‘कलेजका अन्तिम समयलाई कसरी सम्झन योग्य बनाउने हौ साथी हो ? कलेजबाट निस्कनासाथ त बूढो भइन्छ त ।’ क्यान्टिनमा चिया खाँदै अर्पणले भन्यो ।

बूढो हुनुको कुराले सबै जना हाँस्नुको सट्टा नरमाइलो मानेर बोले, ‘हो त है ! हामी बूढा भयौँ त अब ।’

रमिता, कमला, करिमा बेष्ट फ्रेण्ड । ती एक जना हाँसे सबै हाँस्छन्, रोए सबै रुन्छन् । सरितालाई त केटै माने पनि हुने खालकी थिई । केटीमा हुनुपर्ने लज्जापन र शीलस्वभाव चालीस प्रतिशत मात्र भएकी । गोपी र सोनम सरिताको धुपौरे अनि अर्पणचाहिँ पाएसम्म सरिताको हिरो बन्ने दाउमा बसेको टिम लिडर । समूहका हरेक क्रियाकलापको सक्रिय सदस्य । क्यान्टिनमा चियाखाजा अर्डर गर्नेदेखि परीक्षामा चिट चोर्नेसम्मको जिम्मा उसैले लिन्थ्यो ।

अन्तिम क्षण अविष्मरणीय बनाउन अर्पणले नै समूहमा प्रस्ताव ल्यायो, रातो च्याउको अनुसन्धानका लागि लोकेशन हेर्न सोनमको गाउँ दोलखाको हनुमन्ते डाँडा र ठूलनागी जाने । यसै पनि अघिल्लो ल्होसारमा सोनमको निम्तो मान्न जाँदा ती ठाउँको अवलोकन गरेर अघाएको थिएन ऊ । मनमनै सरितालाई लिएर त्यो जङ्गल विचरण गर्ने इच्छा जागिरहेको थियो ।

‘जाने हैन भन्या ?’

‘हन कता जाने योबेला ?’

‘जाने नि सपनाको गाउँ ।’

‘कि यो सिमसिमे झरीमा लान लाग्यौ रुझाउन ।’

केदार सङ्केत (बेलायत)

‘….. लोकेशन हेर्न….’ अर्पण त यसै टोलाको देखेर साथीहरूले गिज्याए । ‘सरितासँग जङ्गल विचरण …’ अर्पणलाई आफ्नै कल्पनाले गिज्यायो र ऊ हाँस्यो ।

‘क्याम्प फायर गरौँ ल !’ सरिता बोली ।

अर्पणले ताली जुधायो सरितासँग ।

सोनमले रातो च्याउबारे युट्युबमा हेर्न थालिहाल्यो – रातो च्याउ (गानोदर्मा) अर्थात् चम्किलो छाला । जडीबुटीमध्येमा उत्कृष्ट गुण भएको, यसको सेवनले शरीरमा प्रतिरोधात्मक शक्ति बढाउँछ । क्यान्सर, सुगर, प्रेसर नियन्त्रण गर्छ, रगत सफा राख्छ, दिमागलाई ताजगी राख्छ….

‘ह्या बन्द गर मोबाइल ।’ रमिता सोनमसँग झर्किदै भनी, ‘बजारमा छ्याप्छ्याप्ती पाइने रातो च्याउको अनुसन्धान नै किन गर्नु पर्यो ?’

‘क्याम्प फायर गर्न ।’ सोनमको सोझो उत्तरले सबै एकचोटि हाँसे ।

अर्पणले मसिनो स्वरमा भन्यो, ‘यो प्रोजेक्टमा पैसा छ क्या !’

‘पैसाका लागि पो…!’ रमिताको टोलीले ठूलो स्वरमा बोल्यो ।

‘उस् उस्, पैसाचाहिँ कसले दिन्छ नि ?’ साथीहरूले जान्न खोजे ।

‘अनुसन्धान गर्ने भनेर मैले कुरा मिलाएको छु’ अर्पण मुस्कुरायो ।

गोपीले थप्यो, ‘पशुपतिको दर्शन, सिद्राको व्यापार । लोकेशनको निहुँमा क्याम्प फायरको मस्ती ।’

अर्पण कारण थप्दै गयो, ‘हाम्रो अनुसन्धान यस्तो उपयोगी होस् कि, अहिलेसम्म हुनेखानेले मात्र सेवन गरेको रातो च्याउको उत्पादन हुँदा सामान्य व्यक्तिले पनि सहजै उपभोग गर्न सकून् । हरेक नेपालीको बिहान रातो च्याउको चिया र कफीबाट सुरु होओस् । यसको मतलब, कसरी घरैमा उत्पादन गर्ने या सर्वसुलभमा किन्न सकिन्छ भन्ने उपाय निकाल्नु पर्छ । अहिलेसम्म विदेशी आयात सस्तो भए पनि शुद्धता छैन भने नेपालमा उत्पादित च्याउको औषधि अति महङ्गोमा बिक्रीवितरण भइरहेको छ । जो सर्वसाधारणको पहुँचभन्दा टाढा छ ।’

अर्पणको कुरा सबैले मन पराए । लोकेशन भिजिटको शीर्षकमा रमाइलो यात्राका लागि बाटामा तम्बु टाँग्ने, सेल्फ कुकिङ, खानाको तय, मादल, टुङना र गानाबजाना सबै कुरामा सहमत भयो ।

कोठामा पुगेर अपर्णले टिभी अन गर्यो । उही कोभिड महामारीको समाचार आइरहेथ्यो । चीनमा फैलिएको यो महामारी नेपाल भित्रिएमा जनजीवन अस्तव्यस्त हुने कुरा बताइरहेथ्यो । अर्पणले सोच्यो, यस्तो महामारीहरू इबोला, स्पानिस फ्लु, मर्स अनेक नामले आइरहेकै हो नि । के फरक पर्ला र ?

