गएको माघ १ गते स्रस्टा साँझ अमेरिकाको आयोजनामा जुम माध्यमबाट नेपाल तथा अमेरिकाका कविहरूको कविता वाचन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठान, काव्य विभाग प्रमुख प्राध्यापक डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सुरुमा स्रस्टा साँझका अध्यक्ष प्रभात दीक्षितले स्वागत मन्तव्य दिँदै स्रस्टा साँझ अमेरिकाका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको संयोजन अमेरिकाको तर्फबाट भगवती पौडेल तथा नेपालको तर्फबाट पवनकुमार बुढाथोकीले गरेका थिए ।
जम्माजम्मी १६ जना कविहरुले कवितावाचन गरेका थिए ।
कार्यक्रममा नेपालबाट प्रा. प्रमिला बिडारी, रामकुमार पंडित क्षेत्री, पार्वती भट्ट, दिव्य पन्त, प्रभा पोखरेल, सुशी ढकाल, आनन्द कला राई, सुरेन्द्र केसी, मीरा शर्मा गजुरेल, जुनु खडका, पवन बुढाथोकी (कार्यक्रम संयोजक) तथा अमेरिकाबाट प्रकाश नेपाल, तीर्थ अधिकारी, रन्जु मार्ग, कमला अधिकारी, भगवती पौडेल (कार्यक्रम संयोजक) आदिले आ-आफ्ना सृजना वाचन गरी सहभागीहरुलाई मन्त्रमुग्ध पारेका थिए ।
कार्यक्रमको विशेष आकर्षण एलाक कविता अभियानका प्रा. डम्बर पहाडीले एलाक कविताका बारेमा जानकारी दिँदै कविता वाचन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. हेमनाथ पौडेलले उपस्थित कवि तथा स्रस्टाहरूलाई आफू तथा प्रज्ञा प्रतिष्ठानका तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।
प्रा. डा. पौडेलले विशेषगरी कोभिडको प्रकोपपछि यस्ता किसिमका दुई तथा बढी देशमा बसोबास गर्ने कविहरुको आपसमा भर्चुअल माध्यमद्वारा जोडिने क्रम विकास भई अन्तर्राष्ट्रियस्वरुप लिएको कुरा उल्लेख गरे ।
नेपालमा बस्नेले मात्रै हैन नेपालबाहिर बस्नेले पनि नेपालको वर्तमान परिस्थितिको अनुभूत गरिरहेको थाहा पाएको बताउँदै प्रा. डा. पौडेलले प्राय: गरेर विदेशमा बस्ने सर्जकबाट परदेशमा भोगेका पीडा अर्थात् डायस्पोरिक चेतना धेरै आउने गरेको बताए । यस पटक भने परदेशमा बसेर पनि घरदेशका चिन्ता गरिएका कविताहरु धेरै आए । हाल प्रज्ञा प्रतिष्ठानद्वारा अन्तरदेशीय क्षेत्रमा बसेर साहित्य सिर्जना गर्ने कविहरुलाई संलग्न गर्ने र जोड्ने काम भैरहेको पनि जनाए। उनले बर्मेली, युरोपेली, भारतेली, बेलायती कविता संग्रह निकाल्दै गरेको पनि उनले बताए ।
प्रा. डा. पौडेलले वाङमयको सबै विधाको क्षेत्रलाई समेटेर संग्रहालय बनाउँदै गरेको र नेपाली कविताको इतिहास लेखाउने काम पनि भैरहेको जानकारी दिँदै र त्यस्को लागि सबै पक्षलाई सहयोग गर्न पनि आग्रह गरे । साथै, उनले आफ्नो एउटा गद्यकविता पनि वाचन गरेका थिए ।
करिब डेढ घन्टाको सो कार्यक्रमको अन्त्यमा स्रस्टा साँझ अमेरिकाका सचिव बैकुण्ठराज आचार्यले सन् २०२० मा स्रस्टा साँझ अमेरिकाद्वारा प्रकाशित दुई कविता संग्रहहरु “आज फेरि” (वैकुण्ठराज आचार्यकृत) र “अक्षरका बिउहरु” (भगवती पौडेलकृत) लोकार्पणका लागि नेपाल प्रज्ञा प्रतिष्ठानलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै प्रमुख अतिथि, उपस्थित कवि र अन्य सहभागीहरुलाई कार्यक्रम सफल बनाइदिएकोमा धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

