“लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान” हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउने गरिन्छ । सन् १९९१ मा Center For Women’s Global Leadership ले अमेरिकास्थित Rutgers University मा पहिलो अन्तराष्ट्रिय महिला भेलाको आयोजना गरी यो अभियानको सुरुवात गरिएको थियो । विशेषगरि महिला र बालिकाहरुमाथि गरिने हिंसाका विरुद्ध चलाइने यो अभियान नेपालमा भने सन् १९९७ देखि सञ्चालन गरिएको हो ।
यो अवधिमा लैंगिक कारणले हुने शारिरिक, मानसिक, सामाजिक हिंसाहरुका विरुद्ध जनचेतनामूलक कार्यक्रम, सेमिनार, गोष्ठि, सभा, समारोह, कार्यशाला, तालिम, जुलुस, प्रभातफेरी लगायतका अनगिन्ती कामहरु हुन्छन्/गरिन्छन् । सरकारी, गैरसरकारी संघ-संस्था (NGO/INGO)  हरुको पहलमा यस्ता गतिविधिहरु प्रशस्तै हुने गर्दछन् । यी कार्यक्रमहरुमा गरिने खर्च लाखौँदेखि करोडौँ हुने गर्दछ । तर नतिजा ? नतिजा कस्तो छ वा आउँछ/आयो भन्ने विषयमा कसैलाई चासो रहँदैन । चासो छ त उल्लेखित कार्यक्रमहरुमा कत्ति मान्छे सहभागी भए भन्ने कुराको मात्रै । किनभने उपस्थित मान्छेहरुको टाउको गणना गरेर कार्यक्रम सफल भए नभएको निर्क्यौल गरिन्छ र बजेट अनुमोदन गरिन्छ । तर त्यो कार्यक्रम लक्षित वर्गहरुसम्म पुग्यो पुगेन वा पुगेर पनि कस्तो प्रभाव वा असर के भयो ? त्यसको लेखाजोखा खासै हुन सक्दैन । बरु त्यस्ता कार्यक्रम हुने सुइँको पाउनेहरु हलसम्म पुग्छन्, यो कारणले कि, एक दिन भए नि कुर्सीमा आनन्दले बस्न पाइन्छ, मीठो खाजा-चिया दिन्छन्, कोही कोहीले त भत्ता/खर्च पनि दिन्छन् भन्ने लोभले । उनीहरुलाई त्यो ठूलो हलमा प्रोजेक्टरबाट देखाइने पावरप्वाइन्ट वा Demo Video हरुको खास वास्तै हुँदैन । वा ठूला ठूला कागजमा बनाइएका Data Analysis, Graphics सहितका व्याख्यात्मक भाषणहरुले उनीहरुको दिमागको ढक्कन खोल्न सक्दैन ।
त्यस्ता कार्यक्रमहरु प्रायः गरेर कार्यक्रम तयार गर्नेहरुको स्तरमा बनाइएको हुन्छ । उपस्थित हुने मान्छेहरुले त्यो कार्यक्रम बुझ्नै सक्दैनन् । जबसम्म त्यस्ता कार्यक्रमहरु समाजको पिँधमा भएका ती भुइँमान्छेहरुको स्तर अनुसार बनाउन सकिन्न त्यसबेलासम्म कार्यक्रमहरु केवल आवधिक हल्ला गरेर अभियान सम्पन्न गरेको “मुतको न्यानो” सिवाय अरु केही हुन्न ।

दिलिप बान्तावा (दक्षिण कोरिया)

