सबैतिर भ्याउने, सबैलाई रिझाउने, हकडग गर्ने, झपार्ने र फकाउने मेरी सखी डा. शान्ति थापाको निधनले विषाद् बोध गरिरहेको छु । कलाप्रेमी शिल्पी साथी शान्ति अब शरीरमा रहिनन्, निधन भएको दिन ९ जनवरी उनको जन्मदिन पनि थियो । जन्मदिन पारेर असमिया लेखिका संस्थाले वर्ष २०२० को असमिया साहित्यिक प्रतिभा सम्मान डा. शान्ति थापालाई प्रदान गर्ने घोषणा र योजना बनाएको थियो ।
शान्तिबारे आफ्नो ग्रन्थ ‘तीतामीठा कुरा’मा निबन्धकार विचन्द्रले यस्तो लेख्नुभएको छ, “संसारमा स्वनिर्मित पुरुषहरू धेरै देखिन्छन् तर स्वनिर्मित नारीहरू भने दुर्लभ । ती दुर्लभहरूमा एक हुन् डा. शान्ति थापा ।”
कवि राजेन्द्र भण्डारीले यस्तो लेखेर पठाउनुभएको छ, “गई नै हाल्छिन् बन्धु भन्ने त लागेकै थिएन । पोहोर जन्मदिनमा अझै ४२ वर्ष बाँच्नुछ भनेको थिएँ । उनले ४२ होइन १० मात्र दिनु भनेको थियो । १ मात्र लिएर जानुभयो । ॐ शान्ति, ॐ सद्गति, श्रद्धाञ्जलि ।”
शान्तिले कविता, कथा, उपन्यास, निबन्ध, समालोचना लेख्दथिन्, पुस्तक र पत्रिका सम्पादन गर्दथिन्, नेपाली–हिन्दी–असमिया–अङ्ग्रेजी सराबरी जान्दथिन् अनि अनुवाद गर्दथिन् । साहित्यकला, सङ्गीतकला, नाट्यकला, नृत्यकला, पाकविद्याकी पारङ्गता थिइन् । शिक्षामा हिन्दी विषयमा एम.ए. (प्रथम श्रेणीमा द्वितीय) र ‘अज्ञेय की उपन्यासों में बदलते मूल्य’विषयमा पीएचडी सम्पन्न गरेकी थिइन् । गुवाहाटीको दुर्गा सरोवरस्थित माधवदेव पथमा उनको आवास थियो । गुवाहाटीको गौहाटी विश्वविद्यालयअधीनस्थ राधागोपाल बरुवा महाविद्यालयको हिन्दी विभागमा अध्यक्ष पदमा सेवा पुर्याएर भर्खरै अवकास लिएकी थिइन् । गौहाटी विश्वविद्यालयअन्तर्गत नेपाली विषयमा एम.ए. थाल्न बनाइएको पाठ्यक्रम निर्माण समितिमा शान्ति सक्रिय थिइन् । बुताले भ्याइञ्जेल देशाटन गर्दथिन् र साहित्यिक कार्यक्रममा भाग लिन्थिन् । देशका नामी साहित्यकारहरूसित उनको सम्बन्ध थियो । राष्ट्रिय साहित्यिक कार्यक्रममा नेपाली विषयको कुरा निस्कदा डा. शान्ति थापा चर्चित हुन्थिन् ।
हाम्रो परिचय हुँदा यिनका बा कालु थापा शरीरमा हुनुहुन्थेन । आमा यशोदादेवी ठकुराइन थपेनी हुनुहुन्थ्यो । आमा फुर्तिली र कामकारी गृहिणी हुनुहुन्थ्यो । परारदेखि आमाका हातखुट्टा बसे, थला पर्नुभयो अनि शरीर छाड्नुभयो । शान्ति आफ्नो भाइसित बस्दथिन् । ‘अति सर्वत्र वर्जयेत्’पालन नगर्ने निरालसकर्मी शान्ति काम भनेपछि अतिवादी थिइन् । अति कर्मण्यतालाई उनको शरीरले थेग्न सकेको थिएन । पिठ्यूको प्रचण्ड पीडा, मधुमेह, रक्तचाप, अवटुग्रन्थि (थिरोइड), अनिद्रा, दुर्बलता आदि रोगले उनी आक्रान्त थिइन् । उत्तम प्रधानले निकाल्ने आफ्ना स्वर्गीय बा अनुराग प्रधानको ‘हाम्रो ध्वनि’मा शान्ति पनि सम्पादक थिइन् । स्तरीय निकाल्दथिन् । ‘मृण्मय’ बहुभाषी शोध पत्रिका पनि सम्पादन गरेर निकाल्दथिन् । यिनको सम्पादनमा निस्केका तीनवटा अभिनन्दन ग्रन्थ–
१. समन्वयकी साँघु गीता उपाध्याय (२०१५),
२. अस्मिताका कवि नव सापकोटा (२०१७)
३. अक्लान्त गोमा शर्मा (२०१८)
