मैले विक्रम सम्वत २०२६ सालमा एसएलसी परिक्षा दिएँ । बुबाले राम्रो नतिजा आएमा काठमाडौँमा आईएस्सी पढ्न पठाउने र इन्जिनियर बनाउने सपना पाल्नु भएको थियो । त्यो पनि सिभिल इन्जिनियर । जसले भवन निर्माणको काम हेर्न सकोस् । किनकि बुबा “नारायणमान निर्माण सेवा” कम्पनी खोलेर निर्माण व्यवसायमा व्यस्त बन्नुभएको थियो । उहाँको काममा मैले मद्दत गर्न सकुँ र इन्जिनियरलाई दिनुपर्ने पैसा बचत हुन् सकोस् भन्ने नै बुबाको मुख्य ध्येय थियो होला ।
म त्यसबेला एसएलसी परीक्षाको नतिजाको प्रकाशनको प्रतीक्षामा थिएँ । तर नतिजा आज आउला, छैन । भोलि आउला, छैन । त्यसरी नै दिन बितिरहेको थियो ।
सबभन्दा गाह्रो काम नै पर्खनु हो जस्तो लाग्छ मलाई । कसैलाई पर्खनु पर्यो र कोही ढिलो आइदियो भने सबभन्दा पट्यार र दिक्कलाग्दो समय लाग्छ मलाई । त्यही व्यग्र प्रतीक्षाबीच रेडियोले समाचार भन्यो- २०२६ सालको एसएलसीको नतिजा प्रकाशित भयो ।
मेरो एसएलसीको सिम्बल नम्बर थियो ४८४९ एच । त्यसबेला गोरखापत्र मात्र एउटा माध्यम थियो जसले त्यो नतिजा प्रकाशित गर्ने गर्दथ्यो । काठमाडाैँबाट प्रकाशित हुने गोरखापत्रमा हेरेर नतिजा आकाशवाणीबाट खबर प्राप्त गर्नु थियो । कोही आफन्त नहुनेहरुले गोरखापत्र सम्बन्धित जिल्लामा आइसकेपछि मात्र खबर प्राप्त गर्दथे ।
मेरो ठूलो दिदी कुन्जनी मामली घर क्षेत्रपाटी बसेर रत्न राज्यलक्ष्मी कलेज पढ्ने गर्नुहुन्थ्यो । उहाँले अघिल्लो साल मात्र एसएलसी पास गर्नु भएको थियो । हामी घरका पूरा परिवार नतिजाको व्यग्र प्रतीक्षामा थियौं । त्यसबेला आकाशवाणी कार्यालय म्याङ्ग्लुङ्ग बजारमा सिंह बाहिनी हाईस्कुलको प्रांगणमा अवस्थित थियो । विहान र बेलुकी मात्र खुल्ने सो आकाशवाणी (आवा) कार्यालयमा दिनदिनै धाउने गर्न थालियो । काठमाडौँ जाने नजाने र मेरो भविष्य जोडिएको त्यस नतिजाको व्यग्रतासाथ प्रतीक्षारत थिएँ । एसएलसी परीक्षामा पास हुन्छु भन्ने कुरामा म ढुक्क थिएँ, त्यसमा पनि पहिलो श्रेणीमा नै पास हुनु पर्छ भन्ने मेरो अड्कल थियो । किनभने आईएससी पढ्नको लागि राम्रो श्रेणीमा उतिर्ण हुनु अनिवार्य नै थियो ।
एक दिन परीक्षाको नतिजाको खबर बोकेर मेरो नाममा आकाशवाणी आइपुग्यो बधाईसहित, दोश्रो श्रेणीमा पास । पासको खुसीयालीभन्दा पनि दोश्रो श्रेणी भनेर अलिकति नियास्रेकाे भाव देखें बुबाको चेहरामा । लब्धाङ्क पत्र आइपुग्यो । सिर्फ आठ नम्बर नपुगेर पहिलो श्रेणीमा पास नभएको रहेछु । बुबा सन्तुष्ट नै हुनु भयो त्यो नतिजाले । अनि भन्नुभयो, “काठमाडौँमा गएर आईएस्सीमा अझ राम्रो गर्नु । अनि मात्र इञ्जिनियर बन्न सकिन्छ ।”
