नेपाली कथा साहित्यमा नयाँ नयाँ कथाकार देखा पर्दैछन् भने पुराना कथाकार पनि उत्तिकै सक्रिय छन्। पुरानालाई नयाँ पुस्ताका कथाकारले पालो पनि दिँदैछन्। पहिलो, दोस्रो, तेस्रो, चौथो क्रमशः­­­­ रूपमा चरण-उपचरण गरी नेपाली कथाको फाँट विस्तार भइरहेको पाउँछौँ । यसो हुनु हाम्रो साहित्यको श्रीवृद्धिका निम्ति शुभ संकेत हो। नित्य नवीन चेतनाका कथाले हाम्रो विषयगत वैविध्य, बहुरूपता, नयाँ शिल्प सौन्दर्यको विकास हुँदछ। नेपाली कथाको परम्परामा धेरै खुड्किला पार गर्दै नयाँ नयाँ काँचुली फेर्दै आफ्नो विकासको गति तीव्र गर्दैआएको पाइन्छ। नेपाली कथाको विषयवस्तु व्यापक भएका छन्, शैलीमा पनि व्यापकता छ भने प्रयोगका निम्ति पनि बहुविधता छ।

नेपाली कथाले धेरै विषय पाएको छ। यत्रो ठूलो संसार र असङ्ख्यौं मानिसले बसोबासो गर्ने यो समाजमा अनेक विषयवस्तु छन्, अनेक स्रोत छन् र अनन्त घटना हुन्छन्। बाहिरी जीवन र जगतको वर्णन गरिएका लाखौं कथाहरू लेखिएका छन्। यसका साथै मनभित्रको ठूलो विशाल संसारको विचरण गर्ने खालका कथाहरू पनि प्रशस्त मात्रामा लेखिएकै छन्। संसार जटिल छ। यसमा अनेक घटना-उपघटना हुन्छन्। यस्ता सबै घटना आदि नै कथाका सामग्री हुन्छन्। यसैगरी मनभित्रका अनेक अवस्थाका रूपलाई पनि कथाका सामग्री बनाउन सकिन्छ। मनभित्र उठेका ज्वारभाटा, राग-अनुराग, अनुभूति, अनुभव सबैलाई समेटेर कथा लेखिन सक्छ।

उन्नाइसौं बीसौं शताब्दीमा मनोविज्ञान क्षेत्रमा व्यापक अध्ययन अनुसन्धान भए। सिग्मण्ड फ्रायडको मनोवैज्ञानिक क्षेत्रमा भएको पदार्पणले अझ दिशा पायो। उनले मान्छेको मनका विभिन्न अवस्थाको पत्तो त्यसको चर्चा गरे। उनका अनुसार बाहिरी संसारभन्दा मानिसको मनको संसार अझ जटिल, संश्लिष्ट र सघन छ। उनले मानवीय बाह्य आचरणभन्दा आन्तरिक मनोजगतले मानिसलाई धेरै प्रभावित पारेको हुन्छ। अझ मानवीय चरित्रमा यौन तत्त्व वा कामवासनाको बढी व्यापकता र प्रभावको अध्ययन गरे। सिग्मण्ड फ्रायडका अध्ययनअनुसार मानवीय मनका तीनवटा अवस्था हुन्छन्- चेतन, अवचेतन र अचेतन। चेतन मन सतही हुन्छ, अचेतन मन गहिरो हुन्छ र दुवैका बीचमा अवचेतन मन हुन्छ। चेतन मन भौतिक जगत्सित सम्बद्ध हुन्छ। यस अवस्थामा वर्तमान क्षणका विभिन्न संवेदना र अनुभूति हुन्छन्। यो मानसिक जीवनको सानो भाग मात्र हो। यो नैतिकवान, आदर्शवान र तात्कलिक हुन्छ। अर्द्धचेतन मनलाई स्मृति क्षेत्र पनि भनिन्छ। मानवीय मनको महत्त्वपूर्ण अचेतन हो। यसमा दमित, कुण्ठित मानवीय इच्छा रहन्छन्। यो स्वेच्छाचारी अनैतिक, अराजक र सुखेच्छामा लिप्त रहने गर्छ। यही अचेतन मनले यौन सुखलाई बढी महत्त्व दिन्छ।

नवीन पाैड्याल

मनभित्रका कथा लेख्नेहरू धेरै छन्। मनभित्रका विभिन्न पाटामध्ये प्रेम प्रीतिसित संलग्न नरनारीका यौनका विभिन्न पक्षहरूलाई लिएर कथा लेख्नेहरू पनि धेरै छन्। अचेतन मनका विभिन्न अवस्थालाई लिएर लेख्नेहरू नेपालबाट धेरै छन्। विशेषगरी विश्वेश्वरप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, भवानी भिक्षु, विजय मल्ल, गोविन्द मल्ल गोठाले, कुमार नेपाल, पुष्कर लोहनी, रमेश विकल, प्रेमा शाह, रमेश विकल आदि हुन्। यता भारतबाट गुप्त प्रधान, रामलाल अधिकारी, प्रेम प्रधान आदि हुन्। यसै मनोविज्ञानको एउटा पाटो यौनमनोविज्ञानलाई मूल विषयवस्तु बनाएर लेख्ने परिप्रेक्ष्यमा सिक्किमका हरीश मोक्तान अल्लरे पनि देखा परेका छन्।

