यात्राको प्रमुख प्रयोजन रमाइलो हो । त्यसकारण यात्रामा जति दुःख पाएको भए पनि त्यो सम्झेर मन, मुटु र हृदय एकैपल्ट रोमाञ्चक हुन्छ । किनकि यात्राको दुःखले प्रसव वेदनाको रोमाञ्चकता पस्कन्छ । तर कुनै कुनै यात्राहरू यस्ता हुन्छन् जसले जीवनभरि नरमाइलो, नमीठो र बेस्वादिलो स्वाद पस्किरहन्छन् । मनलाई बेचैन बेचैन बनाइरहन्छन् । भुत्भुते खन्याइरहन्छन् । योबेला म अमेरिकामा बसेर पनि त्यो यात्रा सम्झिरहेको छु, जसले अझै पनि टाउको टनटनी दुखाइरहेको छ । सायद चेतपूर्ण जीवनभरि यो दुखिरहन्छ ।

यो कुरा २०६८ साल असोज २५ गतेको हो । हाम्रो टोली स्वर्गद्वारीको तीर्थयात्रा सकेर बिहानै लमही आइपुगेको थियो । लमहीपछि मेरा बुवाआमालगायतको टोलीलाई सप्तरी जानु थियो । तर म, मेरी श्रीमती सुशा, जेठी सासू शान्ता र साड्दाइ प्रेम बराललाई भने काठमाडौँ जानुपर्ने थियो । लमहीबाटै हाम्रो यात्रा छुट्टिनेवाला थियो । त्यसकारण बुवाआमालगायत सब तीर्थयात्रुलाई पूर्व जाने रात्री बसको टिकट काटेर लमही बसपार्कमै छोडेर हामी ४ जना नेपालगञ्जको प्रशिद्ध बागेश्वरीको दर्शन गरी बेलुका काठमाडौँ जाने मनसायका साथ पश्चिमतिर लागेका थियौँ । यो क्रममा जेठी सासू शान्ता बरालले मलाई भन्नु भएथ्यो – ज्वाइँ साहेब, यहाँबाट कर्णाली पुल नजिकै छ क्यार ! गएर माछा खाएर नेपालगञ्ज फकौँला ।

मेरो पनि कर्णाली चिसापानीको माछा भनेपछि मनै लोभिएको थियो । केही समय पहिला इतिहास संघको बर्दिया गुरुद्वारामा गोष्ठीको कार्यक्रम हुँदा काठमाडौँबाट रिजर्भ गरिएका बसका ड्राइभरले कर्णालीको माछा खुवाउन लगेका थिए । त्यो माछाको स्वाद मुखमै अड्किरहेको थियो । त्यसैले हामी माछा खान र कर्णालीको पुल हेर्न त्यतातिर लागेका थियौँ । चिसापानीमा माछा खान गएको होटल त्यही थियो । टेबुल कुर्सी उही थिए, तर माछा भने उही थिएन । माछामा खास दम नभएपछि हाम्रो मुड नै खराब भयो । मैले झट्ट सम्झेँ, त्यतिबेला ड्राइभरले भनेका थिए – पहिले नै चिनेको मान्छेले फोन गर्यो भने मात्र कर्णालीको माछा पाइन्छ सर, नत्र त कुनै पोखरीको वा भारतबाट ल्याएको माछा पो दिन्छन् त होटलवालाले ।

खेमराज पोखरेल (अमेरिका)

चिसापानीमा गएर त्यही भारतबाट ल्याएको गन्हाउने माछा खानु परेको थियो हामीले । त्यही क्रममा फेरि शान्ता दिदीले भन्नु भएथ्यो – ज्वाइँ साहेब कर्णाली त आइहालियो । माछाको कुरा यस्तै भयो । नेपालगञ्जको बागेश्वरी फेरि कुनै दिन जाऊँला । अब महाकाली पुगेर चाँदनी दोधारा हेरेर आऊँ । एक रातको त कुरा हो !

