१. आमुख – संसारका मानिसहरूमा भ्रमणशीलता एउटा नैसर्गिक प्रवृत्ति हो। नयाँ ठाउँतिर जानु, घुम्नु, प्राकृतिक, भोगोलिक र भौतिक उपलब्धिहरूबारे जिज्ञासा र कुतूहलताले डोहोरिएर उ टाडा टाडासम्म जाने गर्छ। भ्रमण चाहे टाडा होस् वा नजिकै यसको रोचकता, अनुभवपरकता आदि कारणले गर्दा यसको विशेष महत्त्व हुन्छ। भ्रमण गर्ने जति सबैले लेख्ने गर्दैनन् तथा ले

२. सलोन कार्थकको कृतित्व

उनको जन्म दार्जीलिङको रिम्बिकमा सन् १९४६. मा भएको हो। यद्यपि उनको मूल थलो कालिम्पोङको बमबस्ती हो। उनको बाल्यकाल र शिक्षा-दीक्षा भने कालिम्पोङमै भएको हो। अध्ययनक्रममा उनले नेपाली विषयमा स्नातकोत्तर समाप्त गरेका छन्। उनी विद्यार्थी कालमा नै विभिन्न साहित्यिक गतिविधिमा सक्रिय थिए। सन् साठीको दशकको पछिल्ला वर्ष तथा सत्तरको दशकतिर कालिम्पोङको बमबस्तीमा केही जागरूक युवाहरू मिली झऱना क्लब खोलेका थिए। उक्त झरना क्लबले बेलाबेलामा विभिन्न ठाँउमा गई विभिन्न अनुष्ठान र नाटक प्रतियोगिता, विद्यालय आदितिर नाटक मञ्चन गर्थ्यो। गाउँका आफ्ना अग्रज र दँहले केही जागरूक युवाहरू लक्ष्मीप्रसाद शर्मा हुमागाईँ, छत्र घिसिङ, दान कार्थक, जेम्स कार्थक, डेनिस कार्थक, रोलेन्ड कार्थक, पासाङ दोर्जे तामाङ, दावा घिसिङ, रोलेन्ड टासो, आर्नोल्ड सिमीक आदि मिली कविता गोष्ठी, नाटक प्रदर्शन आदि गर्थे। सन् १९६८-६९ सालतिर छ-सात जनाको जागरूक युवा टोली मिलेर झरना पत्रिका दुई-तीन अङ्कसम्म सञ्चालन गरेका थिए। यसमा श्री कार्थक सम्पादक मण्डलीका सदस्य थिए। गाउँमा आयोजना हुने कृषि-मेलामा नाटकहरू प्रदर्शन गर्ने गर्थे। उनीहरूले  यस्ता विभिन्न अवसरमा गाउँ-घर र विद्यालयमा लगभग दसवटा जति नाटक मञ्चन गरेका थिए। त्यसमध्ये ‘धरतीको ऋण’ भन्ने नाटक भने निकै लोकप्रिय भएको थियो। उनीहरूको टोलीलाई गाउँकै गंगाराम पौडेलले पुस्तक- पत्रिका प्रकाशन लगायत अन्य सबै साहित्यिक कार्य सञ्चालन गर्न आर्थिक मद्दत गर्थे ।

सलोन कार्थक

पेसाले उनी चर्च सेवामा संलग्न छन् भने  उनी एक सफल साहित्यकार हुन्। अतः साहित्यकारका रूपमा उनका विशेषगरी एक प्रखर नियात्राकार हुन् भने एक कथाकार पनि हुन्। उनी साहित्यका एक मौन साधक हुन्। उनका प्रकाशित साहित्यिक पुस्तकमा विदेशतिर रिङ्दै जाँदा ( सन् १९९१, नियात्रा), हस्तान्तरण (कथासङ्ग्रह), पादरी गंगाप्रसाद प्रधानको जीवन बखान (जीवनीपरक र साहित्येतिहासमूलक), पदयात्रा गाउँको फन्को विदेशको(नियात्रा), विदेश-एउटा पल्ले गाउँ (प्रकाशोन्मुख)।१४ माथिका सूचीबाट हेर्दा मात्र पनि उनको साहित्यिक ब्यक्तित्वलाई तीन भागमा बाँडेर हेर्न सकिन्छ- नियात्राकार, कथाकार र एक जीवनीकार मुख्यगरी हुन् भने साहित्येतिहासकार, कवि र निबन्धकार पनि हुन्। इसाई साहित्यमा उनको ठुलो स्थान छ तर यहाँ यो पक्ष चर्चा गर्नु मनासीब  छैन।