सबै तयारी गरेर काठमाडाैँसम्मको यात्रा सुरु गरें । म्याङ्ग्लुङ्ग बजारबाट हिँडेर पहिलो दिन बसन्तपुरमा बास बसें । घरमा सहयोगीका रुपमा काम गर्ने साहिँला दाइ थिए, म उनको साथ लागेर म हिँडेको थिएँ । अर्को दिन साँझमा धनकुटामा आफन्तकोमा बास बस्न पुग्यौं । कुनै गाह्रो नमानी खुसीसाथ खान दिए, सुत्न दिए । मूलघाटको सुन्दर पुल तरेपछि लागियो भीमकाय उकालो, अनि साँघुरी भन्ज्यांगबाट धरान देखियो । लमतन्न परेको सुन्दर धरान बजार बिजुलीको चमकदमक अलि अलि हो कि हॊइन झैं मोटरको छाप देखियो । धेरै कुरा अनुमान पनि गरियो । मन कम्ता खुसी भएन । पहाडी भेगको व्यवसायिक र सुन्दर सहर देखेर । यो मेरो तेश्रो दिनको हिँडाइ थियो साँझमा धरान बजार पुगियो । मेरो ठूलो बुबा ईन्द्रमान श्रेष्ठको घर थियो पुरानो बजारमा, त्यहीँ बसियो । विराटनगर गएर प्लेनबाट काठमाडौँ जाने भएकोले मेरो सहयोगी साहिँला दाइ धरानबाट नै फर्किए । भोलिपल्ट यात्राको चौथो दिन विहानै धरानबाट आराथुन बस चढेर विराटनगर गएँ । मान्छेको भीडभाड, साइकिल, रिक्सा र मोटर गाडीको ताँतीले कहिलेकाहीँ त मन आतिन्थ्यो ।
विराटनगरमा घिउकुमारी फुपूको घर थियो । हामी उहाँलाई निनी भन्ने गर्दथ्यौं । फुपाजु स्वर्गे भैसक्नु भएको थियो । सायद मैले कहिल्यै भेटिनँ होला । फुपूका छोरा माधव दाइ र उनका परिवार थिए । फुपूले, “ ए, नारानको छोरा आएछ । लौ, खाने बस्ने बन्दोबस्त गरिदेउ ।” भनेर सहयोगीलाई भन्नु भयो ।मलाई देखेर खुसी हुनुभयो । हालखबर सोध्नु भयो । पहाडको केही कोसेली गुन्द्रुक, सिन्की केही छ कि भनी सोध्नु भयो । हतारमा आएकोले मैले केही ल्याउन पाएकाे थिइनँ ।
प्लेनको टिकट तीन दिनपछिको मात्र पाएँ । विराटनगरको उखर्माउलो गर्मी । लामखुट्टे उधुम लाग्ने । ठूलो सहर भएर पनि मलाई अत्यास लागेर आयो । तीन दिन कटाउन पनि मुस्किल भयो । तेश्रो दिनको दिउँसो थियो मेरो काठमाडौँ जाने टिकट । अत्यधिक गर्मी । विहान मेरो कोठाबाट अमिलो सिन्कीको बास्ना मग्मागाउन थाल्यो ।
केको हाे यो गन्ध ? सुटकेश ब्याग खोतल्न थालें । त्यति नै बेला भाउजू चिया लिएर आउनु भयो ।
केको हाे यो गन्ध ? सुटकेश ब्याग खोतल्न थालें । त्यति नै बेला भाउजू चिया लिएर आउनु भयो । मेरो झोलामा त गुन्द्रुक, सिन्की, मस्यौरा, घिउ प्लास्टिकको पोकामा जतनसाथ आमाले मलाई थाहा नै नदिई राखिदिनु भएको रहेछ । कुन्जिनी दिदी काठमाडौँमै भएकोले मलाई केही नभनी दिदीलाई दिनु भन्नु भएको थियो । मलाई त केही भन्नु भएकै थिएन । गर्मीले गर्दा सिन्कीको सुगन्ध वरिपरि फैलिन सुरु गरेछ । भाउजूको अगाडि मलाई कस्तो अप्ठेरो । सबै बेलीविस्तार लाएर केही भाग भाउजूलाई पनि कोसेली बाडेँ । अनि मात्र मन ढुक्क भयो ।
