गाउँको पल्लोछेउमा स्कूल थियो । हर्केको घरबाट स्कूल पुग्न एक घण्टा जस्तो लाग्थ्यो । हर्केका बाआमासहित ऊ र दिदीहरु गाउँको पल्लोछेउ बस्ने गर्थे, जंगलको छेउमा । सुनसान एक्लो घर, विष्टहरुको घरभन्दा पर, धेरै पर ।

जंगलको छेउमा चौर थियो सानो, बुट्यानहरु, झाडी र ठुटाठुटी रुखहरु थिए । तिनै ठुटाठुटी र बुट्यानहरु फाँडेर सानो छाप्रो बनाएका थिए हर्केका बाले । त्यही छाप्रोमा जन्मेर हुर्केका थिए हर्के र उसका तीन दिदीहरु ।

हर्केका बा र आमा लेकबाट त्यहाँ बसाइँ सरी आइपुगेका थिए । लेकको बस्ती, घरहरु कान्लामुनि र कान्लामाथि थिए उनीहरुको गाउँ, अर्थात् कामी गाउँ । एक वर्षको साउन महिनामा सात दिनसम्म घनघोर पानी वर्षियो । पानीको मुलहरु फुटे गाउँभरी । माटो गलेर डिस्काहरु खसे, कान्लाहरु भाँसिए । रातभरिको वर्षात्पछि विहान उठ्दा कामी गाउँ पूरै बगायो भन्ने समाचार रेडियोमा पनि बज्यो । गाउँ सल्यातसुलुत बगेर खोल्सामा मिसियो । पहिरो मध्यरातको अँध्यारोमा गएको अनुमान थियो । अधिकांशको घर बगायो, गोठ बगायो र वस्तुभाउ त केही पनि बाँकी रहेनन् । बूढाबूढी, रोगी बिरामी कोही उम्कन सकेनन्, घरसँगै उनीहरु पनि माटोमा लडीबुडी खेल्दै खोल्सामा पुगे । खोल्सामा बगेको खहरे खोलाले कता पुर्यायो कता, अत्तोपत्तो केही पाएनन् । केही बलियाबांगाहरु घरबाट भागे र बग्दै गरेको पहिरो काटेर पल्लो गाउँ पुगे । पहिरोले गाउँ सखाप बनायो । कसैकसैले काखको बच्चा बोकेर भाग्न सफल भए पनि कतिको ज्यान गयो, केही लेखाजोखा भएन ।

पदम बिश्वकर्मा, अमेरिका

लेकको घर पहिरोले बगाएपछि हर्केकी आमाले आफ्नी छोरी काखमा च्यापेर भाग्न सफल भएकी थिई । हर्केका बाले हजुरबा हजुरआमा बचाउन सकेनन् । हेर्दाहेर्दै निष्ठुरी पहिरोले बाआमालाई बगाएको थियो । चिच्याउँदा चिच्याउँदै बाआमा तल पुगिसकेका थिए । घरको छानो, भित्ता, खाँबा, हाँडी–घैंटाहरु झिमिक्क गर्न नपाउँदै गल्यड्याङबल्यड्याङ गर्दै निमेसभरमै खोल्साको खहरेमा मिसिए ।

भागेकाहरु कोही वल्लो गाउँ पुगेका थिए, कोही पल्ला गाउँ पुगेका थिए । गरीखाने पाखोबारी बगायो, पकाएर खाने हाँडाभाँडा बगाए, बूढाबूढी, बिरामी, अशक्त, केटाकेटी, गाइभैंसी, भेडाबाख्रा, के चाहिँ बगाएन पहिरोले ? पहिरोले गाउँ सखाप पारेपछिको भोलिपल्ट अर्को दिन नमीठा सपनाहरु बोकेर उदायो । विहान गाउँ हेर्दा केही थिएन । थियो केवल माटो र ढुंगाहरु, र थियो उराठलाग्दो पहाड ।

बूढेसकालका बाआमा, एक टुक्रा पाखोबारी, गाइभैंसी सबै बगाएपछि हर्केका बालाई उराठ चल्यो । खान केही थिएन, लगाएका एकसरो कपडाबाहेक लाउन पनि अरु केही थिएन । ओढ्ने ओछ्याउने केही थिएन । काखकी छोरी र श्रीमतीलाई च्याप्प समाएर खस्दै गरेको पहिरो काटेका थिए हर्केका बाले । बाआमा, घरगोठ, गाउँ सबै बगाएको यादले खुट्टाहरु अझै लगलग काँमिरहेका थिए हर्के । बाआमाका तस्बिरहरु आँखा परिपरि झल्किरहेका थिए । कसैको टौवामुनि ओत लागेको थियो ऊ । बाँकी रात मनभरी पहिरोले बगाएका बाआमाहरुको सम्झनामा बित्यो । सुत्न सकेन रातभर । आखाँभरी बाआमा र पहिरो बगिरह्यो, मनभरी पहिरो खसिरह्यो ।