३. साहित्यकारका रूपमा सलोन कार्थक– सलोन कार्थक एक साहित्य सर्जक हुन। सर्जकका रूपमा उनी नियात्राकार, कथाकार, कवि हुन। उनी मूल रूपमा नियात्राकार हुन् भने कथाकार पनि हुन्। उनले कविता पनि थोरै मात्रामा लेखेका छन्। उनको कवितासंग्रह नभए तापनि बेला बेलामा विभिन्न पत्र-पत्रिकामा कविता प्रकाशित भएका छन्।

३.१ कथाकारको रूपमा- सलोन कार्थक एकजना कथाकार पनि हुन् यद्यपि कथाकारका रूपमा उनको उचित मूल्याङ्कन हुनसकेको देखिन्न। उनका कथाहरू पनि आफ्नै वैशिष्ट्यका छन्। उनको एउटा कथासंग्रह हस्तान्तरण प्रकाशित भएको देखिन्छ। यस सङ्ग्रहमा जम्मा सत्रवटा कथाहरू सङग्रहीत छन्। उनले आफ्नै वरिवरिका साना ठुला घटना, गाँउघरका सामान्य घटनाहरू जोडेर कथा बुनेका हुन्छन्। उनका पात्रहरू विभिन्न मनोदशामा लपेटिएका छन्। उनका कथामा कथावस्तुगत संयोजनमा सचेतता देखिन्छ। संग्रहको पहिलो कथा हस्तान्तरणमा मनुष्य र प्रकृतिको तादात्म्य र अन्योन्याश्रित सम्बन्ध केलाइएको छ। क्याटिस बोकेर निर्दोष चरा मार्ने प्रवृत्ति मान्छेले पालेको छ। संग्रहमा रहेका कथाहरू सामाजिक यथार्थवादमा अड़ेका छन् भने कतै स्वच्छन्दतावादी प्रवृत्ति पनि पाइन्छन्। समाजभित्रका दृश्य-अदृश्य घटना, सन्दर्भ, ख्याल नगरिएका पक्ष र प्रसङ्ग आदिलाई कथाको विषययस्तु बनाएका छन्। उनका कथामा प्रेमका विभिन्न रूप देखिन्छन्। मानिसका अत्यन्त मार्मिक र दयनीय अवस्थादेखि मानवता, जातीय चेतना, स्थानीय चेतना, कतै नियात्राकै कथात्मक रूप जस्ता वस्तुलाई उनले कथामा विषयवस्तु बनाएका छन्। यद्यपि उनको कथाकारिताबारे छुट्टै रूपमा अध्ययन गर्नुपर्ने देखिन्छ।

नवीन पौड्याल (सिक्किम)

३.२. नियात्राकारका रूपमा– सलोन कार्थकको मूल साहित्यिक व्यक्तित्व नै नियात्राकार हो। नियात्रा साहित्यमा हुनपर्ने भ्रमण संस्मरण, निजात्मकता, कथात्मकता, रमरम आनन्दबाट मुछिएको, यात्रासँग सम्बद्ध सूचना, यात्राका विषय र घटनाक्रम सँगसँगै लेखकको अनुभव आदिको मनोरम प्रस्तुति आदि सबै उनका नियात्रा साहित्यमा पाइन्छन्। यसबारे विस्तृत चर्चा गरिन्छ।

३.३. जीवनीपरक समालोचकका रूपमा– सलोन कार्थकलाई एक कुशल जीवनीपरक समालोचकका रूपमा पनि चिनिन्छ। उनले सम्पादन र समालोचना गरेको पुस्तक गंगाप्रसाद प्रधानको जीवन बखान नेपाली भाषा र साहित्यका अन्वेषक र जिज्ञासुहरूका निम्ति अत्यन्त उपयोगी छ। उनले पादरीको जीवनी, कृतित्व र व्यक्तित्व विषयमा पुस्तक प्रकाशन गरेर पादरीसम्बन्धी अध्ययनको ढोका खोलेका हुन्। ‘भारतमा नेपाली भाषा एवम् भाषाशिक्षणको विकास कार्यका आदि पुरोधा पादरी गङ्गाप्रसाद प्रधानको व्यक्तित्व र कृतित्वबारे खोजी र अध्ययन गरी उनका योगदानको पुनर्मूल्य़ाङ्कनका लागि आधारभूत सामग्रीहरू उपलब्ध गराउने दिशातर्फ पनि सलोन कार्थकको योगदान महत्त्वपूर्ण छ।’

यसमा श्री कार्थकले पादरीको जीवनी, व्यक्तित्व, कृतित्व, तत्कालीन दार्जीलिङे समाज, पादरीका कृतिहरूको संकलन, सम्पादन र समीक्षण गरिएको छ। यस पुस्तककै आधारमा भन्नुपर्दा सलोन कार्थक एक जीवनीपरक, इतिहासपरक र कृतिपरक समालोचकका साथै एक अनुसन्धाताका रूपमा पनि देखा पर्छन्।