त्यस जमानामा आफन्तकोमा बास बस्ने हक नै जस्तो लाग्दथ्यो । बेलुका कसैको घरमा बास बस्न जानु नौलो कुरा नै थिएन । जतिबेला पुगे पनि जति जना आए पनि बास र गाँसको व्यवस्था घरधनीले खुसी खुसी गर्ने गर्दथ्यो । बास बस्ने पनि खुसी हुन्थे भने बास दिने पनि नयाँ नौलो मान्छेसँग भलाकुसारी गरी सुख दुःखका कुरा बाँड्ने गर्दथे । आज त्यो दिन सम्झेर हृदय फुलेर आउँछ । कति उदार मनका थिए त्यसबेला सबै आफन्त या अरु कोही । सबै कुरा नि:शुल्क मात्र होइन खुसी पनि मिसिएको हुन्थ्यो ।
भोलिपल्ट निर्धारित समयमा काठमाडौँ जाने विमान चढ्नका लागि रिक्सा लिएर एयरपोर्ट पुगें । उडेको केहीबेरमा नै काठमाडाैँ एअरपोर्टमा एभ्रो विमान अवतरण गर्यो । दिदीहरु लिन आउनु भएको थियो । काठमाडौँको रमझम देखेर मन आनन्द मात्र भएन बेहद खुसी पनि भएँ ।
मेरो साहिँला बुबाका छोराहरु ईश्वर दाइ, विश्वेश्वर दाइ र सिध्दिश्वर दाइ र काहिँला बुबाको छोरा रमेश दाइ लगन टोलमा डेरामा बसेर विश्वविद्यालय पढ्ने गर्नुहुन्थ्यो । उहाँहरुसँगै बसेर अध्ययन गरे मलाई पढ्न मद्दत हुन्छ भनी बुबाले दाइहरुसँगै बस्न भन्नु भएको थियो । त्यही अनुसार मेरो पहिलो काठमाडौँको बसाई लगन टोलमा हुन गयो ।
त्रिचन्द्र कलेजमा भर्ना हुने समय घर्किसकेको कारणले मेरो त्यहाँ भर्ना हुन सकेन । रामशाह पथस्थित शंकरदेव पन्तले खोलेको नेशनल कलेजमा आईएस्सी पढ्न सुरु गरें । भर्खर खुलेको त्यस विज्ञान विषयको लागि व्यवहारिक ज्ञानको लागि त्यहाँ त्यति सुविधा थिएन । विद्यार्थी राजनीति अचाक्ली नै थियो । एकपटक राती पढ्ने विद्यार्थी महेश कर्मोचालाई छुरी हाने भन्ने ठूलै हल्ला भयो । खलढुंगाका महेश कर्मोचा नेपाली कांग्रेसको सक्रिय थिए । भर्खर कलेज पढ्ने आफूलाई यी सबै ठूलो उत्सुकता र कौतुहलका विषय थिए । यी सबै कारणले गर्दै मैले एक सेमेष्टर मात्र त्यस कलेजमा पढी त्रिचन्द्र कलेज स्थानान्तरण गरी पढ्न सुरु गरेँ ।
लगन टोलबाट त्रिचन्द्र कलेज जानलाई सानो गल्लीबाट निस्केर ओमबहाल, झोछें, न्युरोड गेट हुँदै महांकाल मन्दिरबाट सोझै त्रिचन्द्र कलेज जान्थें । बाटो बिर्सन्छु भनेर साइन बोर्ड हेर्दै ठूल्ठुलो घरहरु सम्झदै कलेज जान आउन थालें ।
