‘अन्धाको हात्ती’ जस्तै रहेछ जीवन बुझाइ पनि । एउटाले जेलाई जीवन ठान्छ, अर्को त्यसलाई बेकार ठान्छ । यताबाट हेरे पनि उताबाट हेरे पनि म जे देख्छु, अनुभूत गर्छु र भोग्छु, त्यही जीवन हो भनिठान्छु । अर्को त्यसलाई होइन भन्छ । बालकृष्ण समले आफ्नो नाटक मुकुन्द इन्दिरामा ‘अमेरिका र नेपाललाई यताबाट हेरे उता उभिण्डो, र उताबाट हेरे यता उभिण्डो’ भनेको कुरा संस्मरणमा आउँछ । हो, यही मान्यताका आधारमा अमेरिकालाई हेर्दा कथैकथा लागेको छ । अचम्म लागेको छ अमेरिका । कतै अमेरिका उभिण्डो लागेको छ, कतै नेपाल उभिण्डो लागेको छ । उभिण्डो पत्ता लाउन नसकेर आफैँ खुइय… गर्दैछु ।

वि.सं २००२ को डिसेम्बरदेखि २००७ को जुनसम्म म अमेरिका प्रवासमा थिएँ । किनभने जीवनको गाडी धरमरिएर रोकिएको थियो । श्वास छउञ्जेल आशको सिद्धान्तअनुसार म अमेरिका जान प्रयत्नरत भएँ । खसोखास भन्नु पर्दा त्रिभुवन विश्वविद्यालयको लोगोको गौरव बेचेर मैले अमेरिकाको टुरिष्ट भिसा हात पारेको थिएँ । तिनताक यो भिसा कत्रो न पुरुषार्थ झैँ चर्चाको विषय भएको थियो आफन्त साथीभाइमा । त्यसैले अरूले जे भने पनि म त्रिविलाई गाली गर्दिनँ ।

डिसेम्बर २, २००२ का दिन मैले नेपाल छोडेको हुनु पर्छ । त्योबेला मलाई अमेरिकाका सहरहरू परैबाट हेर्दा मात्र पनि आश्चर्य लागेका थिए । डाउनटाउनका अग्ला गगनचुम्बी घरहरू, फराकिला टाँडे बाटाहरू, सडकमा मान्छे नै नदेखिने र गाडीका ताँतहरू अचम्म लागेका थिए । तर ती अनौठा कुरा मेरा लागि गौण थिए । त्यो सौन्दर्य मेरा लागि बेकामे थियो । मलाई काम र दाम चाहिएको थियो । अमेरिकामा कामको जोहो र काम गर्नु सजिलो थिएन । नेपालमा एक लगनी गरेजति स्वादिलो त पक्कै थिएन ।

खेमराज पोखरेल (अमेरिका)

म तालिमका लागि भनेर एउटा स्टोरमा पुर्याइएको थिएँ । एउटा पाकिस्तानी पञ्जाबी काम गथ्र्यो त्यो स्टोरमा । अमेरिका पुगेपछि ऊ मेरो पहिलो वास्तविक गुरु हुन पुग्यो । उसले मलाई सम्झाएको थियो – अमेरिकामा सेक्स फ्रि भनेको सुनेको होलास् । तर सुने जति सजिलो छैन । गोरी कालीको सहमति भयो भने त ठिकै छ, केही फरक पर्दैन । नत्र तैँले उनीहरूलाई सोझा आँखाले क्वार्र हेर्न पनि हुँदैन । छुन त परै जाओस् । झुक्किएर पनि नछोएस् । नत्र पुलिसको फन्दामा पर्लास् । हाम फाल्लास् । हाम फालिस् भने तेरो पैसा मात्र स्वाहा हुँदैन, तँ नै बरबाद हुन्छस् ।

उसको यो कुरा मलाई गुरु मन्त्र जस्तै काम लाग्ने भयो । गोरी कालीका अर्धनग्न दृश्यले चम्किने पुरुष तत्त्वलाई समन नगरी उपाय थिएन ।

त्यसपछि उसले आफ्नो कथा मलाई सुनाएको थियो – मलाई हेरन, पेपरको चक्करमा एउटी कालीसँग बिहे गरेको थिएँ । उसले न मेरो पेपर बनाइदिई, बरु मलाई ५ वर्षसम्म चुसेर थोत्रो पारिदिई । त्यही कालीसँगको सङ्गतमा मेरो ढाड दुख्ने बेथा बोकेँ । अनि आफ्नो भएको सम्पत्ति सबै उसैलाई सुम्पिएर पारपाचुके गरी सडकमा आइपुगेँ । अहिले मैले पाकिस्तानी महिलासँग नै बिहे गरेको छु । मभन्दा १० वर्ष जेठी हुन् । उनका ठूलाठूला ३ थान छोरा छन् ।

उसका यी कुरा सुनेपछि मेरो मुखबाट रोकिँदा रोकिँदै निस्केको थियो– ‘अर्काकी स्वास्नी !’

