ । निबन्ध र प्रबन्ध लेख्नु हुन्छ । अमेरिकामा म्यानेजमेण्ट पढाउनु हुन्छ । कम्प्युटरसँग खेल्नु हुन्छ । प्रविधिमा परख राख्नु हुन्छ । नेपाली भाषा त मातृभाषा भइहाल्यो, त्यसबाहेक अङ्ग्रेजी, हिन्दी, भोजपुरी तथा बज्जिकामा भावनाका खोला कुदाउनु हुन्छ । मृदुभाषाी हुनुहुन्छ । सरल हुनुहुन्छ । वीरगञ्जको देहाती परिवेशदेखि अमेरिकाका अनुभव छन् उहाँसँग । त्यसैले बहुप्रतिभाशाली तथा बहुभाषी तथा बहुसांस्कृतिक स्रष्टा हुनुहुन्छ । उहाँ जस्तो बहुप्रतिभाशाली व्यक्तित्वको गीत सङ्ग्रहमाथि केही लेख्नु मेरो दुस्साहस हुनजान्छ । तथापि म आफू गीतप्रेमी भएकाले त्यही कोणबाट त्यही प्रेम शब्दका मालामा ‘अधुरो प्रेम’लाई व्यक्त गर्न चाहेको मात्र हो । रमण गर्न चाहेको मात्र हो । व्यक्तिगत नजरिया पस्केको मात्र हो । त्यसैले यसरी बुझिदिनुहोस् कि, पक्कापक्की कुरा हो – यो समीक्षा वा समालोचना केही होइन ।
२. कलेवर
गीतसङ्ग्रहको अग्रभागमा ‘अधुरो प्रेम’ शीर्षकलाई रातो र घाइते हृदयभित्र शान्तिको प्रतिक सेतो रङमा राखिएको छ । विभिन्न रङमा सजिएको अग्रभागमा सूर्य उदाउँदै गरेको र एउटा खोलाको किनारमा उभिएर एक छायाँ कसैलाई पर्खिबसेको देखिन्छ । त्यही छायाँका छेउमा ‘विश्वराज अधिकारी’ नाम उल्लेख भएको छ । यसले एउटा गम्भीर तर अधुरो प्रेमील सङ्केत गरेको छ । यसैगरी पश्चभागमा गीतकारको तस्वीर, सानो परिचय र उहाँका प्रकाशित कृतिहरूको फिहिरिस्त छ । यो भाग गीतकारको बहुआयामिक व्यक्तित्वको साक्षी बसेको छ ।
गीतकारकी आमा सावित्रीदेवी उपाध्याय प्रकाशक रहनु भएको छ । मातृवात्शल्य र मातृप्रेमको नमुना बनेको छ यो खण्ड । २०७७ सालको पुस महिनामा छापिएको सो पुस्तकमा नेपाल प्रज्ञाप्रतिष्ठानका आख्यान तथा गद्य विभाग प्रमुख वरिष्ट कथाकार माया ठकुरीले ‘उहाँले रचना गर्नु भएका गीतहरूमा आकर्षक शब्द र भावको प्रयोग भएको छ’ भनेर शुभकामना दिनु भएको छ । त्यसैगरी वरिष्ट कवि उषा शेरचनले मानव जीवनमा गीतको महत्त्वमाथि प्रकाश पार्दै शुभकामना दिनु भएको छ । यही क्रममा ‘नवप्रज्ञापन’ साहित्यिक पत्रिकाका सम्पादक÷प्रकाशक नवराज रिजालले प्रस्तुत कृति ‘अधुरो प्रेम’ मा उहाँका जीवन दर्शन देखि मायाप्रेम र देश भक्तिसम्मका गीतहरू सङ्कलित छन्’ भन्नु भएको छ । प्रकाशकीय आमाको खुसीको प्रतीक बनेर आएको छ । त्यसपछि गीतकारले आफ्नो लेखकीय लेख्नु भएको छ, जसमा गीतको महत्ता र सौन्दर्यलाई सुन्दर शैलीमा विवेचन गरिएको छ ।
३. विषयप्रवेश