३.४.सम्पादकका रूपमा– सलोन कार्थकलाई सम्पादकका रूपमा पनि देखिन्छ। उनले पादरी गंगाप्रसाद प्रधानका कृतिहरूलाई सम्पादन गरेको कुरो उल्लेख भइसकेको छ। यसैगरी उनले सम्पादन गरेको समुद्रवारि-समुद्रपारि (१९८६) नामक नियात्रा संकलन पनि आफ्नै किसिमको पहिलो र एक महत्वपूर्ण नेपाली पुस्तक हो। यसमा पाँचजना लेखकहरूले स्वदेश-विदेश भ्रमणका विवरण प्रस्तुत गरेका छन्। यद्यपि यसमा सम्पादकमा नै नियात्राबारे सचेतता देखिन्छ।

४. भारतमा नेपाली नियात्रा साहित्य र सलोन कार्थक- भारतीय नेपाली नियात्रा साहित्यको  परिप्रेक्ष्यमा भाक्सूका शेरसिंह रानामगरको सन् १९१३ मा प्रकाशित ‘मेरो लंदन राजतिलक यात्रा’ पहिलो प्रकाशित पुस्तक हो। उनी १\४ गोर्खा राइफल्समा हुँदा सन् १९११ मा पञ्चम जर्जको राजतिलक समारोहमा ब्रिटिस सरकारको निम्तोमा लन्डन पुगेका थिए। त्यहाँको हरेक दृश्य-परिदृश्यको विवरण डायरीमा टिपेर पुस्तकाकार रूप दिएका हुन्। उनले उक्त पुस्तकमा लन्डनको प्रकृति र जलवायु, अँग्रेजहरूको रहन-सहन, आर्थिक उन्नति र अन्य गतिविधिको विवरण प्रस्तुत गरेका छन्। यसपछि  पादरी गंगाप्रसाद प्रधानको सम्पादनमा निस्कने मासिक गोर्ख खबर कागतको सन् १९३० सालको जनवरी,फरवरी र मार्च महिनाका तीन अङ्कमा ARP  को नाममा एउटा यात्रापरक लेख स्कटलेण्डको बखान धारावाहिक रूपमा प्रकाशित भएको देखिन्छ। पादरी गंगाप्रसाद प्रधानबारे शोध-अध्ययन गर्ने सलोन कार्थकका अनुसार उक्त ARP ले सम्पादक  प्रधानलाई आफ्नो स्कटलेण्ड यात्रा गोर्खे खबर कागतमा प्रकाशित गरिदिनु होला भनी निवेदन-पत्र लेखेको छ। यसमा सन् १९२९ सालमा दार्जीलिङदेखि कलकत्ता, त्यहाँबाट बम्बई अनि जोर्डन देश हुँदै, स्वेस केनल पार गर्दै  स्कटल्याण्ड पुगेको र त्यहाँ पनि विभिन्न दृश्य-दृश्यावलीको वर्णन गरिएको छ। ती ARP अरू कोही नभएर पादरी गंगाप्रसाद प्रधानकै सुपुत्री एग्नेस राजमति प्रधान हुनसक्छ। यद्यपि उक्त प्रेषण-पत्रमा सम्पादकलाई परिवारको सदस्य नभइ तटस्थ रूपमा लेखिएको पाइन्छ। यस हिसाबले नेपाली साहित्यमा नै प्रथम नारी यात्रासाहित्यकार राजमति प्रधान हुन्।१६  फूटकर रूपमा यात्रा विवरण  त अनगन्ती छन् तर पुस्तकाकार रूपमा भने  थोरै छन्। दिलबहादुर नेवारका य़ात्रा-संकलनमहाराष्ट्र (१९७७), लैनसिँह बाङदेलका यूरोपको चिट्ठीस्पेनको सम्झना, प्यारिसको एउटा फुल र रोमको एउटा काँडा, डा शान्ति छेत्रीको मेरो यूरोप यात्रा, र अरब सागरको सूर्यास्त, के पी मल्लको गाउँ-घर देश परदेश, कुमार घिसिङको दुनघाटी नालापानी (१९८२),विक्रमवीर थापाको हत्या रातो डायरीको (१९९४), सलोन कार्थकका समुद्रवारि- समुद्रपारि (सम्पादित), विदेशतिर रिङ्दै जाँदा, पदयात्रा गाँउको फन्को विदेशको, सानु लामाको आँगन परतिर (सन् २००२), जयनारायण लुँइटेलको दुबइ हुँदै अमेरिकासम्म (सन् २००१),चूडामणि उपाध्याय भट्टराईको केलिफोर्नियाको झ्यालबाट (२००२), गीता उपाध्यायको मन्दाकिनी र अलकानन्दको तीरै-तीर (२००३), प्रजापति शास्त्रीको तीर्थदर्शन (२००४), कविता सुब्बाको शैक्षिक भ्रमण र संस्मरण (सन् २००६),  जगन्नाथ उपाध्याय र श्रीमती लावन्य देवीको संयुक्तमा ब्रिटेनमा केही दिन(२०१०), चन्द्रकुमार राईको यात्रा-संस्मरण (सन् २०१०), चूडामणि दाहालको बेलायतमा केही दिन (२०१५) आदि पुस्तक हामीसित छन्।