मेरो कुतूहलतामा उसले उत्तर दिएको थियो– के हुन्छ त ! मान्छे बिग्रने होइन । उमेर पनि केही होइन । जीवन चल्ने कुरा हो । प्रेम हो । मन हो । कन्ने केटी नै किन चाहियो भनेको ! तिमी नेपालीहरूको यही कुरा नै नहुने ।

त्यो पञ्जाबी पाकिस्तानीसँग मेरो दोस्ती भएको थियो । अनि उसले नै मलाई कोर्सिकाना भन्ने ठाउँमा काम खोजिदिएको थियो । त्यहाँ गोर्खाका ऋषि भट्ट काम गर्थे । मेरो अवस्था देखेर उनी साँच्ची हृदयदेखि नै विदारक भएका थिए । मेरो अमेरिकामा गरिखाने अत्तोपत्तो, मेलोमेसो, र छनकछाँट नदेखेर उनले मलाई अमेरिकन महिलासँग बिहे गर्ने बारे सुझाए । यो उनको मप्रतिको सौहाद्र्रता थियो । फँसाउनु थिएन । र ५००० डलर दिएर बिहे गर्न काली खोजी दिए । मैले कालीलाई तलदेखि माथिसम्म हेरेको थिएँ । ३ वटा भल्ट्याङ भुल्टुङ च्यापेर स्टोर आएकी थिई । बिचरा उसको पनि कथा बेजोड थियो । ऊ विभिन्न लोग्ने वा ब्वाइफ्रेण्डबाट धेरै बच्चा पाउन चाहन्थी । र बच्चा पाल्न उसको तलबबाट आउने पैसामा बसीबसी खान चाहन्थी ।

मेरी पूर्वस्वास्नी मेक्सीकन थिई । डिभोर्स गरेँ । एउटा छोरी छे । त्योबेला उसलाई मेरो व्यापार र घर जिम्मा लगाएँ र मात्र उसले डिभोर्स गरी ।

कोर्सिकानाको स्टोरको मालिक पाकिस्तानी थियो । एक दिन साहुले मलाई अर्को सहरमा रहेको उसको डेरामा लिएर गयो । पिजा किनेर खुवायो । उसको भाडाको घर एकदम रित्तो थियो । भुइँमा कार्पेटमाथि तन्ना ओछ्याएर सुत्यो । त्यो साहुले आफ्नो कथा बतायो – मेरो स्वीमिङ पुलवाला घर थियो । राम्रो व्यापार थियो । मेरी पूर्वस्वास्नी मेक्सीकन थिई । डिभोर्स गरेँ । एउटा छोरी छे । त्योबेला उसलाई मेरो व्यापार र घर जिम्मा लगाएँ र मात्र उसले डिभोर्स गरी । यो व्यापार त भर्खर सुरु गरेको हुँ । उसको गोरो छालाले आम देशीलाई झैँ मलाई पनि तान्यो ।

उसले मलाई उसकी डिभोर्सी स्वास्नीकोमा लिएर गयो । त्यो पछिको १५ दिन छोरी हेर्ने पालो उसको रहेछ । ऊ खासमा छोरी लिन गएको रहेछ । घरभित्र नपसी गेटैबाट छोरी लिएर फक्र्यो । फर्कँदा मैले बाटोमा उसलाई सोधेँ – अनि तपाईँले कतै जानु पर्यो भने यो छोरी कसरी हेर्नु हुन्छ ?

उसले सहज तरिकाले भन्यो – उसैकी आमाले हेर्छे । त्यसवापत उसलाई घण्टाको दरले पैसा दिनुपर्छ ।

उसको कथा सुनेपछि मलाई कस्तो कस्तो लाग्यो । अनि त्यो साहुले मेरो निरीह अवस्था चाल पाएर मलाई आश्रय दिएजस्तो गरेर तालिमका नाममा सित्तैमा काम लगाउने उपाय पो रचेछ । यो कुरा मैले चाल पाएपछि म कोर्सिकाना छोडेर फेरि डालस आएँ । संयोग मैले डालस नजिकै रहेको गारल्याण्ड भन्ने ठाउँमा जागिर पाएँ । त्यो जागिर ग्यास स्टोरको रात्रिकालीन थियो । त्योबेला म ४५ वर्षको थिएँ । कपाल तील कम चामल बढी थियो । त्यो स्टोर पनि पाकिस्तानी साहुको थियो । तर स्टोर सञ्चालन गर्ने मेनेजर मेक्सिकन थियो । उसले मेरो नाम ‘खेम’ उच्चारण गर्न जानेन । या त ऊ मलाई कहेम भन्थ्यो, या त किम वा केन भन्थ्यो । ऊ मलाई नाम फेर्न जोड बल गथ्र्यो । तर मैले मानिनँ । मेरो अन्तर्वार्ता लिन साहु आउनेवाला थियो । मेनेजरले मलाई सिकाएको थियो कि उमेर ४५ नभन्नू, ३० भन्नू । ४५ भनिस् भने साहुले जागिरमा राख्दैन ।