पहिलो दुइटामा त यस कलमकारका लेख पनि परेका छन् । चौथो अभिनन्दन ग्रन्थ कवि विचन्द्र प्रधान विषयमा सम्पादन गर्दैथिइन्, अपूर्ण रह्यो । चौथोको लागि हामीले लेख पठाइसकेका थियौँ । पाँचौँ अभिनन्दन ग्रन्थ लेखिका मुन्नी सापकोटाबारे निकाल्ने योजना बनाएकी थिइन् । अपूर्ण रह्यो । शिक्षण व्यवसायबाट अवकाश लिएपछि काशी आई आफैँले वृद्धाश्रमहरूमा क्षेत्र सर्वेक्षण गरीकन उपन्यास लेख्ने विचार बनाएकी थिइन् । भ्याइनन् । नगर भ्रमणमा निस्कँदै १०-१२ हजार रुपियाँका पुस्तक किनेर आफ्नो थातथलोमा पुग्ने गरी भीपीपी गर्न लाउँदथिन् । अवकाशपछि पढ्न थुपारिएका कैयौँ पुस्तक उस्तै होलान् । लेखपढ त अपूर्ण भए-भए, भर्खरै लिएकी सेवा निवृत्तिपछि पाउने अधिकारको पेन्सनसम्म लिन पाइनन् ।
शान्ति थापाका मौलिक ग्रन्थ धेरै छन् । असम आन्दोलन र पूर्वोत्तर मानसिकतामाथि निर्भीक लेख्नसक्ने, असमको भूमिलाई अधिकारपूर्वक आफ्नो भन्नसक्ने सामर्थ्य यी रचनामा छन् । अनूदित हुनसके यी राष्ट्रिय निधि हुन् ।
छोटोमा यिनका कृति यी हुन् –
१. असमेली नेपाली कवितामा गीत (१९९७)
सम्पादकद्वय – डा. गणेश भण्डारी र गोपालबहादुर नेपाली
वाणी प्रकाशन, विराटनगर, नेपाल ।
२. नामघरे (अनूदित उपन्यास – १९९७)
नेपाली साहित्य प्रचार समिति, शिलगढी ।
३. अस्तराग (अनूदित उपन्यास – २००२)
शालिग्राम प्रकाशन, गुवाहाटी ।
४. भारत के स्वाधीनता आन्दोलन में पानबारी रेलगाड़ी दुर्घटना काण्ड (२००३)
रंग प्रकाशन. गुवाहाटी ।
५. माया (गीत सङ्ग्रह – २००४)
अनुराग प्रकाशन, गुवाहाटी ।
६. आवर्तन (कथा सङ्ग्रह – २००७)
अनुराग प्रकाशन, गुवाहाटी ।
७. मोहनी डट कम (उपन्यास – २००९)
अनुराग प्रकाशन
सम्पादित –
१. हाम्रो ध्वनि (२००१-देखि)
२. मृण्मय (बहुभाषी शोध पत्रिका, २००४-देखि)
३. अन्तरङ्ग समकालीन नेपाली कथा विशेशाङ्क – २००५
४. रङ्गघर (नेपाली साहित्य, संस्कृति र कला विशेषाङ्क -२००५
५. पूर्वा (हिन्दी शोधमूलक पत्रिका संयुक्त सम्पादन – २००६)
६. दस्तावेज (हिन्दी त्रयमासिक पत्रिका, असमिया भाषा साहित्य अङ्क ११३ सहयोगी सम्पादन -२००६)
७. असमेली नेपाली कथा यात्रा (२००८)
नेपाली साहित्य परिषद्, असम
८. लोहित घाटी की कहानियाँ
(असमियाबाट हिन्दीमा अनूदित कथा सङ्ग्रह – २००८)
पुरस्कार र सम्मान –
१. समालोचनाका लागि संजय नारायण स्मृति स्वर्ण पदक – १९९९
२. साहित्य अकादेमी, नयाँ दिल्लीबाट लेखक भ्रमण अनुदान – १९९९
३. अनुवादका लागि साहित्य अकादेमी पुरस्कार – २००२
४. ‘आवर्तन’ कथा सङ्ग्रहका लागि नेपाली साहित्य परिषद्, असमको टङ्कनाथ उपाध्याय पुरस्कार – २००८
५. गुञ्जन परिवार, काठमाड़ौँबाट गुञ्जन प्रतिभा पुरस्कार – २००९
६. मदन पुरस्कार गुठीबाट काशीमा मदन सम्मान – २०१४
७. असमिया साहित्यिक प्रतिभा सम्मान -२०२०
मेरा दोष देखाइरहने, लेख-पढमा झक्झक्याइरहने, सिकिरहने र सिकाइरहने, आफू अस्वस्थ हुँदा पनि अरूका स्वास्थ्यबारे खै गरिरहने, निष्ठावान् साहित्य-साध्वी, कवयित्री, आख्यानकार, जीवनीकार, गीतकार, अनुवादिका, सम्पादक, प्राध्यापक, गायिका, नर्तकी, साहित्य दर्शनकी पारखी, कलाप्रेमी, कामक्ष्य क्षेत्रवासिनी सङ्गिनी डा. शान्ति थापा ! अभिभावकीय स्वभावले मातृवत्, सद्भावनाले भगिनीवत्, रुचि र वयले सङ्गिनी शान्ति ! तिमीले आफ्नो जन्मदिनमै शरीर त्यागिछौ । आफ्ना कीर्ति राख्ने कैयौँ कृतिमा बाँचिरहनेछौ । अझ कम्तिमा पनि केही वर्षचाहिँ शरीरमा रहेकी भए थुप्रै थाँती पूरा गर्ने थियौँ । बिदा सखी शान्ति !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।