नरसिङ । सयौं योद्धाहरू बीचमा मेरो मन मिल्ने साथी । पल्टने नम्बरी । तर उसलाई न्यु सेफलको आक्रमणमा गुमाएँ । उसको मातापिता अथवा सम्पूर्ण वंश म आफैँ बनिएर उसको सनाखत गरेँ । एक सच्चा मित्रको सहृदयी कर्तव्य वा प्रेम भनौँ, उसको लाशलाई त्यही खाडलमा गाडेर अन्त्यष्टिकार्य गरिदिएँ । अनि नरसिङले सहादत प्राप्त गर्‍यो भनी उसको परिवारलाई तार भेजेँ ।

युद्धको पीडाले आफैँलाई पटक–पटक बिर्सेको बेला नम्बरीलाई सम्झन पनि एउटा कामजस्तै हुन्थ्यो । घरि आफूलाई घरि नरसिङलाई सम्झँदै २२ अक्टोबर १९१५ मा पाँच महिना ब्राइटनको रोयल पेभिलियन अस्पतालमा उपचार गराएर म पल्टन आइपुगेँ ।

रिडी नै खोला बाढी नै आयो बगायो कुन भुलले

जर्मनी देशमा आइपुग्यौँ हामी अङ्ग्रेजको हुकुमले

ए, सुन ! सुन ! सुनलाउने चरी अङ्ग्रेजको हुकुमले ।

अचम्म ! नरसिङ त्यहाँ सवाइ गाइरहेको थियो । आफूलाई विश्वास गर्नै सकिनँ । साथी जीवित फर्कियो ? होइन, उसको आत्मा मैले देखिरहेछु, होइन सायद म पो मरिसकेँ र नरसिङको समिप पुगेको छु ।

जबरजस्ती वाक्य निकालेँ, ‘नरसिङ ! तिमी त न्यु सेफलको आक्रमणमा… ?’ मैले वाक्य पूरा गर्न सकिनँ ।

विजय हितान (बेलायत)

ब्राइटनबाट रेलमा फक्स्टोन, त्यहाँबाट डुङ्गामा इङलिस च्यानल तरेर बेल्जियमको डनकर्क । त्यसपछि गाडीमा चेढर प्रिय । जहाँ थियो, हाम्रो बिलेट, युद्धको फ्रन्ट लाइनबाट आराम गर्न आउने बेसक्याम्प ।

पल्टन आइपुगेपछि आफ्नो घरै आएजस्तै आनन्दको अनुभूति भयो ।

यतिखेर बटालियन पुनर्सङ्गठनको तयारीमा रहेछ । आधाभन्दा धेरै सेनाहरूको कुनै लेखाजोखा थिएन । कति फिल्ड मेडिकल सेन्टर र ब्राइटनको अस्पतालमा उपचारत हुँदा हुन् । कतिलाई भने अस्वस्थ्य र अयोग्य भएर इण्डिया फर्काइसकिएको रहेछ । कति जना मृत घोषित गरिएका र कति भने अझै हराइरहेका । अनि जर्मनको युद्धबन्दीमा त्यतिकै मात्रामा थिए गोर्खाली सेनाहरू ।

पल्टनमा थुप्रै नयाँ अनुहार आइसकेका रहेछन् । तिनलाई नेपालबाट रेक्रुट गरेर पानी जहाजमा तालिम गराउँदै ल्याइएको रहेछ । तीमध्ये कति त पैँतीस-चालीस नाघेका अनि कति त दाँत नभएका थोतेहरू पनि थिए । सायद ‘एक गोली त थाम्छ’ भन्दै त्यस्तालाई लाहुरे बनाइएका थिए ।

नेतृत्वमा नयाँ गोरा साहेबहरू देखेँ । केही साथीहरू नायकबाट हवल्दार, हवल्दारबाट मेजर, जमदार अनि सुवेदारमा पदोन्नति भइसकेका थिए । मलाई पनि एकैचोटि नायकको बिल्ला भिराइ दिएर ‘ए’ कम्पनीमा पठाइयो । युद्धमा घाइते हुनुअघि हेड क्वाटर कम्पनीमा सिग्नलर थिएँ ।