टिभी बन्द गरेर उसले यात्रामा चाहिने सामानको बन्दोबस्ती मिलाउन साथीहरूलाई फोन गर्न लाग्यो । बोली नसक्दै पिसाब लाग्यो । उठेर ट्वाइलेट जाँदै गर्दा फेरि अघि दिउँसो सरिताले नुहाएको कुरा दिमागमा आयो, सरिताले कोठाको ढोका ढकढकाएपछि आफूले खोलिदिएको, कपालबाट तप्किरहेको पानी आदि । सरिता अग्ला गोता परेकीले अर्पणको उचाइ हाराहारीमा आउँथी । योग र दैनिक व्यायाम गर्दी हो शायद । असला माछाजस्ती सर्लक्ककी थिई । नुहाएर हरियो ट्र्याकसुट लगाएकी थिई । जुन उनको प्रिय मित्रले पठाएको भन्थी, कुन देशबाट हो कुन्नि ? अर्पणको अनुमानमा अमेरिकाबाट दीपाले नै पठाएको हुनुपर्छ ।
अर्पणले मनमनै कामना गर्यो, ‘सरिताको कोठामा कहिल्यै पानी नआओस् । मेरै बाथरुममा नुहाउन आइरहनु परोस् ।’ ऊ ऐना हेर्दै मुस्कुरायो । टिभी बन्द गरेर सुत्यो । ढिलो सुत्यो कि बर्बाद – बिहान मर्निङवाकमा सरिताको दर्शन छुटाउन नमिल्ने कुरा छ । उसले नाक खुम्च्याएर सरिताको एउटा खराब बानी सम्झ्यो, हुल बनाएर हिँड्ने ।

निदाउनु अघि मन रसिलो बनाउन अर्पणले कल्पियो, ‘दुई जना मात्र हिँड्न पाए पो…।’

एक हप्तापछि

यात्राको पहिलो दिन तामाकोशीको किनारमा बास पर्यो । कच्ची बाटोमा जीपको हल्लाइले थाकेको ज्यान, तम्बु टाँग्न कसलाई जाँगर । किनारमा सबै थुप्रिए । अर्पणले सबैलाई सक्रिय बनाउन नियम हाल्यो, ‘सबले दुईवटा काम गर्ने ।’

नाइँ भन्ने कोही भएनन् तर उठेर काम थाल्ने पनि कोही भएनन् । अर्पण आफैँ बसेको ढुङ्गाबाट उठेर जीपतिर गयो । जर्किन ल्यायो । एक–एक बिर्को बाँड्दै भन्यो, ‘मौकामा हीरा फोर्नुपर्छ ।’

रमाइलो गर्न गएकाहरू न परे, अल्कोहलको ‘अ’ नजान्नेले पनि ठाडो घाँटी लगाए । गाउँकै कोदोमा मर्चाको रियाक्शन न पर्यो । खाइरहनेलाई पो ऊर्जा दिन्छ त, नखानेलाई त उल्टै थला पार्छ । जोइन्डस् पहिल्याएर कक्रक्कै पार्छ । गाउट र अर्थाराइटिजको त दुश्मन रे यो । रमिताको टोली तीनपानेले डल्ला परे । सरिता चनाखो भई । जन्मँदै रक्सीले चोखिएर हुर्किएकी नेवार्नी न परी । गोपी, अर्पण र सोनमलाई तम्बु टाँग्न सघाई, आगो जोर्न सघाई ।

माथि डाँडामा घाम लुक्दै थियो । सिन्दुरे साँझमा हातमा गिलास लिईवरी सरिता परपर किनारतिर टहलिइरहेकी थिई । केही हेरिरहेकी वा खोजिरहेकी जस्तै देखिन्थी । अर्पणले चुपचाप पछ्यायो । बालुवामा सरिताको पदचापमा पाइला खाप्दै अर्पणले इभिनिङ वर्कको कुरा सम्झियो । यो कस्ति केटी होला ? न कुनै ब्वायफ्रेण्ड छ, न केटाप्रति वितृष्णा नै । नजानिँदो पारामा केटालाई इमोसनमा भुतुक्क पार्नु यसको एडिक्शन हो कि ? ‘छ्या ! साथीबारे कस्तो कुविचार आएको ?’ अर्पणले आफैँलाई गाली गर्यो । आफ्नो विचारलाई सफा बनायो, ‘साथी हो, फ्री फ्र्याङ्क छे । उसको रूप हेरेर भुतुक्क हुने केटाको मन पो पापी त । म पापी हुँ र । दिमाग सङ्लो बनाउनुपर्छ दुई दिन बाँच्दा ।’

‘ए तिमी पनि आ’को ?’ एकधुनमा टोल्हाइरहेको अर्पणलाई भनी, ‘उता जाऊ । म सूसू गर्छु ।’

‘म पनि गर्छु नि ।’ अर्पणले हाँस्दै भन्यो ।

दुवै जना हाँसिरहेका बेला पर तम्बुनेर होहल्ला मच्चियो– माछा समातेछन् क्यारे खोलामा ।

‘जाऊँ !’ सरिताले झाडीबाट निस्केर भनी ।

जाडो निकै बढेको थियो । अर्पणले जीउ बाँध्दै सरितालाई अघि लगाएर गीत गायो–

‘जाने भने जाम् त नि, दुईचार मैना घुमेर आम् त नि,
हिमाल चुचुरे दाइको मन कस्तो बानी निष्ठुरे ।’

‘जाडो बढेछ है ?’ सरिताले अर्पणको पाखुराभित्रबाट हात बेर्दै भनी । अर्पणको छाती ह्वाप्प फुल्यो । अँगालो हाल्न तिर्सना रगरग जाग्यो तर बलसँग संयमति हुँदै सुस्तरी पाइला चाल्यो ।