गारल्याण्डको जागिर, त्यो पनि रातको । काम खासै नजान्ने थिएन । तर कथा अनेकौँ थिए । नौला नौला थिए मेरा लागि । मेक्सिकोका इन्जिनियर तथा डाक्टर त्यही स्टोरमा काम गर्थे । मैले ‘किन ?’ भनेर सोधेपछि उनीहरूले भनेका थिए – तपाईँलाई थाहै होला, मेक्सिको तस्करले चलाएको देश हो । मान्छेको तस्करी, लागू पदार्थको तस्करी र भूतस्करी गर्छन् यी तस्करहरू । उनीहरूकै इसारामा सरकार चल्छ । रोजगारी छैन । भए पनि अति न्यून तलब छ । के गर्ने ? पहिलो कुरा त बाँच्नु रहेछ । अनि अमेरिका छिरेको ।

यो सुनेपछि मेरो मनलाई अलि होलोखुकुलो भएको थियो । त्यो स्टोरमा काम गरेका बखत धेरै अचम्मका कथाहरू बने । एउटा कथा यस्तो बन्यो त्योबेलाः

रातको १२ बजेको हुँदो हो, एउटी अधबैँसे गोरी सेतो टोयाटा गाडी हाँकेर आई । गाडी पार्किङ गरी । भित्र आई । ऊ प्रायः रेगुलर आउँथी । आएर मलाई भनी – खेम, दुई डलरको ग्यास (पेट्रोल) उधारो देऊ न, मेरो ग्राहक पर्खिरहेको छ । २ घण्टापछि म तिम्रो पैसा तिर्छु ।

स्मरण रहोस् अमेरिकामा उधारो दिन पाइन्न । तर मैले दुई डलर त हो नि भनी उसलाई उधारो पेट्रोल हालिदिएँ । त्यसपछि ऊ गई । नभन्दै तीन घण्टापछि ऊ आई । ऊसँग डलरहरू थिए । उसले सापट तिरी । मलाई धन्यवाद दिई । मैले उसलाई सोधेको थिएँ – तिमी महिलाहरू कति भाग्यमानी, चाहेको बेला पैसा कमाउन सक्छौ । तर हामी पुरुष त, के गर्ने !

अनि उसले उत्तर दिएकी थिई – म खोजिदिन्छु । हट्टाकट्ठा छस् । जिगोलो बन्छस् । जिगोलोको त झन् धेरै पैसा हुन्छ । राम्रो ठाउँ छ । यहाँ तैँले कमाएको एउटा पे चेक त एकैदिनमा पाउँछस् ।

यसै स्टोरमा काम गरेका बखत अर्को कथा बन्न गयो । स्टोरमा एउटी सधैँ आउने काली आई । उसकी एउटी ५ वर्ष जतिकी छोरी पनि सँगै ल्याएकी थिई । त्यहाँ एक जना मेक्सिकन केटो बाटुलेटोपी लगाएर आयो । केही किन्यो । त्यो कालीसँग परिचय गर्यो । अनि काली र उसका बीचमा भएका सम्वाद अहिले पनि मलाई झझल्को आइरहन्छ ।

कालीले सोधेकी थिई – कति जना छौ ?

त्यो मेक्सिकन केटाले जवाफ दिएको थियो – ४ जना ।

अनि कालीले भनेकी थिई – आम्मामा ४ जना !, ठिक छ पैसा ३०० डलर लाग्छ ।

यसरी मोलमोलाइ भइसकेपछि उसले आफ्नो साथीलाई फोन गरेर स्टोरमा बोलाई र भनी – गतिलो ग्राहक भेटेकी छु, यो छोरी २/३ घण्टा हेरिदेऊन ।

केही घण्टापछि उही काली थाकेर लखतरान परेर कारबाट ओर्ली । तर ऊ खुसी थिई । सामानको पैसा तिर्दै मलाई भनी – ग्राहक ४ जना भए पनि भलाद्मी रहेछन् । टिप्स पनि दिए । अब ४ दिन काम नगरी खान पाउँछु ।

अनि मैले उसलाई सोधेको थिएँ – यो तिम्रो शोषण होइन ?

उसले सानले जवाफ दिएकी थिई – म मर्जीले यो काम गर्छु भने के को शोषण ? ५ दिनमा महिनाको खर्च निक्लन्छ भने म महिनाभरि हड्डी किन घोटूँ ?

