“आज स्कूलबाट फर्कँदा जसरी भए पनि एउटा फुटबल किनेर ल्याइदिनु है, बुबा ? स्कूल बिदा पनि सकिन आँटिसक्यो के !”, छोरीले म स्कूलको लागि निस्कनै लाग्दा भनेकी थिई ।
उसको स्कूल भर्खर वार्षीक परीक्षा सकिएर बिदा भएको थियो । ऊ यो फुर्सदको समय उसलाई मन पर्ने खेल खेलेर बिताउन चहान्थी । त्यसको लागि उसलाई एउटा फुटबल नभई नहुने भएको थियो ।
उसले यसरी हरेक बिहान मलाई सम्झाउन थालेको पनि हप्ता दिन जस्तो भैसकेको थियो । यता मैले पढाउने स्कूलमा वार्षीक परीक्षा चलिरहेको थियो, त्यसकारण प्रायःजसो घर फर्किने बेला विद्यार्थीहरूका उत्तरपुस्तिकाहरू मेरो साथमा हुन्थे। उत्तरपुस्तिका साथमा हुँदा म कतै भुल्दैन्थेँ, या भनौँ, मलाई त्यसरी भुल्न निको लाग्दैन्थ्यो । बेला बेला पत्रपत्रिकामा आउने शिक्षकहरूको लापरवाहीका घट्नाहरूले मलाई सधैँ सचेत गराइरहन्थे । कहिलेकाहीँ उत्तरपुस्तिका साथमा नहुँदा भने बल किन्ने कुरा दिमागमै आउँदैन्थ्यो । यसरी म छोरीको फुटबलको मागको भाखा पर पर सारिरहेको थिएँ।
तर त्यो बिहानको उसको आग्रह अरूबेला जस्तो सामान्य थिएन। उसको आवाजमा एकखाले निराशा बोध गरेको थिएँ मैले। त्यो दिन मेरो विषयको परीक्षा पनि थिएन। आज भने पक्कै ल्याइदिनुपर्छ भनेर मनमनै प्रण गरेँ। बिर्सन्छु कि भनेर मोबाइलमा रिमाइन्डर पनि राखेँ।
मध्यान्हमा परीक्षा सकिएर स्कूलबाहिर निस्कनै लाग्दा मोबाइलमा रिमाइन्डरको टोन बज्यो । घण्टीसँगै मलाई बिहान घरबाट निस्कनैलाग्दा छोरीको अनुहारमा छाएको निराशा सम्झना भयो। बाइक स्टार्ट गरेर घरतिर हुँइकिएँ। घर नजिकै एउटा स्टेशनरी पसल छ, जहाँ म सधैँजसो पत्रपत्रिका र किताबहरू किन्न पस्ने गर्छु। बाइक स्टेशनरी अगाडि पार्क गरेँ। पसलमा थरिथरिका भकुन्डोहरू लटरम्म झुन्डिएका थिए । ती भकुण्डोहरू पंखाको हावासँगै घरि घडीको सुईको दिशातिर त कहिले उल्टो दिशातिर घुमिरहन्थे। एक्कसि मेरो नजर ती बलहरू माझ एक्लै झुन्डिएको निकै पुरानोजस्तो देखिने एउटा हरियो र सेतो रङको भकुण्डोमा पर्यो।
“ओहो सर, नमस्कार ! धेरैमा बाटो बिराउनु भयो त ? आरामै हुनुहुन्छ नि?” मलाई देख्नासाथै पसलेले सोधे। पसलको नियमित ग्राहक भएकाले पसलको साहु मलाई राम्रोसँग चिन्दथे।
“नमस्कार ! हजुर, मेरो त सब ठीक छ। हजुरको के छ?”
“सबै ठीकै छ भन्नुपर्यो। के कति कामले पाल्नुभयो बरू?”