सलोन कार्थकको खास व्यक्तित्व नै नियात्राकार हो। उनलाई नेपाली साहित्यका एक सफल र उच्च कोटिका नियात्राकार मान्न सकिन्छ। ऩियात्रा साहित्यमा हुनुपर्ने भ्रमण संस्मरणभित्र वैयक्तिक अनुभूति, पाठकसित भावनात्मक सम्बन्ध, आनन्दानुभूति, सत्यतासँग अनुभूतिको प्रकटीकरण, कथात्मक ढाँचाको अभिमुखीकरण, कता-कता संवादको प्रयोग, कता-कता परिहास,एकालाप, आदि जस्ता गुणहरू उल्लेखनीय छन्। सर्वप्रथम उनीद्वारा सम्पादित समुद्रवारि-समुद्रपारि नामक नियात्रा संकलन प्रस्तुत छ। यस संग्रहमा आफ्नालगायत अन्य पाँचजना लेखकहरूका स्वदेश र विदेश भ्रमणका नौवटा रोचक एवं संस्मरणात्मक विवरण संग्रहीत छन्।

विदेशतिर रिङ्दै जाँदामा उनले विदेशका विभिन्न शहर ग­­­­­­­­­­­­ई त्यहाँ अनुभव गरेका यात्रा विवरण प्रस्तुत गरेका छन्। यसमा नौवटा नियात्रा लेखहरू संकलित छन्। यसमा चारवटा लेखहरू अमेरिका, तीनवटा दक्षिण कोरिया एउटा सिङ्गापुर र एउटा लेख बङ्लादेश भ्रमणसित सम्बन्धित छन्। अमेरिकाका अनेक पक्षमा लेखकको ध्यान गएको देखिन्छ। त्यहाँका लस एञ्जेलस, लैन्कास्टर, न्यूयोर्क,क्यालिफोर्निया, हलिउड आदि शहरका अनेक पक्षहरूको वर्णन–विवरण पाइन्छ। यसैगरी सिङ्गापुर, सिओल र ढाका शहरको वर्णन पाइन्छ। अमेरिकाका राम्रा र सकारात्मक पक्षमा होइन नराम्रा र नकारात्मक पक्षहरू पनि केलाएका छन्। अमेरिकाको उच्चस्तरीय शहरी व्यवस्थापन, विज्ञान प्रौद्योगिकीको चमत्कारिक परिदृश्य, त्यहाँका मानिसहरूको प्रकृति प्रेम, सौन्दर्यप्रेम, घर-घरको सौन्दर्य, अतिथि सत्कार, मानिसहरूको सौजन्य, पशु प्रेम, समयको सदुपयोगलगायत  गुडाएर आफ्नो इच्छामुताविक टाडा-टाडासम्म लान सकिने कुरा जस्ता अनेक रमाइला कुरा पाइन्छ। त्यहाँको गरिबी, घरबारविहीन मानिसहरूको अवस्था, खुल्ला यौन बजार, यौनविकृति जस्ता कुरा पनि उल्लेख गरिएको छ। सोल शहरमा युवतीले शरीर मालिस गरेको रोमाञ्चक वर्णन पाइन्छ भने चिप्ले कीराको सुप खाँदा आफुलाई लागेको सिकसिको र सिरिङ्ग भएको अवस्थाको उल्लेख पाइन्छ।

