नेपाल, अमेरिका तथा क्यानाडाका लघुकथाकारहरु एकै चौतारीमा स्रस्टा साँझ, अमेरिकाले विगत तीन वर्षदेखि अमेरिकाको टेक्सासबाट नेपाली साहित्य, संगीत तथा कलाको प्रवर्द्धनका लागि निरन्तर काम गरिरहेको छ । यसै शृंखलाको एक कडीका रुपमा गएको डिसेम्बर २७ को दिन जूम प्रविधिमार्फत लघुकथावाचन, लघुकथाका विविध आयामहरुमा छलफल तथा नयाँ वर्ष २०२१ को शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा नेपालबाट डा. विदुर चालिसे, मंजुश्री प्रधान, सञ्जय मित्र, राजन न्यौपाने, रामकुमार पण्डित, जुनु खडका, निबन्ध आचार्य, छायदत्त न्यौपाने तथा अमेरिकाबाट खेमराज पोखरेल, अविष्कार भारती, तीर्थराज अधिकारी तथा प्रभा आचार्यले भाग लिएका थिए।

यसैगरी क्यानाडाबाट गोविन्दसिंह रावत एवं कुसुम ज्ञवालीले आ-आफ्नो रचना पाठ गरेका थिए।

यसका साथै नेपाली लघुकथालाई प्रवर्ध्दन गर्ने र अन्तर्राष्ट्रीयकरण गर्ने विषयमा पनि छलफल भयो । नेपाल तथा विदेशमा विभिन्न व्यक्ति तथा संस्थाहरु लघुकथा सिर्जना तथा प्रवर्धनमा लागिरहेका भए पनि साझा सञ्जालको अभावमा हुँदा कसले के गरिरहेको छ सबैलाई जानकारी नभएको भन्दै यी सबैलाई एउटै सञ्जालमा आबद्ध गर्ने कार्यमा समन्वय गरेमा लघुकथाको प्रवर्धनमा ठूलो टेवा पुग्ने निष्कर्ष थियो ।

कार्यक्रमको सहजीकरण विश्वराज अधिकारी एवं पवन बुढाथोकीले गरेका थिए। स्रष्टा साँझको तर्फबाट प्रभात दीक्षितले नव वर्ष २०२१ को शुभकामना दिनुका साथै स्रष्टा साँझका कार्यक्रमहरूबारे उल्लेख गरेका थिए। स्रष्टा साँझ नेपाली साहित्यको विकासमा कटिबद्ध रहेको कुरा पनि उक्त कार्यक्रममा दीक्षितले बताए।