हाम्रो पल्टन १ गोर्खा राइफल मात्रै होइन, पूरै इण्डियन कोर नै पुनर्गठनमा लागेको भान हुन्थ्यो । लत्ता–कपडा, ग्यास रेस्पिरेटर देखि हात–हतियारजस्ता युद्ध सामग्री सबै नयाँ नयाँ आउन थालेका थिए । प्रत्येकलाई नयाँ रेस्पिरेटर र न्याना कपडा बाँडिन थालियो । अब भने जर्मनको ग्याँस खाएर मरिन्न भनेर ढुक्क भइयो । जाडोले निमोनिया लागेर मरिन्न भनेर खुशी भइयो । गतसाल मात्र भाइकर मशिनगन एक पल्टनमा एउटा मात्रै उपलब्ध थियो, अब हरेक कम्पनीलाई एक-एकवटा दिइएको थियो । बम्बिङ पार्टीले पहिलाको जस्तो पाइपको काम चलाऊ ट्रेन्च मोर्टर नभएर फलामको ट्रेन्च मोर्टर बोकेर हिँडेको थियो । ब्रिटेनबाट किच्नर आर्मी पनि थपिएछन् । यसले गर्दा ब्रिटिस सैनिक संख्यामा उल्लेखनीय वृद्धि भएको थियो ।

घर जान पाउने खुशीयालीमा म रमाइरहेको बेलामा ऊ भने मसँग थिएन । पीडाले छाती पोलिरह्यो ।

पुनर्गठनको क्रममा हामीलाई ‘युद्धबाट फिर्ता गरिदैछ’ भन्ने हल्ला सुनियो । मृत्युदेखि त्रसित यो मन, युद्धमा घाइते यो शरीरमा एक किसिमले खुशीको तरङ पैदा भयो । तर मन मिल्ने दोस्त, नङ मासुजस्तै मिल्ने नम्बरी नरसिङलाई युद्धमै बिदा गरिसकेको थिएँ । घर जान पाउने खुशीयालीमा म रमाइरहेको बेलामा ऊ भने मसँग थिएन । पीडाले छाती पोलिरह्यो ।

मनभरि प्रार्थना गरेँ, ‘हे भागसुनाथ ! मेरो बिन्ती छ । अब मलाई मेरै माटो फर्किन देऊ ।’

हाम्रो पुकार सुनिदिने को नै थियो र त्यहाँ ? उही अदृष्य भगवानको भरोसाबाहेक ।

२५ नोभेम्बर १९१५ । माजिङहम भन्ने ठाउँमा बटालियन नै जाने भनेर हुकुम गिर्‍यो । अनि बुटपट्टी कसियो । गोर्खा ह्याट लगाइयो । खुकुरी टल्काइयो । परेड खेल्ने पोसाकमा बाहिरबाट ओभर कोर्टमा यो ज्यान सजियो । केही घण्टाको मार्चपछि एउटा भव्य महलको अगाडि हाम्रा पाइला ठप्प अडिए । कार्पेट बिछ्याएजस्तो हरियो विशाल चौर, सुन्दर बगैँचा, अनि स्वच्छ तलाऊ । हाम्रो १/१ गोर्खा पल्टन मात्रै भनेको त १/४ गोर्खा, १/९ गोर्खा, २/२ गोर्खा, २/३ गोर्खा, २/८ गोर्खा पल्टन पनि अघि नै तैनाथ रहेछन् । त्यो देखेर मलाई लाग्यो यो अब अर्को आक्रमणको पूर्व तयारी हो ।

मैदानमा लाइन लागेर यी सबै पल्टनका जवानहरु खडा रहेको अवस्थामा एउटा चिल्लो ल्यान्डरोभर जिप आएर हाम्रो अगाडि रोकियो । जिपबाट एक जना मानिस सुकिलो सैनिक पोसाकमा फुत्त झरे । कताकता देखेजस्तै लाग्यो उनलाई । सम्झने प्रयास गरेँ । याद भयो, उनलाई गत अगष्ट महिनामा ब्राइटनको अस्पातलमा भेटेको थिएँ । म त्यहाँ उपचारार्थ रहँदा वहाँको भ्रमण भएको थियो । वहाँ हुनुहुन्थ्यो– महाराजा जर्ज पाचौँ ।

