नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकार प्राप्त साझा प्रकाशन लामो समयसम्म एकछत्र जनक शिक्षा सामाग्री संस्थानको एकल वितरकको रुपमा आफ्नो सम्पूर्ण कारोबारमा रमाइरहेको थियो । करिब तीन महिनाको जनक शिक्षा सामाग्री संस्थानको वितरण कारोबार गरेर वर्षभरि साझा प्रकाशनलाई पाल्न सक्षम हुँदासम्म सबै महाप्रवन्धकहरु सफल थिए । तर वि.सं २०४६ सालको परिवर्तनको हावा लागेपछि जनक शिक्षा सामाग्री केन्द्रले आफैँ वितरक बनेर साझा प्रकाशनले खाने गरेको “तर” आफैँ खाने निर्क्यौलमा पुगेपछि हारगुहार र नौटङ्की नाटकहरु हुन थाले साझा प्रकाशनमा । साझामा धेरै नाटकहरु मञ्चन भए, त्योमध्ये यौटा नाटक वा नौटङ्की थियो, दार्जीलिङमा साझा प्रकाशनका पुस्तकको प्रवर्द्धनको नाममा साहित्यकारको जम्बो टोली लगेर गरिएको भ्रमण । त्यस भ्रमणले साझा प्रकाशनको पुस्तक के कति प्रवर्द्धन भयो र साझा प्रकाशनले के कति आर्थिक लाभ गर्यो, त्यो त चर्चा भएन, कसैले खोजखबर गरेनन् पनि । तर त्यस भ्रमणमा गएका टोलीका केही सदस्यहरु खर्साङ घुमघामका लागि चढेको गाडी दुर्घटनाले भने नेपाली साहित्यमा अपुरणीय क्षति पुग्यो । त्यो थियो, कवि विनय रावलको सो दुर्घटनामा अवसान ।
त्यो थियो वि.सं २०६२ साल जेठ २५ को घटना, दुर्घटना । साहित्यकारहरु राजेन्द्र पराजुली, विश्वविमोहन श्रेष्ठ, नेपाल टेलिभिजनका झापा सम्वाददाता लक्ष्मीप्रसाद लुइँटेलसहित विनय रावल सवार गाडी दुर्घटना भएको थियो र त्यही दुर्घटनाले उनको ज्यान लियो । यो दु:खद् थियो । असामयिक थियो । अकल्पनीय थियो । अपुरणीय थियो ।
सोही दुर्घटनामा परेका राजेन्द्र पराजुलीले पछि लेखेको संस्मरण अनुसार दुर्घटनाको अघिल्लो साँझ विनय रावललाई मदिरा पिउने तलतल लाग्नु, कतै पनि किन्न नपाउनु । लाख गरेर खोज्दा पनि नभेटिनु । अन्तमा सोही कार्यक्रममा गएका कञ्चन पुडासैनीले आफूसँग मदिरा भएको भन्दै आफ्नो कोठामा लगेर उनको मदिरा पिउने इच्छा पूरा गरिदिनु र भोलिपल्ट त्यस्तो भयावह दुर्घटनामा मृत्यु हुनु निकै नै हृदयस्पर्शी थियो ।
विनय रावल वि.सं २०१३ सालमा वीरगञ्ज बिर्ताबजारमा जन्मेका हुन् । उनको जागिरे जीवन पनि वीरगञ्जबाटै सुरु भयो । वीरगञ्जबाट भैरहवा हुँदै अन्तत: उनी काठमाडौँ आइपुगे र उनको जीवनको अत्यधिक सक्रिय समय काठमाडौँमै बित्यो । यद्यपि उनको साहित्यिक सक्रियता वीरगञ्जमै सुरु भएको थियो । राजनैतिक चेत वीरगञ्जमै फक्रेको थियो । उनले वीरगञ्जमै “अभिनव” साहित्यक पत्रिका सम्पादन थालेका थिए ।
मेरो उनीसँग भेट वि.सं २०३६ सालपछि काठमाडौँमा भएको हो । उनी राष्ट्रिय वाणिज्य बैङ्कमा कार्यरत थिए । अनि उनले पुरानो ” मुकुट” सम्पादन प्रकाशनमा हात हालेका थिए । विशेष ध्रुव मधिकर्मी, वियोगी बुढाथोकी, ज्ञानुवाकर पौडेल, दुवसु क्षेत्रीसँग उनको अन्तरङ्गता थियो । उनी खुलेर आफूलाई प्रजातन्त्रवादीका रुपमा चिनाउँथे र नेपाली कांग्रेस पार्टिप्रति प्रतिबद्ध थिए । उनले हाँस्दा वा मुस्कुराउँदा मिठाससँगै गहिरो अर्थ लुकेको अनुभव गर्थें म ।
विनय रावल कवि थिए, प्रतिवद्ध कवि । तर कवि र कविताभन्दा उनको पहिलो शर्त प्रजातन्त्र थियो । अभिव्यक्ति स्वतन्त्रता पहिलो शर्त थियो । उनको त्यो कट्टरपना कतिलाई बिझाउँथ्यो पनि । राजनीतिमा प्रधानमन्त्री हुनुअघि गिरिजाप्रसाद कोइराला कम्युनिष्टप्रति जति कट्टर विरोधी थिए, साहित्यमा विनय रावल उस्तै उस्तै लाग्थ्यो साहित्यमा । राजनीतिक कित्ताकाट ढुक्कैले गरिदिन्थे । कम्युनिष्ट कवि, वामपन्थी साहित्यकार, प्रगतिशील वा प्रगतिवादी खेमाका साहित्यकारलाई उनी नाक मजाले खुम्च्याउँथे र गन्दैनथे । उनको एउटै तर्क हुन्थ्यो,” अभिव्यक्ति स्वतन्त्रताका विरोधी कम्युनिष्ट पनि साहित्यकार हुन्छन् ?”