लगन टोलबाट त्रिचन्द्र कलेज जानलाई सानो गल्लीबाट निस्केर ओमबहाल, झोछें, न्युरोड गेट हुँदै महांकाल मन्दिरबाट सोझै त्रिचन्द्र कलेज जान्थें । बाटो बिर्सन्छु भनेर साइन बोर्ड हेर्दै ठूल्ठुलो घरहरु सम्झदै कलेज जान आउन थालें । मेरो ठूली आमाको घर न:घल टोलमा थियो । ठूली आमालाई हामी तरिमा भन्ने गर्थौँ । उनको छोरा केशव दाइको बिहाको निम्तोमा गएको थिएँ । धेरै रात पर्न थाल्यो एक्लै कसरी लगन टोलको डेरा फर्कने ? समस्या पर्यो । त्यहाँबाट लगन टोल जाने बाटो नै थाहा थिएन । तर मलाई तरिमाको घरबाट त्रिचन्द्र कलेज जाने बाटोचाहिँ थाहा थियो । राती करिब दश बजे म नःघल टोलबाट त्रिचन्द्र कलेज गएँ, अनि लगन टोल आफ्नो डेरा फर्केको थिएँ । पछि पछि यो कुरा आफैँ सम्झिदै हाँस्ने गर्थेँ- नजान्दा र थाहा नपाउँदा कसरी सानो सानो कुराले दु:ख पाएको थिएँ भनेर ।
एक दिन रमेश दाइले न्यूरोड घुम्दै गर्दा “मम खान जाने ?” भनेर सोध्नु भयो ।
“मःम के हो ?” भनेर सोधें ।
आफूले न कहिले सुनेको नाम न खाएको चिज पर्यो । रमेश दाइले बेलीविस्तार लाएपछि रन्जना सिनेमा हल अगाडि आरसी मःम पसल छिर्यौँ । रेष्टुरा खचाखच छ, भीडभाड छ । निकैबेर पर्खेपछि बस्ने ठाउँ पाइयो । रमेश दाइले छोएला, भुटन र चिउरा मगाउनु भयो । त्यति खाइसकेपछि “आज यति नै खाने, मःमपछि खान आउने है” भनेर भन्नु भयो ।
मलाई त के थाहा । “हुन्छ” भनेँ । मनमा खुल्दुली जाग्यो । मःम खाने भनेर गएको तर मःम नै नखाई फर्किन पर्यो । तर मलाई चाहिँ मःम कस्तो हुन्छ भनेर खान मन लाग्यो । एक्लै जाने आँट आउँदैनथ्यो । साथी पाउन गाह्रो । तर मलाई भने कहिले मःम खान जाने भनेर हुटहुटी चल्न थाल्यो । पछि न्युरोडसम्म जान आउन सक्ने भइसकेपछि एक्लै आरसी मःम रेष्टुरामा मःम खान गएँ ।
सधैं झैं भीडभाड नै थियो । सिट खालि भएपछि त्यहीँ गएर बसें । पहिलोपटक खाए झैं छोयला, भुटन र चिउरा मगाएँ । त्यो खाइसकेपछि एक प्लेट मःम मगाएँ । छोयला, चिउरा खाएर टन्न भइसकेको नै थिएँ । अब त्यत्रो मःम कसरी खाने ? समस्या भयो । एउटा दुइटा खाएपछि खान सक्ने आँट नै आएन । सबैले खपाखप खाँदै प्लेट रित्याउँदै छन् । म भने कसरी सक्ने भनेर असमन्जसमा परें । परेन क्या फसाद ! छोडेर आउन मिलेन । सबैका प्लेट खालि खालि । सबै एकै छिनमै खपाखप खादै जाँदो छ । मलाइ भने खाइसक्न गाह्रो भयो । छोडेर जान पनि गाह्रो ।
पछि पछि दिनको एकचोटि साथीभाइसँग न्युरोड गएर मःम र चिउरा नखाई चित्त नै बुझ्दैन थियो । आज पनि मेरो सर्वाधिक प्रिय खाना मःम नै हो ।
के गर्ने ? सोचेँ । त्यसपछि एउटा जुक्ति निकालेँ । मःमको बोक्रा (बाहिरी खोल) फाल्ने अनि भित्रको मासु मासु मात्र खानेँ । प्लेटभरि मःमको बाहिरी बोक्रा छोडेर बाहिरिएँ । त्यो मेरो जीवनको पहिलोपटक मःम खाएको अनुभव थियो । मःम नमीठो भएर होइन, अघाएको पेटले खान नसक्ने भएर खान नसकिएको रहेछ । त्यसपछि मःम खाजा खाने ठाउँ नै भयो र मीठो पनि लाग्न थाल्यो । पछि पछि दिनको एकचोटि साथीभाइसँग न्युरोड गएर मःम र चिउरा नखाई चित्त नै बुझ्दैन थियो । आज पनि मेरो सर्वाधिक प्रिय खाना मःम नै हो ।