म सौभाग्यवस हाम्रो पल्टनको सबैभन्दा अगाडिको लाइनमा थिएँ । मपछिको तेस्रो लाइनमा एक जना चिनेको जस्तो लाग्ने मान्छे खडा भएको देखेँ । ब्यारेकमा जस्तो मुन्टो घुमाएर मजाले हेर्न त मिल्दैनथ्यो परेडमा । तैपनि यसो आँखा छड्के पारेर हेरेँ । झन् त्यो मान्छेलाई मेरै जिग्री नरसिङ नै देखेँ । मेरो ध्यान महाराजाभन्दा नरसिङजस्तो देखिने मान्छेतिर मोडियो ।

तर ऊ काटीकुटी नरसिङ नै देखिन्थ्यो । मेरो खुलदुली बढ्यो । परेड सिद्धिनासाथ उसलाई नजिक गएर नियालेर हेर्छु भन्ने लाग्यो ।

मरिसकेको मान्छे कसरी ब्युँतेर आउन सक्छ ?  एकचोटि आफ्नो आँखालाई पुछेर फेरि उतै हरेँ । तर ऊ काटीकुटी नरसिङ नै देखिन्थ्यो । मेरो खुलदुली बढ्यो । परेड सिद्धिनासाथ उसलाई नजिक गएर नियालेर हेर्छु भन्ने लाग्यो ।

ब्रिगेड कमान्डरले रिपोर्ट दिएपछि महाराजा निरिक्षण गर्दै मेरो समिप आउनु भयो । त्यत्रा बडामहाराजलाई नजिकबाट दर्शन गर्न पाउँदा गर्वले छाती फुलियो । युद्धको घाउ बिर्सिएँ । निरिक्षणपश्चात् एउटा अग्लो मञ्चमा उभिएर गोजीबाट कागजको चिर्कटो झिकेर पढ्न थाल्नुभयो महाराजा–

मेरा प्यारा गोर्खाली दाजुभाइहरु !

एक वर्ष अगाडि हाम्रो साम्राज्यलाई जोगाउन तपाईँहरुलाई इन्डियाबाट बोलाएँ । मैले संङ्कल्प गरेका वाचाहरुलाई पूरा गर्न तपाईँहरु बेल्जियम र फ्रान्सको युद्धभूमिमा डटेर लड्नु भयो । मैले तपाईँहरुप्रति पालेको आत्मविश्वास तपाईँहरुको बहादुरी कार्यले बताइसक्यो । अब तपाईँहरु अर्को युद्धमैदानमा पनि यसरी नै बडो साहसका साथ लडेको देख्न चाहन्छु । तपाईंहरु यस्तो दुःख र कष्टपूर्ण घडीमा पनि तपाईंका बेलायती कमरेडसँग हातेमालो गर्दै आफ्नो बहादुरी प्रदर्शन गर्नु भयो । यस्तो कठिन घडीमा तपाईँहरुको यो अथक सेवा कहिल्यै बिर्सन नसकिने कार्य हो । नौलो र विशेष गरेर यस प्रयोगात्मक युद्धमा हाम्रो साम्राज्यको संस्कार र मान्यतालाई सधैँ उच्च राख्न सफल हुनुभयो । मैले तपाईँहरुको क्रियाकलाप बडो उत्सुकताकासाथ टाढाबाट मूल्याङकन गर्दै बसेको छु । हाम्रो साम्राज्यको सार्वभौम सत्ता र यसको अस्तित्व जोगाउन तपाईँहरुको देन अविश्मरणीय रहनेछ ।

झनै, जसले आफ्नो अमूल्य ज्यान दिए तिनको योगदान अतुलनीय छ । म तपाईँहरुसँगै ती दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछु । यस्तो सम्मानजनक कार्य सम्पादन गरेर आफैँमा गौरवान्वित महसुस गर्दै फ्रान्स छोड्दै हुनुहुन्छ । अनि मलाई पूर्ण विश्वाश छ, तपाईँहरुको यस युद्ध अनुभव र रणकौशलताले अर्को युद्धमा पनि हामीलाई सफलता प्राप्त हुनेछ । मैले यही प्रार्थना गर्दछु कि भगवानले तपाईंहरुलाई सधैं रक्षा गरुन् ! र विजयी बनाएर सुक्षित घर फर्काऊन् !

