‘पल्टन बजारमा आण्टी र भाञ्जीहरुलाई नजिस्का है केटा हो’ भन्दै हामीलाई गुरुजीहरूले सावधानी गराउँथे ।
पल्टन बजार, चियामा चोबेर खाएको पाउरोटी अनि खुब जिस्कने आण्टीहरु मेरा पल्टने सुरुवाती दिनहरूको मीठो सम्झना बनेर आउँछ । आजभोलि चिया पाउरोटीमा किन त्योबेलाको स्वाद आउँदैन कुन्नि ?
क्याम्पको बीचभागमा ठूलो भवन थियो । त्यहाँ छुट्टीमा आउने जाने लाहुरे बस्थे । परेड गर्ने ठूलै हाता (परेड स्क्वायर) पनि थियो । बटालियन अफिस थियो । भवन अगाडि नेपाल र बेलायतको झण्डा टाँगिएको थियो । जी.एम. (गोर्खा मेजर) मेजर गोपाल गुरुङ, ए.आर.ओ. (एरिया वेलफेअर अफिसर) क्याप्टेन देवकुमार राई, डी.आर.ओ. (डिपुटी रिजेन्ट अफिसर) क्याप्टेन अमरबहादुर थापालगायत अरू निकै ठूला ओहदाका बेलायती गोरा क्याप्टेन र मेजर पनि त्यहाँ थिए । बेलाबेला हाम्रो क्रियाकलाप हेर्न घुमिरहन्थे । उनीहरूले लगाएका सुकिला लुगामा आइरनको सुरिलो धार हुन्थ्यो । बुट टलक्क टल्केका हुन्थे ।
मेरो पनि मनमा रहर टुसाउँथ्यो, कुनै दिन म पनि यो ठाउँमा पुग्न सकूँ ।
बिहानै अप्स्टिकल तीन राउण्ड लाइन्थ्यो । त्यसमा भने मणि, सचिन र रमेश अगाडि आउँथे । पछि थाहा भयो उनीहरू रैथाने भएकाले त्यहाँ आएर बेलाबेला लुकेर कसरत गर्दारहेछन् ।
हाम्रा गुरुजी गज्जबकै थिए । एक दिन मुसुमुसु हाँस्दै हामी सुत्ने क्वाटरतिर आएर भने, ‘ल केटा हो, भोलि मेडिकल छ । नेपाली अंकल भएको ठाउँमा चाहिँ सक्दो खोक्ने हो, मृग कराएजस्तो । अर्काे कोठामा भने गोरेनी डाक्टर मेडम हुनुहुन्छ, त्यहाँ भने घोप्टो पर्ने अनि पिठ्यूँ देखाउने । त्यसपछि कुर्सीमा बसेर खुट्टा सिधा पार्ने । रबरको ह्याम्मरले घुँडामा हान्दा खुट्टा तिनिक्क तन्केमा पास । हलचल नभएमा फेल । बुझिस् त काँचो लाहुरे हो ?’
सबैले ‘बुझ्यौँ गुरुजी’ भन्यौँ ।
पाकेका लाहुरे कस्ता हुन्छन् होला ? भनेर सोच्थें ।
भोलिपल्ट बिहान । पालैपालो खोक्न लगाइयो ।
सबैले खोके, ख्वाँक ख्वाँक । एक जनाले भने अक्खम गरेर अर्कै पाराले खोके ।
‘अँ है, योचाहिँ निकै चंखे परेछ । के रे केटा तेरो नाम ?’ गुरुजीले सोधिहाले ।
– शम्भु लिम्बू ।
– कता बस्ने लिम्बू हो स्याँठा ?
