म अरु साथीहरुभन्दा उमेरमा र शारीरिक रुपमा पनि अलि सानी थिएँ । मेरो कक्षाका केटी साथीहरुमा गीता, ललिता, डुम्मर, कृति, उमा, नरमाया, दुर्गा, रुक्मिणा, सरस्वतीहरु थिए (सावित्रा, बसन्ती अलि पछि आएजस्तो लग्छ)। हामीमध्ये रुक्मिणा मेरी ठूलो मुमाकी छोरी (दिदी) अनि उमा र म निकटाको नाताले सानिमा-छोरी पर्थ्यौंँ । म उनीभन्दा सानी र साथी नै भए पनि उमाले मलाई “सानिमा” नै भनेर बोलाउँथिन् ।

तपाईंहरुले पानीमा टाँक घोलेर मसी बनाउनु भयो कि भएन ? हामी चाहिँ बेला बेलामा टाँक मसी पानीमा घोलेर मसी बनाउँथ्यौं । टाँक मसी बट्टाको मसीभन्दा अलि सस्तो पर्थ्यो । तर बटुकामा राखेर, पानी हालेर घोट्नु पर्ने हुँदा अलि झन्झटिलो चाहिँ हुन्थ्यो । फेरि पानीको मात्रा मिलाउन जानेन भने पातलो भएर लेख्दा अक्षर फुलेर ढुस्स हुन्थे । अरु बेला टाँक मसी हाले पनि जाँचको बेलामा चाहिँ बट्टाकै मसी ल्याइदिनु हुन्थ्यो आमाले । तर जाँचको बेला स्कुलमा पनि इमरजेन्सीको लागि भनेर होला, कलममा मसी भर्न पाइन्थ्यो । हामी पनि मौकाको फाइदा उठाउँदै घरमा भएको निब भाँचिएको कलममा समेत मसी भरेर राख्थ्यौं ।

कला चुडाल (अमेरिका)

अलि पुराना भएपछि कलमको निब कि त भाँचिने, कि त निबको टुप्पो कामै नलाग्ने गरी दुई फ्याक हुने गर्थ्यो । पुरानो कलममा नयाँ निब फेर्न पनि पाइन्थ्यो । तर कहिलेकाहीँ भाँचिएको निबलाई खोलेर, दुबैतिरबाट चिल्लो  सिमेण्टमा  घोटेर, अलि सानो बनाएर पनि केही समयको लागि काम चलाउँथ्यौं हामी । अनि दुई फ्याक भयो भनेचाहिँ निब निकालेर दाँतले दुईतिरबाट टोकेर, नजिक ल्याएर पनि काम चलाउँथ्यौं ।

कलम हराउने, भेट्ने, निब भाँचिने, घोट्ने, जोड्ने जस्ता घटना हाम्रा लागि नियमितजस्तै हुन्थे । भेटेका  कलमहरु प्राय: निब भाँचिएकै हुन्थे । सद्धे भेटिए भने त मालामाल भइहालिन्थ्यो….

यसै क्रममा निकै दिनदेखि कलम हराएर स्कुलमै साथीहरुसँग मागेर गुजारा चलाइरहेकी थिएँ म । घरमा भनौं भने बुबाआमाको डर । धन्न, साथीहरुमा कसै न कसैले दुइटा कलम ल्याएकै हुन्थे । त्यो दिन पनि कसैसँग दुईवटा कलम छ कि भनेर सोधें । मसँगै बसेकी उमाले भनिन्, “सानिमा, मसँग छ ।”

त्यसताका अन्य सामान्य कलमभन्दा अलि छोटा, गुलाबी, हरिया र हल्का नीलो रंगका, रबरको पाइप पिच्पिच् पारेर मसी भर्न पनि सजिला कलम चलेका थिए। उमाले पनि ज्यामितीबाट झिकेर मलाई त्यस्तै गुलाबी रंगको कलम दिइन् । ढुक्क भयो… मनमनै सम्झें ।