जय गोर्खाली !

बडामहाराजाको प्रवचनले यो छाती गर्वले फुलेर आयो । एकैछिनपछि त्यही छातीलाई पश्चातापले पोल्न थाल्यो । थुप्रै इतिहास लेखिनेछ यो युद्धभूमिमा हामीले बुट बजारी रहँदा । हामी जसका विरुद्धमा लड्यौँ, थिएन कसैसँग हाम्रो भाइचारा, न त थियो दुश्मनी नै । फगत हामीलाई अदम्य साहसीको चश्मा भिराइदिएर यो भूभागमा हाम्रा अमूल्य रगत र पसिनाले सिञ्चित पार्न बाध्य बनाइएको थियो ।

परेड ढिसमिस हुनसाथ नरसिङजस्तै देखिने मान्छेको समिप पुगेँ । ऊ अन्य सैनिकहरुको हुलमा लमक लमक अगाडि पाइला चाल्दै रहेछ । म उसलाई छेउबाट उछेनेर उसको अगाडि पुगेँ ।

सोधेँ, ‘तिमी नरसिङ होइनौ ?’

ऊ आश्चार्य मुद्रामा भन्यो, ‘अरे यार, तिमी मित्रशेन होइनौ ? गीत भजन गाएर सुनाएर हामीलाई आनन्द दिने मेत्रसेन थापा ? क्या प्रतीभा छ यार तिमीमा ! तिमी जसरी पल्टनलाई माया गर्छौ त्यत्तिकै सङ्गीतलाई पनि गर्छौ ।’ उसले मतिर अँगालो हाल्न तम्सियो । एक बित्ताको दूरीमा देख्दा हो ऊ नरसिङ नै थियो । मैले कुनै दिवासपना देखेको थिइनँ । मैले नरसिङकै श्वासको गन्ध सुघ्न सक्थे । तर पत्यार लागेन । ‘कतै नरसिङको भूत त होइन ?’ भनेर मेरो आङ जिरिङ्ग भयो ।

एक दुई पाइला पछाडि हट्दै भनेँ, ‘तिमी मेरो नरसिङ नम्बरी नै हौ नि ?’

मेरो सोधाइप्रति आश्चर्य प्रकट गर्दै उसले भन्यो, ‘अरे यार, म नम्बरी नरसिङ नै त हुँ । यसमा दङ्ग पर्नुपर्ने कारणै के छ र ?’

अरुका पाइलाहरु हामीलाई नाघेर गमकगमक अगाडि बढ्दै थिए । वार्तालापले हाम्रा कदमहरु भने अलि सुस्ताइरहेका थिए । हामी दुई झन् पछाडि छोडिदै थियौँ  ।

‘अरे यार तिमी त….’ मलाई अझै पत्यार नै लागेको थिएन । किन कि मैले नै उसको लाश सनाखत गरेको थिएँ । मन भित्रभित्रै अचम्मको डढेलो सल्किरह्यो ।

उसले अझै स्पष्टिकरण दिइरहेकै थियो, ‘म नोभेम्बरको सुरुमा रिलिज भएको ।’

‘केबाट रिलिज !?’

उसले भन्यो, ‘जर्मन क्याम्पबाट ।’

‘कस्तो जर्मन क्याम्प !?’

