मनप्रसाद सुब्बा दार्जिलिङका एक महत्वपूर्ण कवि हुन् । उनको जन्म सन् १९५२ सेप्टेम्बर ३ का दिन दार्जीलिङमा भएको थियो । उनका बिप्ल्याँटो युगभित्र कार्टून मान्छेहरु, बुख्याँचाहरुको देशमा, उष्मा लगायत कविता सङ्ग्रहहरु प्रकाशित छन् । उनको उपन्यासमा पनि कलम चलेको छ । प्रस्तुत उनै मनप्रसादसँग साहित्यपोेस्टका लागि गरिएको अन्तर्वार्ताकाे सम्पादित अंश,
मनजी, आफ्नो कविता लेखनका प्रारम्भिक दिनहरूलाई कसरी सम्झनुहुन्छ ?
सानैदेखि कविताप्रति आकर्षित भएको रहेछु । आफू पाँचौँ-छैटौँ कक्षाको विद्यार्थी छँदा हाम्रो घरमा बस्ने एक जना काका पर्नेले तेस्रो आयाम पत्रिका बेच्न ल्याउँथे । त्यसमा भएका कविताहरू केही नबुझे तापनि पढ्थेँ । आठौँ कक्षामा छँदा दश-बाह्रवटा कविताहरू लेखेको थिएँ । नवौँ श्रेणीमा पुग्दा विद्यालयको वार्षिक पत्रिका ‘सरिता’मा यौटा कविता र यौटा कथा प्रकाशित भएको थियो । तिनीहरू नै मेरा प्रारम्भका प्रकाशित रचना हुन् । स्कूल फाइनल पास गरेपछि पनि मेरो लेखन बीच बीचमा बिसाउँदै भए पनि चली नै रह्यो।
तपाईंको परिवार, वंशमा कोही कवि लेखक थिए जसले गर्दा तपाईं साहित्य लेखनमा लाग्न अग्रसर हुनुभयो ?
मेरो परिवार, वंशमा साहित्य लेख्ने कोही थिएनन्। बरू ज्योतिषीहरू थिए । मेरा दुई जना काकाहरू ज्योतिष विद्याका ज्ञाताहरू थिए । कान्छा काका खड्गशेर नेम्बाङ धेरै वर्षसम्म काठमाडौँकै किरातेश्वर मन्दिरमा पुजारी थिए । मेरा बुबाचाहिँ मीठो स्वरका धनी, लिम्बु गीत पालाम गाउँथे ।
पहिलो कविता प्रकाशित हुँदाको खुशी कस्तो थियो ?
स्कूलको विद्यार्थी अवस्थामा आफ्नो रचना छापिएको देख्दा निकै खुशी लागेको थियो ।
साहित्यका अरू विधाभन्दा कवितामै केन्द्रित हुन केले प्रेरित गर्यो ?
ससाना नानीहरू सङ्गीतद्वारा आकर्षित भए झैँ एकोहोरिएको रहेछु म कवितामा । नानीहरूले गीतको गेडा नबुझी नै गीत टिपेर गाए झैँ कविता नबुझी नै कविताको कुन्नि कुन अव्याख्येय तत्वले समातिएको रहेछु म । त्यसो त मैले कवितासँगै गद्यमा पनि कलम नचलाएको होइन । मेरो पहिलो कविता सङ्ग्रहसँगै लघु उपन्यास ‘त्यो मोडसम्म पुगेको मान्छे’ प्रकाशित भएको हो । विभिन्न समयमा फटफुट केही कथाहरू पनि प्रकाशित छन् । पछिल्लो समयमा केही समालोचनात्मक लेखहरू अनि संस्मरण नेपाल-भारतका पत्रिकाहरूमा प्रकाशित छन् । ती समालोचनात्मक लेखहरूको सङ्ग्रह निकाल्ने योजना पोहोरदेखिको हो, अहिले त्यसैमा लागिराखेको छु ।
तपाईंको लेखनको सुरूवातको बेलाका राम्रा कविहरू जो समयको क्रममा लेखनबाट टाढिए, तिनलाई कसरी सम्झना गर्नुहुन्छ ?
कविता लेखनमा मलाई दिशानिर्देश गर्नुहुने, मेरा प्रेरक कवि हुनुहुन्थ्यो भीम थापा । त्यसबेला उहाँ दार्जीलिङका एक राम्रा कविका रूपमा परिचित हुनुहुन्थ्यो । पछि धेरै वर्षसम्म रचनात्मक क्रियाकलापमा निष्क्रिय रहनुभयो । दशकौँपछि उनको यौटा कविता सङ्ग्रह प्रकाशित भयो तर समकालीन कविताको गतिमा हेलिएका पाठकहरू त्यो सङ्ग्रहप्रति उस्तो आकर्षित भएको देखिँदैनन् । सृजनशीलता समयको प्रवाहसितै गतिशील भइरहनुपर्छ ।
पहिलो कुरा त साहित्य लेखेर गुजारा चल्दैन, त्यसमाथि कविता कम बिक्री हुने विधा हो, तपाईंको कवि कर्मलाई परिवारजनले कसरी लिएका छन् ?
