सन् २००७ को लक्ष्मीपूजाको दिन । यो त्यही दिन थियो, जसले मलाई जापानमा साहित्यसँग पुनर्मिलन गरेको थियो । जापान पुगेको धेरै वर्षसम्म अध्ययन र जापानसँग अभ्यस्त हुन खोज्दा आफ्नो हृयदको कुनै कुनामा थन्किन पुगेको साहित्य त्यो दिन जागृत भएको थियो ।

जापानमा नेपालीहरूले बेलाबेलामा विभिन्न कार्यक्रम गर्छन् भन्ने थाहा थियो मलाई । त्यसैले मेरो चासो साहित्यिक कार्यक्रमका सूचनाहरूमा हुन्थ्यो । तर पनि त्यस्ता कार्यक्रममा पुग्ने अवसर छोप्न सकेको थिइनँ । यसैबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिका अवसरमा गरिने कार्यक्रममा उपस्थित हुनका लागि निमन्त्रणा प्राप्त भयो । यो अवसरलाई गुमाउँन चाहिनँ । थोरै हिच्किचाहटसहित कार्यक्रममा उपस्थित भएँ । लगभग सबैजसो नेपाली अनुहारहरू नौला थिए । हामीलाई साहित्यले एक ठाउँमा जोडेको थियो र व्यक्तिगतभन्दा पनि साहित्यिक कुराकानी र कार्यक्रम गरेर हामी आफूलाई एक– अर्कालाई सहज बनाउने प्रयास गरिरहेका थियौँ । म सकेसम्म कुनामै बसेर देवकोटाप्रति सम्मान व्यक्त गरिरहेको थिएँ ।

यसैबीच गम्लङ्ग खैरो ओभरकोट लगाएका मैरै उमेरका लाग्ने पातलो शरीर भएका एक युवा मेरो नजिक आएर कुरा गर्ने प्रयास गरे । मेरो बारेमा उनको सोधपुछपछि मैले पनि उनको बारेमा सोध्नु कर्तव्यजस्तै भयो । सोधेँ, नाम बताए— आलोक चालिसे र घर बताए— काठमाडौं । बोलीमा आत्मविश्वास शरीरमा लगाएको ओभरकोट र काठमाडौंको स्थायी बासिन्दा भनेपछि मैले अनुमान लगाएँ, कुनै खानदानी मान्छेको छोरो हुनुुपर्छ । त्योभन्दा बढ्ता सोध्ने हिम्मत पलाएन ममा र त्यसरी अघि बढेर सोध्नु मानहानी पो होला कि ! भन्ने ठानेँ ।

प्रकाश पौडेल ‘माइला’ (जापान)

देवकोटाको तस्बिरमा माल्यार्पण गरेर उनको योगदानको चर्चापछि कवितावाचन सुरु भयो । उपस्थित कविहरूमध्ये यिनै आलोकको कविताले मन छोयो मेरो । ‘विद्यार्थी र शिक्षक’ को बारेमा गहकिलो कविता सुनाएका थिए उनले । अघिदेखि खान्दानी मानिस ठानेको यी युवा त राम्रै कवि पो रहेछन् । चासो जाग्यो । कार्यक्रमपछि म आफैँ उनीसँग नजिक भएर उनका बारेमा चासो राखेर कुराकानी गरेँ । उनले जापान आएको मिति र अहिले गर्दै गरेको कामको बारेमा फेहरिस्त प्रस्तुत गरे तर परिवारका कुरा धेरै बताउन चाहेनन् । हामी नेपाली जहाँ गए पनि पारिवारिक विरासत के हो ? पहाड घर कहाँ हो ? लगायत कुराहरू जान्न चाहन्छौँ । मैले पनि यस्तै कुरा सोचेर ती कुराहरू सोधेको थिएँ । उनले हाम्रो पहाड घर काठमाडौँ नै भनेँ । मलाई भने काठमाडौं आउनुअघि उनी वा उनका परिवारका कहाँबाट आएका हुन् भन्ने चासो थियो । तर ती कुराहरूलाई उनले बेवास्ता गर्दै भनेँ— ‘काठमाडौंमा आरुबारी भन्ने ठाउँको नाम कतै सुन्नुभएको छ ? त्यहीँ हो मेरो घर । पुस्तौँदेखि हामी त्यहीँ छौँ ।’