‘अधुरो प्रेम’ गीतसङ्ग्रहमा दुई खण्ड छन् ।
पहिलो खण्ड: यो खण्डमा बाह्रवटा अलग अलग बुँदामा गीतको शास्त्रीय विवेचन गरिएको छ । गीत के हो ? किन सुनिन्छ ? उत्पत्ति, गीत सम्बन्धी पूर्वीय तथा पश्चिमी मान्यता नेपालमा गीतको प्रभाव आदिको व्याख्या गरिएको छ । यही खण्डमा गीतको प्राज्ञिक ज्ञान प्रविष्ट भएकाले मलाई खजाना पाएको अनुभूति भएको छ । पाठकका लागि निकै लाभदायी हुन्छ होला भन्ने आँकलन गरेको छु ।
भनिन्छ गीतमा गेयात्मकता, लयात्मकता तथा प्रभावकारिता हुनु आवश्यक हुन्छ । गीतले यो चरण पार गर्न गीतकार, सङ्गीतकार तथा गायकको भूमिका खोज्छ । छन्द मिलाउँदै, तुकबन्दी मिलाउँदै गाइने गीतले मान्छेको अव्यक्त मनस्थितिलाई छुन्छ । हृदयको भित्री तहमा सुम्सुम्याउन थाल्छ । पुलकित बनाउँछ । मान्छेको आवेग र पीडालाई समन गर्छ । मलम लगाउँछ । बाँच्नका लागि सङ्घर्षशील उर्जा दिन्छ । त्यसैले मान्छेको हरेक परिस्थितिमा परम मित्र बन्न पुग्छ गीत ।
गीतकार अधिकारीले यो पुस्तकमा गीतसम्बन्धी पूर्वीय इतिहास वा लोकोक्ति इतिहास (पृ.१९÷२०) र पश्चिमी प्रयोग (पृ. २२) आदिको पनि मजाले छोटो मीठो व्याख्या गर्नु भएको छ । पूर्वीय सभ्यतामा वैदिक सभ्यताका आदि कवि बाल्मिकीले माता सरस्वतीका अनुकम्पाले रचना गरेको क्रन्चको प्रेमविरह गीतको प्रसङ्गबाट उठान गरिएको छ । पश्चिमी गीतसम्बन्धी लोककथामा ओरफियस र युरिडाइसको प्रेमकथा र गीतको शक्तिलाई उद्धरण गरेर गीतकारले मीठो ज्ञान पस्किनु भएको छ । पूर्वमा पनि दीपक राग र मेघ मल्हार रागको शक्तिको कथ्य प्रसङ्ग (पृ. २४)ल्याएर पुस्तकलाई पठनीय बनाइएको छ । शिवको ताण्डब नृत्यको महत्ता र प्रभावको बारेमा पनि चर्चा भएको छ (पृ. २६) । भगवान शिवले प्रकृतिको चक्रमा पर्ने तीन क्रियाहरू रचना, संरक्षण र विनासका लागि ताण्डब नृत्य गर्ने पूर्वीय मान्यता उजागर गरिएको छ । गीतमा क्रान्ति ल्याउने शक्ति हुन्छ भन्ने सन्देश दिन ‘गाउँ गाउँबाट उठ…..’ भन्ने गीतलाई उदाहरण दिनुभएको छ (पृ. २८) ।
विदेशमा पनि गीतको प्रभावका बारेमा ‘ग्लुमी सन्डे’ गीतको उदाहरण दिनु भएको छ । आफ्नी मृत प्रेमी÷प्रेमिकाको विछोडको पीडाले छटपटाएको बेला प्रेमी÷प्रेमिका भेट्न आत्महत्या गराउन उत्प्रेरित छ यो गीत । यो गीतको प्रभावले गर्दा कैयौँले आत्महत्या गरेको यथार्थ घटना विम्वित गर्नुभएको छ (२९) । यो गीत गाउन हंगेरीमा अझै प्रतिवन्ध रहेको र बेलायतमा भर्खर मात्र फुकुवा भएको रोचक प्रसङ्ग पुस्तक भित्र छ ।
