घर फेरिएपछि थाहा भो, प्रेम हरेक घरमा उम्रिदो रहेछ !

‘लक्किली भनौँ वा अनलक्किली’ हामी प्रेमपत्र लेख्ने समयमा जन्मिएनौँ । हाम्रा हातहरूले छिट्टै मोबाइल समाए । ती मोबाइलहरूले इण्टरनेट खोलिदिए र संसार देखाइदिए । हामीले घरको आँगनभन्दा पहिले ‘लन्डन र म्यानहाटन’ देख्यौँ । हामीले बाबा-आमाको पसिनाभन्दा पहिले ‘सिड्नी र नर्थ क्यारोलिना’ देख्यौँ । हामीले रोधीघरभन्दा पहिले डान्सबार देख्यौँ । हामीले लभ क्लबमा देख्यौँ । डेटिङ सेटिङमा देख्यौँ ! हामीलाई लाग्यो- संसार धेरै अगाडी पुगिसकेछ, हामी पछाडि छोडिएछौँ । अनि हामीले निर्णय गर्यौँ- ब्वाइफ्रेन्ड/गर्लफ्रेन्ड त अचेलको ‘ट्रेण्ड’ पो रहेछ, यसलाई ‘फलो’ गर्नुपर्छ ! चुइङ्गम पड्काउँदै तिमीले ‘ह्वाट्स अप’ भन्यौँ, मैले ‘कूल’ भनेँ । तिमीले ‘शेल वी ?’ भन्यौँ, मैले ‘ह्वाइ नट !’  भनेँ ! निमेषभरमै हामीले ‘ट्रेण्ड फलो’ गर्यौँ, गर्लफ्रेन्ड-ब्वाइफ्रेन्ड भयौँ ।

डियर ब्वाइफ्रेन्ड,

कहिलेकाहीँ मलाई लाग्यो, हामी भाग्नु पर्छ । फेरि सोचेँ- हामीले के गल्ती गरेका छौँ र भाग्ने ? हामीले त प्रेम पो गरेका हौँ ।

उत्तिबेलै लाग्थ्यो- हामीले प्रेमचाहिँ कहिले गर्यौँ ? हामीले त ट्रेण्ड पो फलो गर्यौँ । साथीभाइको आधुनिक ‘सर्कल’मा एक्लो परिएला भनेर पो अरुले जस्तै गर्यौं ! प्रेम कहिले गर्यौँ र ? प्रश्नैप्रश्नको भूमरीमा रुमल्लिएर म तिमीसँग भाग्न सकिनँ ! साथीहरूले सुनाए- नभागुन्जेल लुक्नु पर्छ ! कहाँ लुक्ने, कोसँग लुक्ने ? उत्तर पनि साथीहरूले नै बताए । समाजसँग लुक्नुपर्छ, बाबा आमासँग लुक्नुपर्छ, परिवार-आफन्तसँग लुक्नुपर्छ । त्यसको लागि उनीहरूले होटेलका कोठा देखाइदिए । आफ्ना डेरा दिलाइदिए । लुकेर गर्नुपर्ने हरेक कृत्य गर्न उनीहरूले नै उक्साइदिए । जे जे उनीहरूले भन्दै गए हामी त्यही गर्दै गयौँ । गरिरह्यौँ । ट्रेण्ड नै त्यही थियो ।

डियर ब्वाइफ्रेन्ड,

हेमन्त गिरी (जापान)

सबथोक ठीकठाक चलेकै थियो । ठीकठाक पनि नभनौँ, बिन्दास चलेकै थियो । बीचमा विवाह आइदियो । तिमीले ‘प्रेम गरौँ’ भन्दा जति सजिलोसँग मैले मानेकी थिएँ, मैले ‘बिहे गरौँ’ भन्दा त्यति सजिलोसँग तिमीले मानेनौ । मैले लाख मनाउने कोसिस गरें, तिमीले मान्दै मानेनौ । किन मानेनौ भन्ने यथोचित कारण पनि दिन सकेनौ । बहाना गर्यौ । पर-पर सर्यौ । सामाजिक सञ्जालबाट ब्लक गर्यौ । मोबाइल सधैँको लागि ‘स्विच अफ’ गर्यौ । थाहा छैन, कुन कुनामा बसेर यतिबेला आफ्ना साथीहरूसँग तिमी  मसँगको शरीर-उत्सव सुनाइरहेका छौ वा कुनै अर्को शरीरसँग प्रेम नामको लेनदेन गरिरहेका छौ । डियर ब्वाइफ्रेन्ड, तिमीले एउटा असल साथीलाई धोकाचाहिँ दिएका छौ ।