– ताप्लेजुङ गुरुजी ।
– ल यत्तिको पारा मारिस् भने भर्ती लाग्लास् कि । ल सबै जना पास । छुट्टी मनाऊ ।
गुरुजी बाटो लागे । हामी पनि खाना खाएर फेरि पल्टने बजारतिर रमिता हेर्न गयौँ । गुरुजीहरू एउटा भट्टीमा मस्तले बियर पिइरहेका थिए । भट्टीसाहुनी पनि मजाले खुलेकी थिइन् पहेँलो कुर्था सरवालमा । हामीलाई पनि बियर पिउन बोलाई भ्याउँथे ।
भोलिपल्ट बिहानै मेडिकल चेकअप भयो । हामी सबै आआफ्नो ग्रुपमा मेडिकल सेन्टरतर्फ लाग्यौँ । फाइलमा छातीको नम्बर टिक लगाएपछि नाङ्गो पारेर खोक्न लगाइयो । दुईवटा बल माथि सरेमा पास र मरेको बोकाको जस्तो तुर्लुङ्ग झुण्डिएमा फेल भनेर अघिल्लै दिन सुझाइएको थियो ।
मजाले खोकियो । पास भइयो । तर सचिन हाङ्ले खोकेको सुनिएन । तै पनि पास भए । ‘नखोकीकन बल कसरी माथि सारेछन् ?’ हामीले यसो ट्राइ पनि गर्यौं; हुँदै भएन । बुझ्दै जाँदा थाह भयो, बलको मिटर सार्ने त उनकै बाबा पो रहेछन् ।
पछि सचिनजीलाई खुब जिस्क्यायौं, ‘छोरोले बल कति माथिसम्म उफार्छ भन्ने कुरा बालाई थाह भइहाल्छ, किन खोकाउँथे छोरालाई ।’
‘चुप लाग स्याँठा हो’ भन्दै बटारिन्थे उनी ।
भोलिपल्ट । पल्लो कोठामा पठाइयो पालैपालो । गोरेनी डक्टरले सबै जाँचिन् । त्यहाँ धेरै साथीलगायत म पनि पास भएँ ।
चउरमा लगेर हेभिङ, सिटअप र डिप्स गराइयो । त्यहाँ पनि सिटअप भने फुलमार्क तीस नै हानियो । हेभिङमा म कमजोर नै थिएँ १७ मात्र हानेँ बीसमा । डिप्स पन्ध्र नै बजाइयो । फूलमार्क ।
‘जाँचमध्येमा सबैभन्दा खतरा अन्तर्वार्ता हो । त्यसमा धेरै फालिन्छन् ।’ भन्थे । गुरुजीहरूले एक दिन त्यसैको अभ्यास गराए । ‘सम्भावित प्रश्नहरू यस्ता हुन्छन्, जवाफका लागि सोचेर जानू । गोरा र गोर्खे साहेबहरूले सोध्नेछन् । नडराईकन मजाले भन्नू । ल सुन ।’ भनेर केही प्रश्नहरू सोधे ।
– घर कता हो ?
– कति पढेको ?
– को को छन् नाता पर्ने पल्टनमा ?
– दिदी बहिनी कति छन् ?
– किन जाने भर्तीमा ?
– भर्ती नभएमा के गर्ने विचार छ ? आदि इत्यादि ।
त्यो दिन हामी एकअर्कामा त्यहीँ प्रश्न सोध्दैै दिन कटायौँ । सबैको घर, थर र परिवार थाहा पनि भयो ।
तर मलाई अर्कै प्रश्न सोधियो ।
–तिम्रो गाउँको खोलाको नाम के हो ?
–पौडी खेल्न आउँछ ?
–खोलामा माछा पनि पाइन्छ ?
–कत्रो माछा पाइन्छ ?