पदयात्रा गाउँको फन्को विदेशको पुस्तकमा नियात्राका अझ मिठा अनुभव बाँडेका छन्। अघिल्लो संग्रहको तुलनामा यस संग्रहमा नियात्रापरक चेतना अझ विकसित भएको देखिन्छ। यसमा स्वदेश र विदेश भ्रमणका जम्मा उन्नाइसवटा संस्मरण संग्रहित छन्। यस पुस्तकको पहिलो अध्याय स्वच्छ मौसमको मोज पदयात्राको भोग र खोज मा लेखकले आफ्नो नेतृत्वमा आफ्ना ससाना छोरा-छोरी र अन्य गाउँका आफन्त केटाकेटी लिएर कालिम्पोङका सुदुर क्षेत्रतिर पर्ने लाप्चे गाउँहरूको पैदल यात्राको सुरम्य वर्णन छ।  यसमा घमाइलो परिवेशमा कालिम्पोङको बमबस्तीबाट लगभग दस-बाह्र वर्षका केटा-केटीसँग रेलीको उकाली र ओरालीमा साइँसाइँ र सुइँसुइँ गर्दै, गीत गाउँदै, पहिलेका रमाइला संस्मरण सुनाउँदै हिडेको मनमोहक  र लोभलाग्दो वर्णन छ। त्यसमा पौधाको महत्त्व, बोट-बिरूवाको कटनीलाई हत्याको संज्ञा दिएर ससाना बालक-बालिकालाई पर्यावरण चेतना दिएका छऩ्। समालबोङ, सिञ्जी, तयाङ, चारखोले, पेम्लिङ, गिदाङ, सर्योक्सा, रियोन हस्ती, कफेर, लोले गाउँको भ्रमण र सबुङ, दलपचन बीगा, निमबङ, डब्लीङ, पचोक, रम्बी, पाक्रेबम जस्ता लेप्चा गाँउको उल्लेख पाइन्छ। यसमा लेप्चा जातिका मौलिक परम्परा, लोकसंस्कृति, भाषा इत्यादि विलुप्त हुनलागेको अवस्थाबारे चिन्ता ब्यक्त गरिएको छ। ती लेप्चा गाउँमा शिक्षा र अन्य सरकारी सहुलियतको कमीबारे पनि चिन्ता व्यक्त गरिएको छ।

यस नियात्रा संकलनमा रहेका लेखहरू अमेरिका, जापान, थाइल्याण्ड, बेलायत आदि देशहरूको भौगोलिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक पक्षहरूको चर्चा गरिएको छ। यसबाहेक यस संग्रहमा रहेका नियात्रापरक लेखहरूलाई तीनवटा प्रस्तुतिगत वर्गीकरण गर्नसक्छौँ– विभिन्न देशका स्थानहरूको स्थलगत जानकारी, जातीय सम्वेदना र अन्वेषण र वैयक्तिक अनुभूति। उनका नियात्राहरूमा म्यान्मालगायत भ्रमण गरेका कतिपय देशमा बसेका गोर्खाली मानिसहरूको अनेषण गरी त्यहाँको उनीहरूलाई विभिन्न दृष्टिकोणबाट अध्ययन र लेखकका वैयक्तिक अनुभूति र संवेदनालाई अभिव्यक्ति दिइएको छ।

जातीय संवेदन पक्षका आधारमा सलोन कार्थक अघि छन्। म्यानमार जाँदा उनी नेपाली गाउँ-घर घुमी-घुमी त्यहाँका नेपालीहरूका सुख-दुःखका भाव बुझ्छन् र उनीहरूको नेपालप्रेम, त्यहाँ दोस्रो स्तरीय नागरिक भएर बस्नुपरेको पीडालाई च्याप्पै समातेका छन्। उनी जहाँ गए पनि प्रायः नेपाली कै घरमा बसेर त्यहाँको मनोभावको अध्ययन गरेको छन्। सिङ्गापुरमा नेपाली बस्तीको खोजी गरेर त्यहाँका नेपाली-भाषी मानिसहरूको जनजीवनबारे चासो लिन्छन्। उनीहरूको इमानदारितामा गर्व गर्छन्।

प्रस्तुत पुस्तकमा म्यान्मा (पहिलेको बर्मा) देश भ्रमणका तीनवटा संस्मरण छन्। यी तीनै डायस्पोरिक नेपाली साहित्यका हिसाबले महत्त्वपूर्ण छन्। ती तीनै लेखमा म्यान्मामा गोर्खाली जनजीवनको सर्वेक्षण गरिएको छ। त्यहाँ एकजना हेनरी पौसा भन्ने बर्मेली कचिन युवक छन् जो एउटा गोर्खालीको घरमा हुर्केको हुनाले नेपाली गीत लेख्छन्। उनका गीतमा बर्मामा गोर्खालीहरूको अवस्थालाई यथार्थ रूपमा झल्काएका छन्। जस्तै-

मेचिनामा गाई भैंसी पाल्नु नै दुःख भयो

तोरी बारी आलु बारी गर्नु नै दुःख भयो

ताँत लागी गोर्खाली विदेशमा कमाउन गयो।

नेपालदेखि पितापुर्खा बर्मासम्म आयो

बर्मादेखि नातानाति बैंकक जान थाल्यो।

बिहे गर्न घर बसाउन आफ्नो मनपरि छ

आमा बा, दाजु, भाइको सल्लाह अमान्य छ।

कतिको घर बिग्रेर गयो, कत्तिको पत्तो छैन

कसैले न खोजी गर्छ कसैलाई थाहा पनि छैन

चेलीबेटी गइसक्यो, विदेशमा, विचारै नगरी…१७.