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा यो वर्षको अन्तर्राष्ट्रिय नारा थियो, Orange the World : Fund, Respond, Prevent, Collect. भने नेपालमा “लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता” थियो । सुरुवाती समयमा विभिन्न गैरसरकारि संघ संस्थाले मात्रै आयोजना गर्ने यो कार्यक्रम पछिल्लो समयमा सरकारी तवरबाटै अभियानका रुपमा सञ्चालन गर्ने गरिएको छ । सन् २००६ मा नेपाल सरकारले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी राष्ट्रसंघीय महासन्धी अनुमोदन गर्दै सन् २००९ मा घरेलु हिंसा नियन्त्रण सम्बन्धी कानूनसमेत जारी गरेको छ।
नितिगत रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्धी सम्झौता तथा कानूनहरुको तर्जुमा गरिए पनि तिनको कार्यान्वयन गर्ने थलो तल्लो तहमा रहेका आम नागरिकहरुसम्म पुर्‍याउन नसक्दा कानूनहरु केवल हात्तीको देखाउने दाँत जस्तो मात्रै भइरहेका छन् । भनिन्छ, Custom is stronger than the Low. मानिसको दिमागमा सदियौँदेखि काई लागेर बसेका यस्ता हाम्रा Custom हरु छन् जसलाई अस्वीकार गर्न वा त्यो परम्परालाई तोड्न सामाजिक विद्रोहकै जरुरत पर्दछ । एउटा परम्परागत मान्यतालाई तोड्दा चारैतिरबाट उठ्न सक्ने औँलाहरुको सामना गर्ने हिम्मत जुटाउनुपर्छ ।
एउटा सानो प्रसंग छ, हाम्रोतिर विवाहको बेला भोज खानेक्रममा हरेकलाई दुई टपरी (भाग/थाल) खाना दिने चलन छ । चाहे त्यो कोक्रोमा भएकै बच्चा किन नहोस् । त्यसरी दिएको भात जति खाने हो खाएर बाँकी रहेको घर लिएर जाने चलन । कत्तिले त लिएर जान्थे, तर कतिले अलिकति खाएर बाँकी छोडेर जान्थे । त्यसरी छोडिएको भात नष्ट हुन्थ्यो । आजभन्दा १४ वर्ष पहिला हाम्रो विवाहको बेला यो चलन तोड्ने निर्णय गर्‍यो हाम्रो परिवारले । किनभने यो चलन भद्दा थियो । चामल नष्ट हुने, भात फाल्नुपर्ने स्थिति थियो । विवाहको भोजमा हामीले पाहुनाहरुले जति खान्छन् थपेर भात खुवायौँ । बरु अन्य सब्जी, अचार, मासु इत्यादिको मात्रा बढायौँ । तर मान्छेहरुले त्यो विषयमा थुप्रै खाले गाली गरे । लोभ गरेको, चलन बिगारेको, असामाजिक आदि इत्यादी । अस्वीकार वा बदल्न खोजिएको  कुरा ठूलो थिएन । न त त्यसले त्यति धेरै फरक नै पर्थ्यो । दुःखले चामल जम्मा गरेर पकाइएको भात अनावश्यक नष्ट नहोस् भन्ने चाहना मात्रै थियो ।  त्यतिमा पनि त्यति धेरै आलोचना खप्नुपर्‍यो, हामीले भने हाम्रो समाजमा भएका र हटाउनै पर्ने, बदल्नै पर्ने त्यस्ता थुप्रै custom हरु छन् जसले हाम्रो समाजको गतिलाई सुस्त बनाइरहेका छन्, समाजलाई कुरुप बनाइरहेका छन्।