म पनि चिसापानीभन्दा पश्चिमतिर गएको थिइनँ । त्यसैले हौसिएँ । र हामी हाँस्तै रमाउँदै महाकालीतिर लागेका थियौँ । कर्णालीको पुलमा माछामा ठगिएको पनि बिर्सेका थियौँ । यसपछि हामी ४ जना तीर्थाटन छोडेर देशाटनमा रूपान्तरित भयौँ । हाम्रो प्रमुख ध्येय महाकाली नदी, महाकाली पारिको गाउँ चाँदनी दोधारा र त्यहाँ जाने सर्वाधिक चर्चित झोलुङ्गे पुल, शारदा ब्यारेज तथा बहुचर्चित टनकपुर बाँध हेर्नु थियो ।

सार्वजनिक यातायातबाट महेन्द्रनगर जाँदा साँझ परिसकेको थियो । गर्मी बिछट्ट थियो । स्वर्गद्वारीबाट फर्केको हुनाले पनि होला, असाध्यै धेरै गर्मी लागेको थियो । महेन्द्रनगरको बीच बजारमा गएर होटल हेरेका थियौँ । बल्लबल्ल एउटा होटल पाइएको थियो, त्यो पनि एउटा कोठा मात्र । कोठामा निकै ठूलो बेड थियो । सफा थियो । मिलेर सुते ८ जना जति सुत्न सक्ने थियो ।

२६ गतेको बिहान उठेर म कपाल दारी काट्न चोकतिर गएको थिएँ । सैलुनमा दुई जना अरु पनि कपाल कटाइरहेका थिए । ती बात मारिरहेका थिए । सामान्य देखिने ती दुई थारु नेपाली रहेछन् । उनीहरू नेपालीमा बात मार्दै थिए । सामान्यतया तराईमा बोलीचालीका लागि स्थानीय भाषा बोलिन्छ । तर उनीहरूले शुद्ध नेपालीमा बोलेको देखेर मलाई आनन्द लाग्यो । उनीहरूले मलाई चाँदनी दोधारा जान मोटरसाइकल सुझाए । भाडामा मोटरसाइकल पाइँदो रहेछ ड्राइभरसहित । यो मेरो लागि नौलो थियो ।

राजा महेन्द्रले टाउन प्लानिङ गर्न लगाएर बनाएको सहर हो महेन्द्रनगर । त्योभन्दा पहिले यसको नाम धुर्सुली बजार थियो । सहर निकै व्यवस्थित देखिन्थ्यो । बाटाघाटा फराकिला र सुन्दर मिलेका थिए । नेपालमा केही थोरै सहरहरू छन् जसको प्रारूप टाउन प्लानिङमार्फत् बनाइएको देखिन्छ । यता गणतन्त्र आएपछि महेन्द्रनगर नगरपालिकाको नाम फेरेर भीमदत्त नगरपालिका बनाइएको छ । यसरी पुरानो नामलाई फेरेर नयाँ नाम राख्ने क्रान्तिकारी चलनले नेपालको इतिहास आक्रान्त छ । बिचरा भीमदत्त पनि यही चपेटामा पारिए । ‘कि जोत हलो, कि छोड थलो, हैन भने छैन अब भलो’ भन्ने नारा बोकेर ‘जसको जोत उसकै पोत’ भनेर विद्रोह गर्ने विद्रोही किसान नेता भीमदत्तप्रति नमन गरेँ । उनलाई मार्न भारतीय सेना भित्र्याउने तत्कालीन सरकार र त्यहाँका क्रुर सामान्तहरूका नाममा थुथु गरेर आफ्नो मनलाई शान्त बनाएँ । उनलाई मारिएको ठाउँ डडेल्धुराको जोगबूढालाई विकास गरेर उनको नाममा सहर बसाएको भए के जान्थ्यो सरकारको ! र अर्काको जुठो थालमा भीमदत्तको नामलाई उभ्याइएको मलाई पटक्कै मन परेन । न त धुर्सुलीलाई महेन्द्रनगर बनाइएको नै मन पर्यो । धुर्सुली नै नाम रहन दिएको भए पनि त हुन्थ्यो नि ! धुर्सुलीको इतिहास त मर्ने थिएन नि ।