शरीर जोडिदा लाग्थ्यो, हामीबीच नमिल्ने केही छैन । मन छुट्टिएपछि लाग्दो रहेछ- हामीबीच मिल्नसक्ने नै केही थिएन । हामीले एउटा भ्रमको युग मात्र बाँचेका रहेछौ । मध्यपुषको चीसोमा न्यानो माया दिने श्रीमानको अङ्गालोमा छु, छोरीसरह स्नेह दिने परिवारको संरक्षणमा छु । मैले यतिबेला जीवनको खराब समयलाई नसम्झे पनि हुने हो, खराब संगतलाई नसम्झे पनि हुने हो । तर डियर ब्वाइफ्रेन्ड, मपछिको धेरै पुस्तालाई झकझक्याउन मैले अलिकति आफ्नो लाज पचाउनै पर्नेछ आज ।

तिमीसँगका ती समयहरूमा मलाई ‘यौनले आकर्षित नै गरेको हैन’ भन्ने मेरो दाबी रहन्न । प्राकृतिक गुणबाट म पनि अछुतो थिइनँ । तर मलाई ‘यौनले मात्र आकर्षित’ चाहिँ गरेको थिएन, जसरी तिमीलाई गरेको थियो । एक किसिमले भनुँ भने तिमीले मेरो शरीरबाहेक केहीलाई पनि प्रेम गरेका रहेनछौ भन्ने प्रमाणित पनि गरिदियौ । एउटा प्रश्न छ डियर ब्वाइफ्रेन्ड, के सबै पुरुषहरू तिमी जस्तै हुन्छन् ? के मेरा श्रीमान पनि ठ्याक्कै तिमी जस्तै ब्वाइफ्रेन्ड थिए होलान कसैका ? मलाई यही प्रश्नले खाइरहन्छ ।

शरीर हो, आवश्यक पर्दा जोडियो, सकियो । मैले यसरी पनि मन बुझाउन त सक्छु । तर यो युरोप, अमेरिका पनि त हैन । पूर्वीय दर्शन र संस्कारले घेरिएका हामीलाई पश्चिमेली ‘लाइफस्टाइल’ ले आकर्षित गर्दाको र त्यस्तै जीवन बाँच्न खोज्दाको परिणाम मैले आज भोगिरहेछु । यो शिरमा कसैको सिन्दुर पर्दाको दिनदेखि आजसम्म म जे निभाइरहेछु, सब मेरो आमाबाबाले सिकाएको संस्कार अनुसार निभाइरहेछु । सिन्दुर अघिको तिमीसँगको जीवनमा जे भोगेँ, सब उहाँहरूको इच्छा विपरीत गएर भोगेँ । तालमेल यहीँनेर नमिल्दो रहेछ ।

यौन गोप्य विषय हो, दुई जनाबीचको समझदारीको विषय पनि हो, दुई जनाबीचको स्वीकारोक्तीको विषय हो । यसलाई त्यति ठूलो ‘इस्यु’ बनाइनु हुन्न भन्ने कुरामा म सचेत छु । तर डियर, जब यौनभित्र प्रेम जोडिँदो रैछ, समर्पण जोडिदो रैछ र त्यो यौन हामीले जानेको यौनभन्दा अब्बल हुँदो रहेछ भन्ने महसुस गरेँ, तब प्रेमविनाको यौनप्रति घृणा लागेर आउन थाल्यो । तिमी व्यक्तिसँग मलाई घृणा छैन, तिमी र म उस्तै हौँ । तर तिम्रो यौन-चिन्तनप्रति चाहिँ मलाई घृणा लाग्न थालेको छ । यौनसम्पर्क गर्नुका हजार कारण बताउने तिमीले, बिहे नगर्नुको एउटा कारण पनि पेश गर्न सकेनौ । र पछि जब तिम्रो फिरन्ते चरित्रबारे थाहा पाएँ, तिम्रो यौन-मनोविज्ञानप्रति नै दया लागेर आयो ।

