जब डिसेम्बर फोर्थ आउँछ हरेक वर्ष, म अनायासै विगतमा अल्मलिन पुग्छु । झस्किन पुग्छु।
त्यो समय, त्यो दिन मेरा लागि एक भयङ्कर तुफान बनेर आएको थियो मेरो जीवनमा । खास, म त्यो समय सम्झन चाहान्नँ । तर अफसोच ! समय हो, पृथ्वीको घुमाईसँगै उही समय घुम्दै आइदिन्छ । बस्, उमेर मात्र केही बढाएर ।
अँ, ३ डिसेम्बर २०१० का दिन हामी बूढाबूढी र दुई छोरी अमेरिकाको कोलोराडोबाट क्यालिफोर्निया साथीभाइ भेट्न भनी उडेका थियौँ । हामी लगभग ३ घण्टा १५ मिनेटको उडानपश्चात् क्यालिफोर्निया एअरपोर्ट ल्याण्ड भयौँ । दमककै पुराना साथी हामीलाई लिन आए । धेरै वर्षपश्चातको भेट्घाटले हामीबीच रमाइलो वातावरण छायो । हामी रातभर गफ गरेर बस्यौँ ।
हुन त हामी उत्साह र रौनकता बोकेर घुम्ने उदेश्यले नै गएका थिएनौँ । केवल मनमा चलिरहेको सन्तापलाई नयाँ ठाउँ र साथीभाइसँगको भेटले शीतल भनेर मन बहलाउन गएका थियौँ । अब मन विचलित बनेको कारण त म यहाँ किन पोखूँ ? जहाँ गए पनि आखिर मान्छे मान्छे नै हुन्छ । रिस, इर्ष्या, डाहा र जलन सबै सँगै रहन्छ ।
एउटा सानो व्यवसायमा हामीमाथि पनि यस्तै घटना घट्न गयो, जसले हाम्रो परिवारमा रुवाबासीको अवस्था ल्याइदियो । आखिर गरी खाएको र उँभो लागेकाहरुमाथि कोही कसैको कलुषित आँखा लाग्दो रहेछ । हो, त्यस्तै नियति भोग्न बाध्य भयौँ, जुन केस अदालतसम्म पुग्दा पनि हामीले पाएको न्यायमा बज्रपात भयो । सम्बन्धित हाम्रो प्रतिद्वन्द्वी सधैं फरार भइदिनाले हामीले पैसाको खोला मात्र बगाइरहन पर्यो । उसले भागेर जित्ने प्रयास गरेपछि हामीले उक्त मुद्धा नै छाडिदियौँ । सम्पूर्ण परिश्रमको पैसा खोलामा बगाए झैं माया मारेर हामी त्यो झन्झटबाट मुक्त हुनेतिर लाग्यौं । पैसाको त के कुरा ?
ती कपटीहरुले हाम्रो हुर्मत लिनेसम्म कोसिस गरे । अन्त्यमा हामी ‘त्यस्ता छलीहरुलाई ईश्वरले नै सजाय दिनेछन्’ भने ठानेर त्यो च्याप्टर नै बन्द गर्ने प्रयासमा लाग्यौँ । तथापि मनमा पीडा गडिएपछि उप्किन गाह्रै पर्दो रहेछ । म त्यही घटनाले आधाज्यान भएको थिएँ । मन सधैँ उदास रहने । हामी दुवै श्रीमान्/श्रीमती चिन्ताले कङ्काल झैँ बनेका थियौँ । हाम्रो त्यस्तो निरीह अवस्थाको कारणले पनि हाम्रा नानीहरुले हामीलाई मन बहलाउन घुम्न पठाएका थिए क्यालिफोर्निया।
त्यो रातभरि हामी दुःखसुखका कुरा, घटनाबारे मनका पीडाहरु साटेर अनिँदो रह्यौँ । मलाई भने किन हो त्यो घट्ना घटेदेखि बाँच्नै मन लाग्न छाडेको थियो । कहिल्यै आफूले नभोगेको पीडा भोग्नु परेको थियो । मलाई लाग्यो, जहाँ पनि स्वार्थी मान्छेहरुको जमात हुँदो रहेछ। सबैलाई थाहा थियो, हामी अन्यायमा परेका छौँ । तर सबैले थाहा हुँदाहुँदै पनि हाम्रो लागि दुई शब्द बोलिदिने भएनन्।