उत्तरमा मैले हातको इशाराले ‘यत्रो–यत्रो’ भनें । सबै गलल . . . हाँसे । त्यति मात्र कहाँ हो र ? हप्ता दिनसम्म नामै ‘यत्रो यत्रो’ राखिदिए ।
एक हप्तापछि दौडको परीक्षा लिने भयो । मनमा मीठो कल्पना गरें, ‘गिज्याउने मुलेहरूलाई दौडमा सातकोश छाडिदिन्छु ।’
किन कि म काठमाडौं हुँदा ललितपुरको महालक्ष्मी स्थानबाट त्रिपुरेश्वरको घुम्तीसम्म राम्रै फेरो मार्ने गरेको थिएँ ।
दौडिने दिन आयो । म त पाँचौंमा पो परें । मणि राई प्रथम र टुपेन्द्र राई सेकेण्ड, मनिहाङ् छैठौं भएको याद छ । दौडन त मनग्य दौडेकै हो तर बडेमाका ढाडे बिरालाजस्ता मित्रहरूलाई के सकिन्थ्यो । चित्त बुझाएर बसें ।
बिहानैपिच्छे हामी खाजा खान जान्थ्यौँ । नजानेहरू भुइँमा नै सुतेर बस्थे । कति भोकाउँदा हुन् भनेर कति जनालाई त म खाजा खान जाउँ कि जाउँ पार्थें । तर पछि पो थाहा पाएँ, ती धेरै सुत्ने मित्रहरू त बियर पो टन्न पिएर सुत्दा रहेछन् ।
त्योबेला ५० रुपैयाँ पथ्र्यो क्यार एक बोतललाई । सोह्र दिनको बसाइमा भोलिपल्ट दौड नपरेको दिनमा अघिल्लो साँझ हाम्रो टोलीले पनि केही बोतल मज्जाले तन्काउथ्यौँ ।
खाजा सिल्भरे थालमा दुई टुक्रा पाउरोटी, एउटा उसिनेको अण्डा, अनि कपभरि एक लिटर चिया पाइन्थ्यो । अण्डा पाउरोटीले भन्दा पनि चिया पिएरै डम्म भइन्थ्यो । गाउँमा त्यस्तो कपमा पानी खाएजस्तो गर्दै सेन्तेरेम टन्न खाएर फिलिली भएको यादमा भर्ती हुने बेस क्याम्पमा भने डम्म चिया पिइयो । गाउँघरको पुराना दिनको सम्झनाले झुम्म मातेजस्तो पनि लाग्थ्यो ।
एक साँझ, हामी परेड सकेर गफ गर्दै थियौँ । रामेछापबाट धरानामा बसाइँ झरेका खड्ग दिदीभेनाले गाउँबाट म आएको खबर कताबाट पाउनु भएछ कुन्नि ! क्याम्पमा आएर गुरुजीलाई भनीवरी मलाई उहाँकै घरमा लगेर मेजमानी खुवाउनु भयो । धराने डोजर (कालो च्वाँचे) को गोलो गोलो पारेर बनाइएको खुट्टाको पिरो अचार मेरो लागि बिल्कुलै नयाँ परिकार थियो । नयाँ परिकार मीठो लागेपछि खानुको लिमिट पनि हुँदैन । साथमा अनेक प्रकारका खानपिनले म त्यो साँझ किर्नाजस्तो भएर क्याम्प छिरें । जुन कुरा बेलायतमा पनि दिदीभेनासँग भेट हुँदा म बल्झाई बस्छु । सबैको हाँसोको फोहोरा मुछिन्छ । तर यतिबेला, यति मीठो कुराको यादसँगै नमीठो घटना जोडिन पुगेको छ । यो साल खड्ग भेना रहनु भएन । कलेजोमा क्यान्सर भएका कारण उहाँले हामीलाई छोडेर जानु भयो । धन्य, मैले उहाँले औँठीको लागि मागेको अफगानिस्थानको कालो पत्थर दिने वाचा भने पूरा गरेछु । दिदी, नानीहरूलाई गहिरो चोट परेको छ । यो समय मेरो आँखा रसाएर कम्प्यूटरको किबोर्ड जलाम्य भएको जस्तो देखिरहेछु । सम्झदा मन अमिलो भएर आउँछ ।