मैले एकोहोरो लाटो प्रश्न गरिरहेकाले ऊ रिसायो पनि । भन्यो, ‘हत्तेरी यार ! जर्मनको युद्धबन्दी क्याम्पबाट नि ।’

‘युद्धबन्दीबाट !? तिमी त न्युसेफलको आक्रमणमा….’ यसरी नै मैले वाक्य पूरा गर्न सकिनँ ।

फ्रन्टलाइनको एउटा कम्पनी र  हेडक्वाटरबीच संचारविच्छेद हुँदा कम्पनी भएको ठाउँमा पुगेर सियो साहेबको ‘तुरुन्तै पछाडि हट्ने’ भन्ने हुकुम पुर्‍याएको ।

मलाई त्यो दिनको याद टट्कारै थियो, जुन दिन नरसिङले फेस्तुनबर्गको लडाइँमा आफ्नो ज्यान जोखिममा पारेर बहादुरी प्रदर्शन गरेको थियो । फ्रन्टलाइनको एउटा कम्पनी र  हेडक्वाटरबीच संचारविच्छेद हुँदा कम्पनी भएको ठाउँमा पुगेर सियो साहेबको ‘तुरुन्तै पछाडि हट्ने’ भन्ने हुकुम पुर्‍याएको । फलस्वरुप उक्त कम्पनीका धेरै योद्धा जोगिए । तर नरसिङ र अन्य योद्धाहरु जर्मनको बम्बार्डमेन्टमा परेका थिए ।

मैले यी कुरा सोच्दै गर्दा उसले अगाडि बतायो,  ‘हो त, म युद्धबन्दीबाट छुटेर आएको । वान्स्डोर्फ भन्ने स्थानमा बन्दी बनाएर राखिएको थियो । उक्त क्याम्पमा हामी सबै इन्डियन सैनिकहरु थियौँ । रेडक्रसले बेलायत र जर्मनबीच बार्ता चलायो । अनि यताका र उताका केही हजार बन्दीलाई रिहा गरियो । ती रिहा हुनेहरुमध्ये एक भाग्यमानी म पनि परेँ । अँ, तिमीलाई थाहै छ, न्युसेफलको लडाइँबाट म हराएको थिएँ ।’

‘हे भगवान ! तिमी त उक्त आक्रमणमा …’ मैले उही वाक्य दोहोर्‍याइ रहेँ । तिम्रो सदगद गरिसकेका थियौँ भनेर कसरी भन्नु ? अझ परिवारमा उसको मृत खबरको समाचार… राम ! राम राम ! मेरो आङ बेस्सरी फुलियो ।  त्यतिबेला मैले नै बताएको थिए कि त्यो मरेको लाश नरसिङ कै हो भनेर । अनि अन्य लाशसँगै गाडेका थियौँ नरसिङलाई पनि । मबाट कसरी यति ठूलो भूल हुन गयो ?!

जीवित नरिसिङको अगाडि म मूर्ति भइगएँ ।

उसले हपार्‍यो मलाई, ‘के म मरेँ भनी ठानेका थियौ क्या हो ? युद्धबन्दीको सूची पल्टनले पछि पाएन र ? बेलाबेलामा रेडक्रस हाम्रो वेल्फेयर निरिक्षण गर्न आइराख्थ्यो त । हामीलाई जर्मनले मानवीय व्यवहार गरे नगरेको जानकारी लिन्थ्यो । त्यतिबेला मैले मेरो नाम, नम्बर, रेन्क र पल्टन दिएको थिएँ त ।’

नेमलिस्ट आएको थियो होला पल्टनमा । तर मलाई थाहा हुन सकेन । किन कि म पनि उक्त न्युसेफलको लडाइँमा सख्त घाइते भएको थिएँ । अनि मलाई उपचारार्थ ब्राइटन पठाइयो । म पनि धेरै महिना अस्पताल बसेर अक्टोबरको अन्त्यमा बल्ल पल्टन फर्केको थिएँ ।

लामो अन्तरालको भेटमा साथी खुशीले प्रफुल्लित थियो । बन्दी हुँदाको दुःख सुनाइरहेथ्यो, ‘दिनभर कृषि फार्ममा लगेर काममा लदाउँथे, ओछ्यान केही थिएन । साथीको जिउमा टाँसिएर न्यानो लिन्थ्यौँ । खाना दिनको दुई छाक । गोरुको हड्डीको सुप र आलुको ढिन्डो दिन्थ्यो । सबैभन्दा ठूलो पीर आफ्नो पल्टन कहाँ होला भनेर लाग्थ्यो ? पल्टनका साथीहरुसँग पुनर्मिलन होलाकी नहोला र कहिले घर फर्किन पाइएला भन्ने पीरले औधी सताउँथ्यो । उनीहरुको भाषै नबुझिने । हातको इशारामा र अनुहारको हाउभाउमा काम गर्नु पर्ने …..’