कुनै सभा समारोहमा बोल्दा उनको भाषणमा फ्रान्सका शासक चार्ल्स दे गालले “सार्त्र भनेको फ्रान्स हो, फ्रान्स भनेको सार्त्र हो” भन्थे भन्ने उनको भनाई सधैँ दोहोरिन्थ्यो । यो बेग्लै कुरा हो, सार्त्र स्वयम् वामपन्थी थिए । वामपन्थीको पक्षधरताका लागि उनी जुलुसमा पनि सामेल हुन्थे । क्यूवाका कम्युनिष्ट नेता फिडेल क्याष्ट्रोसँग उनको मित्रता नै थियो ।
सन् १९८९ मा चिनको तियानमेन स्क्वायरमा निहत्था प्रदर्शनकारी विद्यार्थी र आम जनमाथि टैङ्क गुडाएर गरिएको नरसंहारात्मक दमनको विरोध विश्वव्यापी रुपमा भएको थियो । निःसन्देह त्यो विरोध गर्नेहरु पश्चिमाहरु नै अत्यधिक थिए र गैरकम्युनिष्ट थिए । सो नरसंहारको विषयमा कविता लेखाएर उनले आफूले सम्पादन गरेको “मुकुट” पत्रिकाको तियानमेनका कविताहरुको विशेष अङ्कसमेत सम्पादन, प्रकाशन गरेका थिए ।
वि.सं २०३६ सालको सडक कविता क्रान्तिपछि एक दिन टेवहालमा अवस्थित जीवन आचार्यको डेरामा भेटघाट गरेर सँगै फर्किने क्रममा फणिन्द्र नेपालले मसँग प्रस्ताव गरेका थिए, “ गोविन्दजी, तेश्रो आयाम जस्तै कुनै साहित्यिक आन्दोलन गरौँ । हामी दुई भैहाल्यौँ, एक जना अर्को साथी खोजौँ ।”
तर मैले खास रुचि देखाइनँ । त्यसको केही महिनापछि “तरलवादी आन्दोलन” घोषणा भयो । मसहितको संलग्नताको युसास अर्थात् युवा साहित्यिक समाजको मुखपत्र गोजीका “पूर्वार्ध”, जुन अवि राईको नाममा दर्ता भएको थियो, त्यसलाई उनीहरुले अविसँग मागेर तरलवादी आन्दोलनको मुखपत्र बनाए । तरलवादी आन्दोलन फणिन्द्र नेपालकै परिकल्पना थियो र उनले चुनेका अरु दुई सहयात्रीहरुमा विनय रावल र तीर्थ श्रेष्ठ थिए । यौटा कुरामा साम्यता थियो, तीनै जना प्रजातन्त्रवादी थिए र नेपाली कांग्रेसप्रति समर्पित थिए ।
तरलवादको व्याख्याता, प्रवक्ता र अगुवा फणिन्द्र नेपाल नै थिए । उनीहरुले तीन जनाको नामको पहिलो अक्षरबाट “फविति” नामाकरण गरेका थिए, तीन जनाको समूहको नाम । पछि सो समूहमा वियोगी बुढाथोकीसहित अरु पनि सामेल भएका थिए । तर पछि तीर्थ श्रेष्ठ र विनय रावल सो आन्दोलनबाट अलग भए । एक्लै भएपछि फणिन्द्र पनि सेलाए । यसरी विनय रावल तरलवादी आन्दोलनसँग पनि जोडिएका थिए ।
साहित्यिक पत्रिकासँगको संलग्नताकै कारण उनी प्रेस काउन्सिलको सदस्यमा पनि मनोनित भएका थिए । तर उनले प्रेस काउन्सिलमा खासै काम भने देखाउन सकेनन् । प्रेस काउन्सिलमा देखिने गरी काम गर्ने र साहित्यिक पत्रकारितालाई प्रेस काउन्सिलमा मान्यता दिलाउने र प्रभाव पार्ने काम भने रोचक घिमिरे त्यहाँ पुगेपछि मात्र भयो ।