राजा महेन्द्रले व्यवस्थित गरेको त्यो नामैले महेन्द्रनगर सहरमा राजा महेन्द्रकै सालिक भत्काउनुले नेपालीहरूको बुद्धि, स्वभाव तथा चेत कृतघ्न भएको पुष्टि गर्दथ्यो ।

महेन्द्रनगर सुदुरपश्चिम तराईको तथा भारतसँगको सीमावर्ती सहर भए पनि यसले नेपालको पहाडिया प्रभाव प्रशस्तै अङ्गालेको देखिन्थ्यो । भाषा, भेष तथा परिपाटीमा पहाड देखिन्थ्यो । बाँसको चोयाका थुन्सेलगायतका सामग्रीहरूका पसलहरू पनि देखिन्थे । विजय सालको महत्त्व बुझेको सुदुरपश्चिमले विजय सालकै ठेकी तथा घैला निर्माण गरेर आफ्नो छुट्टै पहिचान बनाएको देखिन्थ्यो । काठका ठेका त धेरै देखेको थिएँ मैले, तर काठको घैला चाहिँ यो बजारमा देखेको थिएँ । बाटोमा रहेको एउटा चौकमा महेन्द्रको सालिक तोडफोड गरेको अवस्थामा देखिन्थ्यो । राजा महेन्द्रले व्यवस्थित गरेको त्यो नामैले महेन्द्रनगर सहरमा राजा महेन्द्रकै सालिक भत्काउनुले नेपालीहरूको बुद्धि, स्वभाव तथा चेत कृतघ्न भएको पुष्टि गर्दथ्यो । मलाई लाग्छ, यी तत्त्वलाई नेपाली इतिहासले सधैँ थुकिरहने छ ।

महेन्द्र राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीसम्म मात्र रहेछ । त्यसले महाकाली नदी छुँदो रहेनछ । सामान्यतया पहिले इतिहासमा पढ्दा नेपालको पश्चिमी सीमा महाकाली नदी भन्ने पढेको सम्झना आउँछ । महाकालीपारि पनि नेपाली गाउँहरू चाँदनी र दोधारा छन् भन्ने पढेको हो । यसरी महाकालीवारि नै भारतीय प्रहरीले गस्ती गरिरहेको देख्दा मन त रोयो तर यसको इतिहास जान्न मन लाग्यो । म आफू पनि इतिहासको विद्यार्थी भए पनि यसको बारेमा त्यति धेरै जानकारी थिएन । मैले लगभग ५/७ जना इतिहासका प्राध्यापकहरूलाई महाकालीवारि भारत आउनु र महाकालीपारि नेपाल पुग्नुको ऐतिहासिक कारण खोजेँ । तर कसैबाट मलाई चित्तबुझ्दो जवाफ नआएपछि पृथ्वीनाराण बहुमुखी क्याम्पसका इतिहास विषयका प्रा.डा. ज्ञान बहादुर कार्कीले यो विषयमा चित्त दिनुभयो र उहाँले खोज गरी सप्रमाण मलाई तथ्य उपलब्ध गराउनु भयो । धन्यवाद छ मित्र डा. कार्कीलाई ।

पूर्वपश्चिम महेन्द्र राजमार्गको पश्चिमी टुप्पो गड्डाचौकीमा टुङिगएपछि केही मिटर पर महाकाली नदी रहेछ र त्यो नदीमा बाँध बनाइएको छ । त्यो बाँधलाई भारततिर शारदा ब्यारेज भनिदो रहेछ । त्यो ब्यारेजमा बनाइएको बाटो नै महेन्द्रनगर र भारत जाने प्रमुख गल्छेँडो हो रहेछ । त्यो बाँधमा भारतको जलविद्युत आयोजना सञ्चालन रहेछ । यो बाँध सन १९२० को अक्टोबरमा तत्कालीन ब्रिटिस इण्डिया र नेपालका शासक ‘घरका बाघ, र बाहिरका स्याल’ भनेर चिनिने अङ्ग्रेजभक्त चन्द्र शमशेर भएको बेला सम्झौता भई कार्यान्वयन भएको रहेछ । सोही सम्झौताका कारण महाकाली नदीवारि टनकपुरदेखि मुन्तिरको ४०९३.८८ एकड जमिन ब्रिटिसको हुन गएको रहेछ । सोको शोधभर्ना बापत केही जग्गा बर्दियामा दिएको भनिएको छ । तर कुन स्थान दिइयो भन्ने कुरा सम्झौतामा छैन । त्यसको सट्टामा चन्द्रशम्शेरले रु. पचास हजार क्षतिपूर्ति लिएका थिए भन्ने कुरा थाहा पाउँदा मलाई झन् भाउन्न भएर आएको थियो । शारदा ब्यारेज बनाउने १९२० को सन्धीअुनसार नेपालले पाउनु पर्ने पानी सोको ५५ वर्षपछि यानिकि सन् १९७५ मा मात्र नेपालतिर लिखुरे नहर खनी प्राप्त भएको पनि ज्ञात भयो । जबकि भारतले उतिबेलै सबै पानी भारततिर नहर बनाएर लग्यो । यो पुललाई नौलखा पनि भन्ने गरिँदो रहेछ । किनभने यो पुल बनाउन त्योबेला नौ लाख लागेको जनविश्वास रहेछ ।

