तीसको दशकका एक समर्थ कवि, गीतकार गगन विरहीले आफ्नो भौतिक जीवनबाट असमयमै बिदा लिए । वि.सं २०७५ असोज १४ गते आइतबार उनको निधनको घोषणा भएको थियो । केही दिनअघिसम्म भेण्टिलेटरमा राखिएका उनको निधनको घोषणा मात्र गर्न बाँकी थियो । उनकी सुपुत्रीको आगमनको प्रतीक्षाका लागि उनलाई भेण्टिलेटरमा राखिएको थियो । यौटा कवि गगन, जीवनको अन्तिम समयसम्म पनि कविताकर्ममा निरन्तर थिए । उनी आफ्नो पछिल्लो कृति विमोचन गर्न चाहन्थे । विमोचनको मिति विविध कारणले पछि सर्दै गएको थियो । तर जब मिति तय भयो, उनी आईसियुमा पुगे । त्यसपछि भेण्टिलेटरमा । अनि त जीवनलाई सदाका लागि अलबिदा । तर गगनका मित्रहरु, परिवारजन र शुभचिन्तकहरुले गगनको पुस्तक विमोचन गर्ने धोको पुर्याइदिए । नर्भीक अस्पतालकै परिसरमा गगनको प्रत्यक्ष उपस्थिति नभए पनि पुस्तक विमोचन भयो । यौटा नमीठो बिडम्वना मान्नुपर्छ, कवि गगन अस्पतालको यौटा कोठामा निधनको औपचारिक घोषणाको प्रतीक्षामा थिए, अर्को कोठामा उनको पुस्तक हस्ताक्षरको विमोचन भइरहेको थियो ।
वि.सं २०१४ सालमा बाह्रबिसेमा जन्मेका गगनको साहित्य यात्रा तीसको दशकमा काठमाडौंबाट भएको थियो । २०३६ सालमा ऐतिहासिक जनमत संग्रहको घोषणा भएपछि भवानी घिमिरेको नेतृत्वमा बहुदलको पक्षमा भएको सडक कविता क्रान्तिमा पनि उनी सहभागी भएका थिए । त्यही समयको वरिपरि नै उनको पहिलो कविता संग्रह ‘मैले छोडेका डोब’हरु कविता संग्रह हरिशंकर अमात्यले प्रकाशन गरिदिएका थिए ।
सडक कविता क्रान्ति सकिएको थियो । अशेष मल्ल काठमाडौं आइसकेका थिए र सर्वनामको औपचारिक जन्म पनि भैसकेको थिएन । अशेष मल्लको प्रख्यात नाटक ‘सडकदेखि सडक’सम्म तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष गर्ने नाटक महोत्सवमा साहित्यिक पत्रकार संघको ब्यानरमा देखाइयो । सो नाटकमा गगनले पनि अभिनय गरेका थिए ।

गगन विरहीका साथ गोविन्द गिरी प्रेरणा
नेपाली साहित्यको क्षेत्रमा यौटा जागरुक समूहको उदय भएको थियो । जो पञ्चायतको साँघुरोपन भत्काएर फराकिलो अभिव्यक्ति स्वतन्त्रताको संसारमा रमाउन चाहन्थ्यो । यता त्यहीबेला तुलसी दिवसको नेतृत्वमा सिर्जनशील साहित्य समाजको उदय भएर जगजगी मच्चाइरहेको थियो काठमाडौंको साहित्यिक जगतमा । यहीबेला २०४१ सालमा विष्णुविभू घिमिरे, दिनेश अधिकारी, अशेष मल्लसहित गगन समेतको संयुक्त कविता क्यासेट प्रकाशन भयो, ‘कविताको मौसम’ । यो त्यस किसिमको पहिलो पहिलो प्रयास थियो ।
साहित्य लेखन, साहित्यिक गतिविधि विविध रुपमा अघि बढाउनु पर्छ भन्ने मानसिकता भएको साहित्यिक जमात थियो त्यतिबेला । त्यसका लागि धेरैले साहित्यिक पत्रपत्रिकाको सम्पादन प्रकाशनमा पनि हात हालेका थिए ।
बाह्रबिसेका कवि साहित्यकार खिलबहादुर भावुकले “उमेद” पत्रिका प्रकाशन गरेका थिए । यता सिन्धुपाल्चोकका नकुल सिलवालले “बगर” पत्रिका सुरुवात गरेका थिए । गगनले पनि यही मेसोमा “सुसेली” नामक साहित्यिक पत्रिका सम्पादन र प्रकाशन आरम्भ गरे । तत्कालीन साहित्यिक जमातमा यसको उपस्थिति राम्रै थियो । सुरुवातमा उनी स्वतन्त्र कवि साहित्यकार थिए तर पछि वामपन्थी धारका कवि लेखकहरुको घनिष्ठ संगतका गएपछि उनले भारतबाट प्रकाशित हुने एक प्रगतिशील पत्रिकाको हुबहु गेटअप, लामो साइज र कालो रंगमा सुसेलीलाई ढाले । त्यस रुपमा पहिला कविता विशेषाङ्क प्रकाशन गरे ।