१७. सलोन कार्थक,पदयात्रा गाउँको फन्को विदेशको, कालिम्पोङ,सरिकार प्रकाशन, २०००, पृष्ठ ६८।

त्यहाँको एउटा नेपाली गाँउमा धनमाया लिम्बुनी नेपाली लोकगीत गाउँछे जसमा म्यान्मामा बिताउनु पर्दाका आफ्नै पीडा व्यक्त भएको पाइन्छ। त्यसै गरी थानबहादुर थापा, कान्छी गुरूङनीहरू त्यहाँको स्थानीय मार्मिक नेपाली लोक गीत गाँउछन्। त्यहाका शंकर राई, नरबहादुर गुरूङ,गोपाल बहादुर राई, कान्छी गुरूङ, गोविन्द खालिङ राई, रामबहादुर थापा, गुरजित सिंह (गोर्खाली गाउँमा बस्ने र नेपाली भाषा जान्ने सिख) कुमार लिम्बुहरूले लेखकलाई म्यान्माली गोर्खालीको सुख-दुःखको अवस्थाबारे जानकारी दिन्छन् जुन पढेर हामीलाई पनि सहानुभूति पलाउँछ। त्यहाँका गोऱ्खालीहरूको जीवन-चर्याबारे केही रोचक तथ्य पढ्दा हामी यताका पाठकलाई आश्चर्य पनि लाग्छ। त्यहाँका गोर्खालीलाई अब नेपाल अलग्गै बाबुको कहानी मात्र देश लाग्छ, त्यहाँ तिनीहरू दोस्रो दर्जाको नागरिक भएर बस्नपर्दाको पीडा थाहा पाइन्छ। त्यहाँका युवा पीँढी अब म्यान्मादेखि अझै पर बैंककतिर गई देह ब्यापारतिर लागेका छन। बर्मेली गोर्खाली मान्छेहरू आरा काट्दैनन्। डोको, नाम्लो, थुन्से, नाङ्लो कचिन जातिले बुनेको चलाउँछन्। कछुवाको शिकार गरी बजारमा बेच्छन्।

उनी क्यानाड़ामा दार्जीलिङकी करूणा राईलाई करूणा जैनका रूपमा देख्छन्। कालिम्पोङका छिरिङ, टासी र  गान्तोकका तोप्गेलाई क्यानाड़ा र अमेरिकामा पाउँछन्।  अमेरिकाका सियाटलको एउटा ठाउँमा कालिम्पोङका एक टासी भूटियाले एउटा टिबेटन होटल खोलेका ठन्। उनले नेपाली भाषा भुलेका छैनन्। कालिम्पोङबाट आएको भन्दा लेखक खुशीले गदगद् हुन्छन्। टासीले अमेरिकामा भौतिक सुख-सुबिधा पाए तापनि आफ्ना आफन्त, साथी-संगीहरू, संस्कार र संस्कृति पाउँदैनन् र साह्रै खल्लो र निराश लागेको बताउँछन्। लेखकले  नर्वेमा स्वर्ग झैं सुन्दर पाउँछन्। त्यस देशको क्षेत्रफल र जनसंख्याको हिसाब देखाउँदै त्यहाँ शान्ति, कलाप्रेम, संस्कृतिप्रेम आदिबारे बुझ्छन्। तुलनात्मक रूपमा युरोपेलीलगायत पश्चिमेली देशका मानिसहरू हाम्रो जस्तो विकासोन्मुख देशका मानिसहरूभन्दा भयावह, तनावग्रस्त, प्रेमरहित रहेको थाहा पाउँछन्। त्यताको विध्वस्त पारिवारिक जीवन र सभ्य भएर पनि असभ्य संस्कारको हावी भएको देख्छन्।  नर्वे भ्रमणको विवरण तीनवटा छन्। त्यहाँको विकृत र विखण्डित पारिवारिक जीवनको यथार्थलाई लेखकले नजिकैबाट नियालेका छन्।