मैले एकटकले नेपालको मुटुमा बनेको त्यो शारदा ब्यारेजको बाटोलाई हेरिरहेँ । त्यहाँबाट बजार भर्न तथा रोजगारीका लागि भारत जाने निरीह नेपालीको लर्को थियो । भारतीयहरूले त्यो बाटो पनि बन्द गरिदिँदा रहेछन् । हेपाइस उस्तै देखिन्थ्यो । नेपालीका पीडा उस्तै थिए । महाकालीवारिको भारतमा रुखबिरुवाहरू हराम्मे थिए । नेपालपट्टि अव्यवस्थित र फुङ्ङ उडेको थियो ।

शारदा ब्यारेजको पर्यटकीय तर दुःखी हेराइपछि अब हामी एसियामा नै प्रसिद्ध चाँदनी दोधाराको पुल र गाउँ हेर्न त्यतातिर लागेका थियौँ । बाटोमा शुक्लाफाँटा आरक्षण क्षेत्र पर्दोरहेछ । हाम्रो जीपले हामीलाई महाकाली पुलको नामबाट चिनिने चाँदनी दोधारा र महेन्द्रनगर जोड्ने झोलुङ्गे पुलको मुखैमा पुर्याइदियो । पुलको मुखैमा पुलको लम्बाइ १४५२.९६ मिटर भनेर लेखिएको थियो । दोगादोगी पानी बगेको देखिए पनि बगर मात्र भएको महाकाली नदी नामले मात्र महाकाली थियो । कामले कतैकतै कमिला घुमिरहेथे । पुललाई क्यामरामा कैद गरेर हामी हिँडेर पारिपट्टि रहेको चाँदनी दोधाराको भूमि टेक्न हिड्यौँ । चाँदनी दोधाराको भूमि स्पर्श गर्यौँ । त्यहीँबाट महाकाली नदीमा झरेर महाकालीको ढुङ्गो बोक्यौँ । त्यो ढुङ्गा मेरो आफ्नो थियो । मलाई त्यस्तै बोध भएको थियो । चाँदनी दोधाराका नेपालीहरू टोपी लाउने, नेपाली भाषा बोल्ने थिए । उनीहरूका सुस्केरा उस्तै थिए । भारतीयबाट हुने हेपाइ तथा पेलाइ उस्तै थिए । मैले एक जनालाई सोधेको थिएँ – दाइ, यो पुल नबन्दा तपाईँहरू के गर्नु हुन्थ्यो ?