“ ए, छोरीले फुटबल ल्याइदिनु भनेर हैरान पारेकी छे। त्यही लैजाउँ कि भनेर पसेको नि !”- मैले अघि मेरो आँखा परेको बलतिर हेर्दै उत्तर दिएँ।
पसलेहरू यति व्यापारिक हुन्छन् कि, उनीहरू ग्राहकको आँखाको दिशा हेरेरै उनीहरूको मनोविज्ञान सजिलै बुझ्न सक्छन्। उनले मेरो नजर एकतमास त्यो हरियो र सेतो रङको बलमा अडिराखेको देखेर होला, भने, “त्यो बल त निकै पुरानो हो, सर ! म हजुरलाई राम्रो क्वालिटीको अर्को बल देखाइदिन्छु ।”
पसलेले मेरो मनोविज्ञान आधाउधी मात्रै बुझेका थिए । मैले हेरेको त्यो बल थियो, तर म त्यो बलसँगै जीवनको धेरै पछाडिको समयमा पुगिसकेको थिएँ, त्यो कुरा पसलेले बुझ्ने कुरै भएन । व्यापारीहरू अक्सर वर्तमान र भविष्यको मात्रै हिसाब राख्छन् । भूतमा उनीहरू नाफा या नोक्सान केही देख्दैनन्, सायद त्यही भएर होला, नोस्ट्यालजिया उनीहरूको रूचीकर विषयभित्र पर्दैन। वैश्ययुग यस्तै नाफा-घाटाको बीचमा कतै अल्झिएको समय हो सायद ।
………
शुक्रबारको दिन थियो, त्यसैले स्कूलबाट चाँडै घर आएको थिएँ । घरमा आँउदा बुबाले एक नम्बर साइजको हरियो र सेतो रङको फुटबल किनेर ल्याइदिनुभएको रहेछ । त्यो देखेर म औधी रमाएको थिएँ । त्यतिबेला मलाई लागेको थियो, हाम्रा बाभन्दा जाती मान्छे यो संसारमै छैनन् । मैले उक्त बल मेरा लागि हो भन्ने थाहा हुनासाथ टपक्क टिपेर हातमा लिएको र ओल्टाइपोल्टाइ गरेर कहिल्यै बल नदेखे झैं गरी हेरेको अझै सम्झनामा छ। त्यसपछि भुइँमा राखेर स्कूल ड्रेसकै जुत्ताले बललाई केही पर पुग्नेगरी भ्वाक्क हानेको थिएँ। बल केहीबेर हावामा उडेर पुन: भुइँमा भ्यागुता झैँ उफ्रिएर झाडीमा गएर लुकेको थियो। मैले कत्ति पनि बेर नगरी झाडीमा छिरेर बल खोजेर ल्याएको थिएँ। बलमा अलिअलि धूलो लागेको थियो, टक्टक्याउँदै बललाई केहीबेर अन्यासै सुम्सुम्याउन पुगेको रहेछु। त्यो देखेर मेरा बुबाआमा दुबै जना मुसुमुसु हाँसिरहनु भएको रहेछ। उहाँहरुलाई देखेपछि भने ममा अनयासै लाज पलाएर आयो, केटाकेटी न परेँ। लाज छल्न बल लिएर म कोठाभित्र छिरेको थिएँ।
त्यो दिन कतिबेला चार बज्ला भन्ने मात्रै मेरो ध्याउन्न थियो । मेरो नयाँ बल साथीहरुलाई कतिबेला देखाउँ भन्ने मात्र थियो मलाई । त्यसैले आमाले भुटेर थालमा हालिदिनु भएको मकै हतार हतार खाएँ। केही मकै गोजीमा कोचेँ। अनि बल लिएर लागेँ घरेलु मैदानजस्तै भएको, ब्लुहेभनको चौरतिर । त्यो चौरको पछाडि ब्लुहेभन नामको होटल थियो, त्यसैले हामीले त्यो चौरको नाम ब्लुहेभन राखेका थियौँ । हामी त्यसलाई नेपालीमा प्रेमले ‘निलोस्वर्ग’ पनि भन्ने गर्थ्यौँ ।
त्यो दिनको व्यग्रताले मलाई चार बज्नु अगावै चौरमा घिच्याएको थियो। आशिकबाहेक अरू कोही पनि आएका थिएनन् । ऊ अघि नै आएर चाउचाउ खाँदै रहेछ। म उसको नजिक पुग्नासाथ पुरिया मतिर तेर्स्याउँदै चाउचाउ खान इशारा गर्यो। मलाई चाउचाउ थमाएर आफूचाहिँ बुटको तुना कस्नमा व्यस्त भयो । मैले एक मुठी चाउचाउ झिकेर अरु उसैलाई फिर्ता दिएँ । उसले भुइँमा राख्दिन इशारा गर्यो । मैले पनि त्यसै गरेँ । मैले पनि आफ्नो गोजीमा भएको मकै खान्छस् भनेर सोधेँ । उसले जुत्ता लगाइन्जेल पर्खन भन्यो । त्यसबेलासम्म पनि उसले मेरो हातमा भएको नयाँ बल देखेको थिएन, त्यसैले मैले आफैँले बल देखाउँदै भनेँ, “यी मेरो नयाँ बल!”
