साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लेखकले पाठकलाई राम्रोसँग आकलन गर्न सकेका रहेनछौँ

विदेशमा बसेर नेपाली पत्रकारिता गरिरहने थाेरै व्यक्ति मध्ये पर्दछन् ददि सापकाेटा । फ्रान्सबाट उनकाे नेतृत्वमा नेपाल प्लस नामक लाेकप्रिय साइट चलिरहेकाे छ भने उनी कान्तिपुरका फ्रान्स संवाददाता पनि हुन् । नेपाली साहित्यमा पनि गहिराे रूचि राख्ने सापकाेटाकाे केही महिनाअघि ‘वनकाे वैभव’ पुस्तक प्रकाशन भएकाे थियाे । उक्त पुस्तक साहित्यपाेस्टले प्रत्येक महिना प्रकाशन गर्ने टप टेन सुचिमासमेत परेकाे थियाे ।  निडर पत्रकारकाे छवि बनाएका ददि सापकाेटासँग आइतबारे अंकका लागि साहित्यपाेस्टले नेपाली भाषा, साहित्य र पत्रकारितासँग सम्बन्धित अन्तरंग कुरा गरेकाे थियाे । साहित्यपाेस्टले हरेक आइतबार फरक भाषा र भुगाेलका बीचमा रहेर पनि नेपाली भाषा र साहित्यमा अहाेरात्र खटेर काम गरिरहेका भाषासेवीसँग गरिएका कुराकानी प्रस्तुत गरिरहेकाे छ । यसै सन्दर्भमा प्रस्तुत छ, सापकाेटासँगकाे कुराकानी ।

‘वनको वैभव’ले बजार तताइरहेको छ । प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ? सन्तुष्ट हुनुहुन्छ ?

वनको वैभवबाट मैले सोचेकोभन्दा धेरै नै राम्रो प्रतिक्रिया पाएँ । त्यसका कारण वनको वैभवलाई लिएर म अत्यन्तै सन्तुष्ट छु ।

मलाई लाग्छ, लेख्दै जाँदा लेखक आफैँले पनि आकलन गरेको हुन्छ, आफ्नो लेखनको सफलताका बारेमा । मैले पनि पुस्तकको तयारी गर्दै गर्दा राम्रै हुन्छ भन्ने आकलन गरेको थिएँ । तर नेपालमा चाहिँ वनजङ्गल, जीवजन्तु तथा पर्यावरणको बारेमा उति पढ्ने चलन भने छैन भन्ने म ठान्थेँ । त्यो हिसाबले यति विघ्न प्रतिक्रियाको अपेक्षाचाहिँ गरेको थिइनँ ।

भनेपछि वनजङ्गल तथा जीवजन्तुका बारेमा पढ्ने हैन लेख्न चलनचाहिँ नभएको रहेछ क्यारे…

सही भन्नुभयो । खासमा, हामी लेखकहरुले पाठकहरुलाई राम्रोसँग आँकलन गर्न सकेका रहेनछौँ । मैले पनि पाठकहरुको मनमस्तिष्क छाम्न सकेको रहेनछु । पाठककाे मनाेविज्ञान समात्न नसकेकाे कुरालाई लेखकले स्वीकार्नु पर्छ ।

वनको वैभव तपाईंको जनवार वा जंगलप्रतिको लगावको उपज हो कि लेखनप्रतिको ?

ददि सापकाेटा

यस्तो छ, पहिलेचाहिँ म वनजंगल तथा जीवजन्तुसँग जोडिएको जागिरले गर्दा हो । इमान्दारसाथ भन्दा मैले सुरुमा सौराहामा गाइड भएर काम गरेँ । त्यसपछि पहाड तथा हिमालतिर पनि गाइडका रुपमा धेरै हिडेँ । नेपालकै प्रतिष्ठत एजेन्सीको टुर गाइड भएर पनि काम गरेँ एकताका । त्यहीक्रममा म वनजङ्गल तथा जीवजन्तुप्रति नजिक भएको रहेछु । गाइड भएर काम गर्दाखेरी नै विदेशीहरुबाट वनजंगल, पर्यावर तथा जीवजन्तुको महत्व र तिनीहरुबारे रमाइला तथा रोचक कुराहरु थाहा पाएँ ।