तिनै custom कै नाममा हाम्रो समाजमा लैंगिक आधारमा गरिने असमान व्यवहारहरु बग्रेल्ती छन् । महिला वा पुरुष भएकै कारणले कुन काम/व्यवहार गर्न हुने र नहुने भनी वर्गिकरण मात्र गरिएको छैन, पारिवारिक सत्ताको हर्ताकर्ता जहिलेसुकै पनि पुरुष नै हुनुपर्ने custom को विकास गरिएको छ । अर्थात पुरुष हरेक परिवारका लागि निर्णायक छ । चाहे छोराको रुपमा वा श्रीमानको रुपमा वा भाइ-दाइको रुपमा वा बाबुको रुपमा वा अन्य कुनै नाममा । तर महिलाहरु भने आफ्नो बाबु, दाइ-भाइ, श्रीमान्, छोरा वा नातिहरुसँग आश्रित भइरहनुपर्ने निक्कै लामो अनुभवको निर्माण भएको छ । सानैदेखि साङ्लोमा बाँधिएको कुकुरलाई लामो समयपछि साङ्लो खोलिदिए पनि ऊ साङ्लोविना कतै जान नमाने जस्तै हामी पनि संस्कारकाे साङ्लोले बाँधिएर यहाँसम्म आइपुगेका छौँ, त्यसलाई फुकालेर हिँड्ने कोसिस गर्दा असहजता अवश्य नै आउँछ । हाम्रो पूर्वनिर्मित मनोविज्ञानले महिलाहरु कमजोर हुन्छन्, उनीहरुलाई सधैँ सहायताको आवश्यकता पर्दछ भन्ने सिकाउँछ । महिलाहरु पनि होस सम्हाल्दैदेखि त्यस्तै सिकाइमा हुर्कन्छन् र आफूलाई जहिल्यै कमजोर र आफैँले केही गर्न सक्दिनँ भन्ने मानसिकता बनाएका हुन्छन् । यथार्थमा समाजले उनीहरुको मस्तिष्कमा छरिदिएको मन्दविष हो त्यो । त्यसैले त्यो विषलाई पचाइदिन सक्ने क्षमता बनाएर आफ्नो वास्तविक तागतमा भरोसा गर्ने समय हो यो ।
महिलाहरु कमजोर हुन्छन् भन्ने पुरुष केन्द्रित मानसिकता र हामी साँच्चै कमजोर नै हौँ भन्ने पुरुष केन्द्रित नारि/महिला मानसिकताका कारण पनि महिलाहरु विभिन्नखालका विभेद, अत्याचार र हिंसामा पर्ने गर्दछन् । शारिरिक, मानसिक, यौनिक हिंसादेखि लिएर हत्यासम्मका घट्नाहरुमाथि उल्लेखित मानसिकताकै उपज हो अर्थात् पुरुष यो समाजको श्रेष्ठ मान्छे हो, महिला पुरुषभन्दा पछाडिको दर्जाको मान्छे हो भन्ने चिन्तनले लैंगिक हिंसालाई प्रश्रय दिइरहेको छ । नत्र भने एकैखाले गल्तीमा महिलाले गरे ठूलो र पुरुषले गरे किन सामान्य देखिन्छ ? वा पुरुष बरालिएर हिँडे सामान्य मान्ने हामीले महिला बरालिएर हिँडे आकाशै खसेजस्तो श्वास दबाएर उसकै पछि किन हाम्रा आँखाहरु दौडिन्छन्?

रेनुका नेपाल

१६ दिने अभियान चलिरहेकै बखत लैंगिक विभेदजन्य थुप्रै घट्नाहरु समाचारमा आए ।  हाम्रासामु आइपुग्ने त्यस्ता घट्नाहरुले त हाम्रो मथिंगल घुमाइदिरहेको हुन्छ भने घट्नास्थलको सिमित परिमितिभन्दा बाहिर जान नसकेका असंख्य घट्नाका पीडितहरुको संख्या कहिले घट्ने होला वा त्यस्तो आपराधिक चिन्तनबाट हाम्रो समाज कहिले बाहिरिने होला ?
