आमुख

नेपाली वाङ्मयमा धर्मराज थापा एक आदरणीय नाम हो। उनी एक गीतकार, गायक, कवि, लोकगीत गायक संकलक, लोक साहित्यका लेखक, अन्वेषक हुन्। अझ उनी नेपाली लोकसाहित्को सर्वश्व हुन। उनले यसको अन्वेषण, पुनरूत्थान, संवद्धन र प्रवर्द्धनका लागि आफ्नो जीवन सम्पर्ण गरेका थिए। पोखराको बाटुले चौरमा १५ जुलाई, १९२४ मा जन्मेका धर्मराज थापाले नेपाली संसारको सर्वेक्षण गरेका छन्। संसारभरि छरिएका गोर्खालीहरूको अवस्था हेर्न, नेपालको सन्देश दिन भ्रमण गरेका थिए। लोकका बिच गएर उनीहरूको गीत गाएर जनजनमा लोकप्रियता हासिल गरेका थिए। लोकजीवनका सुख दुखलाई अनले आत्मसात गरेका थिए। नेपालीहरूका घर घर गएर उनीहरूको मर्कालाई छाम्न सकेका थिए। उनका केही गीतहरू निकै लोकप्रिय थिए। तेजिङ शेर्पाले पहिलोचोटि सगरमाथा सफलतासँग आरोहन गर्दा गदगद भएर नेपाल र नेपालीको मनोभावलाई गीतमा उतारेका हुन्। लेकको चौरीगाईको गोठ र मधेसको विचरण गर्दै गीतको रन्को लाउँदै हिँडेका हुन्। जनताका धुकधुकीलाई गीतमा उरालेका उतारेका छन्।  यिनको मृत्यु १८ सितम्बर, २०१४ तदनुसार असोज, २ गते, २०७१ मा भएको हो।

विषय प्रवेश

धर्मराज थापाले विसं. …मा गाएको गीत संसारका नेपालीबिचमा लोकप्रिय र चर्चित भएको थियो। यस गीतलाई विभिन्न विषयबाट अध्ययन गर्न सकिन्छ। यसभित्र भूगोल छ, इतिहास लुकेको छ, समाजवाद छ, यथार्थवाद छ, आर्थिक सन्देश छ, देश प्रेमको भावना छ, विदेशिएका नेपालीहरूलाई स्वदेश फर्कने आह्वान छ। यसलाई सांस्कृतिक अध्ययन पनि गर्न सकिन्छ। मूल गीत यस्तो छ-

नवीन पौड्याल (कालिम्पोङ, भारत)

हरियो डाँडामाथि हो जोत्ने साथी

हो हो माले हो हो तारे हो हो

ह ह ह ह ह ह !!! हो  र !!!

चाम्रो माटोमाथि बाल्दै मनको बात्ती

डल्ला फर्काइ फर्काइ, ढाड मर्काइ मर्काइ

हो हो जुले हो हो हो जुरे हो !!!

हरियो डाँडामाथि हलो जोत्ने साथी

पख् पख् पख् ह ह ह  !!!

अनौं हलो समाइ बाँझो खन्छ कमाइ

हिँउद वर्षा भरि जोत्छ यसै गरी

हो हो तीखे हो हो तारे हो.

खेतीका दिन गए बसेर के भए?

काम गर्ने दिन सबै भाइ हिन ह ह ह !!!

सांस्कृतिक अध्ययन

प्रस्तुत गीतमा नेपाल र नेपालीको समाज र सांस्कृतिक कुरो अध्ययन गर्न सकिन्छ। नेपाली शारीरिक श्रम गर्ने जाँगरिलो जाति हो। नेपाली जाति मूलतः कठोर परिश्रमी, शारीरिक श्रममा विश्वास गर्ने, विश्वासिलो मानिन्छ। हाम्रो रगतमा काम गरेर खाने, श्रम गर्ने, कृषिमा निर्भर छौं। हाम्रो श्रम विदेशतिर खर्च भइरहेको छ। मनको बत्ती बाल्दै शान्तिको मार्ग अपनाउँदै देशको विकासको मूल फुटाउनु पर्छ। गीतमा गोरूका नामबाट पनि हाम्रो संस्कृति झल्किन्छ। हाम्रा गाउँ बस्तीको गोरूको नाम तारे, माले, जुले, झुले, पुँडे, तीखे हुन्छन्। हिँउद र बर्खाभरि गोरु जोत्ने कृषि कार्य गर्ने आमनेपाली समाजको विम्बलाई यस गीतमा उतारिएको छ। कृषि कार्यद्वारा नै मुलुकको वास्तविक विकास र उन्नतिको सिँढी हो।