त्रिचन्द्र कलेजमा मेरो प्रिय मित्र मण्डली थिए इलामका नेवज गुरुङ र झापाका ज्योति अधिकारी । प्रायः हामी छुट्टिदैन थियौँ । कलेजको पाठ्यक्रमबाहेक हाम्रा समानान्तर अधिक प्रिय विषय थिए साहित्य र संगीत । कलेज राजनीतिमा हाम्रा विचारहरु विपरीत ध्रुवका भए तापनि हाम्रो मित्रतामा मजबुत बनेर जोडिएका थिए साहित्य तथा संगीतप्रतिको लगावले । हामी समकालीन नेपाली साहित्यको विषयमा विविध चर्चा तथा परिचर्चा गर्ने गर्थ्यौं ।
नेवज मीठो स्वरको धनी मात्र थिएनन्, साहित्यका धेरै नसुल्झिएका गाँठाहरु फुकाउन पनि मद्दत गर्ने गर्दथे । न्युरोडस्थित नेपाल भारत सांस्कृतिक केन्द्रमा रहेको भारतीय पुस्तकालय, कान्तिपथमा रहेको ब्रिटिश पुस्तकालय प्राय: जाने गर्थ्यौं । लगन टोल बस्ने म, नक्साल बस्ने ज्योति अनि लैनचौर बस्ने नेवज, तर प्राय: हाम्रो भेट नेवजकोमै हुने गर्दथ्यो । त्योबेलामा हामीले संयुक्त कविता लेख्ने कोसिस पनि गरेका थियौँ । जस्तो नेवज सुरु गर्दथ्यो –
अन्यौल सम्झौता बोकेर जिन्दगी
हर स्थिति स्वीकार्नु पर्छ
ज्योति त्यसलाई यसरी थप्थ्यो –
आकाश र धर्तिको संगममा क्षितिजले पनि
आफ्नो आकांक्षा बोकेको हुन्छ
मैले त्यसलाई यसरी टुंग्याउथे –
अपभ्रम्स सपना एक सिंगो देह बोकेको हो
कि बिहान हुदैमा झरिदिन्छ ।
ज्योनेव
यस्तो संयुक्त लेखनमा लेखकको नाम हामी ज्योनेब लेख्ने गरेका थियौं । हाम्रो नामको पहिलो अक्षरबाट लिएको त्यो नाम साहित्यिक नाम थियो । जस्तो ज्योति अधिकारिबाट ज्यो, नेवज गुरुङबाट ने र मेरो नामबाट व मिलाएर बनेको नाम थियो ज्योनेव ।
त्यसबेला नेपाली, हिन्दी अनि अंग्रेजीका विविध विषयका पुस्तकका लामा लामा पढ्नु पर्ने सूचि हुन्थे । पुस्तकहरु कोहीसँग भए मागेर या पुस्तकालयमा खोजेर या किनेर पनि पढ्थ्यौं । अनि त्यसपछि त्यस पुस्तकको बारेमा लामा लामा छलफल अनि चर्चा गरिन्थे । भीम दर्शन रोक्काका रचनाका बारेमा निकै लामो चर्चा गरेको अहिले पनि सम्झना गर्छु । त्यस्तै पारिजातका उपन्यास अनि भूपी शेरचनका कविताबारे पनि निकै बहस गर्यौं ।
विज्ञान विषयमा त्रिचन्द्र कलेजमा पढ्दै गरेका हामी पढाइसँगसँगै साहित्य र राजनीतिमा नजानिँदो पाराले ढल्कदै जाँदै थियौं । हामी बीच राजनीतिभन्दा साहित्य र संगीतको चर्चा परिचर्चा बढी हुन्थे । तर पनि मचाहिँ विशेष विद्यार्थी राजनीतिमा निकै सक्रिय हुँदै गएको थिएँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।