साहित्यमा लाग्नेहरु सबै नामका पछि लाग्दैनन् । कृतिका पछि लाग्दैनन् । कीर्तिका पछि लाग्दैनन् । मान, सम्मान र पुरस्कारका पछि लाग्दैनन् । आफ्नो योग्यता र क्षमताले सकेको, भ्याएको, पाएको कर्म गरिरहन्छन् । तर त्यस्ता कर्मयोगीहरु खासै पाउन सकिँदैन । एक प्रकारले नगन्य या दुर्लभ हुन्छन् । कैलाश भण्डारी त्यस्तै दुर्लभ प्रतीभा थिए । जीवनभर उनले लेखन र सम्पादनको काम गरिरहे निष्काम कर्मयोगीका रुपमा । जीवित छँदा पनि खासै मानिसले उनलाई उनको कर्म अनुसारको सम्झना गरेका थिएनन् भने, उनी नरहेपछि उनको कर्म र योगदानको सम्झना गर्ने को र कति नै हुन्छन् र !

कैलाश भण्डारी सहित्यिक पत्रकार थिए, साहित्यिक पत्रिकाका सम्पादक थिए, कवि थिए, जीवनीकार थिए । र सबैभन्दा वढी उनी कवि वासु शशीका भक्त थिए । मैले उनलाई २०३६ सालतिर भेटेको हुँ । उनले “सुगन्ध” नामक साहित्यिक पत्रिका निकाल्थे । त्यतिबला त्यो पत्रिका टाइप गरेर तथा हातले लेखेको अक्षरमा लिथो प्रविधिबाट निकालिन्थ्यो । फोटोकपीको युग आउनुअघि थोरै प्रतिका लागि कार्बन कपी र धेरै प्रतिका लागि लिथोकपी गरिन्थ्यो लिथो मेसिनबाट । कैलाशले निकै लामो समयसम्म लिथोबाटै काम चलाए । त्यस पत्रिकाको उनले सिद्धिचरण विशेषाङ्क निकाले, अरु साहित्यकारको विशेषाङ्क पनि निकाले । उनको सुगन्ध पत्रिकामा वासु शशीको सम्पादनमा प्रकाशित हुने “सञ्चय” डाइजेष्टी पत्रिकाको निकै ठूलो छाप थियो, यद्यपि त्यो स्तरमा पुग्न भने कहिल्यै सकेन ।

कैलाशले वि.सं २०३७ साल साउन २२ गते औपचारिक रुपमा सुगन्ध पत्रिकाको थालनी गरेका थिए । तर त्यो पहिलो अङ्क निकाल्न पनि उनलाई आर्थिक हिसाबले धौधौ भएको थियो । फलस्वरुप यौटा अङ्क निस्केपछि उनले अर्को अङ्क निकाल्न सकेनन् । तर उनलाई सुगन्ध निकाल्ने हुटहुटी थियो । छटपटी थियो । अनि उनले पुन: २०३९ साल वैशाख १० गते यसलाई ब्युँताए । तर यसपल्ट भने छापेर होइन हस्तलिखित रुपमा । तेश्रो अङ्कपछि भने टाइप गरेर लिथो प्रिन्टको माध्यमले बहुप्रति निकाल्न थालिएको थियो ।

गोविन्द गिरी प्रेरणा

उनले सुगन्धलाई साप्ताहिक, पाक्षिक, मासिक विभिन्न रुपमा ५१ पूर्णाङ्कसम्म सम्पादन प्रकाशन गरे ।

वि.सं २०४२ फागुन चैतदेखि भने यो द्वैमासिक रुपमा प्रकाशन हुन थाल्यो । अफसेट प्रविधिबाट प्रकाशन हुनका लागि भने वि.सं २०४८ साल कुर्नुपर्यो ।

सुगन्धमार्फत् कैलाशले “असमिया नेपाली कविता अङ्क”, दुईपल्ट “युगकवि सिद्धिचरण विशेषाङ्क”, “वाशु शशी विशेषाङ्क” जस्ता साहित्य र श्रष्टा सम्बन्धी विशेषाङ्क निकाले । उनले कलाकारहरु “मदन कृष्ण हरिवंश विशेषाङ्क”, “गोपाल योञ्जन विशेषाङ्क” पनि प्रकाशन गरे । उनले लोककथा विशेषाङ्क पनि प्रकाशन गरे । उनले गाईजात्रा विशेषाङ्क पनि निकाले । उनी पूरै सुगन्धप्रति समर्पित भएर लागे ।

सुगन्धलाई उनले सन्तानकै दर्जा दिएका थिए, “यी १५ वर्षमा सुगन्धसँग मेरो आमा र सन्तानको जस्तो नाता भएको छ । आमाले जस्तोसुकै दयनीय परिस्थितिको सामना गर्नुपरे पनि आफ्नो छोरालाई बचाइहाल्छ । म अहिले सुगन्धको आमाजस्तै भएको छु । जस्तोसुकै दयनीय अवस्थामा पनि मैले सुगन्धलाई बचाउनुपर्ने नै भएको छ । ”

कवि वासु शशीको यौटा बानी थियो, कतै जानुपर्दा एक जना साथी नभई नहुने । एकाधपल्ट त्यस्तो साथ मैले पनि दिएको छु । तर उनलाई स्थायी रुपमा साथ दिने कैलाश भण्डारी थिए । कैलाश भण्डारी र वासु शशी दुवै देउपाटन वा देवपत्तनवासी हुनुले पनि यसलाई सहज बनाएको थियो ।

एकपल्ट पोखरेली युवा सांस्कृतिक परिवार अर्थात् पोयुसाले वर्षेनी आयोजना गर्ने नियमित टिकटमा मुक्तक कार्यक्रममा वासु शशी पनि काठमाडौँबाट जाने अतिथि थिए । उनले त्यस कार्यक्रममा कैलाश भण्डारीलाई लिएर गएका थिए । आयोजकहरुलाई यसको कुनै खबर थिएन । त्यसैले आयोजकहरुले उनलाई चिनेनन् र उनको यथोचित् आतिथ्य भएन । फेरि उनी नूनविहिन खाना खान्थे त्यतिबेला । यो अर्को समस्या थियो घरबाहिर खाना खानेका लागि । तर उनमा त्यसको कुनै असरै देखिनँ मैले । उनले न आफू बेवास्ता भएको नै महसुस गरे, न खानपानको समस्याको अनुभव गरे, खाली हाँसेर उनले सबथोकलाई सहजतापूर्वक लिए । उनको त्यो स्वभाव र धैर्यताको छाप मैले अझैसम्म भुल्न सकेको छैन ।

कैलाश भण्डारी

वासु शशीको देहान्तपछि गठित वासु शशी स्मृति परिषद्मा उनी संलग्न थिए र त्यस परिषद्ले प्रकाशन गरेको “वासु शशी स्मृति ग्रन्थ” को सम्पादक मण्डलमा पनि उनी संलग्न थिए । उनले वासु शशीको जीवनीपरक कृति “वासु शशी: व्यक्तित्व तथा कृतित्व” लेखे र त्यो प्रकाशित भयो । उनले लेखेका मौनी बाबा, युगकवि सिद्धिचरण श्रेष्ठ, कुमारबहादुर जोशी, भैरवनाथ रिमाल कदम जस्ता साहित्यकारहरुको जीवनी लेखनमध्ये वासु शशीको जीवनी निकै बृहत् र महत्वपूर्ण छ । त्यसो त उनले साहित्य इतरका व्यक्तित्वहरु संगीतकार नातिकाजी, पत्रकार गोविन्द वियोगी, कलाकारहरु मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य, कलाकार पूर्णबहादुर लगायत झण्डै डेढ दर्जन जतिको जीवनीमूलक लेखन कार्य गरे । उनले वासु शशीका थुप्रै कृतिहरु पनि सम्पादन गरेका थिए । तिनीहरुमा “यौटा नदी छ मभित्र” कविता सङ्ग्रह, “मान्छेको हृदयबाट गएको मान्छे”, मुक्तक सङ्ग्रह प्रमुख छन् ।