कविता विशेषाङ्क प्रकाशनको क्रममा भएको यौटा आत्मीय घटना म बिर्सन्नँ ।
हामी दौँतरी नै थियौं । साँझ न्यूरोड पीपलबोटमुनि भेटघाट गर्नु, सँगै चिया पिउनु, साहित्यिक छलफल र भलाकुसारी गर्नु त्यसबेलाका नियमितता थिए । उनले सुशेलीको कविता विशेषाङ्क प्रकाशन गर्न लागेको मैले पत्तो पाइसकेको थिएँ, तर उनले मसँग कविता मागेका थिएनन् । यो अनौठो थियो । उनले सुशेलीमा मेरा रचनाहरु प्रकाशित गर्दै आइरहेका थिए, र यसै पनि हामी मित्र थियौं, समलालीन थियौं र हाम्रो सम्बन्धमा कुनै किसिमको तगारो थिएन । तर उनले मसँग कविता नमाग्नु अनौठो लागिरहेको थियो ।
मैले पत्तो पाइहालेँ । उनलाई मेरो कविता सुशेलीको कविता विशेषाङ्कमा नराख्न उनका पछिल्ला साथीहरुले दबाब दिएका रहेछन् ।
एक साँझ हामी न्यूरोड पीपलबोटमा भेटियौं । यो नियमित आकस्मिकता नै थियो । चिया पिएर गफगाफ गर्दागर्दै साँझ परिसकेको थियो । उनले अरु साहित्यिक गफ गरे तर कविता माग्ने सुरै ल्याएनन् । मैले पनि त्यसबारे कुरै उठाइनँ । चिया पसलबाट उठ्यौं र आआफ्नो बासस्थानतिर लाग्न तरखर गर्यौं । गगन र म न्यूरोड पीपलबोटदेखि जुद्ध शम्शेरको सालिकसम्म आयौं । उनी र म प्राय: विशाल बजारको गेटको विपरीत पेटीमा छुट्टिन्थ्यौं । छुट्टिनेबेलामा हात मिलाउने क्रममा गगनले भने, ” गोविन्द, यौटा राम्रो कविता मलाई तुरुन्त चाहियो कविता विशेषाङ्कका लागि । साथीहरुले जति दबाब दिए पनि म मान्नेवाला छैन ।” भन्दै उनी अरु साथीहरुसँग मुर्मरिए । मैले पत्तो पाइहालेँ । उनलाई मेरो कविता सुशेलीको कविता विशेषाङ्कमा नराख्न उनका पछिल्ला साथीहरुले दबाब दिएका रहेछन् ।

गगन विरही
मैले कविता दिएँ, छापियो पनि । सो विशेषाङ्कमा समाविष्ट कविताहरुको बारेमा राजेन्द्र सुवेदीको समालोचनात्मक टिप्पणी छ, तर मेरो कविताको त्यस टिप्पणीमा उल्लेख छैन । कारण, मबाहेकका कविताहरुको कपी राजेन्द्र सुवेदीलाई दिएर सो टिप्पणी लेखाइएको थियो । मसँग कविता माग्दा राजेन्द्र सुवेदीको लेख आइसकेकाले मेरो बारेमा सो टिप्पणीमा छुटेको थियो ।
त्यो विशेषाङ्क प्रकाशित भएपछि त्यस्तै गेटअपमा सुशेलीका एकाध अंक सामान्य अंकका रुपमा निस्कियो र पछि बन्द भयो ।
उनले अशेष मल्लको मुक्तक सङ्ग्रह “अज्ञात प्रदेशहरुमा” को प्रकाशन गरेका थिए । ” प्रेम के जानोस् प्रेमको बोली” गीतका गीतकार उत्तमलाल श्रेष्ठ उनका काका थिए । मलाई उनको काकासँग उनैले ईन्द्रचोकमा लगेर भेटाइदिएका थिए । उनको “प्रेम के जानोस् प्रेमको बोली” किताब प्रकाशनमा पनि गगनले मद्दत गरेका थिए ।
गगन शिक्षण पेसाबाट नेपाल टेलिभिजन प्रवेश गरे । टेलिभिजनमा प्रवेश गरेपछि उनी नयाँ दुनियाँमा पुगे । उनले एकपल्ट समाचार वाचन पनि गरे नेपाल टेलिभिजनमा, तर त्यसलाई अघि बढाउन सकेनन् । टेलिभिजनबाट उनी फिल्मी दुनियाँमा पुगे । फिल्मी दुनियाँमा उनी गीतकार भए । निर्देशक भए । निर्माता भए ।
फिल्मी दुनियाँमा उनी मज्जासँग रमाए । उनीभित्रको गीतकारलाई फिल्मी दुनियाँको प्रवेशले राम्रो फैलावट दियो । यो सुन्दर पक्ष थियो । तर फिल्मी दुनियाँले नै उनको कवित्वमा क्षय भयो । कविको निष्ठामा क्षय भयो । उनले नेपाल र जापानमा सुटिङ्ग हुने “मितेरी साइनो” सिनेमा निर्माणका लागि जापान पुगे । त्यस फिल्म निर्माणको क्रममा धेरै किसिमका हल्लाहरु आए । ती हल्लाहल्लाकै बीच के भयो भयो । उनी साहित्यिक जगतबाट टाढा भए । साहित्यिक साथीहरुबाट टाढा भए । अलि समयपछि अचानक सुनियो- उनी अमेरिका पुगे ।