राष्ट्रको कृषि विकासको आह्वान 

यस गीतको मूल स्वर नेपाल राष्ट्रको कृषि उन्नतिको आह्वान पाइन्छ। नेपालमा हिमाल पहाड र तराइ गरी तीन भौगोलिक खण्डले मिलेको देश हो। नेपालले चाहे अन्नपानीमा स्वनिर्भर मात्र नभई निर्यात गर्न सक्ने क्षमता हुने सम्भावना छ। हिमाली भागबाट उत्पन्न भएका नदीहरू तल तल बग्दै गएर पहाड र मधेस हुँदै महासमुद्रमा मिसिन्छन्। यसरी उत्स भएर पहाड हुँदै मधेस झर्ने नदीले रै जमीनलाई अभिसिँचित गर्दै उर्वर बनाउँदै लान्छन्। प्रकृतिको परम सुन्दर वरदान हो नेपालको मानचित्र। पहाडमा पनि पहाडयोग्य खेती गर्दै हराभरा पारेको हुन्छ। मधेसमा धेरै खेती हुन सक्छ। नेपाल छाडेर बर्सेनी धेरै नेपाली बिदेसिन्छन्। नेपालबाट पलायन भएर संसारभरि छरिएका छन्। स्वदेशबाट पलायन भएर जाँदा परदेश पाउनसम्म दुःखशास्ती पाएका हुन्छन्, अर्काको मुलुकमा र अर्काको अधीनमा नोकरसरह बस्नुपर्ने स्थिति थियो। नेपालका राजा महेन्द्रले विदेशमा बस्ने नेपालीहरूका बारेमा चिन्तन गरेका थिए। उनले गाउँ फर्क अभियान पनि सञ्चालन गरेका थिए। विदेशमा दुःख पाएर बस्नुभन्दा स्वदेशमा ने उद्योग धन्दा गर्नेर बस्नु उचित हो। आफ्नो धरतीको खनजोत गरेर उब्जनी गरेर खाउ, इलम गर अनि नेपाल आमाको मुहारमा मुस्कान ल्याउ। यस अभियान धर्मराज थापाको पनि ठुलो योगदान दिएका थिए। उनले यस अभियानलाई नेपालको जम्मै जिल्ला घुमेर जातीय र राष्ट्रिय जागरणको सन्देश दिएका हुन्। यसै सिलसिला उनी दार्जिलिङ आसाम पुगेका थिए। दार्जिलिङका चियाकमान र बस्ती-बस्ती, आसामका छपडी, तेलखानी, शिलाङतिरका कोइलाखानी गएर स्वदेश फर्काउने सन्देश दिएका थिए। गीत गाएर राजाको सन्देश पुर्‍याएका थिए। यस क्रममा उनले नेपाली लोकभाका, लोकसङ्गीतलाई विश्वमा फैलाउन सफल भएका थिए।

यस गीतमा नेपालको विकासको कृषिलाई एकमात्र विकल्प मानिएको अनुभव हुन्छ। नेपाललाई कृषि उद्यमले आत्मनिर्भर नेपालको परिकल्पना गरिएको छ। हाम्रा पहाडतिरका गाउँ बस्तीहरू बाँझा छन्, तिनको खनजोत गरेर कृषिबाट फसल उपार्जन गरेर यो धरतीलाई हराभरा बनाउने परोक्ष आह्वान गरिएको छ। कृषिको व्यापक प्रचार गरेर विदेशबाट समेत नेपालीहरूलाई देशमा ल्याएर समृद्धशाली नेपाल बनाउने आह्वानको आशय निहीत रहेको छ। नेपालमा सुन्दर हिमाली भेक, पहाड र सुरम्य मधेस छन्।

