सानैछँदा गाउँतिर बूढापाकाहरुले उखान हाल्थे, ”छोरी बिग्रे नर्स, छोरो बिग्रे डाइबर ।” बिरामी हुँदा रेखदेख गर्ने नर्समाथि समाजले यस्तो हेलाहोंचो गर्ने बेला हाम्री ठूल्दिदीले नर्स पेसा रोजिन् । बाले ठूल्दिदीलाई ‘नानी’ भन्नहुन्थ्यो ।
अझै पनि ‘नानी’ नै भन्नुहुन्छ । तीनवटी बैनी र पाँच भाइकी दिदी सरस्वती । पढाइलेखाइ र बानी बेहोरोमा कसैलाई नपिर्ने भएरै होला स्कूलका साथी, सरहरुले ‘सरु’ भनेर बोलाउने गर्थे ।
दिदी सेनापति थिइन् हाम्रा । बिहानै उठ्यो । सेनापति आफैँ मिहिनेती । कुँडो बसाल्न आमालाई सघायो । डालामा मकै लिएर झाँतो पिस्न गयो । फर्केर होमवर्क गर्यो । फेरि ढाकर बोकेर बारीतिर गयो । घाँस काटेर भैंसीलाई
हाल्दिएर पढ्न गयो । फर्केर फेरि बारीतिर गयो । घाँस काट्यो । छुट्टीका दिन घरका कपडाका रास धोयो । मेलोपात गयो । घाँसपात गर्यो । घरको सरसफाइ गर्यो । अहो ! दिदी मिसिन जस्तै थिइन् । ती जति नरम थिई उति जब्बर पनि ।
हामीमाथि कडा उर्दी हुन्थ्यो । उठेर राम्ररी मुख धुने । नियमित हात खुट्टाका नङ्ग काट्ने । शनिबार राम्ररी साबुन, खली पिनाले नुहाउने । आफ्नो लुगा आफैँ धुने । अनि आमालाई सघाउने । आमा रोगी । दिदीले बटालियनलाई
कामको बाँडफाँड गर्दिइन् । साइँलो दाइ र मेरा भागमा अनौठाका काम आइलागे । दाइ भान्से । म, धराले । कान्छी रीता इत्रुकी हातमा अटाउने थिई, उसको रेखदेख र टाकनटुकन हिँड्न थालेको कान्छो भाइ बासुदेवको रेखदेख ।
बासुदेव बाबुराम भयो । अहिले ऊ आफैँ छोराको बाउ भैसक्यो । बैनीहरुलाई पढ्न सघाउने ।
काम उति साह्रो गाह्रो थिएन । पाल्पा मदनपोखराको दमकडामा खुला चौर थियो । घर नजिकै सिमली घारी थियो । सिमली घारीमा चराहरु फत्राक्फुत्रुक् गर्थे । स्यालहरु नलजाइकन हिँड्थे । वनको जिम्मा बेल्टारे बूढाको थियो ।
वनहरु सामुदायिक भैसकेका थिएनन् । बेल्टारे बूढा बिहान झिसमिसेमा रेडियो बजाउँदै चक्कर मार्थे । हाम्रा घरमा पसेर विहान ७ बजेको समाचार बजाउने उनै राइटर थिए । उनी आएपछि हामी रेडियो सुन्न झुम्मिन्थ्यौं ।
भारतीय सेनाका निवृत्त सिपाही यी बूढा हँसिला, सबैसँग मिल्ने गज्जबका मानिस थिए । उनलाई दूध हालेको चिया खुब मन पर्ने । रेडियो सुन्न पाइने र बालाई गाउँघरको खबरखाबर सुनाउने यी बूढा आएपछि मलाई बडो
खुसी लाग्थ्यो । बालाई यिनले जवैं भन्थे । ज्वाइँ । यिनले बालाई किन ज्वाइँ भने मैले अहिलेसम्म मेसो पाएको छैन । बितेको धेरै वर्ष भैसक्दा पनि मेरो मानसपटलमा भने बेल्टारे बूढा जीवित छन् ।