दोस्रो खण्ड: दोस्रो खण्डमा उनान्असी वटा गीतहरू समावेश गरिएको छ । ती गीतहरूले समाजका विभिन्न पक्षका मनोद्वन्द्वहरू प्रकट गरेका छन् । गीतको स्पर्श सोझैँ मुटु तथा हृदयमा हुने भएकाले यहाँ प्रयुक्त गीतहरूले समाजका प्रेमील विविधताहरू पस्कने जमर्को गरेका छन् । विभिन्न अन्तरङ्ग अधुरो प्रेमका भावहरू समेटिएका छन् । गीतमा प्रवाहित गरिएका भावहरूका आधारमा हेर्दा निम्न बुँदा अगाडि आउँछन् ।
जीवनवादी – खासमा गीतले जीवनका विविध आयामको चर्चा गर्दै जीवनबोध गराउँछन् । जीवनबोध भनेको हरेक मान्छेको लागि निकै महत्त्वपूर्ण कुरा हो । गीतकार अधिकारीले पनि आफ्ना गीतको माध्यमबाट जीवनलाई सूक्ष्म तरिकाले हेर्ने कोशिस गर्नु भएको छ । जीवनलाई मधुप्यालासँग तुलना गर्नु भएको छ । एउटा उदाहरण –
मधु जीवन रङ्ग
मधु जीवन तरङ्ग
मधु मधु प्याला (मधुप्याला पृ. ३२)
खासमा मान्छेलाई जीवनमा विगतले धेरै मीठो अर्थ राखेको हुन्छ । आफ्ना बैँसालु दिनहरूका सम्झनामा आएका उभारलाई सम्झँदा मात्र पनि मान्छे रोमाञ्चित हुन जान्छ । यही कुरालाई व्यक्त गर्न गीतकार मन्त्रमुग्ध हुनुभएको छ । केही उदाहरण –
लाग्छ कहिले जीवन हो कि सम्झनाको सार
सम्झनामा नै जीवनको सुख अपार (सम्झनाको उपहार ५७)
वाचाहरूको लस्करमा हरेक दिन उत्सव थियो
बाँच्ने रहर जागेर पलपल जीवन महोत्सव थियो (सम्झनाको बस्ती ६९)
गीतकारले जीवनलाई अर्को कोणबाट पनि हेर्नु भएको छ । जीवनको असफलताबोध, प्राप्तिको चाहना तथा रहरको मृत्युलाई नजिकबाट छुँदै स्तब्ध हुनुभएको छ । उदाहरणहरू –
जीवन केवल दुःखै दुःखको सार भो
घाटामा रित्तिएको बेपारीको बेपार भो (अटुट आश ५८)
रहरको शहरमा हराएको छु
आफुले आफैँलाई झुक्याएको छु (रहरको शहरमा ६०)
छोपिँदैन भन्छन् घाम सात बादल थपे पनि
रोकिँदैन ज्योति कत्ति अग्लो पहाडले रोके पनि (नियतिको खेल ८६)
छ नअघाउने भोक अन्तहीन छ आवश्यकता
केवल सुख सुबिधा भन्छन जीवनको सार्थकता (स्वार्थको भार ८८)
आज भयो हिजो भोलि फेरि आज भयो
मुठ्ठीको बालुबा झै जिन्दगानी हाम्रो झ¥यो ((कस्तुरी मृग ९०)
जीवन नाटक मञ्चन हुने यो निर्देशन कसको
पात्रहरू को को हुन् बुझ्न नसकिने नाटक यो (आशामा जिन्दगानी ९४)
सुखमा हाँस्छ आँशु दुःखमा रुन्छ आँशु
थाहै नदिई एक्लै आँखाबाट झर्छ आँशु ((रुन्छ आँशु )
यसरी गीतकारले जीवनलाई सुख–दुःख, नाटक–यथार्थ, समय मिलान–कटान, आवश्यकता–सार्थकता, नाफा–घाटा आदिका कोणबाट हेर्नु भएको छ । वास्तवमा जीवन जसरी बुझ्यो, त्यही ठिकजस्तो लाग्छ । यो कुरा जीवनवादी दृष्टिकोणमा उजागर भएको छ ।