उसले बल्ल हेर्यो । मैले काखीमा च्यापिराखेको नयाँ बल देखेपछि उसले उत्साहित हुँदै बलको मूल्य र कसले किनेको भन्नेबारे जिज्ञासा राख्यो ।
मलाई आँप खानु थियो, त्यसैले म रूख गन्नतिर लागिनँ । मलाई त केवल बलसँग सम्बन्ध थियो, त्यसैले मैले बलको मूल्यबारे बासँग सोध्न जरूरी नै ठानिनँ । मैले केही सोचे झैँ गरी भनेँ, “पैसा त सोधिनँ यार मैले ! स्कूलबाट घर आँउदा बुबाले ल्याइदिनुभएको रहेछ । बल देखेरै मेरो मन गार्डेन गार्डेन भयो, केही सोध्नै आएन । आज यही खेल्ने भनेर ल्याएको ।”
मेरो कुरा सुनेर ऊ खुसी भयो ।
हामी खेल्न तयार भएर एकअर्कालाई बल पास गरी खेल्दै गर्दा अरु साथीहरू पनि ब्लुहेभनको चौरमा भेला भैसकेका थिए । केहीक्षणमा सबै जना खेल्न तम्तयार भएर मैदानमा उत्रिए। नयाँ बलको लागि सबैले मलाई बधाई दिए। सधैँ ब्लडर हालेको बल खेल्दाखेल्दै सबै दिक्क भएका थिए। कति जनाको त ब्लडरको टुटीले लागेर खुट्टाभरि डामैडाम बसेको थियो। यो सबबाट छुट्कारा मिल्ने कुराबाटै सबै खुसी भएका थिए ।
खेल सुरू भयो । त्यो दिन म र अमृत एउटै टिममा थियौं । विजयले गोलकिपर लक्ष्मणले दिएको बल सिधै अगाडि मलाई एरियल पास दियो । मैले बल कन्ट्रोल गर्दा सबै डिफेन्स पछाडि परिसकेका थिए । म भएभन्दा अर्को साइडमा अमृतले हात उठाएर पास मागिरहेको रहेछ । मैले बल क्रस गरेँ । मेरो पासपछि अमृत वान अन वानको स्थितिमा पुग्यो । उसले गोल गर्ने हेतुले बललाई कसेर सुट हान्यो । बल विपक्षी गोलकिपरले रोक्न सकेन । बल गोल पोस्टबाट छिरेर सिधै बाटो पारिको पर्खालमा गएर ठोक्कियो। पर्खालमा ठोक्किएर रोडतिर आउदै गर्दा मेरो बल उत्तरतिरबाट रफ्तारमा आइरहेको कारको पांग्रामुनि पर्यो र ‘ड्याम्म !’ बल फुटेको आवाज आयो । हामीले गोल सेलिब्रेट पनि गर्न पाएनौं । बल फुटाएर गाडी झन् रफ्तारमा हामी सबैको आँखाबाट ओझेल पर्यो । फुटेको त बल थियो तर मलाई त्यो क्षण कसैले मेरो मुटु नै पांग्रामुनि लगी राखिदिएजस्तो पीडा भइरहेको थियो ।
मेरो आखाँको कापाकापा भरिएर आए । गला अवरुद्ध भयो। डाँको छाडेर रून त मन थियो तर सकिनँ। यतिकैमा सुन्दरले फुटेको बल लिएर आयो र हामीलाई फुटेर लल्याकलुलुक भएको बल देखाउँदै मेरो घाउमा नुन छर्किँदै भन्यो, “आजै किनेको बल होइन तेरो यो ? ल हेर त चटनी नै पो भएछ ।” यति भनिसकेर ऊ हाँस्यो। उसको टीमका अरूहरू पनि गलल हाँसे।
उसको कुराले मलाई झन् गाह्रो भयो। खप्नै नसकुँला जस्तो भएर आयो। मेरो मनमा के चलिरहेको छ आशिकले महशुस गरेछ, सायद ! ऊ मेरो नजिक आयो, काँधमा हात राख्यो र सान्त्वना दिँदै भन्यो, “बोर भयो यार ! तर टेन्सन नलिउ ! जे हुनु थियो, त्यो त भैहाल्यो । अब हामी सबैले मिलेर एउटा बल किनौंला अनि तिम्लाई त्यो बल तिमीलाई नै दिउँला ।”