एक दिन दिदी र बा तानसेन गए । तानसेनमा नर्सको पढाइ हुन्थ्यो, मिसन अस्पतालमुनि । अनमी । हिंडेर दुई घण्टा पनि नलाग्ने यो कलेजमा गाउँका कोही थिएनन् । दिदीको जाँच रहेछ त्यस दिन भर्नाको । मिहिनेती दिदी पास
भइन् । यताउता रिनधन गरेर बाले फिस तिरेपछि दिदीको पढाइ पक्का भयो । दिदी उतै बसेर पढ्न थालिन् । हामी यता फुक्काफाल हुन थालिम् । आमा बिरामी भएर बिस्तारामा छिन्, मलाई खोपी बनाएर गुच्चा हान्न हतार ।
बर्खाको बेला घण्टौंसम्म तिनाउ खोलामा पौडी खेल्न आत्तुरी । भदौरे डल्ला बारीभरी छन् ठूल्दाइ, बा, माइल्दाइहरु बारीमा डल्ला फोर्दैछन्, सानातिना डल्ला फोर्नसक्ने म घरबाटै अलप । घाँस काट्न जान पर्यो भने पेट दुखेको
बाहाना । होमवर्कमा पनि गन्जागोल । पुन्टे गणेश र म भएर खुब फँडेर खाइयो । आँपका बूटा चाहारियो । दद्रानी वनका एक एक बुटाले चिन्छन् मलाई झैं लाग्थ्यो ।
दिदीलाई शनिबार छुट्टी हुन्थ्यो । शुक्रबार साँझ कापी किताब बोकेर घर आउँथिन् । शुक्रबार भने हाम्रो हप्ताभरको गन्जागोल मिलाउने दिन थियो । एक बजे स्कूलबाट छुटेर फर्किएपछि कोही कतै निस्कँदैनथ्यो । बैनीहरु खाट
मिलाउँथे । सिरक गुजुल्टी पारेर मिलाउँथे । तन्ना तन्काएर चिटिक्क पार्थे । उनीहरुले लेस बुन्थे र तन्नाभित्र घुसारेर खाट राम्रो बनाउँथे । माकुराको जालो सफा हुन्थ्यो । हप्ताभरिको कोठाको फोहर निस्कन्थ्यो । होमवर्क दुरुस्त
हुन्थ्यो । बाले दारी खुर्केर फालेका टोपाज पत्तीले नंग काटिन्थ्यो । कपालमा पानी छम्केर ऐनामा दुरुस्त पारिन्थ्यो । हप्ता दिनदेखि नघोटेर हरेली परेका सुनजस्ता दाँत सेता हुन्थे । डाबरको रातो धूलोले मुख पर्पर्याउँथ्यो । बट्टामा
पानी हालेर गुलुगुलु नपार्दासम्म नयाँ आउने सम्भावना थिएन । घरमा नगद हुन्थेन । खातावाला व्यपारी थिए । उनीहरु खुसी भएर खातामा चढाइ चढाइ सामान बेच्थे र महिना मर्नेबेला सन्चो बिसन्चो सोध्न घरतिर आउँथे ।
हाम्रो भुनभुन सधैँ हुन्थ्यो, दोकानमा नयाँ नयाँ कलम आउँदा पनि निब किनेर चलाउनुपर्ने ।
ती सबै बाका भान्जा थिए । गाउँमा सबैले बालाई मामा भनेर बोलाउँथे । पूर्वखोले मामा थियो बाको नाम । महिना मर्दा जसोतसो बाले खाता फच्चे गर्ने भएरै होला, रानी साबुन, चिनी, च्यापत्ती, नारायणी कापी, चेल्पार्क मसी
खातामा लेखाएर ल्याउने चलन थियो । कलमै किन्न परे पनि बाको अनुमति चाहिन्थ्यो । बाको आदेश थियो, कलमको निब फेर्नू । नयाँ किन्न पर्दैन । हामी त्यसै गथ्र्यौं । साथीहरुले पनि त्यसै गर्थे । गाउँमा सबै बाहरुको आदेश
उस्तै हुन्थ्यो । त्यो आदेशका पछाडिको वास्तविकता हामीलाई थाहै भएन । हाम्रो भुनभुन सधैँ हुन्थ्यो, दोकानमा नयाँ नयाँ कलम आउँदा पनि निब किनेर चलाउनुपर्ने ।