यही स्टोरमा काम गर्दा मसँग एउटा घटना घट्यो । रातको दुई बजेको थियो । दुई जना काले स्टोरभित्र पसे । तातो पानी मागे । मैले दिएँ । राम्रो व्यवहार गरेँ । मलाई धन्यवाद भन्दै उनीहरू बाहिरिए । त्यसको १० मिनेटपछि उनीहरू फेरि आए । एक जनाले सिगार किन्न थाल्यो । अर्काले मेरा कञ्चटमा बन्दुक तेस्र्यायो । म त छक्क परेँ । लगलग कामेँ । पैसा राख्ने भाँडो खोल्न लगाए । खोलिदिएँ । पैसा लिएर भागे । मैले मेनेजरलाई फोन गरेँ । मेनेजरले पुलिस बोला भन्यो ।

मेनेजरले मलाई पहिल्यै बताएको थियो – कोही रोबरी गर्न आयो भने सरक्क पैसाको भाँडो दिएर पठा । ठूलो ठूलो पैसा यताउता चुरोटका बट्टामुन्तिर राख । लुटे साहुको लुट्छ, हामीले ज्यान दिन हुँदैन । बुझिस् नि, यहाँ एउटा नेपाली गोर्खा काम गथ्र्यो पहिले । राति रोबरीको लागि आएकासँग लडाइँ गरेछ । कम्प्युटर फुटेछ । चोरले पैसा त लान पाएन, तर झन् ठूलो नोक्सान भयो । पुलिसले कुनै फोटो देखाएर यसलाई चिनिस् भनेर सोध्यो भने चिन्दिनँ भन्नु नि । फेरि पुलिसले लफडा लगाउँछ ।

यो स्टोरमा काम गर्न थालेपछि मलाई कोठाको समस्या भयो । सुरुका दिन त म किशोरको डेराबाट ३० माइल (४५ किमी) एकतर्फी आफैँ गाडी हाँकेर जागिर खाएँ । तर सधैँ सम्भव थिएन । बल्ल बल्ल एउटा इजिप्सियन रुममेट भेटियो । दुइटा भित्री बाहिरी कोठा थिए । एउटा कोठामा उसैकोमा बस्न थालेँ । म रात्रि काम गर्ने हुनाले खास समस्या थिएन । त्यो स्टोरमा पिजा, चिकेन रोस्ट लगायत अन्य धेरै खानेकुरा पाइने हुनाले मैले घरमा खासै पकाउन परेन । ४ महिना म त्यो स्टोरमा बसेँ हूँला, पिजा नै खाएँ मूल खानेकुरा । मलाई त्यो इजिप्सियनले बताएको थिएन । तर उसकी चाइनिज गर्ल फ्रेण्ड रहिछे । एकदिन म दिनभरि सुतेर उठ्दा ऊ उसकी चाइनिज गर्लफ्रेण्डसँग सुतेको देखेँ । मेरी बूढीले मायाले पठाइदिएको बदाम सबै ऊ र उसकी गर्लफ्रेण्डले खाइदिएछन् । खासमा त्यो डेरा पनि अर्को पाकिस्तानीको रहेछ । त्यो पाकिस्तानी पाकिस्तान ३ महिनाका लागि गएको हुनाले उसले मलाई भाडा जोगाउन कोठा दिएको रहेछ । त्यो पाकिस्तानी आउने भए पछि मैले डेरा छोड्नु पर्ने अवस्था आयो ।

तरकारी काट्ने, पकाउने उनको काम, भाँडा माझ्ने मेरो काम । उनलाई १ घण्टा लाग्ने, मलाई तातो पानीमा खल्याकखुलुक पार्न १० मिनेट पनि न लाग्ने ।

तर संयोग थियो । मेरा अभिन्न मित्र शशी पनि कामका लागि अमेरिका आएका बखत परेको थियो । अमेरिकाको टेक्सस राज्यको नजिकैमा रहेको एउटा गाउँ लागोभिस्तामा हामी दुवैले काम पायौँ । तर शशीलाई निकै होम सिक भएको थियो । त्यो होम सिक भन्ने कुरा नपर्नेलाई किमार्थ थाहा हुने कुरा होइन । तरकारी काट्दा शशीलाई मसिनो पार्नु पर्ने, गोलभेँडा काट्दा मसिनु पार्नु पर्ने । म अलि गोठाले प्रवृत्तिको थिएँ । कर्दले तरकारी काट्न सिकेको मान्छे थिएँ । तरकारी काट्ने सवालमा उनको र मेरो कुरा मिलेन । त्यसैले उनले र मैले कामको भाग लगाएका थियौँ । तरकारी काट्ने, पकाउने उनको काम, भाँडा माझ्ने मेरो काम । उनलाई १ घण्टा लाग्ने, मलाई तातो पानीमा खल्याकखुलुक पार्न १० मिनेट पनि न लाग्ने । अनि उनले पनि ‘लु जा त’ भन्दै मोटो मोटो तरकारी काटेको सम्झना आइरहन्छ । त्यो बसाइमा हामी दुई झन् अन्तरङ्ग आत्मीय भयौँ । उनका बारेमा कसैलाई थाहा नभएको कुरा पनि मलाई थाहा भयो । तर केही दिनमै शशीकी श्रीमती (मेरी बहिनी) अनिताको आगमन भएकाले शशी डालस फिर्ता भए ।

