गैर आवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबन्धन समिति द्वारा ‘प्रवासी प्रवाह’ नामक बहुचर्चित धारावाहिक कार्यक्रमको ३३ औँ श्रृंखलामा राष्ट्रिय रुपमा नेपालमा सर्वाधिक बोलिने दोस्रो भाषा मैथिलीमा केन्द्रित थियो । संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो (रुस)को उपस्थितिमा आयोजक संस्थाका संयोजक हिक्मतबहादुर थापा (अफ्रिका) तथा भाषा–साहित्य समिति सहजकर्ता हरि पौडेल (नेदरल्यान्ड) को उपस्थितिमा भगवती बस्नेत ‘बुनु’ द्वारा संचालित यस वेबिनार सम्मेलनमा मैथिलीका वरिष्ठ साहित्यकार–कवि प्राज्ञ (नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका लोकनाट्य प्रमुख) धीरेन्द्र प्रेमर्षि विशिष्ट अतिथिको रुपमा सहभागी थिए ।

त्यसैगरि मिथिला आर्ट सेन्टर (अमेरिका) प्रमुख कवि अमित प्रताप साह, कवि सुभाष बैठा (अमेरिका), कवि संतोष सिंह (अमेरिका), कवि विन्देश्वर ठाकुर (कतार), कवि राम अधिन सम्भव (कतार) एवं अभियानी कवि प्रवीण नारायण चौधरीको सहभागितामा आआफ्नो काव्य रचनासँगै अभियान केन्द्रित चर्चासमेत गरिएको थियो ।

कार्यक्रमको शुरुआत डा. उपेन्द्र महतोको शुभकामना सन्देशबाट भएको थियो । जसमा यस्तो किसिमको कार्यक्रम आयोजना महत्त्वपूर्ण भएको भन्दै मैथिली भाषालाई पनि समेटेकोमा आयोजक संस्थालाई धन्यवाद दिएका थिए । उनले यसलाई निरन्तरता दिनसमेत आग्रह गरेका थिए । मातृभाषा निकै महत्त्वपूर्ण रहेको बताउँदै उनले यसको सेवामा लागेका सम्पूर्ण सृजनकर्ताप्रति उनले कृतज्ञता व्यक्त गरेका थिए ।

त्यसैगरी हरि पौडेलद्वारा सहभागी सृजनकर्ताहरुलाई शुभकामना दिँदै मैथिली भाषा र साहित्यप्रति आफ्ना केही जिज्ञासा राखेका थिए । सो जिज्ञासाको उत्तर प्राज्ञ प्रेमर्षिले दिएका थिए ।

मैथिली साहित्यको लिखित रुप ८औँ शताब्दीदेखि नै प्राप्त रहेको कुरा राख्दै ज्योतिशीश्वर ठाकुर, कविकोकिल विद्यापतिसँग नेपालको मल्लकालका अनेकौं राजासँग सम्बन्ध रहेको बताउँदै निरन्तर मैथिली भाषामा विभिन्न साहित्यिक विधाका रचनाहरु गर्नुपर्ने विचार सो कार्यक्रममा विद्वत् वर्गले राखेका थिए ।

मल्लकाललाई मैथिली भाषा साहित्यको स्वर्णकाल भन्दै तत्कालीन व्यवस्थामा सबैभन्दा सम्पन्न भाषा रहेको र मल्ल राजाहरुको समयमा काठमाडौंमा राजकाजको भाषा पनि मैथीली नै रहेको विषयमा प्रकाश पारिएको थियो । अहिले पनि संरक्षणको निम्ति राज्यले उचित कदम चाल्न नसकेकामा गुनासो गरिएको थियो ।

मुख्य संयोजक हिक्मतबहादुर थापाले एनआरएनएद्वारा आयोजित यस सम्मेलनमा सहभागिता जनाउने सम्पूर्ण मैथिली स्रष्टा तथा मुख्य अतिथि र सहजकर्तालाई धन्यवाद ज्ञापन गर्दै आगामी समयमा नेपालका अन्य भाषाहरुलाई पनि समेटेर कार्यक्रम गर्ने तथा मैथिली साहित्य प्रकाशनमा समेत उचित सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

मिथिला आर्ट सेन्टर अमेरिकाद्वारा अप्रिल २०२१ मा मिथिला उत्सवमा पनि संयोजक अमित प्रताप साहसँग सहयोग तथा सहकार्यका लागि प्रस्ताव गरिएको थियो । प्रस्तोताहरु पनि खुशी हुँदै कार्यक्रम सफलतापूर्वक आयोजना गरिएकोमा एसोसिएसन प्रति कृतज्ञता जाहेर गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा गरिएको थियो ।

उक्त कार्यक्रम एनआरएन साहित्यको वेबपेज सहित नेपालका ९ वटा अनलाइन पेजद्वारा प्रत्यक्ष प्रसारण गरिएको थियो । यस कार्यक्रमलाई नेपाल, भारत लगायत विश्वभरि अनेकौँ देशमा रहँदै आएका मैथिली भाषीहरुद्वारा निकै नै सराहना गरिएको थियो ।