कुरा लाहुरकै जोड्छु ।
फाइनलका दिन सबैले छातीको नम्बर देखाएर भेला भयौँ, बाहिर परेड खेल्ने ठाउँमा । पानी पर्न थाल्यो अनि सबैलाई घ्याङ घरमा लगियो । गोरा र गोर्खाली अफिसरले आँखा किरिरी जुधाउँदै हेरेर गए । एक जनाले फाइल पनि समातेका थिए । केही क्षणपश्चात् नाम बोलाइयो । नाम बोलाएजति गए । केही साथीहरूलगायत मेरो नाम आएन । छाती नम्बर त आउला भन्यो, आउँदैन ।
‘खेर गइएछ’ भनें मनमनै । गर्न त सबै गरेकै हो, कता केमा बिगारेछु ? भनेर मनमनै सोचेर उभिएँ । खुब कुराहरू केलाएँ, ‘कतै गल्ती त गरिनँ’ भनेर । माछा ‘यत्रो–यत्रो’ भन्दा सबै गलल हाँसेका थिए । ‘त्यसैमा खेर गइएछ क्यारे’ भनेर मन बुझाउन खोजेँ ।
मेरा दायाँ बायाँ अरू पनि थुप्रै साथीहरू थिए । मैले चिनेको सचिन हाङ, दिनेश राईलगायत नाम आउनेहरूलाई फाल्टो छुटाइयो । राज कुमार कोर्मोचा, मणि र म एकअर्काको छाती नम्बर हेर्दै हेराहेर गर्दै टाउको झुकाएर बस्यौँ । निराशामा टाउको कति गह्रौं हुँदोरहेछ भनेर त्यहींबेला थाहा भयो । जति नै शिर ठाडो पार्न खोज्दा पनि टाउको एक मिनेट थामिन गाह्रो थियो ।
गलेर फतक्क भएको बेलामा दोस्रोपटक नाम बोलाइयो । मलगायत कोर्माचाको नाम अन्तमा आयो । उहाँ नै हाम्रो अन्तिम भर्ती हुने मित्रमा पर्नुभयो । सुकेको बेलुनमा हावा भरेर एक्कासी फुके जसरी म तनक्क सिधा भएँ ।
मेरो नाम आए तापनि कुस्ती खेल्दाको मित्र पाण्डवलगायत अरू निकैको छाती नम्बर आएन । ज्यादै नरमाइलो लागिरह्यो ।
सचिन हाङ् आर.वन. (रकरुट समूह एक) र बाँकी हामी समूह दुईमा परेकाहरूलाई ६ महिनापछि आउनू भने । समूह एकमा पर्ने अलिक उमेर पुगेका थिए जो तुरुन्तै भर्तीमा लागे भने हामी भने बीसको हाराहारीमा भएका जतिलाई ‘छ महिनापछि मात्र आउनू’ भने ।
जसको नाम परेन अर्काेपटक कोसिस गर्ने हो । हार मान्ने छैन कसैले । हामी नै आउने हो पहाडमा गल्लादेखि यहाँसम्म छान्नलाई ।
आधा जसोको नाम आएन । एकछिन पश्चात् ए.आर.वो.आएर भने, ‘लू भाइ हो, जजसको योपाली नाम आयो उनीहरू भर्ती लाग्नेछन् । जसको नाम परेन अर्काेपटक कोसिस गर्ने हो । हार मान्ने छैन कसैले । हामी नै आउने हो पहाडमा गल्लादेखि यहाँसम्म छान्नलाई । लू, बाबुजीले बाटो खर्च दिन्छन् । लिएर सीधै घर जानू, आमा बाबालाई सघाउनू ।’
हामी समूह दुईमा पर्ने पनि सोही दिनै क्याम्पबाट बाहिरियौँ ।
