आज घरमा पातहरूको घेराबन्दी छ
म आतंकित छु
पातहरूलाई लखेटिरहेछु
वल्लो कुनाबाट पल्लो कुनो
पल्लो कुनाबाट वल्लो कुनो
उच्छ्रिङ्खल पातहरू दौडिरहेछन्
युद्ध पातहरूसँगको हो, थाहा छ
तर युद्ध युद्धै हुँदो रहेछ
चाहे पातसँगको किन नहोस्
मुस्किलले पक्डिएका पातहरूलाई
दूषित हावाको झोँकाले भडकाउँछ
त्यो हावा पातहरुलाई
भडकाउन पर्याप्त छ
अनि फेरि मेरो युद्ध हार्छ
हार्नेलाई जस्तै पीडा रहेछ युद्ध
जित्नेलाई पनि
हारलाई जितमा पुर्याउनेको
संघर्ष जस्तै
हार्नेको पनि उस्तै रहेछ संघर्ष
चाहे त्यो युद्ध पातहरूसँग किन नहोस्
वा त्यो युद्ध दूषित हावासँग होस्
युद्ध सकिएको छैन
फेरि हुने छ ती पातहरुको जुलुस
मेरो घरवरिपरि
दूषित हावाहरुको भड्काइमा
धावा बोल्ने छन् ती पातहरुले
फेरि अर्को युद्धको तयारी
गर्नु पर्ने छ मैले
तर एउटा पाठ सिकाएर गए
ती निम्छरिला पातहरु
युद्ध कहिलै कमजोर हुँदैन
चाहे त्यो पातहरूसँगको किन नहोस्…………………।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

झुर मुभी हेर्छु र कल्पना गर्छु, यो भन्दा पनि वाहियात मुभी बनाउन के गर्नु पर्ला – महेश्वर पन्त