शुक्रबार बेलुकी धेरैजसो कागजले बेरेका जेरी बोकेर घरी आउँथिन् । तानसेन बजारबाट ओरालो हिँडेर दमकडामा दुई घण्टामा आइपुगिन्छ । उबेला हाम्रातिर अहिले झैं बस, जीप, मोटरसाइकलहरु चल्थेनन् । बाटो कच्ची र
साँघुरो थियो । तिनाउ जलाधार परियोजनाको जीप आएपछि हामी दगुर्थेम् । टोलका केटाहरु गाडीको पछि दगुर्ने कम्पिटिशन नै हुन्थ्यो । जो परसम्म गाडीको पछि पछि कुँद्यो, उसले निकै शान दिन्थ्यो । म दौड्नमा बलियो
थिइनँ, साइँल्दाइ नै हाम्रो हूलका हिरो थिए । कपाल फर्काउँदै उनले हप्काउँथे, ए केटा हो कोही छ मलाई जित्ने । हामी कोही बोल्दैनथ्यौं । पछि गाउँमा गाडीले किचेर मान्छे मरेका कथा सुनेपछि साइँल्दाइ पनि हच्किए र
गाडीको पछाडि कुँद्ने कम्पिटिशन हरायो । सबैलाई डरको कुहिरोले घ्वाप्लाक्क छोप्यो, ”क्यै गरी पाँग्रामुनि परियो भने ? अहँ भाइ यो खतरा नमोल् । ज्यान बचा ।” सबै थुरुरु भए ।
‘बर्तुँगमा स्कूल जाँदै गरेको विद्यार्थीलाई बसले किच्यो रे । बिचराले ऐय्या भन्न पनि पाएन रे ।’ बजार गएर फर्कनेहरुले देखे झैं कथा हाल्थे । यो कुरा सुनेर मेरो सातो जान्थ्यो । पछिसम्म पनि बसभन्दा अलि परै उभ्भिनुपर्छ भन्ने मानसिकता थियो आमासँग जात्रा हेर्न जाँदा पनि ।
दिदीको हातमा जेरी छ । जेरी मगमग छ । बासनाले नाकका पोरा छिचोलिसक्यो, दिदीले जेरी बाँड्दिनन् । पहिला सबैले दिदीलाई पालैपालो ढोग्यो । बलिम्तै बस्यो । आमाले साँझको लागि गहुँका रोटी ताबामा पकाउँदै गर्दा
घिउको बासना कोठैभरि छरिएको छ । बा गोठमा भैंसी दुहुन जानुभएको छ । नानी एकैछिन है म दुहेर आउँछु भनेर जानुभएका बाले भैंसी मसार्दै हुनुहुन्छ थरीमा । दुइटा लैना भैंसी छन् । भैंसी पनि कम्ताका छैनन् । पाडीबाट हुर्काएका मुर्रा र लोकलका ठिमाहा । बा गाउँतिर गएर फर्कंदा डहरमै आइपुग्दा स्याँकार र सुँकुर गर्दै गोठै उचाल्लान् झैं गर्ने । गाउँभरिका राम्रा भैंसी देवकोटाकहाँ हुन्छन् भन्थे । पुर्खोले मामालाई लग्यो भने भैंसी किन्दा धोका खाइन्न भन्ने गाउँभरिकाको भनाइ थियो । कतिपय दूध बेच्न तानसेन पुग्थे घर खर्च चलाउन । कोही दही बेच्थे । बाले भने जतिसुकै होस् पहिला केटाकेटीलाई खुवाउने, बँच्यो भने बल्ल बेच्ने भन्नुहुन्थ्यो ।
बाले बस् काली भन्दा बस्ने उठ् काली भन्दा उठ्ने अजङ्गको भैंसी पनि थियो । भैंसीसँग सम्वाद गर्नुहुन्थ्यो बा । कतिपय भैंसीहरु बिक्री भएर जाँदा रुँदै जान्थे । दाम्लो फुकाइसक्दा पनि जान मान्दैनथे । एकपटक त