१६ दिनको अवधिमा घटेका नकारात्मक घट्नाहरुबाहेक केही सकारात्मक र सन्देशमूलक घट्नाहरु पनि घटे यो वर्ष । तीमध्ये केहीले निक्कै चर्चा पनि पाए । व्यक्तिगत तवरमा ती महिला पात्रहरुले गरेका तिनका कामहरु हाम्रो समाजको कतिपय गलत बुझाइ, गलत व्यवहार, गलत परम्परा, गलत भोगाइ इत्यादिका विरुद्ध छन् । विशेषगरी १६ दिने अभियान सुरु हुने अघिल्लो दिन अर्थात् नोभेम्बर २४ का दिन बीबीसीले संसारका १०० जना प्रभावशाली महिलाहरुको सूचि सार्वजनिक गर्‍यो र उक्त सूचिमा भेटिइन् नेपालकी १८ वर्षिया युवती सपना रोका मगर । कुनै समय दुर्व्यशनका कारण सडकमा बास बस्न पुगेकी सपना त्यही सडकबाट उठेर सडकमा भेटिने बेवारिस लाशहरुलाई आवश्यक क्रियाकर्म गर्दै आफैँ दागबत्ती दिन थालेको वर्ष दिन भयो । यति सानै उमेरमा आफ्नो उमेरभन्दा निक्कै गह्रुङ्गो र पीडादयी भोगाइ बाँचेकी सपनाले कुनै दिन आत्महत्या गर्ने कोसिस समेत गरेकी थिइन् । तर संयोगवश उनी परिवार, समाज र आफन्तहरुबाट टाढिएका, टाढा भएका वा बनाइएका त्यस्ता बेवारिस मान्छेहरुको वारिस बन्न पुगिन् । छोरीलाई आफ्नै बाबुआमाको क्रियाकर्म गर्नसमेत नदिइने हाम्रो समाजमा सपनाले परिचयविहिन मान्छेहरुलाई विधिवत दागबत्ती दिएर आवश्यक क्रियाकर्म गरिरहेकी छिन्। उनी प्रश्न गर्छिन, “ज्यूँदो मान्छेलाई मात्र मानव अधिकारको कुरा गर्छौँ । मरेको मान्छेको चाहिँ अधिकार हुन्न र सदगत् गराउनका लागि ?”
उनको यो कर्म वास्तवमै हाम्रो जस्तो रुढिग्रस्त समाजका लागि एउटा गतिलो झापड हो । अहिले उनी सडकको कोलाहल र भीडभाडमा पनि आफ्नो नाम लिएर बोलाउने कोही नभएका, बेवारिस बाँचिरहेका मान्छेहरुका लागि आवश्यक व्यवस्थापन गर्नेगरी संस्थागत काम गर्ने तयारीमा छिन् । उनको यो कामलाई हामीले मात्र होइन दुनियाँले प्रशंसा गरिरहेको छ।
यही अवधिमा झापा बिर्तामोडकी रेनुका नेपालले गरेको एउटा निर्णयको पनि विभिन्न खाले चर्चा चल्यो खासगरी फेसबुक समाजमा । उनको श्रीमानको मृत्यु भयो, उनी पनि घाट गइन् तर घाटबाट फर्किँदा उनले लगाएको रातो चुरा फुटाइनन् । सिउँदोको सिन्दुर पुछिनन् न त गलाको पोते नै चुँडाइन् । श्रीमानको मृत्यु हुनासाथ श्रीमतीले रंगविहिन जिन्दगी जिउनुपर्छ भन्दै रातो चुरा, सिन्दुर पोते श्रीमानको चितामै चढाएर फर्किनुपर्ने हिन्दु धार्मिक व्यवस्थाको मूलजरोमै गरिएको प्रहार हो यो । हुन त अर्को पाटोबाट व्याख्या गर्दा विवाह, चुरा लगाउनु, पोते लगाउनु, सिन्दुर लगाउनु यी सब महिलालाई शोषण गर्ने आधार हुन भन्ने तर्क पनि आउँछ। श्रीमानको नामबाट पहिरिने यी