आशिकको यस्तो सहानुभूतिले मलाई एक्कासि हल्का महशुस भयो । म सम्हालिएँ। तर, आशिकले भनेजस्तो मैले नयाँ बल भने पाइनँ। त्योबेला कसैसँग पैसा हुन कि दशैं कि त तिहार नै आउनु पर्थ्यो । होइन भने पैसाको मुख देख्न निकै गाह्रो थियो । तिनताक कापी कलम किन्नबाहेकका अरू खर्च फजुल मानिन्थे । बल खेल्ने कुरामा त झन् कुनै घरबाट पनि प्रोत्साहन मिल्दैन्थ्यो । खेल खेल्नु समयको बर्बादीसिवाय केही मानिँदैन्थ्यो ।
घरमा गाली खाने डरले बल लक्ष्मणको घरमा राखेको भनी बताएँ । केही दिनपछि त्यो बल गुमाएको दुःख पनि विस्तारै कम हुँदै गयो। विस्तारै म सामान्य स्थितिमा फर्किएँ।
केही दिनपछि फेरि मेरो भाग्यले साथ दियो । एक दिन स्कूलबाट घर फर्कँदा बाटोमा कोकाकोलाको बिर्को फेला पारेँ। त्यो बिर्कोमा फुटबलको चित्र अंकित थियो। त्योबेला कोकको बिर्कोमा जे छापिएको हुन्थ्यो, त्यही उपहार पाउने अफर आएको थियो । त्यसैले उपहार लिन फुटबल अंकित बिर्को कोक किनेको पसलमा गएर बुझाए मात्र पुग्थ्यो । बुबाले कोकको बिर्को छिमेकमा रहेको पसलेलाई दिएर उपहार स्वरूप रातो र सेतो रंगको ठाँउ-ठाँउमा कोकाकोला लेखिएको बल लिएर आउनुभयो। मलाई त्यो क्षण कुनै आमाले भीडमा हराएका आफ्ना छोराछोरी फेला पार्दा लाग्नेभन्दा कैयौँ गुणा खुसी लागेको थियो। जीवनमा असीमित खुसीको महशुस त्यसै दिन गरेको थिएँ मैले, सायद पहिलोपटक । त्यो दिन बललाई एकछिन पनि आफ्नो साथबाट पर राखिनँ। राती अंगालो मारेरै निदाँएछु, बिहान आमाले भन्दै हुनुहुन्थ्यो। त्यो दिन मलाई स्कूल जान मनै थिएन। तर पनि बाआमाको डरले जानै पर्यो । म स्कूल गएको त थिएँ तर मेरो आँखा वरिपरि त्यही बल नै गुडिरहेको थियो । नाँचिरहेको थियो।
*******************
“ सर…..सर…..कता हराउनु भयो ?”, पसलेले मलाई विगतबाट वर्तमानमा घिच्याए ।
“ए, कहीँ पनि होइन ! यस्सै टोलाउन पुगेछु !”
“यी यो हेर्नु त ! पन्ध्र सयखाले हो, राम्रो छ। शुट हान्दा खुट्टा पनि दुख्दैन। नरम छ। अहिले एकदम चलेको छ। हजुरलाई मिलाएर दिउँला नि । के भन्नु हुन्छ ?”, पसलेको क्लिसे मिसिएको बोली दिक्कलाग्दो थियो ।
“ल यही लैजान्छु।”
“पम्प पनि चाहिन्छ कि, सर?”
“हुन्छ, हाल्दिनुस् ! जम्मा कति भयो ?”
“अरुलाई बलको पन्ध्र सय र पम्पको एक सय हो क्यारे, सर ! हजुरलाई के बढी लिनु, तेह्र सय दिनु न ।”
“यी लिनुस्!”
“आउँदै गर्नुहोला !”, पैसा दिएर पसलबाट निस्कनै लाग्दा पसलेले भने ।
त्यहाँबाट निस्केर घर नपुगुन्जेल बाटोभरि लागिरह्यो, म पसलेहरूको व्यवहारसँग किन यति साह्रो चिढिरहेको हुन्छु ? उसले त्यस्तो गलत त केही गरेको-भनेको छैन ? तर पनि खै के हुन्छ मलाई ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।