दुमैडाँडा सोमराज गैरे बुबाकहाँ बेचेको भैंसी रोएकै रोयै गएछ । दूधै दिएन छ । बा गएर मुसारेर काली भनेपछि दूध दिएर र धर्धरी रोएछ । सोमराज बुबाले “म यो पापको भारी बोक्दिनँ भाइ, तिम्रो भैंसी लैजाउ, बरु बैना नदिए
पनि हुन्छ” भनेपछि बाले बुझेको बैना फिर्ता गरेर भैंसी ल्याउनुभएछ । धेरै वर्ष हामीले त्यही भैंसीको दूध खाएर हुर्केका हौं । सायद पशुसँगको यो मित्रवत् बसाइले हो या घरको वातावरणले हो, हामी कोहीभित्र पनि क्रूरता छैन भन्न सक्छु म ।
बाँसटारीबाट हिँड्नभन्दा पैदल छिटो पुगिन्छ भनेर सबैले भन्थे । किनभने गोजीमा नगद हुन्थेन अहिले झैं ।
अहँ, दिदीको झोलाबाट जेरी निस्केन । दाइहरु अलि ठूला भएकोले छुट थियो । साल्दाइबाट सुरु भएर हामीले नङ देखाउनु पथ्र्यो । दाँत यीं गरेर देखाउनुपथ्र्यो । दिदीले घरको अवलोकन गरेपछि भाइबैनीले कस्तो राम्रो गरेका
स्याबास् भनेपछि जेरी पाइन्थ्यो । तानसेन बजारमा खाने भनेकै जेरी थियो । मःम र चाउमिन त पछि सुरु भएका हुन् । जाँदाजाँदैको उकालोमा नेवारहरुले भुर्र पारेका ठूला स्टोभका ठूला कराहीमा जेरी बन्थे । रुपियाँको यौटा ।
दुइटा चप्प परेका जेरी खाएपछि नै पेट भरिन्थ्यो । चीसो पानीसँग तीनटासम्म खान सकिन्थ्यो । जेरी तन्काएपछि ओरालो लागिन्थ्यो बाटैबाट । उबेला सबै हिँड्थे । बसहरु पातला थिए । बाँसटारीबाट हिँड्नभन्दा पैदल छिटो
पुगिन्छ भनेर सबैले भन्थे । किनभने गोजीमा नगद हुन्थेन अहिले झैं । गाउँका आफन्त, इष्टमित्र, दैनिक अड्डामा काम गरेर फर्कनेहरु, क्याम्पस पढेर फर्किएका विद्यार्थीहरु हुन्थे । जाँदा पनि आउँदा पनि । त्यो बेलै अर्कै थियो ।
दिन बित्दै गए । हाम्रो ठगी र चकचकी पनि बढ्दै गयो । बाआमाले भनेको नटेर्ने, खेल्न हुरुरु बाटामा गैहाल्ने । होमवर्क पनि नगर्ने कुरा कसरी कसरी दिदीले थाहा पाइन् । सधै झैं तम्तयारीका साथ बसेका हामी भरालभुरुललाई
दिदीले बलिम्तै राखेर सोधिन् । बारीमा डल्ला फोर्ने बेला थियो ।
”तँ हिंज सिमली घारीमा गएर झ्याँकुसी खेलेको हो कि हैन ?”
‘साल्दाइले टाउको निहुराएर हो भन्यो ।’
”तँ बैनीलाई हेर्न छोडेर गणेशससित खेल्न गएको हो कि हैन ?”
मलाई प्रश्नको वर्षा भयो । हैन भन्ने मौकै थिएन । मेरो खेल्ने साथी उही थियो । टाउको निहुराएर ‘हो’ भनें ।
”तँ हिंज राज्जे खेलेको हो कि होइन ?”
उसले पनि हो भनी ।
रमाको पालो आयो । ”तँ हिंज गट्टा खेलेको हो कि हैन ?”
उसले पनि ‘हो’ भनी ।
एकैसासमा ”तिमेरुले हिजआज रामरी होमवर्क गर्दैनौ । हो कि हैन ?”
कोही बोलेन । सबले भुइँ कोतर्न थाले । सबका नौनाडी गले । तालु सुक्यो । मेरो बोली मसिनो भयो । त्यही बोली पनि भाँसियो ।
मलाई अचम्म लाग्यो, ‘यार तानसेन बस्ने दिदीले कसरी यो सब थाहा पाइन् ?’