‘किन नबोलेको ?’ सोधी सरिताले ।

मायाले मन पूरै भरिएको थियो अर्पणको, बोल्ने शब्द कता हराए कुन्नि । ऊ चुपचाप हिँडिरह्यो ।

यो साथ, यो समय शंखेकिराजस्तो घिस्रिएर दूरी फारो होस् भन्दाभन्दै तम्बु नजिक आइहाल्यो । सरिताले अर्पणको पाखुराबाट हात झिकी । उनको स्पर्शविनाको साथ तरवार हराएको म्यानजस्तो खोक्रो महशुस भयो अर्पणलाई ।

सोनमले काठमाडौँका साथीहरूलाई मस्तीले गफ लगाउँदै थियो, ‘उहिले त गाँठे, यो कोशीमा माछा नाथे त फालाफाल हौ । अझ पहिरो आओस्, माछा छ धमिलो पानीबाट भाग्दै हाम्रो घरघरै आउलाजस्तो गथ्र्यो ।’

ड्राइभर रमेश माछा किन्न गएको रहेछ, ठिक त्यहीबेला आइपुग्यो । कोशीमा पनि माछा सकिएछन् । करेन्ट हान्ने, ब्लाष्टिङ गर्नेजस्ता मानिसका प्रवृत्तिले जलचर जगत्मा पनि ठूलै क्षति पुर्याइसकेछ, कसले सोच्ने र ? अर्पण कोशीतिर हेर्दै मन खिन्न पारेर उभिइरह्यो ।

‘माछा आयो माछा’ रमेश हाँस्दै माछा बोकेर आगोछेउ आयो ।

‘मलाई त भुटन छोयलाको पो याद आयो ।’ गोपीले भन्यो ।

‘मलाई त आइसक्रिम ।’ एक बिर्को रक्सीले मात्ने रमिताले भनी । छाडेछ मातले । ‘मलाई पनि ।’ ‘मलाई पनि त’ रमिताको ग्रुपकै एउटै इच्छा हुन्छ सधैँ ।

सोनमले हाँस्दै भन्यो, ‘एउटीले जे मन पराउँछे अरूलाई पनि त्यही नभई नहुने । एउटी पोइला गई भने अरू पनि सबै जान्छौ होला नि तिमेरु त ।’ गोपीले गिज्यायो ।

‘अब, खाना आँट्या छौ छोइला आइसक्रिम कोशी किनारमा ।’ करिमाले हाँस्दै माछा तार्न लागी ।

सोनमले हाँस्दै भन्यो, ‘भोलि बिहान जिरी बजारमा खाऔँला है । एक रात सहेर बाँच ।’

फेरि हाँसो फैलियो ।

आगोको ज्वाला अँध्यारो चिर्दै माथिमाथि झिल्का उडिरहेको थियो ।

रमिताले बडो उत्सुकताका साथ सोधी, ‘ए, जिरीमा पनि आइसक्रिम पाइन्छ ?’

सोनमले भन्यो, ‘यो गाउँ हैन मैसाप ! बजार हो, बजार, जिरी बजार । जसलाई स्वीजरल्याण्ड पनि भनिन्छ ।’

‘माछा झुरुम्म भइसक्यो, निकाल करिमा’ रमिताले भनी ।

‘भित्र अलिक पाकेको छैन । पहिलो दिनमा नै बिरामी परौली अनि हामीलाई आपत् ।’ कामै नगरी आदेश मात्र दिएर बस्ने साथीको बानीबाट रिसाएर करिमाले उल्टै गाली गरी ।

‘लु चिउरामासु खान झर तल । डिलमा बसेर के रमिता हेरेको ?’ हातमा प्लास्टिकको प्लेट लिँदै सरिताले भनी ।

रमिताले ब्लुटुथबाट मिनीबसको साउण्ड बक्समा गीत बजाई,..

‘पर्ख पर्ख मायालु म पनि त आउँला …. ।

ड्राइभर रमेशले मिनीबसको ढोका खोलेर आवाज झन् बढाइदिए । कोशीले केही क्षण आफ्नो सुसाइ धिमा गर्नुपर्यो । सायद कोशीले पनि भन्न लाग्यो, ‘पर्ख पर्ख भोटेकोशी म पनि त आउँला, सँगै हिँड्ने किनार समाइ समुद्रमा पुगौंला ।’

सोनमले बस्नका लागि प्लास्टिकको कुर्सी वरिपरि राख्यो ।

गोपीले पनि केही काम गरे झैँ पार्न ‘लु लु हात धुनु सबैले’ भन्दै जर्किनबाट जगमा पानी सार्यो ।

अर्पण र करिमाले आलुदम, खुर्सानी र अदुवा लसुनको अचार तयार पारेर बीचमा राखे ।

खानपिन सुरु भयो । लोकल कोदोको तीनपाने निकै खपत भयो । हल्का नाचगान पनि भयो । अर्पणले सरितातिर टाँसिएको आँखा जबरजस्ती हटाएर अरू केटी साथीहरूतिर मोड्यो । करिमाले एकटकले आफूलाई हेरिहरेको पाएर अप्ठेरो मान्दै भुइँतिर हेर्यो । भुइँ हेरी हेरी उसले जवानीको विश्लेषण गर्यो, ‘बैँश भन्ने चीज सयौं जातका फूलहरूसँगको रोमाञ्समा बिताउने कुरा हो, म कस्तो मूर्ख, एउटा लालीगुराँस हेरेरै पूरै बसन्त बिताउन खोज्ने ?’