निराशावादी
गीतकार अधिकारीका गीतहरूमा निराशावादी चिन्तन पर्याप्त देखिन्छ । जीवन भोग्दा भोग्दा प्राप्ति तथा अप्राप्तिका जन्जिरले बाँधेका बखत मान्छेमा आउने स्वाभाविक निराशावादी चिन्तन गीतका माध्यमबाट व्यक्त भएका छन् । मान्छे युगलाई जित्न खोज्छ । मान्छे केही उपलब्धि प्राप्त गरौँ भन्ने चाहन्छ । तर जब त्यो उपलब्धि पाउँछ, अनि त्यो उपलब्धि उसका लागि गौण बनिदिन्छ । फेरि ऊ असीमित चाहनाको शिकार बन्छ । यो चाहना यस्तो जब्बर हुन्छ कि त्यो कुनै हालतमा प्राप्त हुँदैन । अनि मान्छे निराशामा पुग्छ । ‘अधुरो प्रेम’ पनि यस्तै निराशाहरूको दर्दभित्र बसेको छ । असन्तोष छ । र यसरी असन्तोष हुनु भनेको मानवसभ्यताको विकासको मुहान हो । गीतकार अधिकारीका गीतमा पाइने निराशाका केही फलकहरू यस्ता छन् –
कथा जति व्यथा बने पतझड वसन्त बहार भयो
मेरो लागि दिलको रहर अर्कै ग्रहको संसार भयो (सम्झनाको शूल ४४)
सल्किरहन्छ धुवाँ नआइ भित्रभित्रै मन आगो
डरलाग्दो हुन्छ वनभन्दा नदेखिने मन आगो (मन आगो ४६)
रहरले यहाँ विवश भएर केवल कहर खान्छ
पीडा खप्न नसकेर प्रत्येक दिन जहर खान्छ(अविरल प्रेम ८७)
अलिकति फूल धेरै शूल हो
जिन्दगी सहि थोरै धेरै भूल हो (राम कहानी ९९)
माथि उल्लेखित गीतहरूले मानवजीवनका विविध खाले निराशालाई प्रष्ट पारेका छन् । गीतका माध्यमबाट मनभित्रका निराशाहरूलाई व्यक्त गर्दा जीवन सन्तुलित हुने सत्यलाई गीतकारले उजागर गर्नु भएको छ ।
प्रेम
वास्तवमा गीतको केन्द्रीय भाव नै प्रेम हो । प्रेमको परिभाषा र अर्थ लगाउँदा लगाउँदै जीवन बित्छ मान्छेको । जीवनमा प्रेमले अनेकौँ प्रश्नहरू अनुत्तरित बनाइदिन्छ । प्रेम भन्नु प्राप्ति हो वा अप्राप्ति, पुरस्कार हो वा त्याग, अधुरो हो वा मधुरो, जन्म हो वा मृत्यु, यी प्रश्नहरू हिजो पनि अनुत्तरित थिए, आज पनि छन् । सायद भोलि पनि हुने नै छन् । गीतकार अधिकारीले गीतको माध्यमबाट प्रेमको यही अर्थ खोज्नु भएको छ । उदाहरणहरू हेरौँ –
म थिएँ तिम्रा यादहरू थिए मन लठ्ठिएको मात थियो
सुनाउँन बाँकी तिमीलाई मसँग तर धेरै धेरै बात थियो (कालो रात ३४)
पल त्यस्तो आएन कहिले पनि तिम्रो याद नआएको
त्यस्तो भएन कहिले सम्झनामा तिम्रो गीत नगाएको (आएन कहिले ३५)
जति जति टाढा भयो त्यति नजिकिए झैँ लाग्छ
सम्झनमा सँधै भरि उसैको हजुर बेरिए झै लाग्छ (सम्झना छाया३६)
मनको आँखामा
आँखाको मनमा