बाटो खर्च थापेर म काठमाडौं हान्निएँ । कलेज छाडेर किन जान्थें घर । छ महिनापछि नबोलाए पनि के भो र, शिक्षक भइन्छ भन्ने आँट गरियो ।
यसरी घोपा क्याम्पको १६ दिन एकैछिनमा बितेको जस्तो अनुभव भयो । छोटो समयमा धेरै साथी बनाइयो । त्यसपछि क्याम्पसका दिनहरू खोई किन हो नरमाइलो लाग्न थाल्यो । क्याम्पकै सम्झना जतिबेलै आइरहन्थ्यो ।
पाँच महिनामा नै घरमा गल्लावालबाट पत्र आएछ । सो पत्र काठमाडौँमा मलाई घरबाट पठाइयो । म फेरि धरान हान्निएँ ।
हङकङमा आई.आई. (इलिगल इमिग्रेशन) जो चीनबाट हङ्कङमा काम गर्न तार नाघेर आउनेहरूको संख्या धेरै बढेकाले सिमानामा ड्युटी खटाउन हामीलाई एक महिना अगाडि नै बोलाइएको रहेछ ।
नोभेम्बर २ तारिख सन् १९८९ फेरि धरान पुग्यौँ । क्याम्पको गेटमा गेटपास देखाएर हामी भित्र छिर्यौँ । चिया र पाउरोटी खायौँ । त्यहीँ साँझ हामीलाई तीनवटा बसमा पोखरा लगिने भयो । पहेँलो सरवाली साहुनीलाई मुख देखाउनसम्म पनि पाइएन । भेटेको भए एक बोतल तानेर पहिलो छुट्टीमा भेटौँला भन्नुसम्म मन थियो । मनको कुरा मनमानै रह्यो ।
बस चढ्नुभन्दा पहिले नाम चेक गरियो । गेटपास पाएका एक जना नआएको हुनाले रिजर्भमा भएका मित्र मेषबहादुर लिम्बु चढे बसमा ।
धरानको मन्दमन्द तातो हावाले हामीलाई ओझेल पारेर सल्लाघारी हुँदै हामी पोखरातर्फ लाग्यौँ । निद्रा नमिलेर सुत्नसम्म पाइएको थिएन ।
बसमा गुरुजीले ‘गीत सुरु गर केटा हो ।’ भनेपछि अगाडि सिटमा बस्ने मित्रहरूले ‘रातो रानी फुले झैँ साँझमा, तिमी फुल्यौं कलेजी माझमा’ भन्ने गीतको लय भर्न थाले । बसको माहौल गीत र तालीले गुञ्जायमान भयो ।
आजभोलि पनि म कहिलेकाहीँ त्यहीँ गीत सुनेर विगतलाई सम्झन्छु । ती मित्रहरूलाई सम्झन्छु । अनि मनमनै प्रश्न गर्छु, के ती मित्रहरूले मलाई कतै सम्झेका होलान् त ?
सम्झनामा– लहानमा तीनवटा बस लहरै राखेर खाना खाएको याद छ । खिरिला ज्यानमा शिकार भर्खर लाग्न लागेका हामी रहरले हो या करले या लहैलहैमा लागेर हो, केही थाहा थिएन, सधाएको जनावर झैँ गुरुजीले जता भन्यो, जसो भन्यो त्यसै खुरुरु दौडन्थ्यौंं । जीवनमा महत्वपूर्ण भनेको पैसा मात्र हो, पैसा कमाएपछि सबै कुरा पाइन्छजस्तो लाग्थ्यो । अहिले सम्झन्छु– जीवनमा महत्वपूर्ण त यो मन पो रहेछ । यो मनलाई सधाउने हो भने सबै कुरा पाइन्छ ।
हामी हर्षले रमाइरहेको बेला गुरुजीले लडाइँका कुरा गर्थे । मनमा चिसो पस्थ्यो । त्योबेला चाहिँ जीवन पो महत्वपूर्ण रहेछ भन्ने लाग्थ्यो । किनकि, मरेपछि पनि पैसा त आउँथ्यो । मृत्युपछि पाएको पैसाले गर्नु के थियो र ?