यिनै चिन्ता र पीडाहरुले हर्केलाई त्यस ठाउँमा बस्न मन लागेन फेरि । गरीखाने बारी, गाइभैंसी, बस्ने ओत सबै बगाएको थियो पहिरोले । न पकाउने भाँडा थिए न त पकाउने खानेकुरा नै थिए बाँकी । आँखा अगाडि बगिरहेका बाआमालाई देखेर ऊ सारै दुखित थियो । त्यसैले उसले त्यस गाउँमा नबस्ने निर्णय गर्यो । विहानको पहेँला घामसँगै ऊ पनि ओत लागेको ठाउँबाट निस्कियो । हर्केले आफ्नी श्रीमतीलाई भन्यो– हिँड् नानीका आमा कतै जाऊँ । यो बैरागलाग्दो ठाउँमा नबसौँ ।

लान पनि पुरै गाउँ सिनित्तै लगेको थियो । पहाडको फेदमा बग्ने खहरे खोलो भवसागररुपमा वार कि पार भएर बगेको थियो ।

‘गाउँमा फर्केर के गर्ने ? बस्ने ओत छैन, खानेकुराहरु छैनन्, ओढ्ने लुगा छैन, पकाउने भाँडाकुँडा छैनन्, गरिखाने केही छैन । कटेरो हाल्ने ठाउँ पनि त छैन । दुःखमा साथ दिने बिष्टहरु पनि कोही छैनन् यस ठाउँमा । सबै बिष्टहरु हुनसम्मका छुच्चा छन्, कसले देला र हामीलाई बस्ने बास यो पापी ठाउँमा ? सबै आफूलाई काम चाहिए काममा फोकडमा दलाउने हुन् अशतीहरु ।’ यी सबै सम्झेर हर्केकी श्रीमतीलाई पनि श्रीमान्को कुरा सही लाग्यो ।

फर्केर पनि के गर्नु त्यो खुरिखण्डे पहिरोमा । न कटेरो बनाएर बस्न मिल्ने ठाउँ छ, न गरिखाने केही नै बाँकी रह्यो । त्यो ठाउँ उस्तै पनि लाग्दैनथ्यो, हेर्दै उराठलाग्दो । लान पनि पुरै गाउँ सिनित्तै लगेको थियो । पहाडको फेदमा बग्ने खहरे खोलो भवसागररुपमा वार कि पार भएर बगेको थियो । खहरेले वरिपरिका ढिस्काढास्की, रुख बुट्यान पनि केही बाँकी राखेको थिएन । खोलाको छेउछाउका घर त केही बाँकी थिएनन् ।

कहाँ जाने, के गर्ने ? सोचिरह्यो हर्केले । उसको मन आँधीले भरिपूर्ण थियो खहरेमा बगेको लेदो पानीजस्तै । उसको मनमा लहड चल्यो– जाऊँ, बाटो लागेपछि केही न केही उपाय लाग्ला नि ।

विहानीे घामका पाइला पहिरोमा टिलिक्क टल्कियो । अब बाटो लाग्नु पर्छ भन्ने आँट गर्यो हर्केले । हर्केकी श्रीमतीले काखकी छोरी च्यापी र लोग्ने स्वास्नी बाटो लागे ।

विहानभर हिँडेपछि मूल बाटोमा मिसियो उनीहरुको यात्रा । भोक, शोक र थकाइले लखतरान पारेको थियो हर्केका लोग्ने स्वास्नीलाई । बाटाको छेउको ढुङ्गामा टुसुक्क बसे दुवै । उसकी श्रीमतीले लामो सुस्केर हाली । सुस्केरामा थकाइको आवाज मात्र थिएन, भोकको बास्ना पनि सँगै थियो । खानको लागि केही पनि थिएन साथमा । न त पैसा नै थियो । हर्केले खल्ती छामछुम पार्यो । केही रुपियाँ पसिनाले लचप्प भिजेर टाँसिएका थिए । उसले ती रुपियाँहरु निकाल्यो र खोलखाल गरेर ढुङ्गामा सुकायो । हावाले उडाउने डरले बाटोको छेउछाउमा भएका ससाना ढुङ्गाहरु टिप्यो र त्यसले पैसाहरु थिच्यो । केही दश, पाँच र बीस रुपियाँका नोटहरु थिए त्यसमा ।