तिम्रो नै छायाँ छ (फूलको बात ४०)
खोली बस ढोका मनको कोही पक्कै आउँदै छ
मुटु भरि कोसेली सम्झनाको मुरी मुरी बोकेर ल्याउँदै छ (ढोका मनको ४१)
आँखाभरि साँचेको माया छैन पोखिएको
मर्दैन त्यो माया यो हृदयभरि खोपिएको (साँचेको माया ६३)
रूपको सिमाना नजरको खजाना तिमी अरू के भनाँै
मुटुभरि टाँस्सिएको तिम्रो सुन्दर तस्वीर यस्तो थियो (भेट्ने आशा ६७)
रातमा पुग्छु त्यो गाउँमा सय पटक दिनमा हजार
तिमी हेर्ने प्यास नमेटिने सम्झना बारम्बार (एउटा गाउँ ६८)
प्रेममा ताज छुट्यो प्रेममा बन्यो ताज
सात पर्खालले रोक्न सकेन प्रेमको आवाज (ताज छुट्यो)
गीतकारले धेरै खाले प्रेमको चर्चा गर्नु भएको छ । त्यसमाथि पनि आत्मिक प्रेमलाई हृदयका अन्तरकुन्तरमा राखिएको छ । प्रेमलाई आत्माको मीठो ओछ्यानमा सर्लक्क सुताइएको छ । उदाहरण हेरौँ –
धन सम्पत्ति होइन
आज अरु कुनै बात गर
सुन चाँदी होइन, मायाको साथ गर (धनको दुनियाँ)
आज फेरि आकाश भरि बादल छाएको छ
कसैको यादले मनलाई उज्यालो बनाएकोछ (बादल छाएको)
माथिका टुक्रा गीतलाई हेर्दा मात्र पनि गीतकारले धनभन्दा प्रेम ठूलो भन्ने मान्यता अघि सारेको देखिन्छ । प्रेमका यादहरूबाट उत्पन्न हुने छट्पटि व्यक्त भएको छ । सम्झना, तिर्सना, पर्खाइको व्यग्रता हृदयको आवाज सबै मुखरित भएका छन् । प्रेमिकासँग लट्ठिएको मात, मारेका बात, आँखाको भाका, मन र मुटुका आवाजहरू सबै व्यक्त भएका छन् ।
बिछोडको पीडा
गीतसङ्ग्रहको शीर्षक नै ‘अधुरो प्रेम’ भएकाले जाहेर छ, त्यसभित्र विछोडिएका अस्मेल पीडा छन् । विरह र विस्मृत चेतनाका श्रृङ्खलाबद्ध कहरहरूका बारेमा बोलिएको छ । वास्तवमा गीत विरह, पीडा, वलिदान, विछोड भन्ने कुराले आत्मा धरधरी रोएको हुन्छ । ती रुवाइहरू गीतकारले आफ्ना गीतमा टपक्क टिप्नु भएको छ । उदाहरण हेरौँ –
पुगौँला कुनै दिन त सपनाको त्यो गाउँमा
भेटौँला कसैलाई फेरि त्यही सुनौलो ठाउँमा (भेटौँला कसैलाई पृ. ३८)
सम्पत्ति झैँ ती याद छन् मनको काप कापमा
एक्लै छु सुन्य छ तर पनि छ कोही साथमा (आज फेरि पृ. ३९)
म छु धरतीमा मन छ आकाशमा
चम्किलो मुहार छ यादको प्रकाशमा (यादको प्रकाशमा पृ.४३)
कालो अन्ध्यारो चारैतिर किट पतङ्गको साम्राज्य थियो
भदौरे शीतल रातमा तर कोही आउने मधुर आश थियो (चमेली सुगन्ध५५)
कुनै दिन त सपना त्यो साकार होला
फर्किने छ कहिले बगेको त्यो खोला (मेरो जिन्दगानी पृ. ७६)