सबै चिनोहरुले आफ्नो वास्तविक परिचयलाई लुकाइदिएको भन्ने कोणबाट पनि बहस हुने गर्दछन् । रेनुकाकै सवालमा पनि “श्रीमानले भनेकै आधारमा चुरा, पोते, सिन्दुर लगाइरहनु त जिउँदो हुँदा मात्रै होइन, मरेपछि पनि श्रीमानकै आज्ञाकारी भएर बसेको देखियो । श्रीमानको पहिचान बोकेर बसिरहनु पनि केको क्रान्तिकारी वा साहसी भन्नु ?” भन्ने मतहरु पनि आए । यद्यपि श्रीमानको मृत्यूपछि रंगविहीन भएर, जहिलेसुकै पीरमा सुस्ताएरै बस्नुपर्छ, कहीँकतै रमाइलो उत्सवहरुमा सहभागी नै हुनु हुँदैन भन्ने मान्यताभन्दा त बाहिर आएकै हो भन्नुपर्दछ । कमसेकम समाजको बनिबनाऊ फ्रेमलाई तोडेकै हो भन्नुपर्दछ । भलै यति काफी होइन । तर परिवर्तनका लागि प्रस्थानबिन्दु मान्नुपर्दछ । आजसम्म त्यो धार्मिक मान्यताका विरुद्ध रेनुकाले जति पनि हिम्मत गर्ने मान्छेहरु थिएनन् । विवाह, महिला-पुरुष, सौभाग्य इत्यादिका विषयमा कैयौँ बहसहरु गर्न सकिन्छ तर रेनुकाहरुले गरेका परिवर्तनका स-साना थुम्काहरुलाई पनि सकारात्मक लिनुपर्दछ ।
हुन त सानो वा ठूलो, जुनसुकै परिवर्तनलाई त्यति सजिलै स्वीकार गर्न सक्दैन हाम्रो समाजले । किनभने हामी बाहिर परिवर्तनका विषयमा थुप्रै कुरा गर्न सक्छौँ तर हाम्रो मनमा कहीँ न कहीँ यथास्थितिले बास गरिरहेकै हुन्छ। परिवर्तनका लागि खुट्टा उचालिसक्दा समेत हामीलाई शंका लागिरहेकै हुन्छ कि मैले गरिरहेको काम सही नै होला त? नत्र श्रीमान् बितेको आधा दशकपछि विवाह गर्न लागिरहेकी कलाकार श्वेता खड्काले पटक पटक सामाजिक सञ्जालमार्फत् आफ्नो कदमलाई लिएर समाजले कस्तो प्रतिक्रिया देला भन्दै अभिभक्ति किन दिइरहनुपर्थ्यो र ? यही १६ दिने अभियान चलिरहेको बेला मंसिर २२ गते विवाह बन्धनमा बाँधिएकी उनी जतिको महिलामा त आत्मविश्वास रहेनछ भने समाजका हरेक जायज नाजायज मान्यताहरुको पिँधमा थिचिएर बसेका महिलाहरुको चेतना र अवस्था कस्तो होला ! केही समय अघिसम्म दोस्रो विवाह नगर्ने अभिव्यक्ति दिइरहेकी श्वेताले पुनः विवाह गर्दैगर्दा यसको निक्कै लामो कारण र आफ्नो स्थिति पनि व्यक्त गरिन् । त्यो उनको विवाहका लागि सर्वस्वीकृति होस् भन्ने उनको अपेक्षा मान्न सकिन्छ ।
उनको कुरामा एउटा तहको नेपाली समाज विभाजित पनि देखियो । श्वेताले अर्को विवाह गरेको कुरालाई कसले गलत भनिदियो त्यो त थाहा छैन तर गलत हो भन्नेहरुका लागि निक्कै नै आक्रोशित अभिव्यक्तिहरु केही दिनसम्म फेसबूक ट्विटरतिर देखिए। उनको कदमलाई श्रीमतीको निधनपछि दोस्रो विवाह गर्ने पुरुषहरुसँग तुलना गरियो । यही मानसिकतामा समस्या देखिन्छ खास । मान्छेले आफ्नो निजी जिन्दगीलाई निजी तवरले बाँच्ने र निर्णय गर्ने अधिकार हुनुपर्ने हो । तर यहाँ त अरुकै लागि बाँचिदिनुपर्ने देखिन्छ । आफूलाई असह्य हुँदाहुँदै पनि अरुका लागि सहिदिनुपर्ने स्थितिमा समाजले परिवर्तनको दिशानिर्देश गर्न सक्दैन । यद्यपि श्वेताहरुको यस्तो कदमले श्रीमानको मृत्यू हुनासाथ शृंगारविहिन सेतो पहिरनमा आजीवन बाँच्नुपर्ने परम्परागत धार्मिक मान्यता विपरीत आफ्नो व्यक्तिगत जिन्दगीको निर्णय आफ्नै चाहना अनुसार गर्न प्रेरित गर्दछ ।
हाम्रो सामाजिक इतिहासको लामो कालखण्ड यसरी चल्यो  कि महिलाहरु सिर्फ पुरुषका लागि बनेका आत्माविहिन प्राणी हुन्, पुरुषले आफ्नो चाहना अनुसार जसरी, जहाँ र जहिले पनि प्रयोग गर्न सक्छ/पाउँछ भन्ने मान्यता स्थापित भयो । वर्षौँसम्मको दलन खपेको महिला समुदाय अन्ततः आफूमाथि थोपरिएको विभेद, असमानता, अत्याचार एवं दासता समेत स्वभाविक मान्ने चरणमा आइपुग्यो। त्यसको विपरीत पुरुष सत्ता निरन्तर सत्ताको सिँढी चढ्दै उकालियो, फलस्वरूप महिला र पुरुषका बीच अजंगको सुरुङ्ग निर्माण भयो । त्यो सुरुङ्ग फुटाएर यी दुई समुदायलाई भेट गराउने प्रयत्न खासै लामो छैन हाम्रोमा । विशेषगरी हिन्दु धर्म संस्कार अनुसारको समाज व्यवस्थाले अझ दमित भएको महिला समुदाय राणाकालमा सामाजिक परिवर्तनका खातिर आफ्ना अनुयायीहरु सहित अरुण नदीमा हेलिने योगमायाहरुको योगदानको जगमा आजको यो स्थितिमा पुगेको हो। सयौँ वर्षसम्मको अभ्यासले विभेदका लागि अभ्यस्त हाम्रो समाजमा परिवर्तनका नयाँ आयामहरु बनिरहेकै छन् ।
किताबको पन्ना पल्टाएजस्तै एकैपटक फर्लक्कै समाज परिवर्तन सम्भव हुँदैन क्यार ! न त त्यो परिवर्तन दिगो नै हुन्छ। फलामलाई ठूलो बल प्रयोग गरेर बंग्याउन खोज्दा भाँचिन्छ, बाङ्गिदैन । तर त्यसलाई आगोमा तताएर विस्तारै घनले पिट्दा क्रमशः चाहेको आकार दिन सकिन्छ। समाज परिवर्तनको गति पनि त्यही फलाम जस्तै हो । समाजका विभिन्न तह र अंगहरुलाई विस्तारै तताउँदै, पेल्दै, हिर्काउँदै गर्दा एउटा मोडमा हामीले चाहेको परिवर्तन दिगो हिसाबले स्थापित गर्न सकिन्छ।
अत: लैंगिक विभेद/हिंसाका विरुद्ध भइरहेका गतिविधिहरु, विभेद अन्त्यका खातिर चलिरहेका यस्ता सानातिना प्रयासहरुको काम छैन भन्ने मानसिकता अहिलेका लागि उचित हुँदैन । जे जति भइरहेका छन् यतिले नै पर्याप्त हुन्छ भन्ने पनि होइन । अहिले भइरहेका कोसिसहरुको जगमा उभिएर क्रमशः परिवर्तनका नयाँ पाटाहरु उघार्दै जानु त छ नै, समाजको सकारात्मक, मौलिकता र स्वरुपलाई संरक्षण गर्नु पनि उत्तिकै जरुरी छ।