पर रहेको पसलमा गयो र एकमाना चिउरा किनेर ल्यायो, पाँच रुपियाँको । लोग्नेस्वास्नीले मजाले चिउरा चपाए र पेटमा पुगेको चिउरा भिजाउन धारामा गएर कलकल पानी पिए । चिउराले पेट फुल्दै गयो । विहानभर भोकाएको पेटले चिउरा र पानी पाएपछि टन्न भयो पेट पनि । हर्केले बूढीलाई हिँड्न भन्दै आफू पनि उठ्यो । जाने कहाँ हो, पुग्ने कता हो ? दुवैलाई केही थाहा थिएन । विनागन्तव्यको यात्रामा थिए उनीहरु, जीवनको गन्तव्यहीन यात्रा । बाटोमा अरु पनि मानिसहरु पैदल हिँड्दै थिए । तर उनीहरु भने आफ्नै गन्तव्यतर्फ मोडिदै थिए ।

जति जति साँझ पर्दै गयो, हर्के आत्तिँदै गयो । त्यस रातको ओत कहाँ लगाउने ? साउनको महिना, आकाश कालो नीलो हुँदै गयो साँझपख । आकाशको कालोमैलोसँगै उसको मन पनि बादलिँदै गयोे । पानी पर्यो भने तीन टाउकाहरु ओत लगाउने ठाउँ थिएन । उसका आँखा घरि घरि आकाशमा मडारिँदै गरेका कालो बादलमा घुमिरहेका हुन्थ्ये । आकाशमा गड्याङगुडुङ गर्नासाथ उसको मुटु हल्लिन्थ्यो । उसको एक मनले सोच्यो– ‘गाउँमै बसेको भए कोही न कोही दयालु बिष्टले त दुई चार दिनको लागि ओत त दिने थिए होला ।’ फेरि अर्को मनले साच्यो, ‘के दिन्थे ती शोषकहरुले ।

फोकडमा काम लगाउन पाए भने मात्रै लगाउने हुन् । वर्षभरि हली बन्यो, पाँच पाथी धान, वर्षभरि कमारा कमारी भएर काम गर्यो, दुई पाथी मकै । चुस्नुसम्म चुसेका थिए तिनीहरुले । वर्षभरी हली भएँ फाटेको कमिजमा । वर्षभरी दुलही कमारी भई त्यही थोत्रो चोलोमा पाँच ठाँउ टाल्दै । कुनै दिन सोचेनन्, उसको चोलो फाटेछ भनेर । बाआमाको जिन्दगी पनि यसैगरी बित्यो ।’

विगतहरु सम्झेर कहाली लाग्यो उसलाई । त्यसैले पनि गाउँ फर्कने मन उसलाई पटक्कै भएन ।

लुखुर लुखुर अनन्त यात्रामा हिँडेका हर्केका लोग्ने स्वास्नी थकाइले लखतरान भए । बाटाको छेउमा चौतारो भेटियो । त्यही चौतारोमा टुसुक्क बस्न पुगे उनीहरु । पानी परेन भने त ही चौतारोमा आजको रात बिताउनु पर्ला भन्ने सोच्यो हर्केले । उसले लामो सुस्केरा हाल्यो । सुस्केरामा थकाइ र दुःखका गन्ध समिश्रित थिए । हर्केसँगै उसकी श्रीमती पनि टुसुक्क बसिन् चौतारीको पेटीमा ।

साँझ पर्दै गयो । आकाश अरु कालो रंगमा बदलिँदै गयो । पानी चुहिन थाल्यो । उनीहरुसँग पानी छेक्ने छानो थिएन, छाता स्याखु केही थिएन । लगाएका एकसरो कपडाहरु निथ्रुक्क भिज्दै गए । काखकी छोरीलाई ओतदिने पनि केही थिएन उनीहरुसँग । हातका अञ्जुलीले पानीको दर्कन छेक्न सकेन । उनीहरु रुखतिर टाँसिदै गए । एकछिनपछि पानी कम हुँदै गयो । आकाश खुल्दै गयो । उनीहरुको बासको ठेगान थिएन अझै ।