नाचगान उस्तरी मन पर्ने त होइन अर्पणलाई तर त्यो क्षण औधी मन परेको थियो । किनकि सरिताले बेली डान्स गरिरहेकी थिई । गीत फेरिएको थियो ।

भिगीभिगी सडकों पे तेरा इन्तजार करूँ…. ।

गोपी झुलेर झण्डै कोशीतिर गुल्टिएन । मदहोश पललाई गोपीको गुल्टाइले ब्रेक गरिदियो । रातको दश बजिसकेको रहेछ । गीत बन्द गरेर तम्बुतिर सुत्न पसे ।

तामाकोशी सुसेलिरहेको थियो उही गतिमा ।

हावाको वेगको बढ्न लाग्दै थियो । रात छिप्पिदै थियो । सबै तम्बुमा गुडुल्किसकेका थिए । अर्पण मात्र खोइ केको असन्तुष्टिले हो कुन्नि रक्सी खाँदै आगोछेउ बसिरहेको थियो । सरिता निदाई कि होइन होला ? भनेर म्यासेज गर्न मन लाग्यो । मोबाइल हेर्यो, नेटवर्कको सिग्नलै देखाएन । यत्तिकै बोलायो, ‘सरिता निदायौ ?’

करिमा पो बोली, ‘अँ निदाइसकी । अर्पण तिमी किन नसुतेको ? स्यालले लैजाला है, ही ही !’

सुनसान रातमा युवतीको हाँसो मीठो लाग्नुपर्ने हो तर अर्पणलाई झिँजो लागेर झर्कियो, ‘के को ही ही ?’

फेरि आफू टिम लिडर भएको दायित्व सम्झियो । सबैलाई उत्तिकै माया गर्नुछ; कुरा सपार्यो, ‘अनि तिमी चाहिँ कसलाई सम्झेर ननिदाएकी । निदाऊ ।’

करिमाले दङ्ग्याएर रुञ्चे आवाजमा बोली, ‘कसलाई सम्झिन्छु होला, बुझ्नु नि ।’

अर्पण बोलेन । आफू ताक्छ मूढो, बञ्चरो ताक्छ घुँडो भने झैँ आकर्षण भन्ने कुरा जहिल्यै क्रस भइजाने जात रहेछ । जसलाई मरिहत्ते गर्यो, उसले अरूलाई नै हत्ते हालेको हुन्छ ।

सरिताले बाथरुममा नुहाएको कुरा सम्झँदै अर्पण चुपचाप साथीहरूको बीचमा घुस्रियो ।

….सरिताको चिसो कपालमा अर्पणले रुमाल बेह्रिदियो । उसले त निर्धक्कसँग अर्पणलाई बिस्तारामा हुत्याई । अर्पण पनि मग्न तवरले ढल्यो । लगाइरहेको ट्रयाक कतिबेला खुस्किएछ कुन्नि । सर्वाङ्ग शरीरमा सरिता मच्चिई–मच्चिई खेल्न लागी ।

स्याल करायो । ऊ बिँउझियो । ट्रयाक खसेको सम्झेर हतार हतार छाम्यो, होइन रहेछ । साथीहरू पनि ब्युँझिए र हतासिँदै सोधे, ‘के भयो ? के भयो अर्पणजी ? के दुख्यो ?’

सरिताले पनि सोधी, ‘फुडपोइजन भयो कि ?’

अर्पण स्वप्नदोषले हिलाम्य थियो । लाजले अँध्यारोमा पनि ब्ल्याङकेटभित्र मुख जोतिरह्यो । जाँघ पूरै ता..तो भयो ।

दोस्रो दिनः

विहान तम्बुबाहिर निस्कँदा पहेँलो हुन लागेको धानखेतमा घामको पहिलो मुस्कान सुनजस्तै छताछुल्ल थियो ।
सोनमले चिया नास्ता तयार गरिसकेका थिए । विहानको खाना जिरी होटलमा खाएर दिउँसो चाँडै जङ्गलतर्फ लाग्ने योजना थियो ।

सबै उठे । अर्पण अबेरसम्म पनि उठेन । गोपी मर्निङ वाकमा गयो नजिकैको क्षेत्रमा । रमिताहरू किनारमा सिंगारपटार गरिरहेका थिए । सरिता अर्पणलाई ओछ्यानमै तान्न गई । ऊ अझै निदाइरहेकै थियो । सरिताले उसको निधार छामी । छाती छामी । अर्पणले आँखा बन्द गरेरै अझ धेरै धेरै छामिन आश गर्यो । सरिताले ह्वाङ्गै ब्ल्याङ्केट हटाइदिई र हाँसी खितितिती !

जिरी होटलबाट जङ्गल यात्राका लागि बुकिङ गरिएका गाइडको फोन आयो । उनीहरू यात्राका लागि हतारिए । हतारिएरै पनि केही फोटो खिचे । बसले चक्का घुमायो उकालै उकालो ।

सोनमले झ्यालबाट हात निकालेर भन्यो, ‘उ.. त्यो धारिलो पाखाको भित्तानेर हो आज हामी गएर बस्ने ।’

‘अनि, हाम्रो च्याउको रिसर्च गर्ने ठाउँचाहिँ कतातिर हो नि सर ?’ एकदम कम बोल्ने कमलाले सोधी ।

‘ऊ.. त्यो कालो जङ्गल ।’ अर्पणले आँखाको चस्मा मिलाउँदै भन्यो, ‘आज जष्ट लोकेशन र रिसर्चका लागि चाहिने मटेरियल्सबारे बुझ्ने हो । अनुसन्धान गर्न पछि आउने ।’

‘जङ्गलमा मलाई त डर लाग्छ ।’ करिमाले अर्पणतिर आश गरेर बोली ।

अर्पण, ‘उसो भए बसमै बसिराख न त झ्याल थुनेर ।’

‘खुबै !’ करिमा रिसाई । सरिताले दुवैलाई पिलिक्क हेरी ।

‘कुन ठाउँ हो रे सर ?’ गोपीले सोध्यो ।

सोनमले भन्यो, ‘ऊ.. त्यो जिरी बजार, मास्तिरको डाँडाको अन्तिमको सेतो घर हो । हामी जाने त्यहीँबाट हो । सबै कुरा उहीँ पुगेर हेर्नुपर्छ ।’