तर त्याे मात्र वनको वैभव लेखनको उपज होइन । जनवार तथा पर्यावरणसँग म नितान्त जागिरको सिलसिलमा जोडिएको हुँ । समयक्रमसँगै त्यसप्रतिको चासो तथा जानकारी र अध्ययनको दायरा पनि बढ्दै जाँदा लेखन जोडिन पुगेको हो । म पत्रकारितामा रूचि राख्ने भएकाले चाहिँ अब लेख्नुपर्छ भन्ने लाग्याे ।  वनको वैभवलाई पर्यावरण तथा जीवजन्तुसँगको सामिप्यता र लेखन प्रतिकाे रूचिकाे उपजचाहिँ भनौँ ।

जीवजन्तुकै बारेमा लेख्छु भन्ने कसरी लाग्यो ? कारण केही थियो कि ?

कस्तो भने, सानैबाट महिला भनेका सुन्दर हुन्छन्, सुन्दर हुनुपर्छ भन्ने मान्यतामा हुर्किएको मान्छे । तर जनवारका बारेमा थाहा पाउँदै जाँदा थाहा पाउँदै जाँदा त ठीक उल्टो पाएँ मैले । हरेक जनवार हेर्छु, पोथीभन्दा त भाले पो सुन्दर छ । आकर्षक छ । जीवजन्तुका बारेमा अझ पढ्दै र बुझ्दै जाँदा उनीहरुबारे अझ रोचक तथा आम मानिसलाई अचम्मित तुल्याउने कुराहरु थाहा पाउँदै गएँ । ती कुराहरु थाहा पाउँदा म स्वयम् पनि अचम्मित भएँ । मलाई लाग्यो, यस्ता रोचक तथा अचम्मित तुल्याउने जानकारी आम पाठकले थाहा पाउनुपर्छ ।

वनको वैभवलाई जनवारको मनदेखि यौनसम्मको स्लोगन दिएको छ । नेपाली समाजको कुरा गर्दा यौनको विषयमा बोल्न असहज महसुस गर्छ मान्छे । तर तपाईँ जनवारको यौनसम्म पुग्नु भयो, किन ?

ददि सापकाेटाकाे नवप्रकाशित कृति

अघि पनि भने, सौराहमा म टुरिस्ट गाइडका रुपमा काम गर्थेँ । त्योबेला गोराहरुको नजिक भएँ म । म उनीहरुलाई गाउँमै छँदा साथीभाइबाट सुनेका यौनसम्बन्धी कथाहरु रमाइलो ढंगबाट सुनाउथेँ । जुन उनीहरुले खुब मन लगाएर सुन्थे पनि । र, गोराहरु यौनका विषयमा सहज र खुल्ला रुपमा बहस समेत गर्थे । उनीहरुकै संगतमा नजानेरै पनि यौनका विषयमा खुल्न पुगेछु ।

बुझ्ने भएपछि थाहा पाएँ, यौन त बोल्नु पर्ने विषय रहेछ । झन् हाम्रो जस्तो समाजका लागि त यो बहस अपरिहार्य नै रहेछ । कसैले न कसैले त बोल्नै पर्यो । खुल्नै पर्यो । अहिले नखुले वा नबोले पनि कुनै समयमा त बोल्नै पर्ने हुन्छ । हो, अहिले म यौन विषयलाई एकदम सहजरुपमा लिन्छु । चाहे त्यो मान्छेमा होस् वा जवनारमा ।

यौनकै कुरा गर्दा जनवारमा र मानवको यौनजीवनमा के कस्ता समानता फेला पर्छन् ?

धेरै समानताहरु छन् नि ।

मान्छेमा बलत्कार हुन्छ, जनवारमा पनि हुन्छ । बलत्कारीले मानव समाजमा सजाय हुन्छ । जीवजन्तुमा पनि दण्ड दिने पात्रहरु हुन्छन् । समाज, प्रहरी प्रशासन तथा न्यायलय र दण्डका बाबजुत पनि मान्छे बलत्कार गरिरहेछ । जनवारमा पनि दण्डका बाबजुत लुकीचोरी बलतकार भइरहन्छ । मान्छेमा नचाहेको गर्भलाई रहन नदिन अबोर्सनका विभिन्न उपायहरु छन् । के कति जीवजन्तुमा भालेले बलत्कार गरेर बिज छोडे पनि आफ्नो डिम्बसम्म पुग्न नसक्ने सञ्जाल हुन्छ । मानवमा जस्तै जीवजन्तुमा पनि प्रतिकार हुन्छ । खुट्टाले हानेर दाँत नै झारिदिनेसम्मका घटनाहरु हुन्छ । मानव समाजमा कोही प्रति आकर्षित हुने अथावा प्रेम हुने कारण भनेको हेर्दा सुन्दर, मीठो बोली, स्टाइल आदि हुन । जनवारको आकर्षण तथा प्रेममा पनि सुन्दरताको महत्व हुन्छ ।