टाढा गाउँमा मधुरो बत्ती बलेको देखियो । बास पाउने आशमा उनीहरु त्यही बत्तीतिर लम्किए । केहीबेरपछि उनीहरु लथ्रयाकलुथ्रक परेको शरीरसहित बत्ती बलेको घरमा पुगे । घरवाला मालिक पिँडीमा हुक्का तान्दै थिए । नयाँ मान्छेहरु देखेर ‘को हौ ? कहाँबाट आयौ ?’ भनेर सोधे उनले । हर्केले आफ्नो नाम, थर र कारण बतायो । हर्केको विवरण थाहा पाएपछि उनले सहयोगका लागि खासै रुचि देखाएनन् । मालिकले सहानुभूति त प्रकट गरे तर उनले आफूकहाँ बस्ने ठाउँ नभएको बताए ।

गाउँको पल्लो छेउमा वीरबहादुरको घर भएको र उनले बास दिनसक्ने बताए । जाने बाटो पनि बताइदिए । हर्केले ‘हस हजुर’ भन्यो । उसँग धन्यवादका लागि अरु शब्दहरु पनि थिएनन् । अँधेरोमा टर्चलाइटको ज्योति परसम्म देखाइदिए । हर्केले आफ्नो दुःख आफैँसँग राख्यो र मालिकले देखाएको बाटोतिर लुरुलुरु हिँडिरह्यो । गरिबीमाथि कहालिलाग्दो गरिबी थपिएको थियो उसको जीवनमा ।

गुन्द्रीमा उनीहरुको रात बित्यो आकाशको जुन र ताराहरु गन्दै । बाँकी जीवन बिसाउने ठाउँको चक्करमा रातभर सोचमग्न भयो ।

वीरबहादुरको घर सोध्दै हर्केहरु बल्लतल्ल छामछाम र छुमछुम गर्दै पुगे । वीरबहादुरलाई आफ्नो दुःखको कथा पोख्यो हर्केले । वीरबहादुरले आफ्नो परिचय दिए– बीरबहादुर नेपाली ।

रातको करिब दश बज्न लागिसकेको थियो । वीरबहादुरको परिवार खाना खाइवरि सुत्ने तरखरमा थिए । ‘आफैँ त महादेव, कसले देला वर’ भनेजस्तै भयो वीरबहादुरलाई । उनीहरुको घरमा पनि खाना खाने त्यस्तो केही थिएन, बीरबहादुरकी, श्रीमतीले अलौटो मकै भुटिन् र उनीहरुले मीठो मानेर खाए । थकाइ र भोकमा मकै खुब मीठो लाग्यो हर्केका लोग्ने स्वास्नीलाई । सुत्नको लागि पिँढी देखाइदिए वीरबहादुरले । गुन्द्रीमा उनीहरुको रात बित्यो आकाशको जुन र ताराहरु गन्दै । बाँकी जीवन बिसाउने ठाउँको चक्करमा रातभर सोचमग्न भयो । झरी रोकिएको थिएन । रातभर परेको झरीको पानी छानाबाट चुहिएर तप तप उनीहरुको शरीरमा चुहिए र लगाएका कपडाहरु सबै निथ्रुक्क भिजे रातभरमा । काखकी छोरी सुत्न नसकेर रातभर रोइरही ।

हर्केको जीवनमा अर्को दिन उदायो । खहरेले खुरिखण्ड बनाएको थियो बगर । खहरेले रुख, काठ, मरेका जनावर, घरका पाली–खाँबो, भाँडाकुंडा, डोकाडालो आदि बगरभरी छाडेर गएको थियो । खहरेहरु यस्तै त हुन् नि, स्वार्थी । चाहिँदा खोलाभरी भैदिने नचाहिँदा बगरलाई सुकाएर जाने । झरीपछिको आकाश खुल्लमखुल्ला थियो तर हर्के र उसकी श्रीमतीको दिलभित्र भने अँधंरै थियो, पहिरोले खुरिखण्डे बनाएका निर्दोष दिलहरु । गन्तव्य अझै टुङ्गिएको थिएन । जिन्दगीले कहाँ पुगेर भारी बिसाउने हो त्यो पनि थाहा थिएन उनीहरुलाई । खहरेले बगरमा छाडी गएका डोकोडालोजस्तै हर्केका बाआमाले पनि छाडी गएका थिए ।

हर्केले वीरबहादुरसँग सहयोगको अपेक्षा राख्यो तर त्यो अपेक्षा व्यर्थ थियो । वीरबहादुरको जीवन पनि उस्तै थियो । ऊसँग घामपानीमा मुन्टो लुकाउने छाप्रो थियो हर्केको भन्दा बढी । उसले भन्यो, ‘खै यता त त्यस्तो केही छैन भाइ । शोषकहरु यहाँ पनि उस्तै हुन् र उनीहरुको स्वाभाव सबै ठाउँमा उस्तै हुन्छ । हाम्रो पनि गरिखाने केही छैन । यिनै मुखियाहरुको हलीगोठालो बनेर जीविका गर्नुबाहेक हाम्रो पनि गुजाराको अर्को बाटो केही छैन । हामी पनि अन्त कतै जाने सोचमा छौँ । राम्रो ठाउँ भेटियो भने हामी पनि यो थातथलो छाड्ने हो । बरु गरिखाने त्यस्तो कुनै ठाउँ भेटियो भने हामीलाई पनि खबर गर न है ? के छ र यहाँ बस्ने बाटो ? सम्पत्तिको नाममा यै एउटा छाप्रो हो हाम्रो पनि । यो पनि कैले ढल्छ थाहा छैन । जिन्दगी साहुहरुको काम गरेरै बित्यो भाइ । एउटा गरो थियो त्यो पनि बन्दकीमा छ, तिर्न नसकेर खान लाइसके । निखन्ने उपाय केही पनि छैन । हर्केसँग केही जवाफ थिएन । उसले खुइया गर्यो र वीरबहादुरको दुःखमा दुःख थप्यो ।’

हर्केले ‘लौ त दाइ, बासको लागि धन्यवाद !’ भन्यो र बाटो लाग्यो । छोरीका आँखा राता थिए । विहानपख पानी पर्न रोकिएपछि मात्र ऊ भुसुक्क निदाउन सकेकी थिई ।

हर्केकी श्रीमतीले छोरी च्यापी र हर्केको पछि पछि लागी । जाने कहाँ हो ? दुवैलाई थाहा थिएन । अनन्त यात्रामा हिँडिरहे दिनभर । जीउका लुगा जीउमै सुक्दै गए ।

परोपकारी, गुणी व्यक्तिको रहेछ भने त्यहीँ बस्न पनि दिन सक्छन् । नजिकै गाउँ थियो, बीचमा पसल पनि ।

अघिल्लो दिनजस्तै जब जब साँझ पर्दै आयो, तब तब हर्केको मनमा हुरी चल्न थाल्यो । बासको टुंगो थिएन, जीवन बिसाउने ठाउँको टुंगो पनि अझै थिएन । पर चौर देखियो, फराकिलो । चौरमा एउटा कटेरो पनि थियो । रात त्यहीँ बिताउने सोच बनायो उसले । मनमा अनेक डर त थियो नै । कोही सोध्न आए भने केही दिनको लागि हो भनौंला नि भन्ने लाग्यो उसलाई । आखिर कटेरो पनि खाली नै थियो । परोपकारी, गुणी व्यक्तिको रहेछ भने त्यहीँ बस्न पनि दिन सक्छन् । नजिकै गाउँ थियो, बीचमा पसल पनि । उसले पसलबाट केही खानेकुरा किनेर लग्यो र त्यस रात त्यही कटेरामा बिताए उनीहरुले । दुई दिनदेखिको हिँडाइले लखतरान थिए लोग्ने स्वास्नी । कहाँ जाने, कति हिँड्ने ? उसले सोच्यो– ‘यही कटेरोमा बस्नुपर्ला अब । गाउँघरतिर खेतीकिसान केही काम कसो नपाइएला ? यी भगवान् भन्ने पनि सधैँ अन्धा त नहोलान् नि ! कुनै न कुनै दिन त यी अभागीमाथि पनि दया गर्लान् नि !’ भन्ने लाग्यो उसको सोझो मनमा ।
भोलिपल्ट चौरमा वस्तु चराउन गोठालाहरु आए । उनीहरुले सोधे, ‘को हौ ? कहाँबाट आएका हौ ?’

हर्केले आफ्नो इतिवृतान्त बतायो । तिनीहरुले कटेराको साहुलाई चिनाए । साहुसँग आफ्नो सबै दुःख बिसायो हर्केले । आफ्नो बारीमा काम गर्ने सर्तमा साहुले स्वीकृति दिए र गरिखानको लागि अलिकति बारी पनि दिए ।

हर्के बस्नको लागि कटेरो र गरिखाने अलिकति बारी पनि पाएकोले खुशीले गद्गद् भयो र बाँकी जीवन त्यही कटेरोमा बिताउने निर्णय गर्यो ।