नरसिङ निरन्तर बोलिरहेको थियो, तर म उसको वाक्य सुनिरहेको थिइनँ । मृत्यु भनी स्वीकारी सकेको घटनापछिको भेटले अचम्मित थिएँ या के भएँ, रनभुल्लमा परेँ ।

‘…. रोगव्याधी लागेर भारतीय साथीहरु र हाम्रा गोर्खाली दाजुभाइ त्यहीँ बितेर गए । कतिको हिउँले खुट्टाको औँला खाएको थियो । त्यहीँ घाउले लग्यो बिचराहरुलाई । कति निमोनियाको सिकार बने ।’

मेरो दिमाग रन्थनिइरहेकै थियो, तर पनि सम्हालिएर बोलेँ, ‘धन्न यार ! तिमीलाई चाँहि केही भएनछ ।’

उसले निस्फिक्री भन्यो, ‘मलाई खोकी बेस्सरी लाग्थ्यो । चुरोट पिएको पियै गरिदिन्थे, जे त होस् भनेर । धन्न, पछि खोकीले स्वतः छोड्यो । तर चुरोट छोड्न कहिल्यै सकिनँ ।’

ऊ घरि निराश हुँदै त घरि रोमाञ्चित हुँदै हात हल्लाइ–हल्लाइ गफ गरिरहेथ्यो । तर मलाई भने आत्माग्लानीले करप्पै गाँजेको थियो । मेरो महाभूलले गर्दा उसको परिवारमा पर्न गएको आघातको क्षतिपर्ति म कसरी तिर्न सक्थेँ र ।

ऊ भने कति मिठो हाँसोका साथ भन्दै थियो, ‘तिम्रो पाउन्दार चुरोट मलाई दिन नबिर्स है, मित्र ।’

म चुरोट रक्सी पिउने थिइन । पल्टनले दिने यी सबै पाउँदार म साथीहरुलाई बाँडिदिन्थे ।

भीडले हामीलाई छोडिसकेको थियो । पच्छ्याउँदै अघि बढ्यौँ । नरसिङ जीवित रहेको तार गाउँमा भेजिहाल्नुपर्छ भन्ने सोचेर मन केही शान्त बनाएँ ।

दुई दिन लगाएर बुझाउनु पर्ने सबै सामाग्री ब्रिगेड क्वाटरमास्टरलाई बुझायौँ । लग्ने सामाग्रीहरु सबै प्याक गर्‍यौँ । अब इन्डिया फिर्ता पठाइने भयो भनेर सबै प्रफुल्ल देखिन्थे ।

सम्राट जर्ज पाँचौँको उक्त परेडपश्चात हामीहरु प्रिय फर्कियौँ, जहाँ थियो हाम्रो बेसक्याम्प । त्यसको केही दिनपछि हाम्रो गोर्खा ब्रिगेड युद्धबाट फर्किने र त्यसको लागि तयारी गर्ने भन्ने हुकुम आयो । दुई दिन लगाएर बुझाउनु पर्ने सबै सामाग्री ब्रिगेड क्वाटरमास्टरलाई बुझायौँ । लग्ने सामाग्रीहरु सबै प्याक गर्‍यौँ । अब इन्डिया फिर्ता पठाइने भयो भनेर सबै प्रफुल्ल देखिन्थे ।

तर केही दिन पछि, इन्डिया फिर्ता त होइन मेसोपोटामियातिर अटोमन अंपायरसँग लड्न लगिने भयो । दशैँमा दिने वलीको बोकोलाई तिहारमा सारेजस्तै हामी फेरि मृत्यु स्वीकारेर बस्यौँ ।