तर त्यो ढुक्क धेरै समय टिक्न सकेन । चौथो घण्टीसम्म लेखेर झोलामा राखेको कलम टिफिनपछि लेख्न खोज्दा त छैन  पाे । परेन त आपत पर्यो ? आफ्नो त कलम हरायो हरायो, उमाको पनि हरायो । अनि दिनभरिलाई लेख्न दिएको कलम लास्ट घण्टीपछि माग्लिन् भनेर म छिट्टै कक्षाबाट निस्केर घरतिर टाप कसें ।

त्यो दिन त टर्यो, भोलि के गर्नु ? भोलिपल्ट त स्कुल जानु नै पर्थ्यो ।

भोलिपल्ट उमाले भनिन्, “सानिमा, हिजोको कलम दिनु न ।”

कलम भए पो दिनु ।

दिनहरु बित्दै गए, तर उमाले आफ्नो कलम माग्न छाडिनन् । मैले पनि “आज ल्याउन बिर्सेँ, भोलि दिउँला ।” भनेर टार्न छोडिनँ । अति नै भएपछि एक दिन आँटै गरेर भनिदिएँ,  “हेर उमा, तिम्रो कलम हरायो । अब मसँग कलम नमाग । जहिले हुन्छ त्यहिले दिउँला ।“ त्यसपछि बिचरी उमाले कलम माग्न  छाडिन् ।

स्कुलबाट बजार जाँदा उमाको घर बजारको सुरुमै थियो । मूल बाटो उनको घर अगाडि भए पनि घर पछाडि र घर अगाडिको घुम्ती पसल पछाडिबाट पनि बजार जान सकिन्थ्यो ।  कलम हराएपछि उमाको आमा (दिदी) ले गाली गर्नु होला भनेर बजार जान पनि डर लाग्न थाल्यो । त्यही भएर स्कुलबाट बजार जाँदा उमाको घर पछाडिको बाटो र घरबाट बजार जाँदा घर अगाडिको घुम्ती पसल पछाडिको बाटो भएर हिँड्न थालेँ । निकैपछि एक दिन दिदीसँग बजारमा भेट हुँदा केही पनि भन्नु नभएकोले उमाले कलम हराएको कुरो ङरमा भनेकी रहिनछिन् भनेर ढुक्क भयो मन । तैपनि कलमको चिन्ता त छँदै थियो ।

किताब बोक्ने झोला पुरानो भैसकेकोले सिला धान खोजेर आएको पैसाले नयाँ झोला र आफूलाई कलम किन्ने मेरो सपना उमाको हराएको कलमले चकनाचुर भयो । जसरी भए पनि उमाको कलम त तिर्नै पर्थ्यो ।

मंसिरमा धान काटिसकेर पाँजा उठाइसकेपछि हाम्रो काम नै सिला धान खोज्ने हुन्थ्यो । दिनभरि सिला धान खोज्दा नरुवाले खुट्टामा पाछेर, बेलुका खुट्टा धुँदा सारै चह्र्याउँथ्यो । कुनैबेला त घाउ नै भएर अलिपछि पिपसँगै नरुवाका साना छेस्का पनि निस्किन्थे । हामी कहिलेकाहीँ मुसे धान पनि खन्थ्यौं । मुसाले दुला भित्र लगेको धान खोज्न कहिलेकाहीँ त सर्प पनि भेटिन्थे । बाहिर गह्रामा कत्तिको धान काटेको छ, त्यही अनुसार दुलामा कति धान छ भनेर अन्दाज गर्न सकिन्थ्यो । तर कहिलेकाहीँ जमिनमुनि मुसाको दुलो चारैतिर गएका हुन्थे । अनि त्यस्तोमा निकैबेर लगाएर खन्यो, लास्टमा धान नै नभेटी दुलो टुंगिन्थ्यो भने कतै दुलो फिजारिएको हुन्थ्यो र त्यस्तोमा धान पनि निकै हुन्थ्यो । अर्थात् दिनभरि सिला धान खोजे जति त एकै छिनमा भेटिन्थ्यो । कहिलेकाहीँ चाहिँ दिनभरि खन्दा पनि हातालागी शून्य हुन्थ्यो ।