हो, यस्तै प्रवृत्तिबाट म अति विक्षिप्त बनेकी थिएँ । हुन त ‘ऋण लागोस् दिन नलागोस्’ भन्ने उक्ति चरितार्थ नै छ । हाम्रो परिश्रमको पैसा डुब्यो, तर हाम्रो मनस्थिति भने दह्रिलो थियो। हिम्मत र उत्साह जीवितै थियो । तर पनि नसोचेको बज्र आइपर्दा म थोरै आत्तिएँ । रोगको शिकार हुन पुगेँ । बस्, मनमा यही कामना थियो कि, जसले षड्यन्त्र गर्यो, जाल बुन्यो, ईश्वरले उसलाई महसुस गराइदिऊन्। हामीले न बदला लिने मनशाय राख्यौँ, न श्राप नै दियौँ । बस्, कुनै दिन आत्माग्लानीले आफैँ पिरोलिऊन् भन्ने हाम्रो कामना थियो।
बस्, मगजमा मृत्युइच्छा मात्र मडारियो । ड्रिंक्सको ग्लासमा सुगर र प्रेसरको औषधी मिसाएर स्वाट्ट पारिदिएँ ।
हामी सबैले त्यो साँझ केही हल्का ड्रिंक्स लियौँ । खै ! मलाई पिउँदापिउँदै एकाएक मर्न पाए पनि हुन्थ्यो झैं लागेर आयो । केही सोच्नै सकिनँ । बस्, मगजमा मृत्युइच्छा मात्र मडारियो । ड्रिंक्सको ग्लासमा सुगर र प्रेसरको औषधी मिसाएर स्वाट्ट पारिदिएँ ।
….
विहान हामीलाई मनोरम दृश्य भएका ठाउँहरुमा घुमाउन लैजाने कार्यक्रम थियो । त्यसकै लागि सबै तयार हुने तर्खरमा थियौँ । म बाथरुम पसेकी थिएँ । त्यहीँ ढलेछु । मेरी कान्छी छोरीले देखिछ र हत्तपत्त हल्लीखल्ली गरेर एम्बुलेन्स बोलाइएछन् । धन्न ! अमेरिकामा कुनै पनि दुर्घटना भयो भने कल गरेको ५ मिनेटभित्रै पारामेडिक (एम्बुलेन्स, फायर र पुलिसको गाडी) आइपुग्छ।
मेरो भाग्य, हस्पिटल नजिकै भएकोले समयमा उपचार पाएँ । बेहोस भएको १०/१५ मिनेटमै मेरो शरीर लाशमा परिणत भइसकेछ । म सानो जिउकी मान्छे, तर मलाई उचाल्न तीन चार जनालाई पनि हम्मेहम्मे परेको थियो रे ।
मलाई अचेत अवास्थामा हस्पिटल पुर्याइएछ । ममा सास बाँकी रहेको विश्वास सबैमा डगिसकेको रहेछ । डाक्टरले पनि चेक गरेपछि आश मारेछन् । तर डाक्टरी धर्म त निभाउनै पर्यो । सक्दो प्रयासमा पनि मेरो बाँच्ने कुनै लक्ष्यण नदेखेपछि डाक्टरले मेरो परिवारलाई भनेछन्, “हाम्रो प्रयास हो, बाँच्नु नबाँच्नु उहाँ र तपाईँहरुको भाग्य हो ।”
अन्तिम उपायको लागि डाक्टरले आफूभन्दा सिनियर डाक्टरलाई फोन गरेर सीपीआर गर्ने अनुमति मागेछन् । सीपीआरपश्चात् बिरामीको बाँच्ने वा मर्ने निश्चित नहुने भएकाले डाक्टरले श्रीमानसँग सल्लाह पनि लिएछन् । ‘के गर्ने ? जिम्मेवार लिनु हुन्छ ? यदि बिरामी मृत्युको काखमा गइन् भने हस्पिटल जिम्मेवारी हुने छैन ।’ भनेर सम्झौता पेपरमा साइन गर्न लाएछन् ।
वहाँलाई पनि रत्तिभर आश थिएन रे। मेरी श्रीमती बाँचेर हामीसँगै फर्किन्छे भनेर। जे होस् भगवान भरोशा भनेर वहाँले पनि सम्झौता पेपरमा हस्ताक्षर गर्नु भएछ। त्यस पश्चात मलाई सिपिआर गरेछन्। मेरो फर्कने आश त भएछ तर मैले सास फेर्न नै छाडी सकेकी थिएँ रे। म कोमामा गएछु लग्भग १८ /२० घण्टा नै। मैले मुखबाट सास फेर्न नसकेकोले घाँटीमा प्वाँल बनाएर(आर्टिफ़िसियल एयर वे ) सास फेर्नलाई सहज बनाई दिएछन्। भनौं एकप्रकारले सबैले मबाट आशा कम गरि सकेका रहेछन्। डाक्टरहरुले पनि कम नै बाँच्ने आशा राखेर मेरो श्रीमानलाई हामीले सक्ने कोशिस गर्छौं बाँकी भगवानको भरोशा भनेका थिए रे।
जब म कोमाबाट ब्युँझिएँ, आफूलाई हस्पिटलको बेडमा पाएँ । अचम्भित भएर बोल्न के खोजेकी थिएँ, तर मेरो वाक्य बसिसकेको रहेछ। डाक्टरले मेरो बोली फर्कन नफर्कने बारेमा यसै भन्न नसक्ने बताएका रहेछन् ।
म हस्पिटलको बेडमा लडिरहेँ, करिब २२ दिन । त्योबीच मलाई हेर्न क्यालिफोर्नियामा भएका नजिकका नेपालीहरु धेरै आएछन्, तर मैले केही थाहा पाउँन सकिनँ । कता कता छायाजस्तै मान्छेहरु झल्याकझुलुक देख्थेँ, कता कता सपनामा बोलेजस्तो महसुस हुन्थ्यो, तर म पूर्णतः सचेत अवास्थामा थिइनँ।
जब ब्युँझन्थेँ मन नै खिन्न हुन्थ्यो । निद्रा नखुले पनि हुन्थ्यो जस्तो लाग्थ्यो ।
लगभग १८ दिनसम्म निक्कै सकस भोग्नु पर्यो । सास फेर्न असहज हुने, नाकबाट १८ ईञ्चको नली घुसारिएको, नाक त्यसै त सानो, झनै सास फेर्न असजिलो महसुस भइरहेको थियो । पुरानो ब्रोङ्काइटिसको रोगी भएकीले पनि होला, दम बढे जस्तो हुने । खोकी लागिरहने । रातभर निद्रा लाग्दैन थियो । सास फेर्न असहज भएर एकछिन झपक्क हुँदा पनि जीवित शास्ती बिर्सिएर स्वर्गमा पुगेजस्तो महसुस हुन्थ्यो। जब ब्युँझन्थेँ मन नै खिन्न हुन्थ्यो । निद्रा नखुले पनि हुन्थ्यो जस्तो लाग्थ्यो । एउटा म्याक्सिकन पुरुष नर्सको रूपमा खटिएको थियो म बसेको वार्डमा । उसलाई हातको इशाराले ‘मलाई निद्रा लाग्ने औषधी दे’ भनेर भन्थेँ। तर यहाँको हस्पिटलको नियम कडा, डाक्टरको प्रेस्किप्सनविना केही दिन पाउँदैनथ्यो । तर पनि मैले उसलाई कागजमा लेखेर बिन्ती गर्दै ‘एक्टिभान’ दिन आग्रह गर्थें। उसले बेला बेलामा मेरो बिजोक देखेर सलाइन दिन्थ्यो । खोकेर हुरुक्कै हुन्थेँ।
डाक्टरले भनेको थियो, ‘घाँटीमा बनाएको प्वांल बन्द गरेर जतिसक्दो सास रोक्न सक्यो उति चाँडो निको हुने सम्भावना हुन्छ’ । त्यही नर्स आएर बेलाबेलामा त्यो प्वांल बन्द गरिदिन्थ्यो। अब सोच्नुहोस्, मुख ट्याप्प बन्द गरिदिँदा कतिन्जेल सास बन्द गरेर बस्न सकिएला ? तर पनि म आफू चाँडै निको भएर बाँच्न पर्ने अभिलाषाले निक्कै लामो समयसम्म घाँटीको प्वांल बन्द गरेर सहने कोसिस गर्थेँ। मेरो त्यो प्रयास देखेर डाक्टर पनि मसँग प्रशन्न भएका थिए। मलाई फलोअप गर्न ६ /७ जना डाक्टरहरु नै खटिएका थिए।
म बोल्न सक्दिन थिएँ । शरीर उठाएर बस्ने, चल्ने शक्ति थिएन। कहिले तिर्खा लाग्थ्यो। कहिले भोक लाग्थ्यो। कहिले असहज हुन्थ्यो। मैले पेपरमा पेन्सिलले आफ्ना कुरा लेखेर पोख्ने गर्थेँ । मलाई रुङ्घन मेरो श्रीमान् बस्नु भएको थियो। कहिलेकाहीँ त उहाँ पनि मस्तले निदाउनु हुन्थ्यो। म बोल्न नसकेको कारणले कहिलेकाहीँ निक्कै अफ्ठ्यारो पर्थ्यो । त्यो समय छेउमा जे छ त्यसैको झट्टी हानेर उठाउने प्रयास गर्थें । उहाँलाई पनि निद्रा, थकान र दिक्दारीले गाँजेको थियो सायद।