लागोभिस्तामा बस्दा पनि निकै रोमाञ्चक र नबिर्सने कथाहरू बन्न पुगे । म हप्तामा ७ दिन र वर्षमा ३६५ दिन नै सधैँ विहान १२ देखि रातको एघार बजेसम्म सातै दिन काम गर्थेँ । कहिलेकाहीँ ओपेन टु क्लोज गर्थेँ । चार वर्ष त्यहाँ बसेँ । यो बसाइमा जम्मा २ दिन मात्र मैले बिदा लिएको थिएँ । त्यो पनि हाल जर्जियामा विश्वविद्यालयमा म्याथका प्रोफेसरे कैलाश घिमिरे भाइ घुम्न आउँदा उनकै आग्रहमा उनीसँगै घुम्न सो बिदा लिएको थिएँ ।

लागोभिस्तामा काम गर्दा एउटा साथी पाकिस्तानी हमिद थियो । इराकका शासक सद्दाम हुसैनले कुवेत कब्जा गरेपछि कुवेतमा घडीको दोकान लुटिएर घर न घाटको भएर अमेरिका छिरेको थियो ऊ । उसको जीवनलाई हेर्दा साहुबाट एकैपल्ट फुटपाथमा आइपुगेको थियो । उसकी श्रीमती खाना बनाएर बेच्ने गर्थिन् ।

स्टोरमा काम गर्दा कस्टमर महिलाहरू आएर हग गर्थे । मैले त्योभन्दा पहिले कहिल्यै पनि महिलालाई त्यसरी हग गरेको थिइनँ । हग भनेकै बुझेको थिइनँ । त्यहीँ सिकेँ । हमिदले र स्यामले सिकाए । त्यति मात्र होइन, गालामा किस गर्ने तरिका पनि सिकेँ । केटीको गालामा आफ्नो गाला जोडेर ओठले नछोई किस गर्ने तरिका एकदम औपचारिक रहेछ । गालामा हल्का किस गर्ने कुराचाहिँ अभिन्न मित्र भन्ने अर्थ लाग्दो रहेछ । तर ओठमा किस गर्यो भने सेक्सुअल रिलेसन भएको साथी भन्ने बुझिने रहेछ ।

अर्को साथी स्याम थिई । ऊ पुलिसमा इन्सपेक्टर थिई । मैले काम गर्ने स्टोरमा काम गर्थी । र विकेन्डमा मान्छेको घर सफा गर्ने काम गर्थी । तीन छोरा, आमा ऊसँगै बस्थे । म बस्दाबस्दै उसले ४ थान ब्वायफ्रेण्ड फेरेकी थिई । मलाई पनि अमेरिकामा बिहे गरेर पेपर बनाउनका लागि अमेरिकाकै साथीहरूले खुबै जोड गरेका थिए । साथीहरूले नेपालकी मेरी श्रीमतीले थाहा नपाउने गरी किर्ते डिभोर्स गरिदिने जिम्मा लिएका थिए । उनीहरू भन्थे – अलिकति पैसा चटाएपछि नेपालमा नहुने काम के छ र ! तँ हुन्छ मात्र भन्, हामी डिभोर्सको कागज ल्याइदिन्छौँ ।

मेरो पेपरवाला मात्र होइन, सबै पारिवारिक कुरा स्यामलाई थाहा थियो । अनि उसैलाई बिहे गर्नका लागि साथीहरूले मलाई उक्साए । किनकि ऊ निकै सज्जन थिई । यो कुरा उसलाई भन्न अथवा दिमागलाई तयार पार्न मलाई तीन महिना लाग्यो । अनि एक दिन मैले उसलाई आफ्नो बिहेको कुरा गरिछाडेँ । भनेँ – स्याम, तिमीलाई थाहै छ मेरो पेपर छैन । म तिमीसँग बिहे गर्छु, अनि मेरो पेपर भएपछि तिमीलाई डिभोर्स गर्छु । त्यसपछि नेपालमा गएर आफ्नी श्रीमतीसँग फेरि बिहे गरेर अमेरिका लिएर आउँछु ।

मेरो तीन महिनाको कुरा उसले सेकेण्डमै उत्तर दिई – हुन्छ, तर यो सबै कुराको जानकारी तिमीले श्रीमतीलाई दिनु पर्छ । ढाँट्न हुन्न । नत्र विचरालाई धोका हुन्छ । भरेदेखि नै मेरै घरमा आऊ, किन भाडा तिरेर बस्ने !

