स्रस्टा साँझ अमेरिकाले नेपाल, अमेरिका तथा अन्य मुलुकमा रहेका नेपाली लघुकथाकारहरुसँग भेटघाट, लघुकथावाचन तथा छलफल कार्यक्रम विगत पाँच महिनादेखि नियमित रुपमा सञ्चालन गर्दै आएको छ । यसै शृंखलामा गएको आइतबार (जनवरी २४) स्रस्टा साँझ अमेरिकाले लघुकथाकारहरुसँग भेटघाट, लघुकथावाचन तथा छलफल शृंखलाको चौथो कार्यक्रम जुममार्फत सम्पन्न गर्यो |

गोरखापत्र संस्थानका पूर्वप्रधान सम्पादक तथा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपालबाट पवन बुढाथोकी र अमेरिकाबाट विश्वराज अधिकारीले सहजीकरण गरेका थिए।

उक्त कार्यक्रममा १८ वटा लघुकथाहरु वाचन गरिएका थिए । करिब साढे दुई घन्टाको सो कार्यक्रममा त्रिलोचन ढकाल, अनु विज्ञाती, अवतार ढकाल, वन्दना घिमिरे, भक्ति घिमिरे, विधान आचार्य, गंगा कर्माचार्य, हेमलता उप्रेती, कल्याण पन्त, ललिता दोषी, मन्दिरा मधुश्री, प्रभादेवी पौडेल, रञ्जुश्री मार्ग, सीता बिष्ट कार्की, तारा केसी, रामकुमार पण्डित शेखर कुमार श्रेष्ठ, पवन बुढाथोकी र विश्वराज अधिकारीले आ-आफ्नो लघुकथा वाचन गरेका थिए।

कथाकार एवं समालोचक खेमराज पोखरेलले त्यस अवसरमा वाचन गरिएका सम्पूर्ण लघुकथाहरूको विवेचना पनि गरेका थिए। वाचन गरिएका कथाहरूमा विविधता एवं रोचकता रहेकोमा प्रसन्नता प्रकट गर्दै पोखरेलले लघुकथाकारहरूलाई लघुकथा लेख्दा एउटै कुरा वा स्थितिलाई पटक-पटक नदोहोर्याउन तथा लघुकथाको प्रारम्भमा जे कुरा भनिएको छ, त्यसको विपरीत स्थिति लघुकथाको अन्त्यमा देखाउन सल्लाह दिएका थिए। छोटा-छोटा वाक्यको प्रयोग र बीज वाक्यले लघुकथालाई आकर्षक बनाउने पोखरेलको धारणा रहेको थियो।

स्रस्टा साँझ अमेरिकाका लघुकथा संयोजक विश्वराज अधिकारीले श्रष्टा साँझ अमेरिका यस्ता कार्यक्रम संचालन गरेर स्थापित तथा नव लघुकथाकारहरुलाई नेपाली लघुकथाको प्रवर्धन, स्तरोन्नति तथा अन्तर्राष्ट्रियकरण गर्ने कार्यमा सहयोग गर्न सदैव तत्पर रहेको जानकारी दिएका थिए।

कार्यक्रमको अन्त्यमा स्रस्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दीक्षितले प्रमुख अतिथि श्रीओम श्रेष्ठ “रोदन” लाई प्रमुख आतिथ्य ग्रहण गरिदिएकामा कृतज्ञता ज्ञापन गर्दै कार्यक्रमका सम्पूर्ण सहभागीहरु तथा फेसबुकमा लाइभ हेर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।