मलाई बाँच्ने ईच्छा किन जाग्थ्यो भने, म अब्बल र सिद्धहस्त कलमकर्मी नभए पनि आफ्नो लेखनको अतृप्त ईच्छा (जो मैले विगत तीसौं वर्षदेखि समेट्दै आइरहेकी थिएँ )लाई म स्वस्थ्य भएँ भने अझ निरन्तरता दिन सक्नेछु । बस्, मेरो बाँच्नुको धोको लेखनलाई निरन्तरता दिने र एक दिन आफूलाई पनि सिद्धहस्त महिला लेखक बनाउने अभीप्सामा म आशावादी थिएँ । यस कुरामा आत्माविश्वासले आफूलाई बलियो भएको महसुस गराउँथेँ । सकी नसकी उठेर हिँड्न थालेकी थिएँ, नत्र बाथरुम पनि श्रीमानले बोकेर/समातेर लैजानु हुन्थ्यो।
जब म त्यो घटनाले थलिएँ, मैले यो नयाँ जीवनमा अझ हिम्मतले केही गर्नुपर्छ भन्ने उत्साह लिन थालेँ । आफूलाई तन्दुरुस्त नै छु भन्ने महसुसमा भुलाउन थालेँ । मेरो त्यस्तो उत्साही क्रियाकलाप देखेर डाक्टर तथा नर्सहरु पनि खुशी हुन्थे । डाक्टरहरुको लाखौँ प्रयासले बाँचेका अर्थात् निको भएका बिरामीहरुको उत्साह देख्दा डाक्टरहरुलाई पनि आफ्नो मिहेनतको फल पाएको जस्तो महसुस हुँदो हो। उनीहरु मलाई देखेर खुशी मुहार बनाएर निस्कन्थे।
मलाई हेरेर बसेको त्यो नर्स पनि अचम्भित भयो र भन्यो, “तँ आँटी छेस्। यतिको समयसम्म कसरी खपेर बसिस् ? तँलाई मान्नु पर्छ।”
मेरो वाक्य निस्कने सम्भावना कम नै रहेछ । तर मेरो प्रयास, उत्साह र बाँच्ने अभीप्साले गर्दा वाक्य छिटो फर्काउन म डाक्टरले सुझाएका कुराहरु निक्कै ध्यान दिएर गर्थें । सबैभन्दा सकस त घाँटीको प्वांल बन्द गरिदिँदा नै हुन्थ्यो । एक दिन त्यही कृया गर्ने क्रममा म निक्कैबेरसम्म सास रोकेर बस्न सफल भएँ। मलाई हेरेर बसेको त्यो नर्स पनि अचम्भित भयो र भन्यो, “तँ आँटी छेस्। यतिको समयसम्म कसरी खपेर बसिस् ? तँलाई मान्नु पर्छ।”
त्यतिका दिनको बसाईपश्चात् त्यो म्याक्सिकन नर्स केटोसँग राम्रै हेल्मेल भइसकेको थियो। साँझ परेपछि ऊ ड्युटीमा आउँथ्यो । म इशाराले निद्राको औषधी माग्थेँ । कहिले त ऊ नदेखे झैं गर्थ्यो । जब मैले लेखेर अनुनयविनय गर्थें अनि खुवाएर जान्थ्यो । म केही समय आनन्दको निद्रा सुत्थेँ ।
केही दिन बितेपश्चात् आफैँ हिँड्डुल गर्न सक्ने भएँ । ती दिनमा मैले मोबाइल मागेर फेसबुक खोलेर हेर्दा मेरो स्वास्थ्यलाभको कामना गर्ने सयौँ शुभकामनाहरु वालभरी लेखिएका रहेछन्। सबैले ईश्वरसँग प्रार्थना गरेका रहेछन्। म्यासेन्जरमा उस्तै म्यासेजहरु भरिभराउ रहेछन्। फेसबुक हेर्ने क्रममा मैले साईबाबाको तस्बीर देखेँ । हुन त म अन्धविश्वासी पटक्कै होइन तर आफ्नो धर्म ,परम्परा र संस्कारप्रति विश्वास गर्छु, र सम्भव भएसम्म र जायज भएसम्मका रीतिलाई अङ्गिकार पनि गर्छु। मैले लगभग १५ /१६ वर्षको उमेरदेखि नै साईबाबालाई सम्झिने गर्थेँ । त्यसैमा दात्तचित्त नलागे पनि साईबाबाको नाममा बिहिबार मासु नखाएको ३५ वर्षजति भयो होला।