साँच्चै नै यिप्रबाट हामीलाई मार्शे पुर्‍याउने रेलस्टेशनसम्म मार्च गरेर गइयो । बाटोमा गोर्खालीको ठूलो कब्रिस्तान देखियो । जहाँ हजारौँ गोर्खा सैनिकलाई दफन गरिएको थियो । हामीलाई देखेर ती गोर्खाली चिहानहरूले केही जरुरी कुरा भनिरहे झैँ लाग्यो– टुहुरा बालबच्चा हेरिदेऊ पो भन्दै थिए कि, या शोकमा डुबेका बाआमालाई सम्हालिदेऊ भन्दै थिए या त पल्टनबाट भागेर आफ्नो अमूल्य जीवनको सुरक्षा गर भन्दै थिए कुन्नि ? प्रतिउत्तरमा मेरा जोरधारा आँशु बगे । सबैले सोल्युट गर्दै श्रदाञ्जली अर्पण गर्‍यौँ ।

युद्ध एक यस्तो नशा रहेछ कि, मृत्युअघिसम्म आक्रोश उम्लिरहन्छ । हामी निरन्तर अगाडि बढिरह्यौँ ।

‘ए, मेरा दाजुभाइहरु ! युद्धमा सरिक हुनु तिम्रो रहर थियो कि बाध्यता ? यो प्रश्न हो तिमीलाई, जवाफ दिन सक्छौ ? मलाई थाहा छ, तिमी बोल्न सक्दैनौ र बोल्दैन तिम्रा चिहान पनि । ए सयौँ पल्टने युवा मन रहरको कन्तुर फुकाउनै नपाई आयौ युद्ध भूमिमा किन ? नयाँ संसार हेर्ने रहर थियो वा, एक हल गोरु र दूध दिने गाई गोठमा बाँध्ने रहर थियो वा, बाउआमाले तिमीलाई हुर्काउन लागेको साहुको ऋण तिर्न आवश्यकता थियो वा, शासकको कहर थियो ?’

तर प्रश्नहरू त पहिरोजस्तै भएर मैमाथि पो खनिए । हो, ज्युँदै छु । म बोल्न सक्छु र पनि गोर्खालीले कसका लागि लडेका हुन्, उत्तर दिन असमर्थ छु ।

म पनि युद्धमा मारिएँ भने यी चिहानहरू झैँ यसै गरी मूल्यहीन मृत्यु स्वीकार्नु पर्नेछ ।

भन्छु, युद्धमा कुनै पक्षको विजय हुँदैन । दुवैको हार हुन्छ । जे होस् हामीले कमाएको बहादुरी खै हाम्रा सन्तानले कसरी बुझ्नेछन् कुन्नि ?

नरसिङले मतिर हेर्दै भन्यो, ‘मित्र ! तिमी र म पनि त्यही माटोमा दफन भएको भए आज तिम्रो र मेरो हंस मात्रै घरतिर फर्केर जान्थ्यो होला है ?’

मेरो आङ जिरिङ्ग भयो । हामी चढेको रेलगाडी मार्शेतिर हुइँकियो ।

युद्धबन्दीबाट भरखर रिहा भएको  सिपाही नरसिङ र युद्धमा घायल सिपाही म लाग्दै थियौँ, फेरि अर्को भीषण युद्धतिर ।  छेवैमा नरसिङले सवाइ गुनगुनाइरहेको थियो–

रिडी नै खोला बाढी नै आयो बगायो कुन भुलले

जर्मनी देशमा आइपुग्यौं हामी अङ्ग्रेजको हुकुमले

ए, सुन ! सुन ! सुनलाउने चरी अङ्ग्रेजको हुकुमले

नेपालै ज्यानको तीनधारे पानी मुलपानी तुरुरु

न उडी जानु नबसी आउनु मन रुन्छ धुरुरु

ए, सुन ! सुन ! सुनलाउने दिदी मन रुन्छ धुरुरु

पानीको भुल भुल यो मनको चुलबुल बुझाउँछौ क्याचिजले

दुई पैसा पाकिट डबलमार सिगरेट सल्काउँला माचिसले

ए, सुन ! सुन ! सुनलाउने कान्छी बुझाउछौ क्या चिजले