गीतकारलाई आफू विछोडिएको गाउँ पुग्ने धोको छ । विछोडिएर एक्लै भएको पीडा छ । प्रेमिका विछोडको याद आएको छ । विछोडिएको प्रेयसीलाई भेट्ने आशामा बाँचेका छन् । विछोडलाई खोलासँग तुलना गरेर गीतकार कुनै दिन त खोला पनि फर्केला भन्ने विश्वास गरिएको छ ।
प्रकृति प्रेम –
गीतमा प्रकृतिको स्थान सदैव उच्च रहिआएको छ । खोलाका कलकल, पानीका फोहोरा, हरियो वन, त्यसमाथि चिरविर गरिरहेका चराचुरुङ्गी, शितल हावा गीतमा प्रेमको प्रतिक बनेर उभिन्छन् । यही परम्परालाई कायम गर्दै गीतकार अधिकारीले आफ्ना गीतमा प्रकृतिलाई प्रेमको बिम्बमा पस्किनु भएको छ । उदाहरण हेरौँ –
आज फूलै फूल पात पातमा
मधुपर्क हरेक बात बातमा (फूलैफूल ४२)
वसन्त छ निखार छ सृष्टिको सार छ
मुहारमा उसको कोटी सूर्यको प्रकाश छ (कसैको सुगन्ध ५०)
बेली चमेली र सुगन्धमय राज थियो
आकाशमा झलमल्ल प्रकाश थियो (बादलको डोली ५१)
जुन तारा जागा थिए बेली चमेली सुवास साथमा
सम्झना छरिएका थिए चारैतिर एक्लो कालो रातमा (आँखाभरि आकाश ५३)
सुतेका बगैँचा लहरा फूल फूल पात पात
जागे अब सुनेर कसैको मिठो मिठो बात (प्रेम मात ८१)
उपर्युक्त गीतका वचनहरूलाई हृदयाङ्गम गर्दा प्रेमील बातको जीवनमा महत्त्वको याद आउँछ । त्यो प्रेमलाई अभिव्यक्त गर्न बगैँचाका लहरा, फूल पात, जुन, तारा, बेली चमेलीफूल, वादल, वसन्त सूणर्् तथा मधुपत्रको सहयोग लिइएको छ । प्रकृति चित्रणले गीत सुमधुर बनेको छ । प्रकृति चित्रण सुन्दर भएको छ ।
शृङ्गार/बासना
आखिर मान्छेको जीवनमा बैँस आइहाल्छ । बैँसले मीठो झन्कार दिइहाल्छ । विपरीत लिङ्गी आकर्षणले दुन्दुभी बजाइहाल्छ । प्रेमी÷प्रेमिकाको बयान मात्रले पनि मन रोमाञ्चकताको कम्पास उकाली चढिहाल्छ । यो परिस्थितिमा कवि गीतकार पनि शृङ्गार रसमा लेख्न थाल्छन् । विभिन्न उपमा, बिम्ब र प्रतीकको प्रयोग गरी शृङ्गार वा बासना पनि प्रकट भइहाल्छन् । आखिर मानव सभ्यताको मूल मुहान लिङ्ग र योनिले बनाएको यथार्थ हो । खासमा भन्ने हो भने शृङ्गार र बासनाको छनक नभइ गीत नै आकर्षक हुन्न । यी कुरालाई गीतकार अधिकारीले यो गीतसङ्ग्रहभित्र उजागर गर्नु भएको छ । उदाहरण हेरौँ –
बिति सक्यो रात सबै एक पहर बाँकी छ
भनी सक्याँ कुरा सबै मन खोल्न बाँकी छ (विश्वासको सीमा ४५)
सून्य एक्लो रात थियो हातमा हात थियो
कल्पनाको सागर उर्लिएको मिलनको मात थियो ( जुनतारा ५६)
ओठभरि हाँसो नै हाँसो आउ बिस्तार गर
होस होइन आज तर मातको बात गर
केही छिन भए पनि आउ मेरो साथ गर (साथ गर ६१)
अलिकति यौवनको अनि मौसमको मात थियो