अर्पण बोल्यो, ‘उसो त हाम्रा गाइड पनि छन् नि । होटलमा कुरिरा’छन् । अलि छिटो पोे जाऊँ न ।’

सरिताले हाँस्दै भनी, ‘अँ अर्पणजी ! छिटो जाऊँ । बसबाट झरेर कुदौँ ।’

बसभित्र हाँसो भरियो ।

‘उठेर कुद, नबसिराख । बसलाई अगाडि गएर तानौँ, ढिला गुड्यो । होइन, होइन; बसलाई पछाडिबाट छडीले कुटौँ अनि छिटो दौडन्छ…. ।’

यात्रामा यस्तै त हो, जानेसम्म हँसिमजाक गर्न सबैलाई मन पर्छ । ड्राइभरले रमाइलो कुरा सुन्दै बसको रफ्तार बढाइरहेको थियो । एक्कासी ब्रेक लाग्यो । सबै हुत्तिए अघिल्तिर । अगाडि सिटमा बस्ने सोनमको निधार कुच्चियो । रमेश आफैँ पनि स्टेयरिङमा दाँत ठोक्किएर रगत बग्यो । सबको श्वास रोकियो । सीधा बाटो सकिएर घुम्ती आउनै लाग्दा विपरीत दिशाबाट आएको माइक्रोसँग बसको निधार जोडिएको थियो । कोही बोलेनन् । मात्र लामो श्वास लिए सबैले फोक्सो भरिभरि । रमेश बल्ल बोल्यो, ‘सोनमजी ! ब्याक हेर्नोस् त । गाडी ब्याक गर्नुपर्यो ।’

सोनमसँग अर्पण पनि झर्न खोज्यो । बल्ल पो थाहा भयो, तल्लो छेउमा बसेकी करिमा कसरी अर्पणको काखमा लपेटिन आइपुगी ? माथ्लो कुनामा बसेको गोपी कसरी बीचमा रमितासँग अडेसिन पुग्यो ? प्रश्न केहीलाई बाहेक सबैको दिमागमा आए पनि उत्तर अलिक लाजमर्दो भएर चुपचाप बसे ।

सोनमले अत्तालिँदै भन्यो, ‘अहो यार ! अगाडिको एउटा चक्काले त डिल काट्नै लागेछ ।’

बसभित्र स्त्री चिच्याहट चर्कियो, ‘आम्मा…!’

रमेशले हतार हतार बस पछाडि सार्यो ।

फेरि अर्पणको फोन आयो, ‘हलो ! काँ आइपुग्यो ?’

‘काँ हो काँ ।’

अर्पणको बोलीले फेरि हाँसे सबै जना ।

बस डाँडानेर पुगेर बिसायो । जहाँबाट वरिपरि चारैतिरका पहाड पर्वत र हिमाल देखिन्थे । अर्पणको आग्रहमा ग्रुपको फोटो लिन सबै तयार परे । रमेशले क्यामेरा क्लिक गर्ने बेलामा ‘स्माइल ! स्माइल ! स्माइल !’ भनेर सबैलाई हाँस्न अनुरोध गरे । तर कोही हाँसेनन् । गोपी बोल्यो, ‘ईस्ः माइल । झण्डै भीरमुनि खसिएन ।’

बल्ल पो सबै जना बङ्गारा देखिने गरी हाँसे । रमेश पनि हाँस्दा पो झन् रगत देखियो । अर्पणले फष्टएड बक्सबाट टेप निकालेर टाँस्न खोज्यो । गिजामा कसरी टाँस्ने ?

‘भात खानेबेला मुख नटाल ।’ गोपीले हँसायो ।

मलम लगाइयो । हातमा तयार गरेको टेप अर्पणले सोनमको टुटुल्कोमा टाँसिदियो । फेरि हाँसो भरियो ।

सबैलाई चिसो मौसमले न्यानो सम्बोधन गरिरहेको थियो । बाँसको टाटीले बारेको पसलमा चिया पिए ।

केही मिनटमै खाना खाने ठाउँ आयो । लाफिङ बुद्धजस्तो मानिसले आफूलाई फुर्वा भनी चिनाउँदै खादा लगाएर जिरीमा स्वागत गरे । उनै थिए जङ्गल सफारी गाइड अर्थात् च्याउ चिनाउने मानिस ।

लोकल चामलको भात, आलुको दाल र टिमुरको अचार.. अहो ! अर्गानिक स्वादको वयान गरिसाध्यै थिएन । फुर्वाले खाना खाँदै जङ्गलको कुरा गरे, ‘यहाँभन्दा एक थुम्को माथिसम्म बस जाने बाटो छ । त्यही सामान छाडेरा अनि बल्ल जङ्गल पस्नुपार्छा । साँची, सिफारिस छा ता ?’

‘छ, छ ।’ सोनमले भन्यो, ‘मेरा केही साथीहरू पनि आउँछन्, गाविसको सिफारिस पनि ल्याइदिन्छन् ।’

गोपीले फुर्वालाई सोध्यो, ‘दाइ, बाटो त सजिलै छ नि जङ्गलको ?’

फुर्वाले घाँटीमा ‘कच..कच..कच..कच’ आवाज निकालेर अमखोराबाट पानी पिए । रमिता र कमलाहरूले ट्वाल्ल परेर हेरे । अमखोरै नदेखेको मान्छेले घाँटी बजाएर पानी पिइन्छ भन्ने कसरी चाल पाउनु र ? ती छक्कै परे ।

बल्ल फुर्वा बोल्यो, ‘बाटो ता ठिकाइ छा, तरा आलिक बालुको खात्रा हुन्छा ।’

‘को बालु फेरि ? जिरीको डन ?’ गोपीले सोध्यो ।

सोनमले हाँस्दै भन्यो, ‘भालु । जङ्गली भालु ।’ बुझ्यौ मित्र ?

