नेपाली भाषामा लेखिएका पुस्तकहरुलाई दिइने सबैभन्दा ठूलो संस्थागत पुरस्कारका लागि दर्ता खुला भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमार्फत ११ विधामा दिइने संस्थागत पुरस्कारको राशि झण्डै २४ लाख रुपैयाँ रहेको छ । समाजले जारी गरेको प्रेसविज्ञप्तिअनुसार नेपाली भाषामा लेखिएका ११ विधाका पुस्तकलाई ११ हजार ६ सय डलर नगद पुरस्कार वितरण गरिनेछ । पुस्तक प्राप्त भइसक्नुपर्ने अन्तिम मिति फागुन ११ सम्म तोकिएको छ ।
हरेक दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यस पटकका लागि समय तोकिएको हो ।
झण्डै तीन दशकअघिदेखि अमेरिकामा रहेका नेपालीहरुले नेपाली भाषा र संस्कृति जोगाउन सुरु गरेको यो अभियान छ महादेशका झण्डै सय देशमा फैलिएको छ । यसले विभिन्न खालका भाषा र साहित्यिक गतिविधिहरु गरिरहेको छ । तीमध्ये हरेक दुई दुई वर्षमा भाषा र साहित्यमा दिइने अनेसास पुरस्कारहरु पनि हुन् । पुरस्कारलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका विभिन्न पदमा रहेर सेवा गरिसकेका पदाधिकारीहरुले देशका विशिष्ट साहित्यकारको नाममा प्रायोजन गरेका छन् ।
विज्ञप्तिअनुसार यस पटकका पुरस्कारका लागि सन् २०१९ देखि २०२० को अन्तिम दिनसम्म प्रकाशन भइसकेको पुस्तकलाई प्रतिस्पर्धामा सामेल गराइनेछ । उत्कृष्ट पुरस्कार छनोट समितिमा देश विदेशमा छरिरहेका साहित्यिक क्षेत्रका अति विशिष्ट व्यक्तित्वहरु रहेका छन् । पुस्तक स्वदेश वा विदेश जहाँ बसेर लेखिएको भए पनि मान्यता दिइने उल्लेख छ ।
प्राप्त विवरणअनुसार सबैभन्दा ठूलोल पुरस्कारको राशी २ हजार डलरको रहेको छ । अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार नाम दिइएको यो पुरस्कार नेपालसहित विश्वभर छरिएर रहेका स्रष्टाले नेपाली भाषामा लेखेका सबै विधाका पुस्तकमध्ये सर्वोत्कृष्टताकाआधारमा दिइनेछ । त्यसैगरी दुई वर्षमा उत्कृष्ट कविता संग्रहहरु मध्येबाट एकजनालाई अनेसास स्व. माधव घिमिरे काव्य पुरस्कार प्रदान गरिनेछ । यसको राशि १ हजार पाँच सय डलर रहेको छ ।
त्यसैगरी विदेशमा बसेर पुस्तक प्रकाशन गर्ने स्रष्टाहरु मध्येबाट एक जनालाई अनेसास स्व. दिल लीला बस्नेत सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि १ हजार १ सय डलर रहेको छ ।
अर्को पुरस्कारको नाम सत्यमोहन जोशी संस्कृति पुरस्कार रहेको छ । अनेसासका वर्तमान अध्यक्ष प्रकाश पौडेल माइलाले प्रायोजन गरेको यो पुरस्कारको राशि एक हजार डलर रहेको छ । पुरस्कार नेपाली भाषा, संस्कृति र परम्पराका विषयमा लेखिएको पुस्तकलाई वा योगदानको आधारमा स्रष्टालाई प्रदान गरिनेछ ।
त्यस्तै डायस्पोरिक आख्यानका लागि अनेसास होमनाथ सुवेदी डायस्पोरिक वाङ्मय पुरस्कारको पनि व्यवस्था गरिएको छ । ट्रस्टी सल्लाहकार रोहिणी शर्माले प्रायोजन गरेको यो पुरस्कारको राशि एक हजार डलर रहेको छ ।
अर्को पुरस्कार निबन्ध विधामा रहेको छ । डा. श्याम कार्की र इन्दिरा कार्कीको प्रायोजन रहेको यो पुरस्कारको राशि पनि एक हजार डलर रहेको छ ।
अर्को पुरस्कार उपन्यास विधामा राखिएको छ । स्व. डा. डिल्लीराम तिम्सिनाको स्मृतिमा राखिएको उक्त पुरस्कारको राशि पनि एक हजार डलर रहेको छ ।
अर्को पुरस्कार कथा विधामा राखिएको छ । कथाकार पदम विश्वकर्माको प्रायोजन रहेको यो पुरस्कारको राशि पनि १ हजार डलर रहेको छ ।
त्यस्तै नाटक, दर्शन र समालोचनाको पुस्तकलाई पनि अनेसासले पुरस्कृत गर्ने जनाइएको छ । एक हजार डलर राशीको उक्त पुरस्कार स्व. सीता शर्माको नाममा रहेको छ । त्यसैगरी लक्ष्मण सत्यालको स्मृतिमा राखिएको ५ सय डलरको पुरस्कार र ५ सय डलरको बालसाहित्यको पुरस्कार पनि यसमा समावेश गरिएको छ ।
‘सकेसम्म सबै विधा र क्षेत्रका स्रष्टा समेट्ने गरी हामीले पुरस्कारको व्यवस्थापन गरेका छौँ,’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले साहित्यपोस्टसँग भने, ‘यसका लागि अनेसाससँग सम्बन्धित उपल्लो तहका सबैजसो पदाधिकारीहरुको योगदान रहेको छ ।’
पुरस्कारका लागि दुई वर्ष बीचको समयबाहेक यसको आकार र विधासम्बन्धी मापदण्ड पनि संस्थाले तोकेको छ ।
जसअनुसारकम्तिमा ६४ पृष्ठको पुस्तक हुनुपर्ने र विधा पनि तोकिएको हुनुपर्ने बताइएको छ । पुस्तकलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नेपाल च्याप्टर (अध्यक्ष सन्ध्या पहाडी ) स्थित कार्यालय अथवा अमेरिकाको अनेसासको केन्द्रीय कार्यालयमा आइपुग्नुपर्ने बताइएकोछ । सोधपुछका लागि अनेसासले डा. गोपी उप्रेतीको इमेल पनि उपलब्ध गराएको छ । goupreti@gmail.com मा सम्पर्क गर्नसकिने प्रेश विज्ञप्तीमा जनाइएको छ ।
‘निर्णयमा कुनै प्रभाव पर्न नदिन हामीले बरिष्ठ साहित्यकारहरुको निर्णायक टोली गठन गर्ने छौँ,’ बोर्ड बफ ट्रस्टीका अध्यक्ष गीता खत्री भन्छिन्, ‘विगतमा हाम्रो पुरस्कार निष्पक्ष थियो तर कमजोरीरहित थिएन । यसपटकदेखि ती कमजोरी पनि हटाएका छौँ ।’
हरेक पटक यी पुरस्कारका लागि सयभन्दा बढी पुस्तक प्रतिस्पर्धा हुने गरेका थिए । संस्थाले यो पटक प्रतिस्पर्धामा दुई सय जति पुस्तक आइपुग्ने अनुमान गरेको छ ।
पुरस्कार समितिका अध्यक्ष प्राध्यापक डा. गोपी उप्रेती रहेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।