भन्नै नसकिने कति कति त्यो उन्माद थियो (चाँदनी रात ६५)
कति नै भयो र फूलेको बगैँचामा उमेरको
कति नै भयो बदनमा वसन्ती रङ्ग चढेको (ए जवानी ७७)
शृङ्गार र बासनाका सामलमा गीतहरू चुर्लुम्म डुब्नु भनेको गीतले आफ्नो धर्म निर्वाह गर्नु हो । त्यसैले गीतहरू उमेर वसन्तमा खेल्न आतुर छन् । यौवनको उन्मादमा रङ्गिएका छन् । रातको समयमा मातिन खोजेका छन् । यसरी गीतकार सफल हुनुभएको छ ।
स्वच्छन्दता –
गीतको एउटा स्वभाव हो मनमौजी स्वच्छन्दता । गीतकार अधिकारीले यो स्वच्छन्दतालाई वायुका बिम्बमा उतार्नु भएको छ । उदाहरण हेरौँ ।
वायु भन्दा तेज गतिमा दौडिन्छ मन
पलमा सात समुन्द्र पार पुगि दिन्छ मन (दोडिन्छ मन ४७)
मान्छे कल्पनाका आकाशमा उड्न चाहन्छ । मनमा लागेका कुराहरू बिनारोकटोक खुला गर्न चाहन्छ । तर समाज, सभ्यता तथा परिवेशले त्यो स्वच्छन्दता प्रयोगमाथि बन्धेज गरिदिन्छ । त्यसैले मान्छे गीतका मधुर लयमा पोखिन चाहन्छन् । स्वच्छन्द हुन चाहन्छन् ।
राजनीतिक
जीवनलाई राजनीतिक अवस्थाले निकै ठूलो प्रभाव पारेको हुन्छ । वास्तवमा राजनीति भनेको सबै नीतिहरूको राजा हो । सही तरिकाले राजनीति सञ्चालन भएन भने मान्छेमा वितृष्णा, मोहभङ्गको स्थिति आइहाल्छ । यही राजनीतिक वितृष्णालाई गीतमा उतारिएको छ । उदाहरण हेरौँ –
सूर्यलाई बोकेर जब आयो ऊ बस्तीमा
लक्ष पूरा भयो भन्दै डुब्यो ऊ मस्तीमा
सूर्य उदायो गाउँमा तर बस्ती खरानी भयो
यसरी जबानी एउटा कहानी बनेर ढल्यो (जीवित कहानी ६६)
विदेशिएकाको पीडा
गीतकार अधिकारी आफैँ विदेशमा बसिरहेका हुनाले स्वदेशसँग विछोडका तडपनहरू आफैँले भोगेको भौतिक तथा मानसिक परिस्थिति छ । त्यसकारण उहाँका धेरै गीतहरूमा परदेशको पीडा उजागर भएको छ । उदाहरण हेरौँ –
सात समुन्द्र पार छु धेरै धेरै टाढा ऊदेखि
हरपल सान्त्वना दिने सम्झनाको विशाल काया (उसको माया ३७)
घर छाड्छ गाउँ छाड्छ अनि छाड्छ आफ्नो देश
छाड्छ आफ्नो माटोको सुवास आफ्नो भाषा भेष (सुख शान्ति १००)
अमन चयन परदेशमा अति पाए झै सँधै गौरव गर्छ
आफ्नो माटो सम्झीएर रोइ रोइ फेरि आँशु निकै झार्छ
मान्छे किन यस्तो अभिनय गर्छ ? (अभिनय गर्छ९३)
हराएर आफैले जिन्दगी फेरि खोजिरहेछु
खुसीमा बाध्यतामा जिन्दगी भोगिरहेछु (हराएर आफैले १०३)
परिस्थितिको आँधिमा उडेर नचाहेर कता कता पुगेँ म
आफ्नो एउटा थलो नभएको सुकेको भएँ पात म (उज्यालो नभएको ३३)