हल्का बुझेँ, फुल्का बुझिनँ ।’ गोपी के कम ।

केटीहरू भने त्राससँगै खुब हाँसे ।

खाना खाइसके । फुर्वाले लामो खुकुरीले एकचोटि बुढीऔँलाको नङ खुर्केर दापमा सिउरिए अनि बोले, ‘काठको काफे बनाएर बोक्नुपर्छा ।’

बिहानको पातलो बादल पहाडको शिरानमै टाँसिएर बसेको थियो । बसको खुला झ्याल ढप्काई करिमाले । गोपी अत्तालिएर ऐऽया भनेर चिच्चायो । उनको औंला अलिकति च्याप्पिएछ, रगत बग्यो । सोनमले फष्टएड बक्सबाट टेप निकालेर टाँसिदियो । करिमाले निकैबेरसम्म लामो जिब्रो तानिरही ।

जङ्गलमुनि थुम्को आइपुग्यो ।

सोनमको साथीहरूसँग परिचय भयो, दोर्जे र पेम्बा रहेछन् । स्थानीयलाई सिफारिस देखाए । अध्यक्षलाई फोन गरे र बल्ल भैँसी चर्ने चउरमा तम्बु टाँग्न पाए । सबैलै केही ड्राइफुड र पानी पिए । च्याउ प्याक गर्ने थर्मल बक्स, टर्च, क्यामरा, चकलेट, पानी, वर्षादी आदि नोटमा टिक लगाएअनुसार बोके । सोनमले हाँस्दै भन्यो, ‘लेकाली भेगमा पानी पर्नु भनेको गोपीले बिहानै तुङ्बा पिउनुजस्तै हो ।’

गोपी ङिच्च हाँसेर भन्यो, ‘फेरि सम्झाइदियो साथीले, हत्तेरी !’

ड्राइबर र केही स्थानीय युवा तम्बु रुङ्न बसे र अरू उकालो लाग्ने भए । फुर्वा हातमा खुकुरी बोकेर अगाडि लागे, अर्पण हातमा क्यामेरा, सरिता कापी कलम, सोनम गोपी र दुई स्थानीय युवाले हातमा लामो लट्ठी लिए । रमिता कमलाहरू बीचमा पसे ।

हिँड्नुअघि फुर्वाले प्रशिक्षण दिए, ‘बाग ता भाग्छा, बालु ह्व जम्टिने । बालु आए कोही नाबाग्नू । जाइलाग्नू ।’
‘आम्मा…!’ कसरी फेरि महिला चिच्याहट शुरु भयो ।

फुर्वाले रूखको हाँगा काटेर साढे चार फिट अग्लो कापे बनाए । अरू दुई तीनवटा कापे सोनम र दोर्जे पेम्बाले बोके ।

यात्रा शुरु भयो ।

आधा घण्टाको हिँडाइपछि विभिन्न खाले च्याउका झुण्डहरू रूखका फेद, हाँगा र बोक्रामा देखिन थाले ।
‘उ…उ.. च्याउ !’

यता पनि च्याउ, उता पनि च्याउ । जताततै च्यावै च्याउ ।

कमलाको आवाजले सबै थरर भए । मनमा च्याउको रहरभन्दा पनि भालुको त्रास भरिएको थियो ।

‘यो विषालु च्याउ ह्व नानी । नछुनू ।’ फुर्वाले भने ।

‘कसरी चिन्ने विषालु च्याउ दाइ ?’ अर्पणले सोध्यो ।

भालुलाई लगाउने कापेमा आफ्नै फर्सीजस्तो भुँडी अड्याएर बोल्यो फुर्वा, ‘हामी त प्रायः हेरेरै चिन्छौँ । साधारणतया, छुँदा खस्रो हुने, स्वाद तितो हुने, गन्ध नमिठो हुने हुन्छा । नचिनेको च्याउ नखाँदा नै राम्रो हुन्छा ।

‘रातो खोजौँ न रातो’– अर्पण ।

‘उ.. उ.. !’ गोपीले पर हाँगामा केही रातो देखेछ । भालुको कान पो हो कि भनेर सबैको आङ जिरिङ्ग भयो । अर्पणले फोटो लियो । फार्ममा देखिने ‘रातो च्याउ’ भनिएजस्तो फिका थिएन त्यो । एकदम गाढा रातो र आकार पनि सानो थियो ।

फुर्वाले अझ ओसिलो भागतिर लाँदै भन्यो, ‘यो च्याउ प्रायः ओसिलो र मक्किएको सल्ला थिंग्रेको हाँगामा पाइन्छा । हामी त्यता जाऔं ।’

तर फुर्वाले भनेतिर एकदमै घना जङ्गल थियो । घामको प्रकाश पनि राम्ररी नछिर्ने । सानो पोखरी पनि । फुर्वा बोल्यो, ‘एहे, पानी रहेछा । पानीको नजिक ता धेरै बाग पो बास्छान् ता ।’

फेरि सबैको आङ सिरिङ्ग भयो । त्यहीँ केही क्षण बिसाएर पानी पिए र फोटो लिए । चकलेट खाए । महिला समूह सुस्ताउन खोजे । लेक लागेछ क्यारे । फुर्वाले भन्यो, ‘आबो, योभन्दा माथि जानुहुन्ना । नानीहरूलाई लेक लाग्दोरा’छा ।’

तेर्सोतिर सुस्तरी पाइला बढ्यो । पत्करमा अलिअलि टाउको देखिने गरेर एक स्क्वायर फिटजति जमिनमा च्याउ देखियो सेताम्य । फुर्वाले टिप्न लगाए । केटीहरू तँछाड मछाड गरेर टिप्न दौडिँदा जरामा अल्झेर च्याउमाथि नै लडे । च्याउ त ढुट्टो ।