उनी लेखन र सम्पादनको काममा मात्र सीमित थिएनन्। उनले वि.सं २०३८ सालमा सुगन्ध पत्रिकाको नामबाट आफ्नो टोलमा “सुगन्ध पुस्तकालय” पनि स्थापना गरेका थिए ।
उनी आफैँ पनि कविता लेखनमा सक्रिय थिए । उनका प्रकाशित तीन कविता सङ्ग्रहहरु “हाम्रो मिलन”(वि.सं २०५०), “मेरो यात्रा”(वि.सं २०५३) र “मनमा उदाएको सूर्य”(वि.सं २०६४) हुन् ।

कैलाश भण्डारीको जन्म वि.सं २०१६ मंसिर १६ गते काठमाडौंको देवपत्तनमा भएको थियो । उनको परिवार पशुपतिनाथ मन्दिरको पूजा गर्ने स्थानीय भण्डारी खलकका थिए । तर उनको रुचि र समर्पण साहित्य र साहित्यिक पत्रकारितामा थियो । उनले त्यसलाई जीवनको मुख्य उद्देश्य र गन्तव्य बनाएका थिए । केही प्रतिफल वा नाफा नपाउने क्षेत्रमा हात हाले पनि उनी सदा सन्तुष्ट देखिन्थे । कसैप्रति उनको कहिल्यै गुनासो थिएन । गान्धीवादी, बुद्धवादी जस्ता लाग्थे । हँसिलो अनुहारमा देखिने उनी आफ्नो कर्ममा सदा लागिरहन्थे ।

उनले आफ्नो कर्मका लागि केही पुरस्कार र सम्मान पनि पाएका थिए । उनले प्रतीभा युवा सम्मान २०५३, युगकवि सिद्धिचरण सम्मान २०५५, वासु शशी स्मृति युवा सम्मान २०५६, भवानी साहित्यिक पत्रकारिता पुरस्कार २०६२, गोविन्द वियोगी पत्रकारिता पुरस्कार विशेष सम्मान २०६५, कौशल्या सीता स्मृति पुरस्कार २०६५ लगायतका पुरस्कार र सम्मान प्राप्त गरेका थिए ।

कैलाश भण्डारी

कैलाशले लेखेका थिए,” समय सधैँ एकनासको नहुने रहेछ । आज छ, भोलि छैन । संसार यस्तै रहेछ । परिवर्तनशील संसारमा कुनै पनि कुरा स्थायी नहुने रहेछ । यो क्षणभङ्गुर संसारमा चाहेको जस्तो केही हुँदैन, समय आएपछि सबथोक सकिने, नष्ट हुने रहेछ । त्यसैले जन्मसँगसँगै मृत्यु पनि हुन्छ । कुनबेला कसलाई मृत्युले छोप्छ, त्यो आजसम्म कसैलाई पनि थाहा छैन ।”

हुन पनि त्यस्तै भयो । अत्यन्त अनुशासित र सादा जीवनशैलीका कैलाशको मिर्गौलामा अचानक समस्या देखापर्यो । उनका दुवै मिर्गौलाले काम गरेन र झण्डै एक वर्षसम्म हप्ताको दुईपल्ट डायलिसिस गरेर जीवन धाने । त्यसबेला नि:शूल्क डायलिसिसको सरकारी व्यवस्था थिएन । यो उपचार निकै महङ्गो थियो र सामान्य जनका लागि आर्थिक रुपले सकसपूर्ण थियो । तर उनको मिर्गौला प्रत्यारोपणका लागि सरकारी सहयोगको पहल भए पनि उपलब्ध हुन सकेन । जनस्तरबाट व्यक्तिगत हिसाबले शुभचिन्तकहरुले गरेको सहयोगले उपचारको लागि मात्र काम हुन सक्यो । डायलिसिसले मात्र धान्न सकेन र अन्तत: उनले २०६६ साल असार २१ गते विहान नश्वर शरीर त्याग गरे ।

कैलाशले जीवनबाट बिदा लिए पनि उनले सुगन्धका माध्यमले तथा लेखन सम्पादनको माध्यमले रोपेका अक्षरका सुगन्ध भने सदा जीवित छन् ।

फल्सचर्च भर्जिनिया, अमेरिका