हो, हामी आधुनिक भएका छौँ । अभिव्यक्ति स्वतन्त्रताको युगमा छौँ । रोजाइको स्वतन्त्रता छ । जीवन पद्धतिको स्वतन्त्रता छ । तर अझै पनि हामी ‘परिवार पहिलो’ भन्ने मान्यतालाई नै अंगालेर बाँचिरहेका छौँ । यस्तो अवस्थाका हामीलाई पश्चिमा संस्कृति अँगाल्नु र त्यसमा अमल गर्न नसक्नु एउटा ग्लानीको विषय बन्दो रहेछ डियर ब्वाइफ्रेन्ड !

अब प्रश्न आउँछन्:

के प्रेम जीवनमा एक जनासँग मात्र हुन्छ ? अवश्य हुँदैन । के यौन सम्पर्क पनि जीवनभर एक जनासँग मात्र भइरहनुपर्छ ? अवश्य होइन । तर यौनकै लागि फर्जी प्रेमचाहिँ गरिनु हुँदैन । जहाँ जतिबेला जोसँग होस्, यौनमा इमान हुनुपर्छ । यौनमा प्रेम हुनुपर्छ । प्रेमविनाको यौन केवल शरीर-मन्थन हो । डियर ब्वाइफ्रेन्ड, सायद वेश्यालय मात्र एउटा यस्तो ठाउँ हो, जहाँ काम गरिसकेपछि एउटा इमान्दार प्रश्न सोधिन्छ- सन्तुष्ट हुनुभयो ??

मान नमान, यौनमा इमान जरुरी छ ।

हाम्रा मोबाइलहरूले, हाम्रा ल्यापटपहरूले हामीलाई जुनखालको प्रेम सिकाइरहेका छन् र हामी जुनखालको यौन अभ्यास गरिरहेका छौँ, त्यो हाम्रो ‘जीन र जेनेटिक्स’ भन्दा धेरै परको छ । पश्चिमाहरू परिवारिक बन्धनबाट छिट्टै मुक्त हुन्छन् । आफ्नो मर्जीले जीवनसाथी रोज्न र आफ्नो मर्जीले सम्बन्ध तोड्न स्वतन्त्र हुन्छन् । तर हामी अनेकौँ पारिवारिक झमेलाहरूले बाँधिएको समाजमा बस्छौँ । उनीहरूले गरे झैँ गर्न खोज्दा हाम्रा धेरै कुरा बिग्रिन्छन् । हाम्रो आफ्नो पद्धतीभित्र पनि शालीन यौन छ, सभ्य प्रेम छ, वजनदार प्राकृतिक/लैंगिक आकर्षण छ । हामी यसैलाई बडो कलात्मक तरिकाले निभाउन सक्छौँ । किन हामी ट्रेण्डको पछाडि दौडिरहेछौँ ? थाहा छैन । प्रेम त फितलो यसै पनि बनिरहेकै थियो, हामीले त जीवन पद्धतीलाई समेत फितलो बनाइरहेका रहेछौँ ।

डियर ब्वाइफ्रेन्ड,

बिहे गर अब तिमीले पनि । प्रेमपूर्वक खोज्यौ भने एउटै शरीरबाट हजार सन्तुष्टिहरू भेटिनेछन् तिमीलाई । खोज्न जानेनौ भने बैँस त बाँचौला जेनतेन, जीवन बाँच्नचाहिँ गाह्रो नै पर्नेछ तिमीलाई पनि । तिम्रो राम्रो होस् । शुभम् ।