यसरी हेर्दा, एकै जीवमा पनि जात, पर्यावरण तथा अन्य कारकले गर्दा सबै कुरा समान त हुँदैन । तर अन्य जीवजन्तु तथा मान्छेको यौन जीवनलाई नियाल्दा समानता भने धेरै नै भेट्न सकिन्छ । तर प्रायः जीवजन्तुमा चाहिँ यौनको चक्र हुन्छ । जुन समय समयमा आउँछ । मान्छेमा जस्तो ३६५ दिनैचाहिँ जीवजन्तुहरु यौनइच्छा जातृत हुँदैन ।

तपाईं पत्रकार पनि, नेपालको वर्तमान् सञ्चार जगतलाई कसरी नियालिरहनु भएको छ ?

मैले पत्रकारिता सुुरु गर्दाखेरी नेपालको सञ्चार जगत समृद्ध थिएन । थियो त केवल नाम हुन्छ, मान्छेले चिन्छन्, ज्ञानको दायरा फराकिलो हुन्छ भन्ने सन्तुष्टि मात्र । अझ तीर्थ (काेइराला) किशोर (नेपाल) दाइहरुले सुरु गर्दाखेरीको त कुरै नगरौँ । पछिल्लो समयचाहिँ म के पाउँछु भने, संचारकर्मीहरुको पनि समाजमा क्रेज छ । सञ्चार जगत अहिले ग्लामर टाइपमा विकास भएको छ ।

अर्को कुरा, नेपालका मेडियाहरु अझै पनि व्यवसायिकतामा प्रवेश गरिसकेका छैनन् । मिडियाका लागि व्यवसायको आधार भनेकै विज्ञापन हो । तर अहिले जति पनि मिडियाहरु खुलेका छन्, ती सबै व्यावसायिक रुपमा कसरी स्थापित हुुन्छन् होला भन्ने प्रश्न मेरो मनमा उब्जिरहन्छ । यसकारण नेपाली सञ्चार जगत दुुदपीडामा परेको कारण भनेको व्यवसायिक रुपमा सबल हुन नसक्नु पनि हो जस्तो लाग्छ मलाई ।

अर्को मुख्य कुरो भनेको चाहिँ, नेपालको सञ्चार जगत अध्याधिक राजनैतिक भयो । अति धेरै । कुुनै राजनैतिक मुद्दामा लेख्नु पर्दा नेपालका अधिकांश मिडियाको धार प्रस्टै छुटिइहाल्छ । पछिल्लो उदारहणका लागि रामचन्द्र पौडेलको गिरफ्तारीलाई लिन सकिन्छ । साथै, नेपालमा राजनैतिक तथा खोज पत्रकारहरुको असाध्यै धेरै असुरक्षा रहेको पाउँछु । यो एकदमै दुखदायी कुरा हो । यहाँका पत्रकारहरु कुनबेला सडकमा आइपुग्छन्, स्वयम् पत्रकारलाई थाहा हुन्न ।

नेपाली सञ्चार जगतमा तपाईँको छवि निर्भीक, प्रस्ट तथा खरो पत्रकारका रुपमा स्थापित छ । एउटा पत्रकार स्वतन्त्र हुन सक्छ ?