अर्पणले क्यामरा तेस्र्याउँदै भिडियो लिन लाग्यो । केही परसम्म एक्लै गयो । मक्किएका काठमा अलिअलि रातो रङ भएको च्याउ टन्नै थियो । जो फार्ममा रातो च्याउ भनि खेती गरिन्छ । अर्पणले सोच्यो, खास रातो च्याउ रातै हुनुपर्छ । किन कि सानोमा आमाले मखमल कपडा जत्तिकै रातो च्याउ घोटेर घाउमा लगाइदिनुहुन्थ्यो । हाम्रो अनुसन्धान यस्तै रातो मखमलजस्तो च्याउमा हुनुपर्छ ।

‘गुड !’ सरिता र सोनम पछाडि आएछन् । अर्पण थरथर भयो । भालु हो कि भनेर । तीनै जना हाँसे ।

अलि परतिर त गानोदर्मा प्रजातिमा पर्ने वैजनी, गाढा निलो, सेतो, रातो, पहेलो, छिप्रेपाङ्ग्रे च्याउहरू जताततै देखियो । उनीहरूले बोकेको प्लास्टिकको ब्यागमा नाम लेख्दै पाइएको उचाइ, रूखको बनावट, तापक्रम सबै रेकर्ड गरे । सरिताले नोट पढेर च्याउ बारेको जानकारी फेरि एकपल्ट स्मरण गराईः

– रातो च्याउ भने म्यापल, ओक, एल्म्स ठिङ्ग्रे सल्ला र अरू ओसिलो रूखहरूमा पाइन्छन् ।
– यसको मुख्य तथ्य भनेको चम्किलो, चिल्लो तर सुकेपछि रातो कडा काठको टुक्राजस्तो देखिन्छ ।
– चीन, जापान, कोरिया र अस्ट्रेलियामा दुई सय वर्षभन्दा पहिले नै जडिबुटीको रूपमा प्रयोगमा आएको ।
– जापान सरकारले त आधिकारिक रूपमै क्यान्सरको उपचारको रूपमा सूचीबद्ध गरेको छ, इत्यादि ।
‘गुड गुड ।’ सोनमले सरितालाई हौसलास्वरूप ढाडमा थपथपायो ।

जङ्गल एकदम सुनासान थियो । मानौँ शायद जङ्गली संसारमा मध्यरात भएको थियो त्यो वेला र सबै जङ्गली बासिन्दा (जीव जनावर, चरा, किरा) मस्त निद्रामा थिए ।

केटीहरूले च्याउ टिपेर थर्मलमा टिपोटसित राखे ।

एक्कासी कुनै जन्तुको आवाज आयो, ख्वाँक्क, ख्वाँक्क, ख्वाँक्क !

‘लु यतै पो आएछा ढाडे ता ।’ फुर्वाले भन्यो ।

केटीहरू अत्तालिएर फुर्वालाई समात्न पुगे । फुर्वा चटपटाउनै सकेन ।

ख्वाँक्क, ख्वाँक्क, ख्वाँक्क !
ख्वाँक्क, ख्वाँक्क, ख्वाँक्क !

‘कोही पनि नभाग्नु होला, धेरै मान्छे भएकोमा त्यस किरुवाले आँट गर्दैन । भाग्यो भने त लखेट्छ ।’ दोर्जे करायोे ।

सोनमसँग अरू दुई जना कापे तयार गरेर बसे र बीचमा पसेर अर्पणले क्यामरा तेर्सायो । सरिता डायरीले अनुहार छोपेर युवाहरूको टाङमुनि छिरी तर आवाज हरायो । ओसिएको पत्करमा केही हिँडेको आवाज पनि आएन । सबैको आङ फुलेर भ्यागुताजस्तो भएको थियो । सरिता बिस्तारै सोनमको टाङमुनिबाट निक्लिई । डरले सबैको मुख सुकेको थियो ।

‘कुनै पनि दिशाबाट आउन सक्छ ।’ दोर्जेले भन्यो ।

चारैतिर चकमन्न छायो । फुर्वा बल्ल–बल्ल केटीहरूबाट फुत्किन सकेछन् । ‘आबा…’ मात्र के बोल्दै थिए फुर्वा । फेरि ‘सततत’ आवाज आयो । फेरि केटीहरूले बेह्रिहाले । धन्न ! कालिजका हुल रहेछन्, पल्लो पाखामा उकाले चढे । भद्रायो\भद्राई चरा बेस्कन करायो । दोर्जेले भन्यो, ‘यो चराले कि सर्प देख्दा कराउँछ कि त वनका जघन्य जन्तु देख्दा ।’

सोनम रामेछापका उत्तरी भागमा पर्ने गर्जङका बासिन्दा भएकाले उनी जीवजन्तुका भाषा निकै बुझ्दारहेछन् ।

फेरि, ख्वाँक्क, ख्वाँक्क, ख्वाँक्क आवाज आयो ।

योपल्ट भने अर्पण केटीहरूसँग निकै रिसायो, ‘फुर्वा दाइलाई छोड । जान्ने मान्छेलाई समातेर राख्छन् ।’

केटीहरूको अलिक होश खुलेछ, फुर्वालाई फुक्का गरे । फुर्वाले कापे खोज्यो, डिलमुनि खसेको रहेछ ।

च्याउ पोखिएर छरपष्टै थियो थर्मलबाट ।

‘लु पड्के ता नजिकै छा क्या हो ।’ फुर्वाले भन्योे ।

‘कादे ङाँछ्याँङ् ताबा मुला च्यान देन् तावाम् ?’ दोर्जेले पेम्बासँग बोल्यो ।

के भन्यो भन्यो, इनेरलाई टोकौँ पो भन्यो कि ? छोडेर भागौं पो भन्यो । साथीहरूको अनुहारमा शंकाको भुमरी देखेर सोनमले खस नेपालीमा उल्था गरिदियो – कत्रो हुन्छ यहाँको बाघ भालु ?