राष्ट्र प्रेम अध्ययन

धर्मराज थापा मूलतः देशभक्तिमूलक भाव लिएका गायक लेखक हुन्। उनका प्रायः प्रत्येक कृतिमा देशभक्तिका भावना प्रखर रूपमा झल्किएको पाइन्छ। यस गीतमा मूल रूपमा नेपालमा कृषि क्रान्तिको आह्वान अन्तिर्निहित छ। उनका अरू गीत र कवितामा पनि देश प्रेम नै बढी पाइन्छ। नेपालीले माया मार्‌यो बरिलै, म भात खान्नँ  ए आमा उम्काइदियौ घरका जहान आदि जस्ता गीतमा पनि देशप्रेमको झलक पाइन्छ। ‘नेपाल आमालाई संसारकी राम्री बनाइदिने’ इच्छा बोकेका थापाले यस गीतमा देशप्रेमको ओतप्रोत भएर यस गीत रचेका हुन्। नेपालको हरियो डाँडा, वनजङ्गलले भरिएको सुरम्य स्थलको सङ्केत गरिएको छ। नेपालको समुचित उन्नतिको निम्ति कृषि कार्य प्रमुख हो। कृषि कार्य गर्दै नेपाली जनताको आर्थिक मानसिक सामाजिक सांस्कृतिक उन्नति रहोस् भन्ने उनको मूल आशय देखिन्छ।

प्रगतिवादी दृष्टिकोणले यस गीतको व्याख्या 

धर्मराज थापाले के सम्झेर यो गीतको रचना गरेका हुन् तर यसलाईअहिले आएर राजनैतिक तवरबाट व्याख्या गर्न सकिन्छ। यद्यपि यसगीतको मूल मर्म, आशय र परोक्ष संकेत परोक्ष रूपमा प्रगतिवादसित जोडेर हेर्न सकिने अवकाश (Space) र सम्भावना देखिन्छन्। उनको यो ‘हरियो डाँड़ामाथि हलो जोत्ने साथी’ गीतलाई राजनैतिक ‘वात’ नलागेको होइन। यसमा रहेका केही शब्द, वाक्यांश र वाक्यमा कता कता प्रगतिवादी व्याख्या गर्न सकिने ठाउँ छन्। “साथी”, “चाम्रो माटो”, “मनको बात्ती”, “डल्ला फर्काइ फर्काइ”, “ढाड़ मर्काइ मर्काइ”, “अनौ हलो समाइ”, “बाँझो खन्छ कमाइ”, “हिउँद वर्षाभरि जोत्छ”, “त्यतिका दिन गयो”, “बसेर के भयो?”, “काम गर्ने दिन सबै भाइ हिँड” । यस्ता शब्द, वाक्श र वाक्यमा प्रगतिवादको सङ्केत पाउन सकिन्छ। यहाँ रहेको  ‘हरिया डाँड़ामाथि हलो जोत्ने साथी’- भनेर यहाँ ‘साथी’ सम्बोधन गरिएको छ। मार्क्सवादीहरू अत्याधिक प्रयोग गर्ने ‘कमरेड’ को अर्थ साथी हो। यसमा सामूहिक खेतीको आभास पाइन्छ। काम गर्न दिन सबै भाइ हिँड, जाउँ,  गाँउमा मिलेर कम्मर मर्काइ मर्काइ काम गरौं भन्ने आह्वान छ। ‘चाम्रो माटो’ र  ‘बाँझो खन्नु’ भनेर नेपालमा युगौंदेखि जडता, अनुर्वतता, कर्महीनता, पलायनतालाई सङ्केत गरिएको छ। मानिसका मनमा नै जडता, असुरक्षा र पलायन प्रवृत्तिलाई तोडेर अघि बढौं। यस्ता जड़ता, पलायनतालाई तोडेर परिवर्तन गरेर नयाँ नेपालको परिकल्पना गरिएको बुझ्न पनि सकिन्छ। पहाड गाउँ बस्ती बस्तीमा काम गर्ने कर्मठहरूको जमात जुटाएर देशमा कृषिजन्य आर्थिक क्षेत्रमा अघि सर्नुपर्दछ। यहाँ गोरूका नामहरू पनि ‘तारे’ ‘माले’ छन्। तारा अङ्कित झण्डा काँग्रेस र मार्क्सवादी लेनिनवादी मिलाएर माले शब्द प्रचिलत छ। हलो पनि चीनको १९२७ मा स्थापना भएको Chinese National Peasants’ Association  को चिन्ह थियो। यसको उद्देश्य समाजवादको माध्यमबाट कृषकहरूको क्रान्तिको रूपान्तरण गर्ने थियो। यस संगठनको चिन्ह रातोमा पहेंले रङ्गको चिनियाँ आकारको हलो (हाम्रोतिरको हलोभन्दा आकारमा केही भिन्न) थियो। यो संगठन १९६४ मा भङ्ग भएको थियो। (em.m.wikipedia.org)। बसेर दिन निरर्थक र यथास्थितिमा बिते, अब त्यो होइन सबै नौजवान जुटेर काम गरी देशमा आर्थिक क्रान्ति ल्याउँ, सुधार गरौं, परिवर्तन ल्याउँ भन्ने सन्देश दिएका छन्।  उनको अर्को गीतमा गाउँ घर दुनियाँ ब्युँझाउन मादल बजेको छ भन्ने भाव पाइन्छ। यसरी उनको गीतको प्रगतिवादको व्याख्या गर्न सकिने ठाउँ छन्। यस गीत कुन उद्देश्य र भावनाले लेखेका थिए, तर व्याख्याका परिधि बढाउन सकिन्छ। यद्यपि यसलाई क्रान्तिकारी र प्रगतिवादी भनेर व्याख्या गरे कतै राजनैतिक अपव्याख्या पनि हुन सक्छ । यो पाठक र स्रोताको बुझाइ र रूचिमा निर्भर हुन्छ।

