“कवि जे सोच्दछ त्यो अक्षरमा उतार्छ”, प्रवासमा यस्तायस्तै धेरै साहित्यकारहरूको जमघट हो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) । यही समाजलाई डोर्‍याउन केन्द्रीय कार्य समिति र बोर्ड अफ ट्रष्टि दत्तचित्त भएर लागेका छन् । हुन त कार्य समितिले मात्र नेपाली साहित्यको उन्नयन गर्ने होइन, यो त लेख्नेलाई मसी र कागज, खेल्नेलाई मैदान र हिँड्नेलाई बाटो बनाइदिने ज्यामीहरूको समूह हो । यिनकै सक्रियतामा एउटा नयाँ परिवेश तयार हुँदा अन्तर्राष्ट्रिय नेपाली साहित्य समृद्ध हुन सक्दछ । किनभने कार्य समितिका सबै सदस्यहरू स्वयम् कवि पनि हुँदा काव्यको अन्तर्निहित विशेषता बुझेका हुन्छन्, त्यसपछि कार्य प्रणालीमा नवीनता निखरित हुन्छ ।

जति नेपाली युवा परदेश जान्छन्, आफ्नो नेपाली परम्परा र संस्कृति पनि लिएर गएका हुन्छन् । प्रवासी नेपाली साहित्य नेपाली साहित्य नै हो, धारा मात्र आआफ्नो उपज हो, साहित्य त एक माध्यम हो । नेपालभन्दा टाढा, अन्य विभिन्न देशमा रहेका नेपालीहरूको अथक प्रयासबाट आज अन्तर्राष्ट्रिय नेपाली साहित्य समृद्ध बनेको छ ।

तीर्थ अधिकारी

प्रवासी साहित्यकारले आफ्नो कलमबाट आफ्नो अनुभव र भावना साझा गरेको हुन्छ । आफू जहाँ रहे पनि मन र आत्मा देशकै माटोमा रहेको हुन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य विशेष कुनै दर्शन, सिद्धान्त तथा चिन्तनसँग जोडिएको छैन । यसले घरभन्दा पर आफूले भोगेको मानसिक अवस्था र दुःखको चित्रण गरेको हुन्छ । तसर्थ यस प्रकारको साहित्यलाई साहित्यिक मापदण्डले मात्र हेर्न मिल्दैन । यसै भएर नै प्रवासी नेपालीहरूले आफ्नो लेखनको माध्यम नेपाली नै बनाए । प्रवासी नेपाली लेखकले प्रवासको संवेदनशीलतालाई नेपाली संस्कारसँत जोडेर विषमता जति अक्षरमा उतारेका हुन्छन् । त्यही मेसोमा निम्न लिखित विषयहरू पनि समाविष्ट गर्दै संवेदनाको एउटा बिटो बनाउन सकेमा अन्तर्राष्ट्रय नेपाली साहित्य समाज सबैको सह्राहनीय बन्न सक्नेछ;

अनेसास-अपेक्षा

१. नेपालमा एउटा पुस्तकालयको स्थापना गरेर अनेसासका प्रत्येक सदस्य नेपाल जाँदा आफू बसेको देशको प्रसिद्ध लेखकका कम्तिमा
एउटा पुस्तक नेपाली अन्तर्राष्ट्रिय पुस्तकालयलाई उपहार स्वरूप प्रदान गर्ने ।

२. नेपालबाट आफू बसेको मुलुकमा फर्कँदा बालसाहित्य, बाह्रखरी, नयाँ चर्चित पुस्तक तथा पत्रपत्रिका आदि सामाग्री नजिकको च्याप्टरको
लागि उपहार ल्याउने ।

३. नयाँ च्याप्टर सञ्चालन गर्दा कम्तिमा ५० नेपाली पुस्तक जम्मा भएको समूहमा साहित्यप्रति रुचि हुनेहरूको आबद्धता रहनेगरी मात्र च्याप्टर सञ्चालन गर्ने।

४. नयाँ वा पुरानो च्याप्टरले अनिवार्य रूपमा केन्द्रको स्वीकृति लिनु पर्ने।

५. नेपाल वा अन्य जुनसुकै देशमा रहे/बसेका नेपाली तथा अङ्ग्रेजी र अन्य भाषाविद्हरुको श्रोत व्यक्तित्व समूह निर्माण गरी उनीहरूबाट भाषानुवादसहितका विभिन्न सुझाव र सहयोग प्राप्त गर्ने परिपाटी मिलाउने ।

६. प्रत्येक नेपालीले आपसी भेटघाटको प्रारम्भबाटै नेपालीमै कुराकानी गर्ने जसले गर्दा नवपुस्ताले पनि नेपाली आफ्नो मातृभाषा रहेछ भन्ने
आभास दिलाओस् ।

७. सामान्य वा इलेक्ट्रोनिक पत्राचार नेपालीमै गर्न प्रोत्साहन गर्ने।

८. नेपाली पुस्तक, पत्रपत्रिका सकेसम्म सङ्कलन गरी एकआपसमा आदानप्रदान गर्ने, नयाँ पुस्तालाई पनि अध्ययन गर्न प्रोत्साहन गर्ने/गराउने।

९. हामीले सामाजिक (अराजनैतिक) आन्दोलन नै गर्नु परे तापनि स्थानीय निकायसँग त्यस राज्यको पाठ्यक्रममा नेपाली भाषासमेत
समावेश गर्न समन्वयन गर्ने ।

१०. स्थानीय पुस्तकालयहरूमा नेपाली पुस्कहरुलाई स्थान दिन अनुरोध गर्ने।

११. प्रारम्भीक नेपाली पुस्कहरु सङ्कलन, लेखन तथा उपलब्धताको व्यवस्था गर्ने।

१२. नेपाली प्रशिक्षण शिविरको आयोजना गरेर नेपाली संस्कृति, भेषभूषा, नाचगान, तीज गीत, भजन चुड्का प्रदर्शन गर्ने ।

१३. कुनै चाडपर्वमा पूजापाठ, सांस्कृतिक क्रियकलापको अवसरमा नेपाली पण्डित, नेपाली चलन र नेपालीपनको झलक पैदा गर्ने ।

१४. नेपाली बोल्न आआफ्ना बालबच्चाहरूलाई प्रोत्साहन गर्ने ।

१५. आफ्नो व्यवसायलाई नेपालीमा पनि नामकरण गर्ने ।

१६. ख्याति प्राप्त नेपाली पुस्तकहरूलाई क्रमशः द्विभाषीकरण गर्दै लैजाने तथा अन्य भाषाका उपयोगी पुस्तकलाई नेपालीमा उल्था गराउने।

१७. विशुद्ध नेपाली लेखन तथा पठनमा तदारुकता देखाउने, भाषिक प्रदुषण हटाउन प्रयास गर्ने ।

नेपाली नै समस्त आप्रवासी नेपालीको साझा भाषा हो । यसले नै समष्टिगत रूपमा एकीकृत गर्दछ र सम्पर्कमा ल्याउँछ । जबसम्म हामी सतर्क हुन्छौँ नेपाली तस्बिरमा आफ्नो अस्मिता जोगाउँछौँ, त्यसको साथसाथै सारा नेपाली जातिको पहिचान पनि जोगिएको हुन्छ ।