आरुबारी नामसँग मेरो पुरानो नाता थियो । आरुबारी कहाँबाट जानुपर्छ र कहाँदेखि कहाँसम्मको भूमिलाई आरुबारी भनिन्छ, मलाई थाहा छैन । अरूबारी भौतिक रूपमा कस्तो देखिन्छ ? मलाई थाहा छैन । काठमाडौंभित्र कुनै कुनामा आरुबारी नामको भूमि छ र त्यसले हामीलाई रमेश विकलजस्ता मूर्धन्य स्रष्टा दिएको छ भन्ने थाहा थियो । तर झट्ट त्योबेला मलाई यी कुरा सजिलै स्मरणमा आएनन् । केवल आरुबारी नाम सुनेको बताएर उनलाई धन्यवाद दिएँ ।
कार्यक्रम सकियो । सबै जना बिदावारी भए । यी युवाले पनि बिदा हुन हात मिलाउँदै गर्दा भने— ‘म साहित्यकार रमेश विकलको नाति हुँ । मेरा बुवा विजय चालिसे गोरखापत्रमा हुनुहुन्छ ।’

म छक्क मात्र होइन, पक्क परेर उनी गएको हेरिरहेँ । जापानी भूमिमा नेपाली अनुहारमा पनि आफ्नो गाउँ र छिमेकको तिर्सना मेट्ने शक्ति हुन्छ । भर्खरै गएका व्यक्ति ती भन्दामाथि छन् भन्ने महसुस गरेँ । त्यो नामले मलाई एकैपटक मेरो बाल्यकालमा पुर्याइदियो ।

रमेश विकल

मैले सानो छँदा कक्षा ८ मा ‘भूतको शिकार’ भन्ने सामाजिक कथा पढेको थिएँ । कथाले कसरी निडर भएर सत्य तथ्य पत्ता लगाउने भन्ने कुरा सिकाउँछ । यो कथा पढाउँदा कक्षा शिक्षकले रमेश विकलका बारेमा पनि धेरै कुरा बताउनुभएको थियो । त्यही समयको आसपासमा नेपाल टेलिभिजनमा अविरल बग्दछ इन्द्रावती उपन्यासमा आधारित टेलिशृङ्खलाले आम नेपाली दर्शकको मन जितिरहको थियो । यसको चर्चा गाउँ गाउँमा हुन्थ्यो । त्यो समय नै यस्तो थियो, टेलिभिजन र रेडियोका कार्यक्रमहरूका विषय ग्लामर थियो । घरमा टेलिभिजन नहुँदा हामी छिमेकी घरको झ्यालमा उभिएर टेलिभिजनका धमिला दृष्य हेरेर छक्क पर्दथ्यौँ । इन्द्रावती नदी किनारका माझीका दुःख देखेर झ्यालमै उभिएर हामी रुन्थ्यौँ ।