दोर्जेले भन्यो, ‘यागोन् ङाँछ्याँङ् ताबा मुला खसी थेन् ।

(बेस्कन ठूलो हुन्छ, यत्रो बाछा जत्रो)।’

खोस्याङ, खोस्याङ खोस्याङको आवाज आयो । फुर्वा कापे बोकेर आवाज आएतिर सतर्क उभिए । केटीहरू फुर्वाको पछाडि तँछाड–मछाड लुक्न खोज्दा फुर्वालाई ठेलेर डिलमुनि खसाल्दिए । ठिक त्यहीँ छेउमा निगालाको झुप्सीबाट फुत्त निस्केर दुईवटा भालु बेजोडले दौडिदै खस्रुको झ्याँङतिर पसे ।

केटीहरू चिच्याएर जङ्गलै थर्काए । सरिताले पनि अर्पणलाई यस्तरी समातेकी थिई कि, दुई शरीर एकै भएको थियो ।
दोर्जेले भन्यो, ‘यो ता भाले भालुले पोथी भालुलाई मोया गर्न लघारेको ह्व !’

‘अब, यहाँ बसिरहनु हुँदैन । हिँडिहालौं ।’ फुर्वाले भन्यो ।

जसै हतारमा ओरालो लागे । दिन पनि निकै ढलिसकेको थियो । डरले सबैको अनुहारको रङ उडेको थियो । गोडा लतार्दै ओरालो लागेका साथीहरूको फोटो खिच्न अर्पण झन् अगाडि दौडियो । सबै दौडिए । फेरि केटीहरूको चिच्याहटले जङ्गल थर्कियो । अर्पणले अटो अप्शनमा फोटो लिए– क्लिक, क्लिक, क्लिक, क्लिक ।

एक शब्द नबोली थुम्कोमा पुगेका थिए सबै । रमेशले यात्राबारे सोध्यो । कोही बोलेनन् । ‘केही अनिष्ट भएछ कि के हो ?’ भन्ने सोचेर रमेशले चुपचाप खाजा बाँड्यो । बल्ल सोनम बोल्यो, ‘भालुले झण्डै सकेन ।’

फुर्वाले हाँस्दै भन्यो, ‘बहिनीहरू साह्रै डराउने रछा, मलाई त चल्नै दिएना ता ।’

केटीहरू लजाए । अर्पणले फुर्वालाई गिज्यायो, ‘केटीहरूबाट यसरी समातिनु भएको थियो के त कहिल्यै दाइ ?’

‘अहाँ, पहिलो पल्टा हो । कता कता समाते कता । नसमात्नेतिर पनि पो हात आ’को थियो । हा हा हा ।’ फुर्वा मनग्य हाँसे ।

अर्पणले जिस्कँदै भन्यो, ‘लौ उसो भए तपाईंको पारिश्रमिक त्यही भयो है त । म क्यास दिन्नँ ।’

फुर्वा पनि कमका थिएनन्, भनिहाले, ‘आलिक काम हुन्छ भाइ, एक जना बहिनी सधैंलाई दिनु मलाई ।’

हाँसो भरियो पाखामा ।

आगो निकै ठूलो बलेको थियो । ‘क्याम्प फायर ! क्याम्प फायर !’ भन्दै सबै उफ्रिन, रमाउन लागे ।

कोदोको रस जो सबैले पिएका थिए । तीलजत्रो खुशीलाई पहाड जत्रो मानेर रमाउन सुरु भइसकेको थियो । नाच्दै गाउँदै खाना पनि खाए । पोलेको आलु एक आरी यतिकै थियो ।

सोनमले टुङ्ना बजायो । गोपीले मादल ठटायो । फुर्वा उस्तै रौसे रहेछन्, पाखामा फर्सी लडे झैँ जीउ मर्काएर नाच्दै गाउन लागे ः

हे है
तिम्रै मोया लाग्छा बरिलै
तिम्रै याद औछा बरिलै
तिमीलाई सम्झी जाग्दछु राति
पोलिरहन्छ यादमा छाती
काँ देखु काँ भेटु भइरान्छा
तिम्रै कुरा मनमा खेलिरान्छा
हे है
तिम्रै मोया लाग्छा बरिलै
तिम्रै याद औछा बरिलै

राति दश बज्न लागेको थियो । सुत्ने तरखरमा भए । तर केटीहरू यति डराएका थिए कि उनीहरू केटाको छातीमा लपेटिएर रात कटाऔं भनौंला झैँ भएका थिए । उन्मादले होइन; आत्मसुरक्षाका लागि ।

नभन्दै तम्बुहरू एकदम नजिक–नजिक पारियो । वरिपरि केटाका तम्बु र बीचमा केटीका तम्बु बनाइयो । सरितालाई अर्पणकै भर लाग्ने । अरूलाई त खोइ कुन्नि कसको हो ?

मानिसको आवाज कम भएपछि स्यालहरूको पालो आयो । पाखै उचालेर कराउन लागे । अर्पणलाई तम्बुको बारले छेकेको थियो सरितासँग नजिक हुन । तर कल्पना गर्न त केले छेक्छ र ? सुरुको दिनमा देखेको सपनाको दृश्यलाई उनले विपनामै उतार्न थाले, जुनेली मध्यरातमा उसको आवाज कसैलै सुनेनन् वा आदत सम्झेर बेवास्ता गरिदिए ।

विहान अबेरसम्म कोही उठेनन् । रमेश र स्थानीय दुई युवाले नै खीर तयार गरे । आलुदम बनाए । कलेजका अन्तिम क्षण अविस्मरणीय बनाउन हरियो जङ्गलमुनि केही फकिरहरू घर फर्कन बिर्सिएर मस्त घुमिरहे ।