विदेश आएको १५ वर्ष भयो, यहाँ पनि बिहिबार शाकाहारी भोजन नै गर्ने गर्छु । साईबाबासँग सबैको कल्याण र रक्षा अनि आफूलाई धैर्यधारण गर्ने शक्ति माग्छु। चाहे अन्धविश्वासी नै कसैले किन नभनून्, म त्यो दिन काल्पनिक भए पनि ईश्वरको नाममा आफूलाई समर्पित गर्छु।
त्यसरी साईबाबाको तस्बिर हेर्दै मैले बोल्ने प्रयास गर्दै थिएँ। मैले बोल्नेक्रममा “बाबा”भन्ने शब्द मुखबाट फुत्त निकालेँ । मेरो आवाजले अलिक पर मेचमा बसिरहनु भएको मेरो श्रीमान् पनि झस्किनु भयो। त्यतिका दिनसम्म आफ्नी श्रीमतीको बोली नसुनेका उहाँ जुरुक्क उठेर म भएको ठाउँमा आउनु भयो र मलाई खुशीले अंकमाल गर्नु भयो । त्यही दिनबाट म अलिअलि बोल्न थालेँ । डाक्टरहरु पनि मेरो बोली फर्किएको देखेर खुशी भए।
डिस्चार्ज गर्ने दिन हामी दुई बूढाबूढी डाक्टरको कोठामा गयौँ । डाक्टरले मलाई देखेर प्रशन्न हुँदै भने, “तेरो भाग्य बलियो रहेछ। मेरो ४० औं वर्षको अनुभवमा पहिलोपटक मरेको मान्छे बचाएँ । मैले आफैँलाई धन्य मानेँ । तँ बाँचिस्, यो नै मेरो पहिलो सफलता भयो।”
एक मनले म पिरोलिन्छु। अर्को मनले खुशी हुन्छु र सोच्छु, “आखिर मैले नयाँ जीवन त पाएँ, किन म निरश बनूँ ?”
उस्को कुरा सुनेर मैले पनि आफ्ना आँखाभरी आँसु पारेर भनेँ, “डाक्टर तिमीलाई लाखौँलाख धन्यवाद छ। तिमी मेरो नयाँ जन्मदाता भगवान् नै भयौ ।”
हामी बिदा भयौं । साँच्चै भन्ने हो भने, अमेरिकामा भएर म बाँचेँ । मेरो उपचार खर्चस्वरूप लगभग नेपाली डेढ करोड बराबरको बिल आएको थियो। नेपालमा हो भने विनापैसा कहाँ उपचार हुन्थ्यो र ? तर यहाँ त पहिला बिरामी बँचाउने प्रयास गर्छन् अनि मात्र पैसाको कुरा आउँछ। त्यसमा पनि आफ्नो अवस्था अनुसार कति त मिलाएर छुट दिन्छन् । कति त्यस्ता दाताहरु (संस्थाहरु पनि हुन्छन् ) जसले उपचार खर्चमा सहयोग गर्छन्। मेरा पनि त्यस्ता केही सहजता भए होलान् । केही तिरियो होला । म अनविज्ञ छु ।
मैले नयाँ जन्म पाएको महसुस गरेर नै आफूलाई लेखन क्षेत्रमा अल्मल्याउन चाहन्छु। यो मेरो जीवनको अमीट ईच्छा हो र पूरा गर्ने छु । तर जब डिसेम्बर फोर्थ आउँछ मलाई यो दिनले दुःख र खुशीको सागरमा डुबुल्की मार्न बाध्य गराउँछ। एक मनले म पिरोलिन्छु। अर्को मनले खुशी हुन्छु र सोच्छु, “आखिर मैले नयाँ जीवन त पाएँ, किन म निरश बनूँ ?”
र उत्साह र अतितका घट्नाहरुलाई समेटेर म फेरि नयाँ सोचमा मग्न हुन्छु। अनि यसैलाई जीवनको एक संस्मरण सम्झेर मेरो दैनिकीको नयाँ पाना पल्टाउन उद्वेलित बन्छु।
अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।