त्योबेला त यहाँ भारतीय रुपियाँ नै चल्थ्यो । नेपाली रुपियाँ त पातलो कतै कतै दसी पाइन्थ्यो ।

उनले जवाफ दिएका थिए– के गर्नु र ! पुल थिएन । महेन्द्रनगर जानु त उही सरकारी काम परे मात्र थियो । महेन्द्रनगर जान पनि भारत भएर शारदा पुलबाट जानु पथ्र्यो । भारतीय पुलिसको हैकम र हेपाइ खप्नु नै पथ्र्यो । त्योबेला त यहाँ भारतीय रुपियाँ नै चल्थ्यो । नेपाली रुपियाँ त पातलो कतै कतै दसी पाइन्थ्यो ।

चाँदनी दोधाराको क्षेत्रफल ५६.८४ स्क्वायर किमी रहेछ । मलाई चाँदनी दोधारा महाकालीपारि किन पुग्यो भन्ने कुराले दिमागमा झट्का दिएको थियो । सुगौली सन्धी हुँदा नेपाल–भारतको सीमा महाकाली नदी भनिएको कुरा पढिएको थियो । सन् १८६४, १८६३ र १८९३ मा ब्रिटिसले जारी गरेको नक्सामा चाँदनी दोधारा महाकालीवारि छ भन्छ इतिहास । तर सन् १९१० मा महाकालीमा आएको बाढीले मूल धार छोडेर चाँदनी दोधारालाई बाहिर पार्दै भित्र भँगालो पस्यो । सन् १९२८मा शारदा बाँधको निर्माणपछि ब्रिटिसले शारदा बाँध बनाएर महाकाली नदीको सबै पानी भारततिर फर्कायो । फलस्वरुप मूल महाकाली नदी बगरमा परिणत भएको रहेछ । हाल महाकाली नदी त्यही सहायक भँगालोबाट बग्दो रहेछ । चाँदनी दोधाराको यो पुल बनाउँदा बाँध नबाँधिएको भए यो सबै बगर हुने थियो । किनकि भारतले पानी चाहिँदा नहरबाट पानी लैजाने र नचाहिँदा सबै पानी भँगालामा हालिदिने भएपछि चाँदनी दोधारामा कटान भई बस्ती नै सखाफ हुने प्रकृया सुरु भइसकेको रहेछ । यो कुरा थाहा पाएपछि चाँदनी दोधाराको नियति सम्झँदै दुःखी हुँदै रहनुको कुनै विकल्प थिएन मसँग ।

चाँदनी दोधाराबाट फर्केपछि हाम्रो यात्रा विवादास्पद टनकपुर बाँध हेर्नका लागि अग्रसर भयो । महाकालीवारिको भारतको छैवैछेउ, कतै कोत्र्याहा पिच, कतै धुलो, कतै खण्डास्मित सडकबाट नेपालको ब्रह्मदेव बजार पुगियो । यो ब्रह्मदेव महेन्द्रनगरबाट लगभग ८ किमी टाढा रहेछ । सानो तर चिटिक्कको बजार रहेछ ब्रह्मदेव । तर त्यो बजार त्यो क्षेत्रको हिसाबमा भन्ने हो भने निकै ठूलो र व्यवस्थित थियो । व्यापारिक सामानहरू पनि धेरै प्रकारका थिए । मैले स्थानीयलाई त्यो बजारको बारेमा सोधेको थिएँ – यो बजारमा यति धेरै सामान छन्, यो कसले किन्छ ?

उत्तरमा उनले भनेका थिए – सयकडा पाँच नेपालीले मात्र किन्लान् । यो खासमा भारतका मान्छेका लागि हो बजार । नेपालका सामान र विदेशी सामान किन्न भारतीयहरू आउने गरेकाले यो बजारको विकास भएको हो । भारतीयको लागि यो ब्रह्मदेव विदेशी सामानको लागि सस्तो बजार हो ।