क्याम्पसका दिनहरूमा मसहित केही साथीहरूको चासो साहित्यतर्फ गयो । त्यसपछि त ‘लाहुरी भैँसी’ जस्ता कथाहरूले हाम्रो मन हरे । ‘नयाँ सडकको गीत’का सबैजसो कथा पढ्न थालियो । ती कथाहरूमा काठमाडौं नजिकका गाउँका वर्णन हुन्थे । त्यसमध्ये पनि आरुबारी अनिवार्य रूपमा कथाहरूमा आउँथे । पछि जीवनी पढ्दा उहाँको जन्मस्थान आरुबारी भन्ने थाहा भयो । समय बित्दै जाँदा आरुबारी रमेश विकलको बिम्बजस्तै बन्न पुग्यो ।
यत्रो वर्षपछि दूर प्रदेशमा भेटिएका एक युवाले आफू आरुबारीको बासिन्दा भएको बताउँदा मनभित्र एकप्रकारको अपनत्व महसुस भएकै हो । तर जसै यी व्यक्ति रमेश विकलकै साक्खै नाति भएको थाहा भयो, ती सबै दृष्य एकाकार हुँदै आए । मैले उनी गएको बाटोलाई निकै बेर नियालिरहेँ । यो परदेशमा पनि आफूलाई मनपरेका सर्जकका निकट, नातेदारहरू पनि साहित्यकै एउटा पाटो भएर भेटिँदा रहेछन् ।

उहाँसँग सङ्गत गर्दा म रमेश विकलसँगै छु भन्ने महसुस गर्दथेँ । नढाँटी भन्ने हो भने म आलोकजीमा रमेश विकलको छवि खोजिरहन्थेँ ।

त्यसपछि अनेकपटक विभिन्न बाहनामा आलोकजीसँग मेरो भेट हुन थाल्यो अथवा यसो भन्न सकिन्छ, आलोकजी भएको ठाउँमा म आफैँ जाने बाहना खोज्दै गएँ । हरेक भेटमा म रमेश विकलका कुरा कोट्याउँथेँ । यो रुची बुझेका कारण हुनसक्छ, त्यसपछिका हरेक भेटमा उहाँले हजुरबुबासँग सम्बन्धित स्मरणहरू सुनाउन थाल्नुभयो । पछि हामी अनेसास जापान च्याप्टरको एउटै कार्य समितिमा काम गर्न थाल्यौँ । यो भेटले हाम्रो साहित्यिक निकटता अझ बढ्दै गयो । उहाँले बाल्यकालमा रमेश विकलको हात समाएर ठूला ठूला स्रष्टाको घर पुगेको सुन्दा मन रोमाञ्चित हुन्थ्यो । पुराना समयका हामीले आदर्श मानेका अनेक लेखक–कविहरूको व्यक्तिगत कुराकानी पनि उहाँले सुन्न पाउनुभएको थियो । ती व्यक्तिहरूको हातबाट चकलेटसँगै अनेक किसिमका ज्ञान र अर्ती पाउनुभएको थियो । उहाँसँग सङ्गत गर्दा म रमेश विकलसँगै छु भन्ने महसुस गर्दथेँ । नढाँटी भन्ने हो भने म आलोकजीमा रमेश विकलको छवि खोजिरहन्थेँ । आज विकलका विषयमा लेख्न बस्दा मेरो मस्तिष्कमा यी कुरा आउनुका पछाडि पनि यही कारण हो ।

रमेश विकल पढेर अरूले के पाउँछन् म ठ्याक्कै भन्न सक्दिनँ तर मेरा लागि उनी हजुरबुबा नै हुन् । यस्ता हजुरबुवा जो, सधैँ आफ्ना नाति–नातिना अघि बढेको, आफूले गर्न नसकेका काम उनीहरूमार्फत पूरा हुन लागेको सपना देख्छन् ।

