साहित्यकार तथा भाषा–संस्कृतिका अभियन्ता डा.राजेन्द्र विमल र युवा कवि विमला तुम्खेवालाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले सम्मानित तथा पुरस्कृत गरेको छ । नेपाली भाषा–साहित्यको विकास र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएबापत डा.विमललाई र कविताको माध्यमबाट सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएबापत युवा कवि तुम्खेवालाई सम्मानित तथा पुरस्कृत गरिएको हो ।

डा.विमललाई ताम्रपत्रसहित ५० हजार रुपैंयाँ राशीको ‘प्रतिभा सम्मान २०२०’ बाट सम्मानित गरिएको हो भने ताम्रपत्रसहित एक लाख रुपैयाँ राशीको ‘प्रतिभा पुरस्कार–२०२०’ बाट युवा कवि बिमला तुम्खेवालाई पुरस्कृत गरिएको हो । दुबै पुरस्कार प्रतिष्ठानद्वारा शनिबार काठमाडौँमा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह’ मा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुरस्कृत स्रष्टालाई प्रदान गरेका थिए ।

प्रखर लेखन क्षमता राख्ने तुम्बेवा महिला अधिकार र सशत्तीकरणका निम्ति लामो समयदेखि क्रियाशीलका छिन् । पत्रकारिता तथा आख्यान लेखनमा समेत सक्रिय तुम्खेवाका चार कविताका कृति प्रकाशित छन् ।

सो अवसरमा प्रतिभा सम्मान तथा पुरस्कार अर्पण गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले दुई पुस्ताका सर्जक डा.विमल र तुम्खेवासहित भाषा, कला र साहित्यका विभिन्न स्रष्टालाई सम्मान गरेर प्रतिष्ठानले नेपाली बाङ्मयको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।

सन् २००८ मा बेलायतमा स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष प्रतिभा पुरस्कार र प्रतिभा सम्मानबाट एक–एक स्रष्टालाई सम्मान गर्दै आएको छ । नेपाली साहित्य, कला र संगीत क्षेत्रमा योगदान पुर्याएका संघर्षशील युवा स्रष्टालाई प्रतिभा पुरस्कार र ५० वर्ष उमेरमाथिका वरिष्ठ स्रष्टालाई प्रतिभा सम्मान प्रदान गर्दै आएको छ ।

त्यसैगरी प्रतिष्ठानले युवा स्रष्टाहरुको हौसलाका लागि बेलायतमा हरेक वर्ष अभिव्यक्ति श्रंखला आयोजना गर्दै आएको छ ।