आज आफ्नै खाँटी इतिहास सम्झन खोज्दा म लहरा तानिए झैँ कता हो कता अनुभूतिको गहिराइतिर तानिन्छु ।
कुनै बेला राणा शासन जोगाउन चन्द्र शमसेरले दोस्रो विश्वयुद्धका लागि राई, लिम्बू, सुनुवार, देवान, गुरुङ, मगर, मुर्मी (तामाङ) हरूलाई गोर्खा भर्तीमा पठाउनू भनेर इस्तिहार जारी गरी जबर्जस्ती बेचेका रहेछन् । हाम्रा पूर्खाहरूलाई मर्नकै लागि पठाइएका रहेछन् । तर तीनै पूर्खाका सन्तान हामी अल्लढ पैसाकै लागि मर्न तयार हुँदै थियौं । फरक यति थियो, पूर्खाहरू मेशिनगनको सिकार हुन्थे, हामी छोरानातिहरू मेशिनगन बोकेर सिकार गर्न जानुपथ्र्यो । यस हिसाबले हाम्रो मृत्यु त्यति सस्तो चाहिँ थिएन । यसैले पनि क्याम्पस छाडेर भर्ती हुन क्याम्प गएको थिएँ म । आज आफ्नै खाँटी इतिहास सम्झन खोज्दा म लहरा तानिए झैँ कता हो कता अनुभूतिको गहिराइतिर तानिन्छु ।
त्यो बेला– बिहान सात बजेतिर पोखरको क्याम्पमा बस छिर्यो । बस रोकिनेबित्तिकै भेला गरेर राति बस्ने ठाउँ देखाउन लगियो । हाम्रा स्याप्रा झोला फालेर बाहिर निस्क्यौं । पोखराको मौसम धरानको भन्दा चिसो थियो । सेतीको सुसाई र माछापुच्छ्रेको सेतो मुस्कानले मन तानिहाल्यो । साथीहरूले फेरि गिज्याए, ‘यत्रो–यत्रो माछाको त पुच्छर यहाँ पो रहेछ ।’
पछि पो होस आयो, ‘माछाको तौल किलोमा भन्नु पर्ने रहेछ, आकारमा भन्दा खुबै गिज्याइ खाइयो ।
धराने माछाको पुच्छर, पोखराको हिमालमा देख्न पाएर म निकै गद्गदिएछु सायद । निक्कैबेर वरिपरिको रमिता हेरेर बसेछु । साथीहरूले एक्लै पारेर हिँडेछन् कता ।
हुन त त्योभन्दा अघि पनि मित्र पुष्प खत्रीसँग पोखरा गएकाले त्यहाँको रमणीयतासँग राम्रै परिचित थिएँ । त्योबेला लेक साइडमा साथी वीरेन्द्र श्रेष्ठको होटलमा बसेका थियौं । अहिले भने उनी आफ्नै होटलको काममा स्पेनमा छन् । पुष्प भने इमाडोलमा नै घरखेतमा जमेका छन् ।
राती सँगै सुत्नेमा राजकुमार कोर्माेचा, मन्जु सुनुवार र मणिहाङ राई पर्यौं । उता पोखराबाट आउने भने बिहान दश बजे छिरे क्यार क्याम्पमा ।
सानो किटब्याग झोला र एकसरो लुगा पाइयो । टोपी पनि थियो तर सबैले त्यसलाई भैँसीको के जाती भनेर भन्थे । गुरुजीहरू नै बोल्दा प्रायः छाडा शब्द प्रयोग गर्ने भएकाले पल्टनमा धेरै अपाच्य शब्दहरू बोलिँदो रहेछ । म भर्खर क्याम्पस छाडेको केटोलाई शब्दहरू पच्न निकै गाह्रो भइरहेको थियो ।
मैले पनि एक दुईचोटि सजाय खाइहालें । समूहमा पूर्वधरानाबाट जानेहरूलाई बिजोर र पश्चिमबाट आउनेहरूलाई जोर नम्बर दिइयो ।