जसरी भए पनि एउटा झोला अनि उमा र मेरो लागि कलम किन्ने पैसा जुटाउनु थियो सिला धान खोजेर । बल्ल बल्ल सिला धान र मुसे धानको पैसाले झोला र कलमलाई पैसा पुग्ने अन्दाज भयो । झोला र दुईवटा कलमलाई एघार रुपैंया जति पर्थ्यो ।

पैसा पुग्ने अड्कलले एक दिन धान बेच्न बजार गएँ । काँटामा हालेर बनियाँले हिसाब गर्दा १० रुपैयाँ आउने भयो । अझै एक रुपैयाँ जति पुगेन ।

“एघार रुपियाँ दिनुन दाइ “ भनेर मैले अनुनय पनि गरेँ । तर उसले “एघार रुपियाँको धानै छैन त कहाँबाट दिनु ?” भन्दै दश रुपैयाँ हातमा थमाइदिए ।

पूरा पैसा नभएपछि भएकाे पैसा पनि मासिन्छ भनेर काँटामा हालेकाे धान फेरि झाेलामा राख्दै भनें,  “म धान बेच्दिनँ ।” तौलेको धान पनि नबेचेको देखेर बनियाँ खुब रिसाए ।

केही खान पनि नपाई धानको पोको जस्ताको तस्तै बोकेर घर फर्किनु पर्दाको नरमाइलो खपिनसक्नुकाे थियो ।घर आउँदा सिला धान बेच्न बजार गएकी छोरीले धान नबेची आएको देखेर आमाले भन्नु भयाे, “किन नबेचेको धान ?“

मैले मेरो र उमाको कलम हराएको र झोला पनि किन्नु पर्ने भएकाले पैसा नपुग्ने भएर नबेची फर्किएकाे कुरा बताएँ । साथै, थप सिल खाेजेर पुग्ने भएपछि बेच्ने भनेर जनाएँ । आखिर आमा हुन्,  “अहिले धान बेच्नु  पर्दैन, पछि बेचेर जे गर्न मन लाग्छ गर्नु” भन्दै बाह्र रुपैयाँ पैसा तत्कालै हातमा राखिदिनु भयो । आमाले पैसा  दिएपछि खुसीले म निकैबेर रोएँ ।

अर्को साता उमालाई सँगै लिएर गएर दुबै जनाले एकै खालका कलम र झोला किन्यौं । माँया मारिसकेको कलम पाएपछि उमाले पनि उनकी आमालाई सबै कुरा भनिन् । अनि दिदीले पनि  “लु आइज बैनी, चना चिउरा खा” भन्दै मलाई उहाँहरुकै होटलमा चना चिउरा खुवाउनु भयो । एक रुपैयाँ जस्ताको तस्तै बाँकी नै रह्यो । उमा पनि खुसी भइन् ।

उब्रेको एक रुपियाँ आमालाई नै फिर्ता दिएँ । मलाई त फाइदै फाइदा भयो । उमाको कलमको लागि मेरो सिला धानको पैसा खर्च भएन, आफूलाई कलम पनि आयो र चना चिउरा पनि खान पाइयो ।

उमा, साइनोले मेरी छोरी । उनी त्यही सानो, प्यारो मेरो माइती गाउँ घैलाडुब्बामै छिन् । भेट नभएको वर्षौं भयो । तर पनि बालापनमा हराएको उमाको कलम तिर्न पाएकोमा अझै गर्व लाग्छ आफैसँग । मीठो सम्झना उमा !!!