त्यो रात मलाई पटक्कै निद्रा आएन । मेरा दिमागमा उसका पूर्वब्वाइफ्रेण्डहरूले उसका ४ थान कुकुरको सेवा, उसको गोहीको सेवा, उसलाई एक दिनमा दुई बट्टा चुरोट र १२ बोतल बियरले सेवा गरेर हत्तु भएको कुरा सुनाएको याद आइरह्यो । भोलिपल्टै गएर स्यामलाई मैले भनिदिएँ – स्याम, सरी ! मैले दिमाग परिवर्तन गरेँ । अब म बिहे नै गर्दिनँ ।

सँगै काम गर्ने अर्की साथी टेरी थिई । ऊ पनि मैले जान्दा ५ औँ ब्वाइफ्रेण्डसँग थिई । ऊसँग अन्तरङ्ग कुरा हुन्थे । उसको स्वतन्त्रतालाई हनन् नगरी जे पनि सोध्न पाइन्थ्यो । नेपालमा जस्तो कुनै महिलालाई केही यौनिक कुरा सोध्न समस्या थिएन । अनि मैले एकदिन उसलाई सोधेको थिएँ – टेरी, तिमीले पहिलो सेक्स कसरी कोसँग गरेकी थियौ ?

मेरो काका पर्नेले म १४ वर्षकी हुँदा मलाई फकाएर सेक्स गरेको थियो । त्यसपछि मैले १८ वर्षकी हुँदा आफ्नै क्लासमेट ब्वाइफ्रेण्डसँग दोस्रोपल्ट सेक्स गरेकी थिएँ । पछि त्यसैसँग बिहे गरेँ ।

यो कुरा सोध्नु एकदम स्वाभाविक थियो । अनि उसले सहज तरिकाले भनेकी थिई – मेरो काका पर्नेले म १४ वर्षकी हुँदा मलाई फकाएर सेक्स गरेको थियो । त्यसपछि मैले १८ वर्षकी हुँदा आफ्नै क्लासमेट ब्वाइफ्रेण्डसँग दोस्रोपल्ट सेक्स गरेकी थिएँ । पछि त्यसैसँग बिहे गरेँ । उसले मलाई असाध्य माया गथ्र्यो । तर पढिसकेर उसले व्यापारमा हात हाल्यो । ऊ कहिले न्यूयोर्क, कहिले पेरिस त कहिले चीन जान थाल्यो । ऊसँग मलाई दिने त समय नै थिएन । पैसा भएर मात्र के गर्नु ? अनि मैले घर आएका बखत उसलाई भने कि अब कि तिमी ब्यापार छोड र यही सहरमा बस, कि हामी डिभोर्स गरौँ भनेँ । अनि हामीले हाँसीखुसीले डिभोर्स गर्यौँ । अहिले पनि ऊ मेरो एकदम मिल्ने साथी हो । मलाई पर्ने साह्रोगाह्रोमा ऊ निकै सम्वेदनशील हुन्छ । मलाई कस्तो माया गर्छ । अस्ति ऊ मलाई भेट्न उसकी श्रीमतीलाई लिएर आएको थियो । उसकी श्रीमती र म पनि एकदम मिल्ने साथी भएका छौँ ।

मेरो नेपाल फिर्नेबेला नजिकिँदै थियो । मैले सम्झनाका लागि फोटो खिच्न थालेँ । टेरीसँग पनि फोटो खिच्नु थियो । ऊ आफ्रनो ब्वाइफ्रेण्ड लिएर आएकी थिई । फोटो खिच्न उसको ब्वाइफ्रेण्ड तयार भयो । अनि टेरी र म अलि दूरी कायम गरेरै उभियौँ । तर टेरीले त मलाई च्याप्प समाएर गालामा लिपिस्टिकको डाम बस्ने गरी किस गरी । केही मतलब र फरक पर्ने कुरै थिएन त्यो ।

…….

एउटा नेपाली साथी अस्टिन सहरमा बस्थ्यो । उसले मलाई एकदिन भन्यो – दाइ, एकबारको जुनीमा के त्यसै बस्नु हुन्छ । मैले दुइटी नेपाली आइमाई फकाएको छु । दुइटै आउन तयार छन् । एउटी रोजेर तपाईँ राख्नु, एउटी म राख्छु ।

उसका यी कुरा पनि मैले मानिनँ । त्यसैले अरूले जसरी मलाई हेरे पनि, जे भने पनि उसले भने मेरो अमेरिकाको बाबाजी जीवनमाथि शंका गर्दैन ।