घर-व्यवहार थाम्ने स्थायी आयस्रोत नभइदिएको भए सायद यो कवि-कर्मलाई परिवारजनले कसरी लिने थिए, त्यो यसै भन्न सकिन्न थियो । सामान्यतः मेरो लेखपढ गर्ने क्रियामा परिवारबाट सक्दो सहयोग पाइराखेको छु ।
कविको रूपमा प्रतिष्ठित हुने क्रममा तपाईंको मनमा कुनै कविको तस्बिर थियो जसलाई तपाईंले आदर्श मान्नुहुन्थ्यो ?
मैले आदर्श नै मानेको त्यस्ता कुनै एक कवि मेरो मनमा थिएन । पाठ्यपुस्तकमा पढेका सबै कविहरूप्रति मनमा श्रद्धाभाव जागेकै हुन्थ्यो । देवकोटा, टेगोरको अनि शेली, किट्सको जीवनी सुनेर-पढेर निकै प्रभावित भइन्थ्यो ।
नेपाल र भारत राजनैतिक हिसाबले दुई देश भए पनि, नेपाली भाषाले एकताको सन्देश दिएको छ, भारतमा नेपाली भाषीबाहेककाले कस्तो सोच्छन् ? भनौँ, राज्य नै पश्चिम बंगाल हो, बंगाली भाषीहरूको नेपाली भाषीप्रति कस्तो धारणा छ ?
पश्चिम बङ्गालमा बङ्गला भाषाको भाषीक वर्चश्व पहिल्यैदेखि छ । नेपाली भाषीको बाहुल्य रहेको दार्जीलिङ-कालेबुङ जिल्लाको पहाडी अञ्चलमा समेत बलजफ्ती बङ्गला भाषा थोप्ने बङ्ग प्रयास भइरहन्छ समय समयमा, जसको विरोधमा हाम्रो आवाज उठिरहन्छ । इस्वी. १९६१ मा बङ्गालको यस्तै कुत्सित पहलको विरुद्धमा पहिलोपल्ट सारा दार्जीलिङ पहाड आन्दोलित भई उठेको थियो, जसको परिणाम जिल्लाका तीन पहाडी महकुमामा नेपाली भाषा सरकारी भाषाको रुपमा मानिने एक्ट बनियो । त्यसपछि २०१७ मा प्रत्येक स्कूलमा बङ्गला भाषा अनिवार्य गर्ने बङ्ग-नीतिको विरुद्ध उठेको जनविद्रोहले गोर्खाल्याण्ड आन्दोलन दोहोर्यायो । इस्वी. पचासको दशकमा तत्कालीन बङ्गाल सरकारले जनगणना प्रक्रियामा नेपाली भाषीलाई अल्पसंख्यक देखाउने चाल चलेर यताका नेपाली जातिलाई जात-जातमा बाँडेर देखाएको थियो । बङ्गालमा बङ्गला अकादमी छ, हाम्रो नेपाली अकादमी छैन । नेपाली भाषीको ठूलो सङ्ख्या तराई-डुबर्समा पनि छ, तर त्यहाँका अघि अघिका सरकारी नेपाली स्कूलहरू कति बङ्गला स्कूलमा परिणत भइसके भने कति हेल्चेक्र्याइँका कारण रूग्ण अवस्थामा छन् । प्राज्ञिक तथा साहित्यिक तहमा भने नेपाली भाषा-साहित्यको मान-सम्मान सामान्यतः भारतका हरेक ठाउँमा भएकै मान्नुपर्ला ।
कुनैबेला दार्जिलिङमा सुधपाको बोलबाला भयो । पछि तेश्रो आयाम पनि दार्जिलिङमा जन्मियो ! त्यसपछि यस्तो प्रभावकारी समूह नदेखिएको हो ?