लेखकले घुमेका ठाउँहरूको भौतिक वस्तुहरूको मात्र वर्णन् नगरेर साहित्यिक यात्रा पनि गरेका छन्। युरोपियन शहरमा अवस्थित त्यहाँका साहित्यकारका समाधिस्थल, उनीहरूको निजी वस्तु, कृतिको पाण्डुलिपि, पढ़ने, लेख्ने कक्ष भएको घरलाई संग्हालय बनाएर त्यहाँ पर्यटक र अन्य दर्शकहरूको भीड लागेको देख्छन्। लण्डनमा जोन मिल्टन, चार्ल्स डिकेन्स, टमस हार्डी, नाटककार जर्ज बर्नार्ड शको म्युजियम घर जान्छन्।  जोन बन्यानको म्युजियम घर जाँदा जोनका विश्वप्रसिद्ध पुस्तक पिल्ग्रिम्स प्रोसेसलगायत उनका सबै क़तिहरूको मूल पाण्डुलिपि देख्छन्। उक्त पिल्ग्रिम्स प्रोसेस कृति विश्वका लगभग दुईसय वटा भाषामा अनुवाद भएको र नेपाली भाषामा अनुवाद छ कि भनेर संग्रहालय प्रमुखलाई सोद्धा जम्मा चारवटा नेपाली अनुवाद र सन् १९५७ मा श्री र श्रीमती टी मनेनले अनुवाद गरी मणि प्रेस दार्जीलिङबाट मुद्रित जय यात्रा नामक एउटा पु्स्तक पाउँछन्। यो देख्दा लेखकलाई अति गर्व लाग्छ।

एडिनबरा घुम्दा कालिम्पोङका वीरेन्द्रकुमार रोङ्गोङको घरमा बस्छन्। न्यानो आतिथ्य पाउँछन्। एडिनबराको इतिहास र वर्तमान दुवै पक्षको अवलोकन गर्छन्। त्यहाँका राम्रा कुराबाहेक नराम्रा कुरा पनि लेखकले देख्छन्। त्यहाँका सडकहरूमा माग्ने, चोर्ने, लुट्ने, विकृत संस्कार पनि हुर्कदै गएको, प्रायः सबैले कालो लुगा मात्र लाउने चलन बसेको, घरबार नहुने मानिसहरूको संख्या बड़दै गएको, युवाहरू लागु औषधी र कुलतमा फँसेका कुरा देख्छन्। बेलायतभित्र पनि जातीय र प्रान्तीय तानातान, हानाहान, अन्तर्कलह र विरोधको संकेत पाउँछन्। संसारभरि राज गर्ने अँग्रेजहरू आफै भने टुक्रिने अवस्थामा छन्। स्कटल्याण्डले समेत स्वतञ्त्रताको निम्ति आन्दोलन गरेको कुरा उल्लेख छ। त्यस लेखमा रोङ्गोङसित हिँड्दा उनलाई कालिम्पोङ बजार, बमबस्ती र बाल्यकालको स्मरण हुन्छ। रोङगोङले पियानो बजाएर अम्बर गुरूङका गीतहरू गाएर सुनाउँछन्। त्यसैगरी उनले मादल बजाएर सत्तरीको दशकतिरको बमबस्ती, कालिम्पोङमा जन्मिएको एउटा लोकगीत पनि गाएर सुनाउँदा उनलाई नोस्टाल्जियाले समाउँछ।

 ५.सलोन कार्थकको नियात्रा साहित्य लेखनको मूल प्रवृति र मूल्याङ्कन

५.१. आजसम्म प्रकाशित उनका दुईवटा नियात्राका पुस्तकहरूका आधारमा उनी एक प्रखर नियात्राकार हुन्। उनका नियात्रामा स्थलगत जानकारीका अतिरिक्त त्यहाँका विविध पक्षको वर्णन, आफ्ना अनुभूतिलाई पाठकसमक्ष पस्केका छन्।

५.२. सलोन कार्थक एक विशुद्ध साहित्यिक व्यक्ति हुनाले उनका नियात्रामा प्रशस्त मात्रामा साहित्यिकता झल्केको पाउँछौं।

५.३.उनका नियात्रामा आफुले देखे-भोगेका कुराहरूलाई रसात्मक, भावात्मक, चिन्तनशीलता, व्यञ्जना अभिव्यक्ति जस्ता साहित्यिक गुण पाउँछौं।

५.४. उनका नियात्रामा कथात्मकता, सूचनात्मकता, परिहासका एकाध प्रस्तुति, संक्षिप्तता आदि प्रवृत्ति पाइऩ्छ।

५.५. उनका भाषागत पक्ष विशेषगरी लिङ्ग, वचन र तिर्यक कारकको प्रयोगमा केही कमजोरी, कता कता स्थानादिको निस्तो वर्णन देखा परे पनि त्यस्ता कमजोरी अल्प मात्रामा छन्।

