बग्दै जाँदा यो मन

पुग्दो रहेछ कता कता

खस्दै खस्दै

हुत्तिएर बग्दै

सुक्दै अनि फुक्दै

कहिल्यै नपुगेको त्यो

निलो भवसागरमा ।

 

केदार सङ्केत (बेलायत)

त्यहाँ पुग्दा उसले

महासागर देख्छ

महानगर देख्छ

विशाल भवन देख्छ

उत्तुंग मान्छे पनि देख्छ

हेर्दै जाँदा

द्रुत गतिका रेल देख्छ

दुईतले बस देख्छ

जेट प्लेन देख्छ

युद्धक विमान देख्छ

तर रस्नालुमा* कराउने

जुरेली र फिस्टो भने पटक्कै देख्दैन ।

 

जब ऊ त्यहाँ पुग्छ

विशाल भट्टी देख्छ

खर्क र चरन देख्छ

हेर्दै जाँदा

अहं र घृणाको माया पनि देख्छ

तर आमाले चलाउने फ्ह्वासी* देख्दै देख्दैन

बाबुले बनाए जस्तो न्यानो  गोठ पनि भेट्दै भेट्दैन ।

 

जब ऊ पर्तिरको राजधानी पुग्छ

कार्निभलमा बजेका

अनेक बाजाका कर्कश धुन सुन्छ

तर उधौली उभौलीमा बज्ने

ढोल न झ्याम्टाको प्रिय गर्भित धुन

उसको मनमाथि तैरिरहन्छ

संसारको समय तोक्ने

बडेमाको बिग बेन देख्छ

तर हाम्रो घरकै धुरीमा बक्ने

चिवे चराको मर्म भेट्दैन ।

 

अलिक पर

रानीको विशाल दरबार देख्छ

-पाले देख्छ

-सुसारे देख्छ

-अर्दली देख्छ

तर अर्दलीका पीडा देख्दैन ।

 

जब ऊ झन् अलिक पर

त्यहाँको राजधानी पुग्छ

संविधानविनाको संसद् देख्छ

तर हाम्रो जस्ता

भ्रष्ट नेताहरू देख्दैन

अलिक पर्तिर

मेडम टुसारको सङ्ग्रहालयमा

संसारका चर्चित

मानवमूर्ति देख्छ

तर बुद्धत्व भेट्दैन

र, हेर्दै जाँदा

यहाँ कतै

-खिम्तीको सुसाइ भेट्दैन

-पोकलीको चिसो बहकाइ पनि  भेट्दैन ।

चिडियाखाना देखे पनि

तामेको ढुकुरको घुकघुक देख्दैन

न त देम्बाको पाखो डाँडामा दौडने

डाँफे र मुनाललाई भेट्छ

न त कुँवुकास्तलीको जस्तो

निगाले या

माटो बसाउने चिसो पानी नै भेट्छ ।

————————————-

*रस्नालु – एउटा किराती गाउँ

* फ्ह्वासी- रक्सी पार्ने भाँडो