ब्रह्मदेव बजारको बीचमा भीमदत्त पन्तको सालिक रहेछ । त्यो सालिकलाई श्रद्धा गर्दै फोटो खिचेर हामी टनकपुरतिर यात्रा सुचारु गरेका थियौँ । त्यहाँ बाटैमा नेपालको प्रहरी चौकी थियो । महाकाली नदीको पूर्वी बाँधमा टेकेर हामी टनकपुरतिर गएका थियौँ । अलि पर टनकपुर बाँध देखिन्थ्यो । मलाई जानकारी भएअनुसार टनकपुर सम्झौता भारत र नेपालका बीचमा ६ डिसेम्बर १९९१ मा भएको थियो । सम्झौता अुनसार नेपालले आफ्नो २.९ हेक्टर जमिन/५७७ मिटर लम्बाइको जमिन टनकपुरको पूर्वी बाँध बनाउन दिएको थियो । जम्मा १००० क्युबिक फिट पानीमा नेपाललाई १५० क्युबिक फिट दिने पनि भनिएको थियो । भारतले योबापत नेपाललाई १० मिलियन किलोवाट बिजुली सित्तैमा दिने पनि भनिएको थियो । तर अहिले हेर्दा सम्झौता अनुसार दिएको भन्दा पनि बढी भूमि प्रयोग गरेर भारतले नेपालपट्टि बाँध बनाएछ । नहर खनी सबै पानी भारततर्फ लगेछ । पावर हाउस बनाएर विद्युत पनि लगेछ । तर नेपालतिर भने न नहर थियो न बिजुली । केवल नैराश्य थियो । गरिबी थियो । भारतीय ढाँटहरूले र नेपाली लुते नेताहरूको चक्रब्युहमा नेपाल रोइरहेको दृश्य त्यहाँ देखिएको थियो । एक जना स्थानीय अलि पाकाले भनेका थिए – अहिले देखिएको महाकाली नदीको पल्लाछेउसम्म नेपाल थियो । के गर्नु ? हिजो हिँडेको बाटोमा आज टेक्न पाइन्न । सम्झौताले नेपाली भूमि गुम्यो भन्छन् । नेता नै जानून् । के गर्नु हामी नेपालीको कर्म नै उस्तो हो कि क्या हो, पानी जति भारतमा बाढी जति नेपालमा हुने सम्झौता पनि कसरी गरेका होलान् नेताले !

बाँधको तलतिर ब्रह्मदेव मार्ग थियो । त्यहाँबाट सवारी साधन गुड्थे । आफ्नै जग्गामा अर्काले हकारेको सुन्नु परेको थियो ।

महाकाली नदीको पूर्वी तटमा बनाइएको बाँधमा चढेपछि हामीले टनकपुर बाँधको फोटो खिच्न खोज्यौँ । तर त्यहाँ बसेको भारतीय प्रहरीले दुर्वाच्य नै बोलेर प्रहार गर्यो । बाँधको तलतिर ब्रह्मदेव मार्ग थियो । त्यहाँबाट सवारी साधन गुड्थे । आफ्नै जग्गामा अर्काले हकारेको सुन्नु परेको थियो ।

त्यहाँका मान्छेहरूले पञ्चेश्वर परियोजनाका गफहरू पनि सुनेका थिए । संसारको सबभन्दा ठूलो बाँध बनाएर बिजुली उत्पादन गर्ने महत्त्वाकांक्षी परियोजनाले फेरि के गर्ने हो भन्ने बारेमा भयभित पनि थिए । टनकपुर बाँधबाट पारि पुगेपछि महाकाली नदीको पानीबाट एकदम ठूलो नहर बनाएर भारततिर पानी लगिएको थियो । नीलो नेपाली पानी छङछङ गर्दै भारततिर नहर भएर बग्दै थियो । नेपाली पानी छाल फ्याँकेर विद्रोह गर्दै थियो । सुसाउँदै थियो । तर सिमेण्ट ईँटाका डोरीले नेपाली पानीलाई चौखुर्याएर उतातिर घिसारेको थियो । यतातिर हार गुहार सुन्ने कोही थिएन । बाँधको मुन्तिर महाकाली नदीमा कमिला कुदिरहेका थिए । उतातिर हराम्य थियो । यतातिर फुस्राम्य थियो । उतातिर नेपाली पानीको बत्ती बल्थ्यो, यतातिर उताको अँध्यारो छायाँ थियो । महाकालीको त्यो छङछङ गर्ने पानीको निरीह आवाज, आफ्नै धरतीमा पाइला राख्दा नेपालीले खाने खप्की र नेपाली नेताको हस्ताक्षर देखेर मन, मुटु तथा हृदय एकतमासको भएको थियो । महाकालीवारि नेपाली चुनावका चिन्हसहितका ललिपप नाराहरू भित्तामा चिप्किएका थिए ।