गीतको संरचना-

साङ्केतिक अर्थ
हरिया डाँडामाथि हरियो वनजङ्गल, लता कृषि फसल आदिले सुरम्य पहाडी भूभाग जहाँ खेती गर्न सम्भव छ र नेपालीकोआर्थिक विकासमा ठुलो योगदान पुर्‌याउन सक्छ।
हलो जोत्ने साथी नेपाली श्रमजीवी जनता। नेपाली जनताले पहाड बस्तीतिर गरगरा बनाएर खोतीयोग्य खेत तुल्याएका हुन्छन्।
चाम्रो माटो वर्षौंदेखि नजोतिएको माटो चाम्रो भइसकेको छ। नेपालको अवस्था जर्जर बाँझो छ। त्यसलाई जोतेर फोर्नुपर्छ।
मनको बात्ती आशाको दीयो, कृषि क्रान्ति र अझ सामाजिक क्रान्ति गरेर परिवर्तनको आकाक्षा राखिएको छ।
डल्ला फर्काइ फर्काइ कडा खेत जोतेपछि कडा कडा डल्ला उब्जने गर्दछन्।  यसलाई काँटाले फोर्नुपर्दछ। यो कठिन कार्य हो। परम्परागत रूपमा समाजमा रुढ भएर बसेको अकर्म्यतालाई फोर्नुपर्दछ।
ढाड़ मर्काइ मर्काइ कठोर परिश्रम।
अनौं हलो समाइ बाँझो खन्छ कमाइ परिश्रमबाट मात्र बाँझो धरती उर्वर बन्छ। नेपालका अधिकाङ्श भूभाग बाँझो रहेका छन्। तिनलाई खनजोत, कोरी-बाटी गरेर अन्न उमारेर नेपाललाई समृद्ध तुल्याउनु पर्छ।
हिँउद वर्षा भरि जोत्छ यसै गरी काम गर्न हिँउद बर्खा सदैव खटिरहनु पर्दछ। मेहनतको आवश्यक्ता पर्दछ।
खेतीका दिन गए बसेर के भए? नेपालमा आवश्यक्ता अनुसार खेतीपाती नहुँदा धेरै नोक्सानी हुन्छ। रै खेतीपाती गरेर नेपाललाई आत्मनिर्भर हुनुपर्छ भन्ने आशय बुझिन्छ।
काम गर्ने दिन सबै भाइ हिन काम गर्न सबै जनता अघि सर्नुपर्दछ। काम गरेर नेपाललाई हराभरा बनाउनु पर्दछ।

 

निष्कर्ष

नेपाली साहित्य, लोकसाहित्य, सङ्गीत, लोकसङ्गीत आदिका क्षेत्रमा धर्मराज थापा अमर छन्। उनी आफैले लेखेका, सङ्गीत दिएका र गाएका धेरै गीतहरू नेपाली सङ्गीताकाशमा देदीप्यमान भएर रहेका छन्। उनको धेरै गीत लोकप्रिय रहेका छ् भने हरियो डाँड़ामाथि हलो जोत्ने साथी भन्ने गीतमा अझ धेरै लोकप्रिय बनेको हो। यस गीतलाई विभिन्न दृष्टिकोण, सिद्धान्त आदिबाट पठन, अध्ययन र व्याख्या गर्न सकिने ठाउँ छन्। यसमा भूगोल छ, इतिहास लुकेको छ, समाजवाद छ, यथार्थवाद छ, आर्थिक सन्देश छ, देश प्रेमको भावना छ, विदेशिएका नेपालीहरूलाई स्वदेश फर्कने आह्वान छ।