सम्झनाका तरेलीमा एउटा कस्टमर जोको याद आउँछ । तिनताका ऊ लगभग ४५ वर्षको हुँदो हो । उसले मेरो गाडी बन्द हुँदा बनाइदिएको थियो । साह्रै मिलनसार थियो । उसले एकरात जोर्जटाउनमा नाइट क्लबबाट निस्केर आफ्नो ट्रकमा एउटी केटीलाई उठाएर घर लिएर आएछ । भोलिपल्ट त्यो केटीले पुलिसमा जाहेरी दिई । केटीको मेडिकल चेकजाँच रिपोर्ट तुरुन्त बनाएर पुलिसले जोलाई समात्यो । त्यो केटी १८ वर्ष पुग्न १ महिना मात्र बाँकी रहेछ । उसमाथि १८ वर्ष नपुगेकी नाबालक केटीमाथि बलात्कार गरेको, जबर्जस्ती बल प्रयोग गरेको तथा क्रिमिनल अभियोग लाग्यो । आफूले कमाएको सारा सम्पत्ति एक रातको मजाको लागि त्यही केटीलाई क्षतिपूर्ति दिएर जो सडकमा आइपुगेको थियो ।

…..

पाकिस्तानी साहुनी अमेरिका पुगेपछि विशुद्ध अमेरिकन पहिरनमा हुन्थिन् । साहुनीको लुगा, हाउभाउ, कटाक्षले मेरो यौन मनोविज्ञान चुलिन्थ्यो । हमिद भन्थ्यो – साहुनीले तँलाई मन पराउँछिन् ।

एक रात साहुनी र म दुवै रातको समयमा स्टोर मिलाउने काम गर्दै थियौँ । मेरा र साहुनीका बीचमा यस्ता कुरा भएका थिए –

साहुनीः  तँ किन मोबाइल र ल्याण्डलाइन फोन राख्दैनस् कोठामा !

मः कामै छैन । रात १२ बजेसम्म काम गरेर घर पुगेपछि के को फोन ? सुत्नु परेन !

ऊः  तँसँग सम्पर्क गर्न नै पाइन्न ।

मः दिउँसो म भइहाल्छु नि स्टोरमा ।

ऊः नेपालबाट कुनै नराम्रो खबर आयो भने, कसरी भन्ने तँलाई ?

मः नेपालबाट आउने ज्यादै धेरै दुःख हुने खबर भनेको मेरी श्रीमती मरेको खबर हो । त्यो खबर म ३ घण्टापछि थाहा पाउँछु, त के फरक पर्छ ? म तुरुन्त उडेर नेपाल जान पाउने पनि होइन । हुने हुनामी म टार्न सक्ने पनि होइन ।

ऊः खेम तँ कति खुसी छस् ! श्रीमतीलाई कति माया गर्छस् । हे अल्लाह, सबै मान्छेलाई खेमको जस्तो बुद्धि दे ।

……

लागोभिस्तामा कोठा थियो । म एक्लै बस्थेँ । तर म एक्लै बस्छु भन्ने थाहा पाउनेहरू गर्लफ्रेण्ड बस्न आउन तयार थिए । मेक्सिकोबाट रिभर द ग्रान्दे तरेर आउनेहरूलाई खास गरेर डेरा चाहिन्थ्यो । त्यो डेराका लागि उनीहरूको यौनको केही मतलब थिएन । उनीहरू यो यौनलाई दुवै जनाको आवश्यकता भन्थे ।

विहानदेखि बेलुकासम्म बात मार्ने साथी मेरी थिई । ऊ कोठा जोडिएकी छिमेकी थिई । त्योबेला ऊ करिब ६०–६५ वर्षकी थिई होली । ऊ एक्लै बस्थी । छोरा छोरी अलग्गै बस्थे । ऊ एकप्रकारको जुवा लोटो खेल्न एडिक्ट थिई । पैसा हुन्न थियो, तर त्यो लोटो नखेली नहुने थियो उसलाई । दुर्भाग्य, उसको छोरो उसको घर आएको बेला मर्यो । उसले रुँदै मलाई फोन गरी – छोरा मर्यो ।

उसको छोरालाई पुलिस छानविन पछि चर्चमा लग्यो, त्यो रात पनि ऊ आएर लोटो खेली ।

…..

तिनताका मेरो स्वभाव कसैसँग झगडा नगर्ने, शान्त बस्ने थियो । सबैसँग मित्रता राख्ने चाहाना हुन्थ्यो । परदेशको ठाउँमा केको पौँठेजोरी खेल्नु भन्ने लाग्दथ्यो । स्टोरमा आइरहने एउटा गोरे अलि बदमास टाइपको थियो । तर मसँग भने ऊ निकै हितैषी थियो । उसले एकरात आएर मलाई भन्यो – अरे यार, इण्डियन पाकिस्तानी केटी त मेरो गर्लफ्रेण्ड भइसके, तर अहिलेसम्म नेपाली केटी मेरो गर्लफ्रेण्ड भएका छैनन् । मिलाइ दे न यार, म जति पनि खर्च गर्छु ।

यसैक्रममा ऊ रात्रिक्लब जान एउटा खुला जीपभरि केटी लिएर जाँदै थियो । र यही क्रममा स्टोरमा आयो र मलाई भन्यो – खेम, स्टोर बन्द गर । हिँड रात्रिक्लब । हेर मैले धेरै केटी ल्याएको छु । तँ रोजी रोजी राख । आजको खर्च मै गर्छु । तँ हिँड मात्र ।

…..