जागिरे कलमकारहरुलाई चर्को लेख रचना लेख्न जागिरले बाधा गर्दथ्यो । त्यसैले साहित्यकारहरु छद्म नामले साप्ताहिक पत्रपत्रिकामा लेख्ने आम चलन थियो । विनय रावल पनि “अतुलेस” को नामले साप्ताहिक अखबारमा कोलम लेख्ने गर्थे । एकपल्ट डा. रामदयाल राकेशसँग मेरो साहित्यिक विवाद परेको थियो । हाम्रो विवादको पक्ष विपक्षमा पनि लेखिने गर्थे । अतुलेसले पनि सो प्रकरणमा केही हरफ कोरेका थिए । उनले रामदयालको आलोचना गरेका थिए साथै मलाई पनि उनले बाँकी राखेका थिएनन् । उनले मलाई, “ तथाकथित स्वयम्भू लेखक” भनेर उपमा दिएका थिए । त्यो देखेर मलाई दिक्क लागेको थियो । तर आमनेसामने हुँदा, भेटघाट हुँदा म अतुलेक कहाँ छन् पत्तै पाउन्नथेँ । म त सधैँ रहस्यमय मुस्कान ओठमा झुण्ड्याइरहने विनय रावल कविलाई मात्र भेट्थेँ ।
सम्भवत: नेपाली साहित्यमा सबैभन्दा विवादास्पद पुस्तक हो मोहन कोइरालाको सम्पादनमा उनी कविता विभागको प्राज्ञ हुँदा प्रज्ञा प्रतिष्ठानले नै सो पुस्तक प्रकाशन गरेको थियो । प्रज्ञा प्रतिष्ठानकै उपकुलपति ईश्वर बरालले प्रकाशकीयमा आफ्नो सो पुस्तकलाई ” मोहन कोइरालाले आफ्नो निजी रुचि अनुसार चयन गरेको” टिप्पणी गरेर आफ्नो आफ्नो असहमती प्रकट गरेका थिए । धेरै कवि, लेखक, समालोचक, विद्वानहरुले सो सङ्कलनमा गरिएको कवि चयनलाई लिएर आपत्ति जनाउँदै आलोचना गरेका थिए । सो सङ्कलनका लागि भित्री रुपमा कविता चयनमा विनयले भूमिका खेलेको चर्चा साहित्यिक वृत्तमा थियो ।
विनय रावलले बर्माको भ्रमणपछि नियात्रामा समेत कलम चलाएका थिए । सो भ्रमणको नियात्रा ” ठूल्दिदीको देश” (वि.सं २०५८) प्रकाशन गरेका थिए ।
वि.सं २०४६ सालको सफल जनआन्दोलनपश्चात् निर्माण भएको संविधान अनुसारको आम चुनावमा कांग्रेसी कविहरुले नेपाली कांग्रेसलाई जिताउन मत माग्दै रुखको पक्षमा “चुनाव कविता गीत” पुस्तिका प्रकाशन गरिएको थियो । विनय त्यस राजनैतिक प्रोजेक्टको लागि संलग्न भएर संयोजनसमेत गरेका थिए । तर उनलाई मन पर्ने उनको कविता भने “मलाई तिमी आफूजस्तै बनाउ” थियो, जसलाई उनी प्राय: वाचन गर्ने गर्थे । उनको पहिलो कविता सङ्ग्रहको शीर्षक पनि सोही कविताबाट राखेका थिए- “मलाई तिमी आफूजस्तै बनाउ” (वि.सं २०४९) राखेका थिए । उनको दोश्रो कविता संङ्ग्रह “सपनाको देशमा” (वि.सं २०६१) थियो । उनले अतुलेस नाममा लेखेका कोलमको पुस्तक “समय प्रवाह” (विसं २०५७) थियो ।
उनले अचेतनमा लेखेका कविताका हरफहरुले उनको अप्रत्यासित मृत्युलाई सङ्केत गर्दछन्:
मैले धेरै पटक
मृत्युलाई वरण गर्न खोजेँ
प्रत्येकपटक मृत्यु मसित छल गर्दै
मबाट सुइँकुच्चा ठोक्यो ।
जब मैले जीवनको अर्थ बुझेँ
र जीवनलाई औधी माया गर्न खोजेँ
मृत्यु मेरा समिप
मुख बाएर ऊभिन आयो ।
असमयमै अस्ताएका अतुलेश अर्थात् विनय रावल कविताका हरफहरुमा रहस्यमय मुस्कान छोड्दै जीवन्त छन् ।
अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।