अब यस्तो छ हेर्नुहोस्, विश्वमै राजनैतिक पत्रकारहरु सबैभन्दा असुरक्षित रहन्छन् । केही मिडियालाई छोड्ने हो भने अधिकांश मिडियाहरुमा राजनैतिक पार्टीको पनि संलग्नतामा चलेका छन् । नामै त नलिऊ, पछिल्लो समय केही मिडिया पार्टीकै लगानीमा खुलेका छन् । यस्तोमा कुनै पनि राजनैतिक पार्टीको स्वार्थ रहुन्जेल पत्रकार सुरक्षित रहन्छ । पार्टी र विशेष नेतालाई खुसी बनाउन्जेल मात्र पत्रकार खुसी रहन सक्छ । विरोधमा गइसक्दा त्यो ठाउँमा अर्को मान्छे आइपुग्छ । फेरि नेता वा पार्टी विशेषको सापेक्ष रहँदा पत्रकारको छवि धमिलो बन्छ । यसकारण मलाई लाग्छ, राजनैतिक बीट पकडेर काम गर्ने पत्रकारहरुलाई स्वतन्त्र रहन र आफ्नो स्वस्थ्य छवि बनाउन मुस्किल छ । अन्य बीटमा काम गर्नेहरुलाई भने पक्कै केही सहज छ ।

फ्रान्समा बसेर नेपाली अनलाइन पत्रिका चलाइरहनु भएको छ, आफ्नै पनि लगानी हालेर । कतिको सजिलो रहेछ ?

धेरैलाई गाह्रो लाग्छ होला, तर हामीले गाह्राे अनुभव गरेका छैनाैँ । हामीले चाहिँ के देख्यौँ भने, एउटा लगानीकर्ता आउँछ एकखालको स्वार्थ, एकखालको बुझाई बोकेर । केही समय उसले कर्मचारीलाई राम्रो तलब दिन्छ । त्यो लामो समय टिक्दैन । डुब्छ ।

तर हाम्रो चाहिँ के छ भने, हामी आफैँ लगानीकर्ता आफैँ कामदार जस्तो छौँ । लगानी पनि त्यस्तो ठूलो छैन । हामी भनेको लेख्न नपाउँदा हात चिलाउने मान्छे, लेख्न पाउनु नै ठूलो कुरो हो । पारिश्रमिकको त कुरै आउँदैन । फेरि सबै पत्रकारिता बुझेका साथीहरु छन् र हामीमा सहमती यो छ कि, हामी कुनै लगानीकर्ता भित्र्याउने छैनौँ । पछि कमाइ हुन थालेपछि दुई चार पैसा लिउँला, हैन भने अन्त फ्रीमा लेख्ने आफ्नैमा लेखौँ, भनेर काम गरिरहेका छौँ ।

अन्त्यमा, तपाईँकी जीवन संगिनी पनि लेखक पत्रकार, दुवै एकै क्षेत्रमा हुनुको राम्रा नराम्रा पक्षहरु के के रहेछन् ?

लेखन तथा पत्रकारितामा लाग्नु कस्तो काम हो भने, कहिले रातभर जाग्नु पर्ने हुन्छ, कहिले महिनासम्म घरबाहिरै भइन्छ त घरमै हुँदा पनि यस्तै कुराकानी तथा अन्तर्वार्ताहरुमा समय र व्यस्तताको वास्ता नगरी बस्नु पर्ने हुन्छ । अब जीवनका हरेक पल साथै रहने संगिनीले यस क्षेत्रलाई नबुझ्दा त गाह्रो भइहाल्छ नि । तर एउटै फिल्डमा काम गर्नुपर्ने हुनाले यस्ता कुराहरुमा समझदारी बन्दो रहेछ । जीवनका साथै आफ्नो कामको क्षेत्र पनि सरल बन्दो रहेछ ।

त्यस्तै, लेखनकै विषयमा पनि छलफल हुन्छ हामीबीच । मैले लेखेका कुराहरु पढेर उनी सुझाव दिन्छिन् । हौसला दिन्छिन् । कति कुराहरुमा म उसको पहिलो पाठक बन्छु । सम्पर्कसुत्रहरु नै पनि एकको अर्कालाई काम लाग्छ ।
तर एउटा नमज्जाको पाटोचाहिँ के छ भने, यदि दुवैलाई फिल्डमा गइएको छ वा आफ्नो भने साँझ पकाएर कसले खान दिने भन्ने कुरामा चाहिँ हुँदो रहेछ । बच्चा छ भने कसले हेर्ने जस्ता कुराहरुमा चाहिँ केही गृहस्थीका समस्याहरु चाहिँ हुदा रहेछन् ।

प्रतिक्रिया
Loading...