कफन बोकेर त्रास

गल्ली, चोक, छिँडी

हुँदै खेदिरहन्छ मलाई

एउटा कुनादेखि

अर्को छेउसम्म ।

म भागिरहन्छु

मौनताको टालो

रचना ’अनाकार’ (दार्जीलिङ)

मुखभित्र कोचरेर

निस्सासिँदै

आफ्नै घाँटी अठ्याउँदै

म मेरो आवाजलाई

बेआवाज बनाइरहन्छु,

कहीँ मेरो सुसाइको

कम्पन मात्रले पनि

मेरो निर्बल उपस्थितिको

आभास नफिँजाइदियोस् ।

 

निर्जीव घडीको

सजीव टिकटिकभित्र

म सुनिरहन्छु

मेरो अधमरो मुटुको

पिल्पिलाउँदो धुकधुकी

जसलाई यस घडी म एउटा

चाबी लगाउने खेलौनाभित्र

सुरक्षित राखेर

यन्त्रवत् उभिन चाहन्छु

मेरो भरोसा जस्तै

अलमल्ल परिरहेको

त्यो परको चौबाटोमा …।

 

चौतारीमा बिसाएर

एकछिन थकाइ मार्न

छट्पटिरहेको मेरो श्वासलाई

मुट्ठीभित्र थुनेर म

मन्दिर परिसरबाट

उडाइपठाउन चाहन्छु

एक जोडी अवसादका परेवाहरू ।

 

हल्लाहरू च्यापेर हिँडिरहेका

मान्छेहरूको काँधमा टाँसिएर

निदाउन नसकेका

मेरा विवश रातहरू

खोइ कसको शवयात्रामा

सामेल हुन दौडिरहेछन् !

मोनालिजाको अधरमा

प्रतिबिम्बित हुन नसकेको

मेरो टुहुरो मुस्कान

खोइ किन

मेरै छातीभित्रको कारागारमा

आत्महत्या गर्न तम्सिरहन्छ !

 

सामान्य देखिनुको

अभिनयमा यसघरि म

प्यारालाइज्ड् इन्द्रेणीका

स्खलित रंगहरू टिपेर

समयको भाँचिएको

करंगहरूमा सिउरिन थाल्छु

कहीँ मेरा औँलाहरूको

गलत गतिविधिले

म असामान्य हुनुको

पोल न खोलिदियोस् ।

 

मेरो अनुहारभरि

चिसो पैतालाले टेक्दै

धमनीदेखि शिरासम्म

ओहोरदोहोर गरिरहने

एउटा संक्रमित दिनको

डिजास्ट्रस हाइलाइट

हेर्दाहेर्दै… मूर्छित जून

रंगहीन आकाशबाट झरेर

मेरो आँखाको दहमा डुबेपछि

मन बिसञ्चो हुन थालेको छ

कहीँ मन आक्रान्त नभइदियोस्

स्वस्थ हुनै नसक्ने मानसिक इन्फेक्शनबाट

त्यसैले क्वारेन्टिन गरिदिएँ मनलाई

आफूदेखि आइसोलेट गरेर ।