लेखकका साथ विकलका नाति आलोक चालिसे

रमेश विकलले लेख्नुभएका धेरै गम्भीर पुस्तक पढे पनि मलाई भने उहाँको प्रभाव प्रगतिवादी नै लाग्यो । उहाँले लेखेका हरेक पुस्तकले मलाई राम्रो र असल बन्ने प्रेरणा दिने गरेको छ । उहाँका रमाइला कथा (२०२२), अँगेनाको डिलमा (२०२३) एक्काईस रमाइला कथाहरू (२०२३) पञ्चतन्त्रका कथाहरू (२०२३) हिउँदे छुट्टीमा (२०४९) जस्ता पुस्तकले बालबालिकालाई साहित्यप्रति आकृष्ट गराउँछ । उनीहरूमा नयाँ चेतनाको विकास गर्न सहयोग गर्छ । निकै पहिले पाठ्यपुस्तकहरूमा राखिएका यी कथाहरू पछि पढ्दा पो मैले थाहा पाएँ, मेरो व्यक्तित्व बन्न रमेश विकल र उहाँका समकालीन धेरै साहित्यकारहरूको प्रभाव ममा परेको रहेछ । यस्तै कथाहरू पढेर सानो छँदा परोपकार र जीवन उन्मुख विचार आएका रहेछन् । म भन्दिनँ, आज ममा जस्तो व्यक्तित्व बनेको छ, त्यसको पूर्ण हकदार रमेश विकल हुन् तर यति भन्न सक्छु— मभित्र रहेका केही सकारात्मक सोचाइमा उहाँको थोरै भए पनि योगदान छ । मानव र मानवेत्तर पात्र खडा गरेर बुनेका विकलका कथाहरू पढेर साहित्यमा रस बसेको हो भन्न पनि कन्जुस्याइँ गर्नु हुँदैन । त्यसबाहेक बैशाख, जेठ हुँदै चैतसम्मका महिनाका विषयमा लेखिएका गीतले पनि प्रकृतिको परिवर्तन कसरी हुन्छ ? भन्ने कुरा अचेतनमै भए पनि मेरो मनमा बसेको थियो जस्तो लाग्छ । किनभने आज हाइकु लेख्दा मैले कुनै न कुनै रूपमा यस्तै प्राकृतिक बिम्बको साहरा लिने गरेको छु । जुन हाइकुको आधारभूत मान्यता पनि हो ।

चालिसेबाट ‘विकल’ उपनाम राख्नुको पछाडि पनि एक्लोपन, दुःखी जीवनको सङ्केत दिन्छ, तर यो दुःख उहाँले लेखनमा कहिल्यै देखाउनु भएन ।

स्रष्टालाई पढ्न पुस्तक नै हात पर्नुपर्छ भन्ने छैन । रमेश विकलको हकमा पनि यही लागू हुन्छ । मैले उहाँका सबै पुस्तक अझै पढ्न पाएको छैन । तर आलोकजीको सङ्गतमा मैले उहाँको जीवनलाई नजिकैबाट बुझ्न पाएँ । जम्मा डेढ वर्षको उमेरमा आमा गुमाएका काँठ क्षेत्रमा हजुरबुवाको काखमा हुर्केको विकललाई सायद अभिभावकको माया नपाएको पीडा हुँदो हो । यही कारण उहाँ बालबालिकाप्रति विशेष चासो राख्नुहुन्थ्यो । अरू साहित्य लेख्दै गर्दा बीचबीचमा बालसाहित्य लेख्नुको कारण पनि सायद यही थियो । चालिसेबाट ‘विकल’ उपनाम राख्नुको पछाडि पनि एक्लोपन, दुःखी जीवनको सङ्केत दिन्छ, तर यो दुःख उहाँले लेखनमा कहिल्यै देखाउनु भएन । दुई भागमा निस्किएको उहाँको आत्मकथा पढ्दा मात्र उहाँको अक्करे भीरजस्तो डरलाग्दो बाल्यकालको बोध पाठकलाई हुन्छ । नत्र उहाँ सधैँ जीवनलाई सकारात्मक रूपमा हेर्ने र आफ्नो जीवन आफूभन्दा मुनिकालाई समर्पण गर्ने खालको आभास हुन्छ ।