टनकपुरको बाँधमा पुगेर फर्कँदा देखिएको यो दृश्यले टाउको टनटनी दुःखेको थियो । टाउकोभित्रको गिदी विदीर्ण भएको थियो । यो टाउको महाकालीमा ज्यादै दुख्यो । हृदय चिरियो । आत्मा रोयो । यही दुखाइका क्रममा हामी फेरि ब्रह्मदेव बजार फर्केका थियौँ ।

ब्रह्मदेव बजारको मुख्य आकार्षण ब्रह्मदेव मन्दिर परिसर रहेछ । ‘श्री सिद्धबाबा मन्दिर प्रवेशद्वार ब्रह्मदेव नेपाल मिति २०५६.१०.२’ लेखिएको र ॐ र स्वस्तिक चिन्ह कुँदिएको गेटले स्वागत गरेको थियो । पस्ता पस्तै विष्णु मन्दिर थियो । ब्रह्माको दुर्लभ मूर्ति यहाँ रहेछ । तर कोही भन्दथे यो ब्रह्माको मन्दिर होइन, सिद्धबाबा ब्रह्मदेवको मन्दिर हो । प्राङ्गणको मुख्य आकर्षण भने ठूलो रुख थियो । । भारतीय तीर्थयात्रुको आकर्षणको केन्द्र रहेको यो तीर्थ स्थलको महत्त्व नेपालमा भन्दा भारतमा धेरै रहेछ । यो रुख प्राचीन शिद्धबाबाको तपस्या गर्ने स्थल रहेछ । ब्रह्मदेव प्राङ्गणमा पार्क पनि बनाइएको रहेछ । मलाई लाग्यो कि यो ब्रह्मदेव परिसरको सात्विक उर्जाले गर्दा त्यो टनकपुरको पीडा पनि खपेर बसिरहेका छन् । बाँचिरहेका छन् । नेपाली जस्तोसुकै पीडामा पनि बाँच्न अभ्यस्त छ भन्ने कुरा यही ब्रह्मदेवको रुखले बताइरहेको थियो ।

टनकपुरमा टनटनी दुखेको टाउकोभित्रको गिदीलाई शान्त पार्न त्यही रुखको वरिपरि बनाइएको सिमेण्टेड फलैँचामा म उत्तानो परेर लम्पसार परेको थिएँ । मनलाई शान्त बनाएको थिएँ । रुखको फेदमा आइरहेको चिसो हावाले आध्यात्मिक शान्ति लिने प्रयास गरेको थिएँ । सम्झदै थिएँ, जीवन नासवान् छ । सुख–दुःख छ । सफलता–असफलता छ । देश–विदेश सांसारिक माया हुन् । यो टनटनी दुख्ने चेत पनि सांसारिक हो । तर पनि टनकपुरको बाँध, भारतीय प्रहरीको हेपाइस्, निरीह नेपालीको नियति, महाकालीवारिको भारत र चाँदनी दोधाराको दुर्भाग्यले मेरो मन विह्वल भएको थियो । मेरो भौतिक चेत चिरिएको थियो । आध्यात्मिक चिन्तन बेसुरा भएको थियो । ‘भगवानले नदेखेको केही छैन’ भन्ने बुझेको मलाई भगवान मरे झैँ लागेको थियो । यो देखेर नेपालका बिकौवा नेताहरूको नाममा खल्को हाल्न मन लागेको थियो । तर के गर्नु ? बाँच्नु थियो यही देखेर । यही भोगेर । यही पढेर ।

त्यसकारण त्यो क्षेत्रमा धेरै दिन बस्नु भनेको बेथा ब्युँताउनु थियो । आफ्नै लाज छोप्न धोती उचालेर अनुहार छोप्ने चेत न हो आम नेपालीको । त्यसैले म पनि महाकालीमा फुस्किएको चेतको धोतीलाई टाउकामा गुथेर आँखा छोप्दै टाप कसेको थिएँ । अनुहार छोपेको थिएँ, तर म सर्बाङ्ग नाङ्गिएको थिएँ । नाङ्गो भएकै बेला झन् झन् महाकाली दुखिरहेथ्यो । त्यसैले त्यही २६ गते रात्रिबस चढेर काठमाडौँ हुइँकिएका थियौँ ।