अमेरिकामा उनको साहित्यिक रचनात्मकताले खासै मुण्टो उठाउन सकेन । अमेरिकामा पनि उनले नेपाली फिल्म बनाउने हल्ला सुनियो । तर बनेन । बरु सन् २००२ मा उनले अमेरिकामा पहिलो नेपाली अखवार “नेपाल समाचार” को सुरुवात गरे । उनी अमेरिकामा व्यावसायिक अखवार निकाल्ने जनक पत्रकार हुन् । त्यो पत्रिका केही समय चल्यो । तर उनी त्यो पत्रिकाको प्रकाशन समूहबाट बाहिरिए । त्यसपछि अरु पनि अखवार सम्पादन प्रकाशनमा हात हाले तर दिगो हुन सकेन । उनी पत्रिका सुरु गर्थे, सम्पादन लेखनसहित यावत् काम गर्थे निकै मेहनतपूर्वक, तर प्रकाशन समूहबाट बाहिर पुग्थे । के मिल्दैनथ्यो, के मिल्दैनथ्यो ।
गगनसँग एकैचोटि निकै लामो समयको अन्तरालपछि न्यूयोर्कमा भएको लक्ष्मी जयन्तीको कार्यक्रममा सन् २००५ मा भेट भयो । यो बडो सुखद भेटघाट थियो । तर म भर्जिनिया बस्थेँ, त्यसपछि फेरि तत्काल भेट जुरेन । मोबाइल फोन पनि त्यतिबेला सुलभ र सहज भैसकेको थिएन ।
मैले “विश्वपरिक्रमा” अखवार प्रकाशन गर्ने क्रममा उनले सहयोग गर्छु भनेका थिए । मैले सहयोग खोजेको थिएँ, त्यसका लागि भर्जिनियाबाट उनैलाई भेट्न न्यूयोर्क पनि पुगेँ, तर हामीले सहकार्य गर्ने वातावरण मिलेन । तर कहिलेकाहीँ फोनमा कुराकानी भने हुन्थ्यो ।
एकदिन गगनको कवित्व, गगनको स्वाभिमान जुर्मुरायो र अमेरिका छाड्ने निर्णयमा पुगे । नेपाल फर्किए । नेपाल फर्केको केही समय अत्यन्त उत्साहपूर्वक देशदर्शन अभियानमा लागे ।
गगनको लामो समय अमेरिका बसाईमा पनि स्थायी बसोबासका लागि कागजात मिल्न सकेन । एकाध साहित्यिक कार्यक्रमहरुमा देखा परे पनि गैरसाहित्यिक वृत्तमा उनी बढी रमाए । हुन त अमेरिका बसाईमा उनले यौटा लघुउपन्यास प्रकाशित गरे, तर त्यसले खासै व्यापकता लिन सकेन ।
एकदिन गगनको कवित्व, गगनको स्वाभिमान जुर्मुरायो र अमेरिका छाड्ने निर्णयमा पुगे । नेपाल फर्किए । नेपाल फर्केको केही समय अत्यन्त उत्साहपूर्वक देशदर्शन अभियानमा लागे । उनले नेपालका विभिन्न धार्मिक र पर्यटकीय स्थलहरुको भ्रमणका फोटोहरु फेसबुकमा पोस्ट गर्थे । साहित्यिक रचनाहरु लेख्न थालेका थिए । यौटा कवि पुनः कविताको घर फर्किएको थियो । सिर्जना कर्ममा फर्किएको थियो । गगन, अशेष मल्ल, दिनेश अधिकारी र विष्णुविभू घिमिरेले तीसको दशकमा सामूहिक रुपमा लेखेको लामो कविताको पुस्तक पनि प्रकाशित भयो, “यौटा बस्तीको कथा” ।
तर अचानक उनी अस्वस्थ भए । उनको कलेजो नष्ट भएको थियो । केही उपचार भयो । उपचारले केही राहत त दियो तर उनले घरिघरि अस्पताल धाउनु पर्ने नियमितता भयो । यो क्रममा पनि उनले साहित्यिक रचना गरी नै रहे । पुस्तक निकाल्ने धोको राखे । उनका निकटस्थ मित्र किशोर पहाडीले शब्दपथमार्फत् उनको कृति “हस्ताक्षर ” को प्रकाशन प्रबन्ध मिलाए । तर पुस्तक विमोचनका लागि साइत मिलाउँदा मिलाउँदै जीवनबाट प्रस्थान गर्ने समय आयो ।
गगनको नश्वर शरीर गए पनि उनी कवितामा जीवित छन् । गीतमा जीवित छन् । समग्रमा उनले सिर्जेका रचनामा जीवित छन् । उनका सुन्दर साहित्यिक रचनाहरु जीवन्त छन् ।
भर्जिनिया, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