बाल्यकालको रमाइलो अनुभव गर्न नपाई उहाँ १३ वर्षको उमेरमा हजुरबुवाका लागि विवाह गर्नुपर्ने कारण थाहा पाउँदा म लामो समय छक्क परेको थिएँ । आफ्नो रुची चित्रकला र सङ्गीतमा हुँदाहुँदै पनि घरेलु वातावरणका कारण ती कुरालाई अन्तिम समयसम्म सम्झेको कुराले पनि मेरो मन भारी बनाउँछ । जुनबेला मलाई रमेश विकलका अप्ठ्यारा जीवनबारे सम्झना हुन्छ, जीवनलाई सकरात्मकरूपमा बाँच्ने प्रेरणा जागृत हुन्छ ।

मैले आजीवन भौतिक रूपमा रमेश विकललाई भेटिनँ । तर मृत्युको केही वर्षअघि आफ्नो नाति आलोकलाई लेख्नुभएको पत्र पढेर लामो समय भावुक भइरहेँ । खासमा आलोकजी हजुरबुबाका हरेक कुरा सेयर गर्नुहुन्थ्यो । तीमध्ये २०६१ साल असार ९ गते नातिका नाममा लेख्नुभएको पत्र मलाई पढ्न दिनुभयो । त्यो पत्र मात्र थिएन, एउटा गहन साहित्यिक अभिव्यक्ति थियो । पत्रमा नातिलाई सम्बोधन त थियो तर हरेक नाति पुस्तालाई गहन सबक सिकाएको थियो । पत्रमा उहाँले लेख्नुभएको छ— ‘म साहित्यकार त नियतिले बनेको हुँ । खासमा म कलाकार र सङ्गीतकार बन्न चाहन्थेँ तर सकिनँ । त्यो दुई छोराछोरीहरूबाट पूरा होस् भन्ने चाहन्थेँ । यही चाहनाले तिम्रो बुबा (विजय चालिसे) लाई कुची र रङ दिएँ, तर उनले पनि कलम नै समाते र आज एउटा परिचय बनाएका छन् । अब त्यो चाहना दोस्रो पुस्ता अर्थात् तिमीबाट पूरा होस् भन्न चाहन्छु । तिमीले ती सपनाहरू अवश्य नै पुरा गर्नेछौ…।’

विडम्बना के भने आलोकजीले पनि सङ्गीतमा होइन, कलममा नै रुची देखाउनुभयो । कलामा भएको अलिअलि रुची जापान प्रवेशसँगै बिट मार्नुभयो । आलोकजीलाई मैले पहिलोपल्ट देवकोटाको कार्यक्रममा कविकै रूपमा चिनेँ । कविबाहेक आजभोलि विभिन्न संस्मरणात्मक लेख, यात्रा–साहित्य लिएर उहाँ विभिन्न अनलाइन र छापा पत्रिकाहरूमा झुल्कनुहुन्छ ।

उक्त पत्रमा उहाँले लेख्नुभएको छ— ‘…हरेक पिताजी आफ्ना सपना छोराहरूबाट पूरा होस् भन्ने चाहन्छन्, छोराहरूले पूरा नगरे नातिहरूबाट त्यो काम होस् भन्ने चाहन्छन् । कारण छोरा र नातिहरू आफ्नै शरीरका नयाँ रूपहरू हुन्…।’
यो पत्र पढ्दै जाँदा मैले उहाँका असङ्ख्य पाठकहरू सम्झेँ । ती उहाँका छोरा वा नाति होइनन् तर उहाँले लेखेका कुरा पढेर अघि बढेका मानसपुत्रहरू हुन् । तीमध्ये सयौँ चित्रकार भए होलान् र सयौँ सङ्गीतकर्मी पनि भए होलान् । जसरी आज उहाँ मेरो लेख्न पढ्न सक्नुहुन्न, त्यसैगरी उहाँका सयौँ सङ्गीतकर्मी र कलाकार पाठकहरूलाई देख्न पाउनुहुन्न, तर ती सबै उहाँका मानसपुत्र हुन् । यो कुरा सम्झँदै गर्दा लाग्छ— एउटा लेखक आफू सङ्गीतकर्मी र कलाकार हुन नसके पनि उसले धेरै कलाकर्मी र सङ्गीतकर्मी जन्माएको हुन्छ । उसका हरेक सङ्गीत र कलामा कतै न कतै रमेश विकल छन् भन्ने लाग्छ ।

आज विकल हामीमाझ हुनुहुन्न, तर म अझै पनि आलोकजीमा विकलको छाया देख्ने गर्छु । यति शान्त, सुशिल र कहिले नरिसाउने आलोकजीको अनुहार पढेर विकलको अनुहार कल्पना गर्छु ।

कुनै दिन नेपाल आएको बखत उहाँसँग भेट हुन्छ भन्ने आशा थियो, तर अचानक उहाँको देहान्त भएको खबरले मर्माहत हुनुपर्यो । आलोकजीसँग सल्लाह गरेर यता हामीले १३ औँ दिनको तिथि पारेर श्रद्धान्जलीसभाको आयोजन गर्यौँ । यसै अन्तर्गत अनेसास केन्द्रीय कार्य समितिको मुखपत्र अन्तर्दृष्टिको अङ्क ३४ लाई ‘विकल विशेषाङ्क’ का रूपमा प्रकाशन गर्ने योजना बनायौँ । अनेसासले दुई वर्षको लागि मलाई अन्तर्दृष्टीको प्रधानसम्पादकमा चयन गरेको थियो । जसलाई आलोक स्वयंले पूर्ण रूपमा सहयोग गर्नुभयो । यही कारण रमेश विकल विशेषाङ्कमा हामीले प्रशिद्ध कलाकार एवं निबन्धकार मनोज मिश्र, गोविन्द वर्तमान, बुद्धिसागर, रोचक घिमिरे, नगेन्द्र न्यौपानेदेखि दुबसु क्षेत्रीसम्मलाई समेट्यौँ । त्योबेला साहित्यकार दुबसु क्षेत्री जापानस्थित नेपाली दुतावासमा उपनियोग प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँलाई नै अतिथि सम्पादक राखेर परिवारका सदस्यहरूको समेत संस्मरण राखेर अन्तर्दृष्टि प्रकाशन गरियो । अन्तर्दृष्टिको मुख्य आकर्षण विकलले आलोकलाई लेख्नुभएको त्यही पत्र रह्यो ।

आज विकल हामीमाझ हुनुहुन्न, तर म अझै पनि आलोकजीमा विकलको छाया देख्ने गर्छु । यति शान्त, सुशिल र कहिले नरिसाउने आलोकजीको अनुहार पढेर विकलको अनुहार कल्पना गर्छु । विकल सम्झेका बेला आलोकसँग बसेर आरुबारीका किस्सा सुनिरहन्छु । जब जब आरुबारीको कुरा निस्कन्छ, मलाई छिमेकीको झ्यालमा उभिएर अविरल इन्द्रावती हेरेको बाल्यकालका घटना ताजा भइरहन्छ । वास्तवमा पाठकका रूपमा मैले जे पाएँ, आलोकजीको मित्र भएको नाताले अझै धेरै कुरा पाएँ ।

विकलसँग जीवन बिताएका सयौँ हस्तीहरू अझै हामीमाझ हुनुहुन्छ । उहाँहरूका धेरै सस्मरणहरू आउन बाँकी छन् । हामी नाति पुस्ताले उहाँका जीवनका केही झल्को पाउन सफल भयौँ । आगामी पुस्तासँग अब हामीले लेखेका यस्तै संस्मरणहरू बाँकी रहनेछन् । त्यसैले यस्ता धेरै संस्मरणहरू बाहिर आउनुपर्छ । पुस्तक त केवल ती प्रेरणादायी जीवनका केही अंशहरू मात्र हुन् ।

(जापानवासी साहित्यकार प्रकाश पौडेल ‘माइला’ अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष हुनुहुन्छ ।)