म एक्लै बसेको थिएँ । मेरो खाने कुरा लगभग २२ दिन जतिलाई एकैपल्ट एकै रातमा पकाउने गर्थेँ । दाल, भात, गुन्द्रुकदेखि मासु, माछा एकैदिन पकाएर ठिक्कका बट्टामा नाम लेखेर फ्रिजरमा राख्ने गर्थेँ । एउटा झिक्ने अनि माइक्रो ओभनमा तताएर खाने गर्थेँ । पकाउने रात म १२ बजे स्टोरमा गएर किनमेल गर्थेँ । अनि घरमा आएर वाइन खाएर आलु काट्न थाल्थेँ । वाइनको रन्कामा आलुका टुक्राहरू कुनै यत्रो ठूलो कुनै यति सानो भएका हुन्थे । र म एक लिटर जति वाइन खाइसकेपछि ती आलुका अडबाङ्गे चानामा आफ्नो जीवन देख्थेँ । मेरो जीवन मलाई त्यही नमिलेका चाना जस्तै लाग्थ्यो । एउटै आलु, एउटै छुरी र एउटै चोपिङ् बोर्ड । काट्ने म मात्र, तर चाना साना ठूला । मेरो भाग्यजस्तै, मेरो परिवेशजस्तै ।

यही स्टोरमा काम गर्दा होण्डुरसकी एक जना, सायद मारिया नाम थियो उसको, स्टोरमा आइरहन्थी । नेपाली आँखाले हेर्दा ऊ यति राम्री थिई कि उसको सुन्दरताको बयान थिएन । उसलाई जुन फूलसँग तुलना गरे पनि हुने खालकी थिई । चन्द्रमाको बिम्ब पनि फिका हुन्थ्यो । ऊ त्यही रिभर द ग्य्रान्दे तरेर आएकी थिई । पेपर थिएन । ऊसँग मेरो दोस्ती भएको थियो । स्टोरमा सधैँ आउँथी । एकदिन उसले मलाई भनी – खेम, तिमी मलाई बिहे गर न । तिमी र मसँगै बसौँ न ।

यसो भन्नुको कारण उसको पेपर नुहुनु र मेरो पेपर छ भन्ने लाग्नु थियो उसलाई । मसँग बिहे गर्न पाए पेपर बनाउँथेँ भन्ने दाउ थियो उसको ।

अर्को एउटी कस्टमर साथीको सम्झना आउँछ । एउटी कस्टमर भारी जिउकी भएकी रहिछे । महिना नाघेपछि नै उसले आफू गर्भवती भएको कुरा खुसीले सुनाउँदै थिई मलाई । म औपचारिकतावश बधाई भन्थेँ । तर उसको पेटमा बच्चा चल्न थालेपछि हरेक दिन बियर किन्न आउँदा उसको उकासिएको पेटबाट सर्ट माथि सारेर मलाई सुम्सुम्याउन लगाउँथी । र खुसी हुन्थी । नेपालमा पटुकामा बाँधेर राखेको गर्भावस्थाको संस्कृति बुझेको मलाई यो कुरा कति अनौठो लाग्यो होला त ! तर उसको बच्चा नजन्मदै म नेपाल फिरेँ । उसले दुःखमनाउ गर्दै भनेकी थिई– खेम, इमेल दिई राख । म बच्चा जन्मेपछि फोटो पठाइरहन्छु ।

तर तिनताका मेरो इमेल सक्रिय थिएन । फेसबुक र म्यासेञ्जरको त प्रचलन नै थिएन ।

अन्तत म २००७ को जुनमा सुटुक्क नेपाल फर्केँ । सुटुक्क यस मानेमा कि म कसैलाई नभनी फिरेको थिएँ । श्रीमतीको इच्छा अझै आर्थिक समस्या छिमलेर मात्र आउनु भन्ने थियो । म श्रीमती, छोरीहरू, आमाबाबु, साथीभाइ, देश आदिको मायाले एकाग्रिएको थिएँ । म नेपाल फर्कँदा थैली र कन्दनी बलियो बाँधेर नै फर्केको थिएँ, तर थैलीको कुरामा विश्वास दिलाउन मैले जोरेका घडेरी र घर थिए । तर कन्दनीका कुरामा कसैलाई विश्वास दिलाउन भने सकिनँ । परिवेशले मलाई अविश्वास गरिरह्यो । अझै अविश्वास गरिरहेको छ ।

सान एण्टोनियो, अमेरिका