५.६. उनको यात्रागत उद्देश्य जुनसुकै भए पनि नियात्रा लेखनमा चाँहि उनी स्वच्छन्द यात्रीका रूपमा देखा पर्छन्। यसर्थ, उनका यात्रानिबन्धमा निजात्मक अनुभूतिको तीब्रता, प्राकृतिक सौन्दर्य वर्णनमा अभिरूचि, जस्ता तत्व पाइनाले उनको नियात्रा लेखनमा स्वच्छन्दतावादी प्रवृति नै मूल रूपमा मान्न सकिन्छ।

५.७. उनी जहाँ गए पनि आफ्नो थलो, भाषा, जाति, संस्कृति, संस्कार र स्वदेशप्रति रहेको मोहलाई ठाउँ-ठाउँमा अभिव्यक्त गरेका छन्। क्यानाड़ामा दार्जीलिङको चियाको कुरा गर्दा गर्व बोध गर्छन्। विदेश भ्रमण गर्दा लेखकले आफ्नो ठाउँ र बाल्यकाल सम्झन्छन्, खाना खाँदा आफुले पहिले खाएको सम्झन्छन्।

५.८. उनको भ्रमणमा विश्वप्रसिद्ध कवि, साहित्यकार, वैज्ञानिक, संगीतकार र कलाकारका घर, संग्रहालय, जन्मथलो र समाधि आदिको निरीक्षण गरेको पाइन्छ।

५.९. उनले विदेश भ्रमणबारे वर्णन गर्दा ती ठाउँका राम्रा राम्रा कुरा मात्र नभई नकारात्मक र दुर्बल पक्षबारे पनि उल्लेख गरेका छन्।

५.१०. नेपाली नियात्रा साहित्यमा सलोन कार्थक पनि एक उच्च दर्जाका नियात्राकार हुन्। उनलाई पनि अन्य नियात्राकारसरह उनको समुचित मूल्याङ्कन हुनुपर्दछ।

६. उपसंहार-

यस नियात्रामा नियात्राकारको वैयक्तिक अनुभूति, ज्ञान र अनुभवलाई पाठकसमक्ष इमानदारितासँग व्यक्त गरेको छन्। यसका प्राय लेखहरू छोटा-छरिता, सम्प्रेषित र रोचक ढङ्गमा अभिव्यक्त गरिएका छन्। किसिम-किसिमका खाना, मान्छेका शिष्टाचार, संस्कार र संस्कृति झल्काएका छन्। यसबाट पाठकलाई धेरै जानकारी, ज्ञान हासिल हुँदछ। एकजना साहित्यिक व्यक्तित्वले भ्रमण गर्नु र असाहित्यिक व्यक्तिले भ्रमण गर्नु आकास पातालको फरक हुन्छ। सलोन कार्थक जस्ता एकजना साहित्यिक चेतना भएका व्यक्तिले भ्रमण गर्नु हाम्रो निम्ति उपलब्धि सावित भएको छ। उनी आफुमात्र यात्रा नगरेर पाठकलाई नै रोचक ढङ्गमा मानसिक भ्रमण गराएका छन्। म्यान्मा भ्रमणको बेला त्यहाँका गोर्खालीहरूको जनजीवन, सुकृति र विकृति, उनीहरूबाट सिर्जित नेपाली डायस्पोरिक साहित्य, कविता र गीतमा जातीय मर्मलाई हाम्रा लेखकले दर्शाएका छन्। उनी जहाँ गए पनि नेपाली समाजलाई खोजेका छन्, उनीहरूको सुख-दुःखबारे खोजी-निधी गरी हामीलाई कृतिभित्र बताएका छऩ्।उनले हामीलाई कृतिभित्र अमेरिका, सिङ्गापूर, बेलायत, म्यान्मा, जापान आदि देशमा विचरण गराई त्यहाँका विविध जानकारी दिएका छऩ्। इमानदारिता, सरलता, सूचनात्मकता, रसात्मकता, कता कता परिहासमय अभिव्यक्ति आदि जस्ता वैशिष्ट्य र प्रवृत्ति उनका नियात्रा लेखनगत अभिप्राप्ति हुन्। जे होस्, नेपाली नियात्रा साहित्यमा सलोन कार्थक एक सार्थक नाम हो। उनले विदेश भ्रमणका विविध अनुभव, अनुभूति र ज्ञानलाई नेपाली पाठकसामु पस्किदिएका छन्।

सन्दर्भ ग्रन्थ सूचीः

  • सलोन कार्थक, पदयात्रा गाउँको फन्को विदेशको, कालिम्पोङ, सरिकार प्रकाशन,२०००।
  • समकालीन साहित्य, अङ्क ५८, ने.रा.प्र.प्र.साउन-पुस, २०६२।
  • समकालीन साहित्य (य़ात्रा-संस्मरण विशेषाङ्क, पूर्णाङ्क ४१, काठमाडौं,नेराप्रप्र, २०५८।