दिदीले गाली गरिनन् । खतराको घण्टी बजाइन् ।
”आमा बिरामी हुनुहुन्छ । तिमेरु खेलेर हिँड्ने ? अहिले मैले क्यै गर्दिनँ । वार्निंग दिन्छु । तानसेन मैले पढ्ने स्कूलमा दूरबिन छ । त्यै दूरबिनबाट यो सब देखिन्छ । मैले हेरिरहन्छु ।”
अनि दिदीले जेरी बाँडिन् । त्यस दिनको जेरी ढुंगा खाए झैं भयो । स्वादै आएन । हात काँपे । जिन्दगीभर नमेटिने गरी एउटा शब्द दिमागमा घुस्यो, ‘वार्निंग’।
भोलिपल्ट बिहान यसो बारीतिर घाँस च्यातचुत पार्न जाँदा हाम्रो फुच्चे टोलीको मिटिङ बस्यो । माइली बैनी मन्जुको बोलाउने नाम कान्छी थियो । रमा नजन्मँदै ऊ कान्छी थिई । रमा जन्मेपछि माइलीमा बढुवा भई । रमा कान्छी भई । रमा पनि रीता जन्मेपछि साइँली भै । उसको पनि कान्छी पोष्ट खोसियो ।
मसिनो स्वरमा मैले भने, ”नानीले क्यारी थाहा पाइन् होला कान्छी ?”
कान्छीले लख काटी, ”त्याँ त कुइरेहरु हुन्छन् । कुइरेले ल्याए होलान् ।”
हामी सबको यौटै निचोड भयो । दिदीकहाँ शक्तिशाली दूरबिन छ जसले हामीलाई देखाउँछ ।
म दबदबेको बूटामा चढेँ । नांगो आँखाले दिदीले पढ्ने कलेज देखियो । म मनमनै पक्का निधोमा पुगेँ, ‘पक्का कुइरेले दूरबिन ल्याए ।’
त्यस दिनदेखि हामीलाई फसाद पर्यो । घरमा बस्दा बाँधिए झैं भाको छ । बाहिर जान दूरबिनको डर छ । डाँडामा छ तानसेन बजार । तल माडीफाँटमा छ हाम्रो घर । बस्ती पातला छन् । एक दिन मकै च्यात्दा रमाले भनी,
”दिदीहरु पढ्ने क्याम्पस डाँडापारी भाको भा पनि हुन्थ्यो नि ।”
मेरो केटाकेटी मनभित्र ठूलो जिज्ञासाले घर बनायो । कस्तो होला त्यो दूरबिन ? मैले त्यहाँ गएर हेरें भने कस्तो देखिएला हाम्रो घर ? कस्तो देखिएला बारी ? भैंसी आउला कि नआउला ? क्याम्पसमा कहिलेकाहीं आमाको पछि
लागेर जाँदा पनि भित्र पस्न नपाइने । दिदीसँग सोध्न डर लाग्ने । बासित भन्ने हिम्मत नहुने । बा देखेपछि डर लाग्ने । डरै नलाग्ने आमा हुन् । आमालाई भनेको दिदीले नभैकन भन्छिन् ? भनिन् । खेल खत्तम ।
धेरैपछिसम्म हामीले सताइरहेको यो प्रश्नको उत्तर अहिलेसम्म भेटिएको छैन । धेरैपछि पत्रिकाको सम्पादकको नाताले मिसन अस्पतालको वार्षिकउत्सव मनाउने क्रममा त्यहाँका डाक्टर, निर्देशकहरुसँग मैले दिदीको यो किस्सा
सुनाएँ । दिदी अनमीबाट उच्च शिक्षा हासिल गर्दै मिसन अस्पतालमा काम गरेको धेरै भएको थियो । भारतको इलाहावादमा नर्सिंगमा स्नातकोत्तर गर्न गएकी थिइन् । बोल्ने क्रममा मैले दूरबिनको कथा सुनाएँ । सबै हाँसे ।
नेपाली बोल्ने कुइरे डाक्टरहरु पनि हाँसे ।
अस्पतालका निर्देशकले भाषण गर्दै भने, ”त्यो दूरबिन छ तर देख्न मिल्दैन । सरुले दूरबिनको कथा नसुनाएर तपाईँको होमवर्क चेक नगरेको भए तपाईँ यसरी हाम्रो पाहुना बन्नुहुन्थेन होला ।”
अझै पनि तानसेन मिसन अस्पताल वरपर जाँदा त्यही दूरबिन भेटिन्छ कि झैँ लाग्छ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला