बर्माको राजधानी सहर रंगुन पुगेको दिनमा नै म नेपालीहरूको मन्दिर “राम जानकी मन्दिर” पुगेँ । न मलाई रंगुनको भौगोलिकता थाहा छ, न हावापानी नै । अझ बर्मा पुगौंला र त्यहाँको राम जानकी मन्दिरको दर्शन गरौंला भन्ने कहिल्यै सोचेको थिइनँ । तर एक्कासि शंकरजीको गाडी आएपछि मलाई त्यहाँ जान कर लाग्यो । केहीबेर अगाडि मात्र शंकरजीले मलाई फोनबाट जानकारी गराउनुभएको थियो, “न्यौपानेजी ! पण्डितहरू भोलि नै मोगोक (बर्माको अर्को सहर) जानुपर्ने रहेछ । आज रंगुनको राम जानकी मन्दिरमा उहाँहरूको प्रवचन छ । कार्यक्रम लामो हुँदैन । हिँड्नुहोस् ! जाऔँ । अरू नेपाली मित्रहरूसँग पनि भेट हुन्छ । तपाईं तयार भएर बस्नुहोस् म आउँदै छु । अब त तपाईंको थकाई पनि मर्यो होला ।”

“हुन्छ ! आउनुहोस् ! जाऔँ ।” भन्दै म उहाँको प्रस्ताव स्वीकार गर्छु अनि हतार–हतार गर्दै तयार हुन्छु । केहीबेरपछि उहाँको गाडी म बसेको होटेल– “एभरेष्ट होटल” को अगाडि रोकिन्छ ।

गाडीमा पहिलादेखि नै शंकरजीसमेत पाँच जना यात्री छन् । दुई जना सामान्य पोशाकमा अनि तीन जना पहेँलो–गेरु रङ्गको वस्तुधारी पण्डितहरू । पहेँलो रङ्गको धोती–कुर्ता अनि पहेँलै रङ्गको पछ्यौरा । निकै खाइलाग्दो जिउडाल, अग्लो बनोट, सलक्क मिलाएर कोरेको लामो कपाल अनि निधारमा रातो टिको ।

म गाडीको ढोका खोलेको मात्र हुन्छु– एकैचोटि उनीहरूको नजर मैमाथि पर्छ । म झस्याङ्ग हुन्छु । मनमनै सोच्छु– कहाँबाट आए होलान् यो दलबल ! यिनीहरू कहाँ जाने होला ! तर पनि म त्यही हुलमा मिसिन्छु । तीन जनाको सीटमा मसमेत चार जना बस्नलाई साँघुरो हुन्छ तर पनि कोचिन्छु । गाडी अगाडि बढ्छ ।

नगेन्द्र न्यौपाने

शंकरजीलाई पहिल्यै थाहा छ– यो अप्रत्यासित प्रस्ताव मैले करबलमा स्वीकार गरेको हुँ । उहाँ उही पुरानो कुरो दोहोर्याउँदै बोल्नुहुन्छ, “उहाँ (पण्डितजीहरू) भोलि नै मोगोक जाने कार्यक्रम भएकोले हतार गरेको । कि  तपाईं पनि भोलि उहाँहरूसँग मोगोक जानुहुन्छ ? मोगोक जाने कुरा गर्नुहुन्थ्यो । जाने भए म व्यवस्था मिलाउँछु ।”

म उत्तर दिन्छु, “मलाई रंगुनको भ्रमण नै पुगेको छैन । केही दिनपछि जानुपर्ला ।”

हाम्रो हुलभुलको यात्रा अगाडि बढिरहेको छ । रंगुन सहरको मध्यकालीन गर्मी, गाडीभित्रको उकुसमुकुस अनि गाडीको कमजोर एयर कण्डिसन । गाडीलाई चिसो हावा पुर्याउन हम्मे–हम्मे परेको छ । अलि अलि भाषाले पनि, अलि अलि राष्ट्रियताले पनि । हामी चुपचाप छौं । हामीहरू निर्वादरूपमा गफ गर्न सकेका छैनौँ । पहेँलो वस्त्रधारीमध्ये दुई जना भारतीय (बनारस) नागरिक छन् भने अर्का नेपाली मूलका बर्मेली पण्डित । पण्डितहरू एकआपसमा गुरु–चेलाको सम्बन्धले पनि बोली निर्धक्क फुरेको छैन ।

केहीबेरपछि हाम्रो गाडी नेपालीहरूको मन्दिर “राम जानकी मन्दिरमा” पुग्छ । जहाँ पहिलादेखि नै हामीहरूलाई पर्खिरहेका नेपाली बर्मेलीको जमात छ । तर कार्यक्रम लामो हुँदैन । एक जना पण्डितको प्रवचनपछि कार्यक्रम सकिन्छ । साथै प्रवचनपछि सामान्य भेटघाट र परिचय हुन्छ तर त्यो पनि त्यति लामो हुँदैन ।

हाम्रो यात्रा पुनः फर्किन्छ– जसरी जुन अवस्थामा हामी गएका थियौँ त्यसरी नै त्यही सडक हुँदै आउँदै छौँ । उही कोचाकोच, उही उकुसमुकुस । तर संयोग नै यस्तो पर्न गएछ, केही दिन अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बर्मा आउनु र बहादुर शाह जफरको समाधिको अवलोकन गर्नु, अहिले हामीहरू त्यही समाधिको अगाडि पुग्नु । पण्डितजीहरूको मुखबाट वाक्य फुत्त बाहिर आउँछ,
“शंकरजी ! प्रधानमन्त्री मोदीले भ्रमण गरेको समाधि यही होइन ?”

उहाँलाई चाख नहुन पनि सक्छ तर पण्डितजीहरूको इच्छा मार्न चाहनु हुन्न र आफ्नो गाडी सडकको किनारमा राख्नुहुन्छ । हामीहरू सबै गाडीबाट बाहिर निस्किन्छौँ ।

“हो ! हो !” शंकरजीबाट हतारमा नै उत्तर आउँछ ।

“हामी पनि हेरेर जाऊ न ! कस्तो रहेछ ! नरेन्द्र मोदीले के देखेर भ्रमण गरेका रहेछन् ।”

यो यात्रामा शंकरजी अलि हतारमा नै हुनुहुन्छ । एकातिर ठाउँठाउँमा हामीहरूलाई पुर्याउँदै हिँड्नुपर्ने, अर्कोतिर ढल्किसकेको दिन । अझ आफू सधैँ यही सडक हुँदै दैनिक चलेको गुजरा ! उहाँलाई चाख नहुन पनि सक्छ तर पण्डितजीहरूको इच्छा मार्न चाहनु हुन्न र आफ्नो गाडी सडकको किनारमा राख्नुहुन्छ । हामीहरू सबै गाडीबाट बाहिर निस्किन्छौँ । भर्खर हिन्दु मन्दिरबाट फर्केका हामीहरू एकाएक मुसलमानको मस्जिदभित्र पस्छौँ । मूलढोकामा लेखिएको छ, “भारतका सम्राट बहादुर शाह जफर (१८३७–१८५७) को समाधिस्थल ।”

त्योबेलासम्म मचाहिँ अन्योलमा नै छु । को हुन् बहादुर शाह, किन गरे मोदीले यो समाधिको भ्रमण अनि हामीहरू किन भित्र पस्दै छौँ ? मेरो मानसिकता जति आन्दोलित छ त्योभन्दा बढी आँगनमा उभिएका इमाम (मुसलमानका धर्मगुरु) लाई परिरहेको छ । सेतो मुसलमान टोपी लगाएका अनि सेतै दाह्री भएका इमाम हाम्रो अगाडि देखा पर्छन् । अनि अनौठो मान्दै गहिरो नजरले हेर्छन् । उनको दिमागमा अनेकौँ प्रश्नहरू छन्– किन आए यी हिन्दू पण्डित मस्जिदमा ? के काम छ यिनीहरूको ? पहेँलो वस्त्रधारी हिन्दु पण्डितहरू मुसलमानको मस्जिदमा भीड लाग्नु अनौठो मात्र नभई रमाइलो छ । त्यसैले उनी धेरैबेर नै अकमकिन्छन् । टुलुटुलु हेरेर बस्छन् ।

धर्मको नागरिकता हुँदैन भने धर्मको पोसाक पनि । साथै धर्मको भाषा पनि हुँदैन । सुरुमा अनौठो मानेर अलमलिएका इमाम केहीबेरमा नै जागरिलो देखिन्छन् र आफ्नो परिचय दिन्छन् अनि समाधिस्थलको अवलोकन गराउन सुरु गर्छन् । उनले बोलेको भाषा हामीहरू सबैले प्रष्टसँग बुझेका छौँ । हामीहरूलाई उर्दु बुझ्न कतै कठिन छैन ।

हाम्रो भ्रमण समाधिस्थलको भुइँतलाबाट सुरु हुन्छ । भुइँतला जमिनभन्दा तलको भागमा छ, त्यसैले अत्यासलाग्दो । चौबीसै घण्टा बत्ती बाल्नुपर्ने अँध्यारो, झ्यालढोकाविहीन । एउटा सफा सुन्दर अति आकर्षक खाट (समाधि) लाई संकेत गर्दै इमाम बोल्छन्, “यो हो सम्राट बहादुर शाहको समाधि । उनको शव यहीको जमिनमा गाडिएको थियो ।”

त्यो समाधिभित्र के छ, कस्तो छ ? म केही पनि देख्दिनँ । केवल देख्छु– रातो रङ्गीन कपडाले ढाकिएको बिछ्यौना । त्यो बिछ्यौना फूलको पत्रैपत्रले रङ्गिएको छ ।

हामीहरूबाट केही पनि प्रतिक्रिया आउँदैन । हामीहरू उनले बोलेका कुरा सुन्छौँ अनि उनको अनुसार उनैको पछि–पछि लाग्दै समाधिको परिक्रमा गर्छौं । उनले फेरि हामीहरूलाई माथिल्लो कोठामा लग्छन्, जहाँ तीनवटा समाधि लहरै राखिएको छ । ती समाधि पनि रातो रङ्गीन कपडाले छोपिएको छ भने राता–पहेँला फूलका पत्रले रङ्गिएका छन् । झकिझकाउ छन् । ती समाधिलाई संकेत गर्दै इमाम बोल्छन्, “यो समाधि महारानी जीनात महल शाहको हो । अर्कोचाहिँ सम्राट बहादुर शाहकी नातिनी रौनक जमानी वेगमको । सम्राट बहादुर शाहलाई भारतको दिल्लीबाट ट्रेनमा राखेर अंग्रेजहरूले बर्मा ल्याएका थिए ।”

उनको जन्म भारतको दिल्ली दरबारमा सन् १७७२ मा भएको थियो । जुनबेला भारतमा अंग्रेजले तहल्का मच्चाउँदै थिए । दिल्ली दरबार चारैतिरबाट घेरिँदै थियो ।

उनी हामीलाई सामान्य जानकारी दिँदै अगाडि बढिरहेका हुन्छन् भने हामीहरू उनको पछि पछि लाग्दै सुनिरहेका हुन्छौँ । तर बहादुर शाहको सामान्य जानकारीमा मात्र यो समाधि सीमित छैन । सामान्य अवस्थामा बहादुर शाह बर्मा पुगेका छैनन् । त्योभित्र अनेकौँ पीडा, यातना तथा दुःख लुकेका छन् । अत्याचार छ । भित्तामा टाँसिएका बहादुर शाहको जीवनी र फोटोले पनि दर्शाइरहेको छ बहादुर शाह जफर भारतका मुगल साम्राज्यका अन्तिम राजा हुन् । उनको जन्म भारतको दिल्ली दरबारमा सन् १७७२ मा भएको थियो । जुनबेला भारतमा अंग्रेजले तहल्का मच्चाउँदै थिए । दिल्ली दरबार चारैतिरबाट घेरिँदै थियो । दिल्ली सहरमा मात्र सीमित रहेको भारत देशको राजगद्दीमा उनी १८३७ बसे तर अंग्रेजको आक्रमणसँग उनको जोड चलेन । अन्त्यमा १८५७ मा उनी राज्यच्यूत भए । उनले आफ्नो राष्ट्र, श्रीपेच, श्रीसम्पत्ति मात्र गुमाएनन्, उनलाई देशद्रोहको मुद्दा लगाइयो । अंग्रेजी सैनिकलाई मारेको र राष्ट्रको सम्पत्ति हिनामिना गरेको आरोपमा सर्वश्वहरण भयो । उनी आफ्नो परिवारबाट समेत एक्लिन पुगे केवल एउटी रानी र नातिनीको साथ लागेर बर्मा निर्वासित हुनुपर्यो । जनतालाई पत्तै नदिई अंग्रेजीहरूले उनलाई रेलमा हालेर रंगुन पठाइदिए र रंगुन सहरको एउटा सानो घरमा थुनिदिए । जेलमा पनि उनको दिनचर्या सामान्य रूपमा बितेन । उनले प्रत्येक दिन अंग्रेज सिपाहीलाई सलाम गर्नुपथ्र्यो । यदि उनले सलाम गर्न बिर्सिए भने उनका दाह्रीका रौं उखेलिन्थे ।

यस्तै मानसिक यातना र शारीरिक पीडा सहँदासहँदै उनको मृत्यु सन् १८६२ मा भयो तर कसैलाई थाहा दिएनन् बरु हतार–हतार गर्दै त्यही घरको आडमा उनको शव गाडियो । उनी सदाको लागि हराए तर सन् १९९१ को सुरुतिर उनको चिहानको खोजी हुन थाल्यो ।

खोजतलासको क्रममा बन्दी बनाइएको त्यही घरको छेउमा माटोको थुप्रोमा राजा बहादुर शाहको अस्थिपञ्जर भेटियो । हाडखोड देखापरे । अनि त्यहीबेला त्यहाँ विशाल समाधिस्थल र मस्जिद बन्यो ।

बहादुर शाहको समाधिको अवलोकन गरेपछि हामीहरू बाहिर निस्कन लागेका हुन्छौँ तर त्यहीबेला इमाम केही उत्सुक भाव देखाउँदै हाम्रो अगाडि आएर बोल्छन्, “म तपाईंहरूलाइ नमाज पढ्ने हलको पनि अवलोकन गराउँछु । आउनुहोस्, भित्र जाऔँ ।”

एकातिर हतार–हतारको परिस्थिति अर्कोतिर नयाँ ठाउँ । न म कहिल्यै मस्जिदभित्र पसेको छु न भविष्यमा पस्छु नै तर परिस्थितिले हामी सबैलाई नराम्रोसँग समातेको हुन्छ । हामीहरू इमामको प्रस्तावलाई नकार्न सक्दैनौँ । उनको पछि पछि लाग्छौँ । र नमाज पढ्ने सभाहलको चक्कर मार्छौँ । त्यतिले मात्र कहाँ इमामलाई सन्तोष हुन्छ र ? उनी हामी सबैलाई नमाज पढ्ने हलको बीच भागमा लग्छन् र एउटा एउटा कुसनमा बसाउँछन् । हामी पलेटी कसेर बसेका मात्र हुन्छौं– उनी मजुरको प्वाँखको एउटा कुचो ल्याउँछन् र हाम्रो टाउकोमा हम्कन सुरु गर्छन् । एउटा हातले हामीलाई हम्किरहेका हुन्छन् भने उनको मुखबाट कुरानको मन्त्र आइरहेको हुन्छ । पालैपालो उनी हाम्रो टाउको सुम्सुम्याइरहेका हुन्छन् भने कुरानको श्लोक सकी–नसकी चिच्याइरहेका हुन्छन् । त्यतिबेला परिस्थिति रहस्यमयी मात्र नभई रोमान्चित भएको म अनुभव गर्छु । मलाई खुल्दुली मात्र होइन असजिलो पनि भएको हुन्छ । एकातिर बाक्लो दाह्री भएका इमाम अल्लाहको मन्त्र पढ्दै हाम्रो टाउको सुम्सुम्याइरहेका हुन्छन् भने अर्कोतिर पहेँलो वस्त्रधारी हिन्दु पण्डितहरु अनुशासित ढङ्गले आफ्नो जिउ तनक्क तन्काइरहेका छन् । उनीहरुलाई आफू आज्ञाकारी शिष्य बन्नुसिवाय अर्को उपाय छैन ।

हुन त पण्डितहरुले पनि आफूलाई हिनताबोध कहाँ नभएको हो र ? असन्तोषले उनीहरुको अनुहार रातो नभएको कहाँ हो र ? तर अतिथि सत्कारको बदलामा इमामले त्यस्तो अनौठो काम गर्छन् भन्ने के थाहा ? केहीबेर अगाडि मात्र हरेक कोठा–कोठा, कुना–कुनाको उनैले अवलोकन गराए, बहादुर शाहले लेखेको कविताहरु पनि सुनाए । अंग्रेजको खुलेर विरोध गरे । तर उनले मानवीय संवेदनलाई बुझ्न सकेनन् । धर्म र पाहुनाको आआफ्नो मूल्य, मान्यता र अनुशासन हुन्छ तर आफ्नो घरमा आएको पाहुनालाई निरही बनाउनु उचित थिएन । हाम्रो सरल र सहज व्यवहारमा उनलाई झन् ऊर्जा मिल्दै गयो भने उनले जे–जे भन्छन् हामीले पनि त्यही गर्दै गयौँ ।

एकातिर नौलो ठाउँ, अर्कोतिर नौलो संयोग । अनि अप्रत्यासित रुपमा भोगेको नौलो अनुभव । हामीलाई प्रश्न गर्ने मौका मिलेन । उनले जे–जे भन्छन्, हामीले त्यही–त्यही गर्दै गयौँ । अन्त्यमा इमामले हामीलाई मूलढोकासम्म पुर्याउन आए ।

तर म केहीबेर बीचमा रोकिन्छु । मेरो उत्सुकता बढ्दै आउँछ । मनमा प्रश्नहरु उब्जिन्छन् । केको आधारमा इमामले यो अनौठो काममा उन्मुख भए ? उनले हामीलाई कुरान सुनाउनु जरुरी थियो ! म उनलाई सोध्छु, “तपाईंले केका लागि यो मन्त्र सुनाउनु भयो ? के उद्देश्यका लागि तपाईंले हामीलाई नमाज पढाउनु भयो ?” फेरि यसैमा थप्छु, “के प्रत्येक आगन्तुकलाई यस्तै मन्त्र सुनाउनु हुन्छ ?”

तपाईंहरुलाई अल्लाहले स्वीकार गरिसक्नुभयो । तपाईंका लागि अल्लाहले ढोका खोली सक्नुभयो । तपाईंहरु भित्र पस्न सक्नुहुन्छ ।

मेरो प्रश्नमा केही असन्तोष र रुखोपन मिसिएको हुन्छ । उनले मेरो आशय राम्रोसँग बुझेका छन् तर कत्ति नबडबडाइकन बोल्छन्,
“यो तपाईंहरुको अहोभाग्य हो । तपाईंहरुलाई यो मन्त्र सुनाउनु पाउनु मेरो पनि भाग्य हो । यो अल्लाहको वचन हो । यो वचनले मानिस पवित्र हुन्छ । मानिस पवित्र भएपछि अल्लाहलाई स्वीकार गर्न सजिलो हुन्छ । तपाईंहरुलाई अल्लाहले स्वीकार गरिसक्नुभयो । तपाईंका लागि अल्लाहले ढोका खोली सक्नुभयो । तपाईंहरु भित्र पस्न सक्नुहुन्छ ।”

हुन त मान्छे एउटा जन्मजात भाग्यमानी प्राणी हो । किनकि उसले आफ्नो भाग्य आफैँले निर्माण गर्छ । ऊ स्वयम् पवित्र पनि छ किनकि उसले विवेक प्रयोग गर्छ । तर अब बहस र संवाद गर्ने फुर्सद कसलाई छ र ! छलफल गर्न कसलाई मन छ र ! यही विरोधाभाष र छट्पटीमा नै हाम्रो यात्रा पुनः शंकरजीको गाडीमा हुन्छ । उहाँले पण्डितजीहरुलाई उहाँको निवासमा पुर्याउनुहुन्छ । अन्त्यमा म होटेलमा पुग्छु । तर त्यो रात धेरैजसो छट्पटीमा नै बित्छ । मनमा अनेकौं कुराहरु सलबलाउन थाल्छन् । मेरो मानसिकता उथलपुथल हुन्छ । के म मुसलमान बनेँ त ? के मेरो धर्म परिवर्तन भयो त ? मेरो कमजोर सोचाइ र कमजोर तर्कनाले मलाई भित्र–भित्र निकै खैलाबैला पार्छ । क्षणिक उत्तेजनामा इमामले हाम्रो निरीह अवस्थाको र हाम्रो आज्ञाकारीको लाभ लिँदैमा हाम्रो धर्म परिवर्तन हुँदैन । अन्त्यमा, म आफूले आफैँलाई चित्त बुझाउन बाध्य हुन्छु र निदाउँछु ।

यतिका दिनहरु बिते । धेरै घटनाक्रमहरुले नयाँ रुप लिएर आउँदैछन् । तर मेरो मनस्थिति भने त्यही पुरानो घटनामा फर्कन्छु । तिनै कुरानको मन्त्रहरु सम्झन्छु, अनि इमामले बोलेका शब्दहरु कानमा पर्छन्, “तपाईंको सबै पापहरु पखालिए । अब तपाईंलाई अल्लाहले स्वीकार गर्नुहुन्छ ।”