सु-ध-पा को समयलाई दार्जीलिङको शैक्षिक-सांस्कृतिक-सृजनात्मक जागरणकाल मान्न सकिन्छ । इस्वी. साठी-सत्तर र असीको दशकको पूर्वार्द्धसम्म विविध बौद्धिक तथा सृजनात्मक आकांक्षा अत्यन्त उत्साहपूर्वक सक्रिय भई उठेको युग रह्यो । असीको दशकारम्भदेखि नेपाली भाषी भारतीयको राष्ट्रिय चिन्हारीको सङ्घर्ष तीव्र भइउठ्यो, जसको सोझो प्रभाव यहाँको बौद्धिक अनि सिर्जनात्मक क्रियाकलापमा पर्नु स्वाभाविक थियो । त्यसपछि नयाँ शताब्दीको आरम्भदेखि नै सृजनाका ताजा स्वर र स्वरुपहरू देखिन थाले, विविध विचार र अवधारणाका आकर्षक प्रस्तुतिहरू सहासपूर्वक अघि ल्याइए । आज त्यस्ता प्रभावकारी समूहहरू एकाधिक छन् ।
दार्जिलिङका नेपाली भाषी साहित्यकारहरूको नेपालका नेपाली भाषी साहित्यकारप्रति कस्तो धारणा छ ?
दार्जिलिङे नेपाली साहित्यकारहरू नेपालको साहित्य र साहित्यकारप्रति बढी चासो राख्छन्, नेपालको साहित्यिक गतिविधिबारे धेरथोर जानकारी राख्न रुचाउँछन्, त्यहाँ प्रकाशित चर्चित पुस्तकहरूप्रति उत्सुकता देखाउँछन्, अनि आफ्ना रचना तथा पुस्तक नेपालका पाठकहरूसम्म पुगोस् भन्ने पनि चाहन्छन् ।
विश्वका नेपाली भाषीहरूको अभौतिक राष्ट्रको परिकल्पना कस्तो लाग्छ तपाईंलाई ?
यो एक सांस्कृतिक अर्थात् भाषीक एकत्वको प्रश्न हो । विश्वका विभिन्न मुलुकमा छरिएर बसेका नेपाली भाषीहरू साइबर भाषिक सूत्रले त्यसै पनि बाँधिएकै छन् । भाषा र अन्त अन्तर्सञ्जालको संयोजन बलियो माध्यम बन्न सक्छ यो परिकल्पनालाई केहीहदसम्म सार्थक तुल्याउन । वैचारिक तथा भावनात्मक विनिमयको सहज माध्यमले हामी समग्र नेपाली भाषीलाई एकापससँग जोडिदिएको छ । यसलाई वैश्विक नेपाली भाषीहरूको अभौतिक राष्ट्र नै भनिहाल्नु कतिसम्म युक्तिसङ्गत होला ? त्यो आउने समयले बताउला ।
कहिलेकाहीँ विचारशून्य, कल्पनाशून्य र सिर्जनाशून्य भएर छट्पटाउनु भएको छ ?
कहिलेकाहीँ निकै लामो समयसम्म सिर्जनाशून्य हुने भए तापनि विचारशून्य र कल्पनाशून्य नै चाहिँ हुदिनँ म । अनेक विचार, अनेक कल्पना मनमा खेली नै रहन्छन् तर सृजनामा ती थोरै मात्रलाई लिइन्छन् ।
यौटा कविको दृष्टिकोणबाट मान्छेके जिन्दगी कस्तो देख्नुहुन्छ ?
मान्छेको जिन्दगी अत्यन्त अनिश्चित (अनप्रिडिक्टेबल्) लाग्छ । अनि त्यै अनिश्चितताभित्र हुनुको विशेष उद्देश्य छ जस्तो लाग्छ, जुन उसैलाई थाह छैन ।
यौटा अकल्पनीय वातावरण बन्यो कोरोनाको कारणले, तपाईंलाई लेखनमा कस्तो प्रभाव पार्यो यसले ?
कोरोना कहरले विभिन्न अनुभव-अनुभूति दियो । पाँच-छवटा कविताहरू सोझै अंग्रेजीमा लेखेँ जुन उतिबेलै फेसबुकमा सार्वजनिक गरियो । तीमध्ये दुईवटा कविता बङ्गला र हिन्दीमा पनि अनूदित भए । बङ्गलामा अनूदित कविता बङ्गलादेशको पत्रिकामा प्रकाशित भएको थियो । यौटा मूल अंग्रेजी चाहिँ क्यानाडाको कुनै एक जर्नलमा निस्क्यो । अन्य साबिक लेखन पनि भए । कतै जान नपाइएकोले केही गद्य लेखहरू पनि लेख्ने समय पाइयो ।
जीवनमा कतिन्जेल सिर्जना गर्न सकिन्छ भन्ने लाग्छ तपाईंलाई ?
शारीरिक-मानसिक तौरले स्वस्थ रहन सकुन्जेल सृजनरत रहन सकिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।