बेलाबेला गुरुजीहरू ‘ए केटा ! तेरो नम्बर कति हो ?’ भनेर टेस्ट लिन्थे । मेरो नम्बर २११६८३९९ सम्झिन हम्मे नै पथ्र्यो मलाई पनि । सोधेको बेला फ्याट्ट भन्न नसके १० प्रेसअप दिनु करै लाग्थ्यो । मैले पनि एक दुईचोटि सजाय खाइहालें । समूहमा पूर्वधरानाबाट जानेहरूलाई बिजोर र पश्चिमबाट आउनेहरूलाई जोर नम्बर दिइयो ।
पोखरा पुगेकै भोलिपल्ट दौडको परीक्षा भयो तर हामी धरानको र पोखराको पहिलो ब्याच भएकाले डोको बोकेर पाँच किलोमिटर उकालो भने दौडनु परेन । नेपाल छाडेर हङकङ जानुभन्दा पहिले कसम खाने परेड खेल्नुपर्दाे रहेछ । तीन तीन जनाको टोली छुट्याइयो । हामी खाकीको हरियो लुगा लगाएर बेलायतको झण्डा छोएर कसम खाने कवाज खेल्न थाल्यौँ । ‘झण्डी छु, झण्डी छोड ।’ ‘दायाँ घुम, बायाँ घुम ।’ अरूले के सम्झिए कुन्नि ? मैले चाहिँ सोचें, ‘बहर गोरुलाई दाएजस्तो मलाई अख्य्राउदै छन् ।’
कवाज (ड्रिल) नमिल्दा साह्रै दिक्क लाग्न थाल्यो । आफू बाँया घुम्यो गुरुले ‘दायाँ’ भन्छ, आफूले झण्डी छोयो, गुरुले ‘छोड’ भन्छ । त्योबेला चाहिँ मलाई यति दिक्क लागेको थियो कि, रातारात भाग्ने योजना बनाएर नजिकको मित्रलाई पनि भनेँ । उनले गाली गरे, ‘हेट्ट, यो त केही हैन; सजिलो हुन्छ जान्ने भएपछि’ भने । अनि मन अलिक फर्किएजस्तो भयो । कलेजका दिनहरूको यादले बेस्सरी सताउन थालेको थियो । आँखाभरि आँसु पारेर सबै साथीहरूलाई एकपटक सरर सम्झिएँ । कहाँको काजी त्यहाँ आएर पाजी हुनुपर्दा हुनुसम्मको दुःख महसुस भाथ्यो ।
नोभेम्बर ११ तारिखमा पोखरामा कसम खाइयो । त्यसपछि बल्ल पर्सेको बोको भइँदोरहेछ । सबै गुरुजी र गोरा साहेब आएर हात मिलाए । बधाई दिए । भोलिपल्टै काठमाडौँ जाने भएकाले पोखराका साथीहरूका आमाबाबा, दिदीबहिनी आएर अवीर र फूलमाला लगाइदिए । पोखराका उमरजङ्ग गुरुङ मेरा साथी बनिसकेका थिए । हामी गेटको छेउमा गयौं । मलाई पनि उहाँकी आमाले अवीर लगाइदिनु भयो । खाजा दिनु भयो । मेरी हजुरआमा पनि गुरुङ भएकाले हजुरआमाको अनुहार मेरो आँखानेर आएर टक्क रोकियो । आमा, हजुरआमा र साना बहिनीको यादले मन गाँजेर ल्यायो । आँखा जलाम्य भयो । सगुनरूपी एक घुट्को पोखरेली रस चिरिप्प पिएपछि आमालाई ढोगेर हामी क्याम्पको परेड स्क्वायरतर्फ लाग्यौँ । जहाँ फोटो खिच्ने क्रम चलिरहेको थियो ।
मैले पनि एउटा फोटो खिचेँ । त्यो नै मेरो भर्ती भएसीको पहिलो फोटो थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।