वास्तवमा आफ्नो मातृभूमि छोडेर बाध्यताले विदेशिँदा होम सिक हुन्छ । र त्यो होम सिकले विदेशिएकालाई मर्नु न बाँच्नु बनाउँछ । विदेशको भूमिमा जतिसुकै सुख, सुविधा तथा आय आर्जन भए पनि उनीहरूको जीवन नैराश्यमय हुन्छ । सधैँ स्वदेश सम्झने र चिन्तित हुने अवस्थाको सिर्जना हुने हुन्छ । यो कुरालाई गीतको माध्यमले निकै मीठो शैलीमा व्यक्त गरिएको छ । परदेशको वास्तविक जीवनलाई गीतको केन्द्रीय विषय बनाइएको छ ।
उपसंहार
सङ्ग्रहभित्र उनिएका गीतको मधुमय वातावरणबाट अब उपसंहारमा आइपुगेको छु । आनन्द भएको छ । यो सङ्ग्रहभित्र पस्दाका समयहरू सार्थक भएका छन् । गीतको महिमा गाएर सकिने कुरै होइन । त्यसैले जन्मपूर्वदेखि मृत्युपछिसम्म पनि गीतले मानव मनमुटुमा प्रभाव पारिरहन्छ । जीवनका जटिलतादेखि अति सुखसम्म सबै बेला चाहिने मुख्य कुरा गीत नै हो । यस्तो सर्वव्यापक गीतलाई म के दोष दिऊँ ?
तर पनि गीतसङ्ग्रहभित्र गवेषण गरिरहँदा मेरो छिद्रान्वेसी बेहोराले गर्दा होला, गीतहरू भित्र भाव मात्र होइन शब्द नै दोहोरिएका तेहेरिएका छन् जस्तो लागेको छ । यसो हुनुमा गीतकारको ती शब्दको शब्दमोह पनि हुनसक्छ । जस्तो ‘अलिकति खास गर (फूलको बात ४०) ‘अलि खास छ’ (मनको आँखामा ४८) ‘एकदम खास थियो’ (चाँदनी रात ६५) मा खास शब्द धेरै प्रयोग भएको छ । सुन्दा एउटै गीत पो हो कि भन्ने पनि लाग्दो रहेछ । कृतिको शीर्षक ‘अधुरो प्रेम’ रहेको छ । कृतिभित्र अधिकांश गीतहरू अधुरो प्रेमसँग नै सम्बन्धित छन् । तर पनि अधुरो प्रेम इतर विषयवस्तु पनि आएकाले शीर्षक–विषय तादात्म्यको अभाव भएको हो कि जस्तो लागेको छ । यद्दपि गायनका क्रममा संगीत हाल्दा के कति मिल्छ वा मिल्दैन, त्यो मलाई थाहा छैन, तर पनि कतिपय गीतहरूमा गीतको अन्तरा र स्थायी भाव मिलेर आएका छैनन् कि जस्तो पनि लागेको छ । गीतमा कोरस वा सहगायनको अवस्था के छ भन्ने पनि खुलेको छैन । स्थायी भाव र सहगायनको बिचमा लयात्मक तारतम्यको अवस्थाका बारेमा गीतभित्र पर्याप्त सङ्केत नदेखिएको महसुस गरेको छु ।
र अन्त्यमा, गीतको प्रेमील मन्द मुस्कान पठाएर यी गीतहरूले पाठकलाई मन्त्रमुग्ध बनाएका छन् । प्रेम, विरह, विछोड, परदेश, वात्शल्य, पीडा, स्वच्छन्दता, शृङ्गार तथा वासना आदिलाई ज्यादै शिल्पका सहाराले प्रस्तुत गरिएकाले गीत अब्बल भएका छन् । जीवनबोधका भावका गीतले मान्छेका मर्मभित्र छोएका छन् । गीतको शक्तिले मान्छे वसिभूत भएका छन् । गीतकारको यस्तो राम्रो भावना प्रष्फुटनलाई साधुवाद । कलम अनवरत अघि बढिरहोस् । शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।