सिक्किम सरकार अधिनस्थ कृषि विभागमा अधिकारी रहेका हरीश मोक्तान अल्लरे साहित्य लेखनमा पनि सक्रिय छन्। उनले विशेषगरी कथा लेखनमा अधिक रूचि लिएको देखिन्छ। हालसम्म उनका चारवटा कथासंग्रह प्रकाशित भइसकेका छन्। हालमा उनको नयाँ कथासङ्ग्रह डार्क फेन्टासी हाम्रोसामु आएको छ। यसले नौलो र भिन्दै किसिमका कथावस्तु लिएर देखा परेको छ। उनको अघिल्लो कथासङ्ग्रह कथा बाच्दै जाँदामा पनि मनोविज्ञानका केही सामग्री प्रयोग गरिएको पाइन्छ।

प्रस्तुत सङ्ग्रहका अधिकांश कथाहरू दैनिक समाचारपत्र हिमकस्तुरीमा एउटा स्तम्भका रूपमा प्रतिहप्ता प्रकाशित हुने गरेका थिए। यी कथाहरू निकै पाठकले रूचाएको तथ्य पाइएको थियो। अघिल्लो कथा सङ्ग्रहपछिको यो कथासङ्ग्रहमा पनि यौन-मनोविज्ञानका विभिन्न पाटा रहेका छन्। यसमा नरनारीभित्र लुकेर रहेका यौनका विभिन्न ज्वारभाटा, अनुभूति, चाहनालाई अभिव्यक्ति दिन खोजिएको छ। यौन सुखको अनुभूति प्रत्येक मानिसको एउटा स्वाभाविक गुण हो। कथाकारले यसैलाई बाहिर अभिव्यक्ति दिएको पाइन्छ। यसमा रहेका बैंसालु कथाहरूले पाठकलाई आकर्षित गरेको हो।

प्रस्तुत सङ्ग्रहका पच्चीसैवटा कथाको मूल विषय यौन पाइन्छ। मानिसमा चेतन मन र अचेतनको द्वन्द्वबाट सिर्जिएको विभिन्न भावलाई कथामा स्थान दिइएको पाइन्छ। अचेतन मनले कायिकस्व र चेतन मनको आदर्शस्वबीच द्वन्द्व पाइन्छ। कथावाचकको एकापट्टि आफ्नो घरपरिवार छ। घरमा आफूले मन परेकी स्वास्नी छ तर पनि मन अन्य युवतीतिर आकर्षित हुन्छ। नारीको यौवनजन्य सौन्दर्यात्मक र शारीरिक रूप देख्दा मोहित भई सुखेच्छा चाहना गर्ने पुरूष मानसिकता झल्काइएको छ। मानिसको जन्म नै यौनवासनाबाट उब्जेको हुँदा मानिसमा यसको ठूलो प्रभाव परेको हुन्छ। मानिसले बाहिर जति नै यसको महत्त्व नदिए झैं भए पनि मान्छे भित्र भित्रै यौनप्रति लालयित हुन्छ। यसको प्राप्तिका निम्ति मान्छेले विभिन्न युक्ति प्रयुक्ति लाएको हुन्छ। यस सङ्ग्रहभित्र यसै तथ्यलाई पात्रका विभिन्न मनोभाव, क्रियाकलाप आदिको माध्यमबाट व्यक्त गरिएको छ।

सङ्ग्रहका कथाहरूमा लेखक, कथायिका र पात्र गरी अलग तीन रूपको पुरूष पाइन्छ। प्रथम पुरूषको दृष्टिबिन्दुका रूपमा रहेको म लेखक नभएर कथावाचक पात्र हो। यद्यपि एक दुईवटा कथामा कुनै सरकारी कार्यालयको अधिकारी मोक्तान पात्र भने देखिन्छ। मानिसको आधारभूत एषणा (Basic Instinct) तथा धर्म, अर्थ, काम र मोक्ष जस्ता चार पुरूषार्थमध्ये एउटा प्रमुख रूपमा रहेको काम (यौन) लाई लिएर कथाकारले कथा बुनेका छन्। उनका पात्रहरू प्रमुख कामवासनाका तत्त्वले सताइएका छन्। नारीका शारीरिक सौन्दर्यमा पुरूष मोहित हुनु स्वाभाविक हो। कतै नारीको स्पर्शसुख र चुम्बनसुख  आदिबाट सन्तुष्ट भएको वर्णन पाइन्छ। कुनै कथामा अश्लील अंग्रेजी-हिन्दी सिनेमाकी यौन चलचित्रकी नायिका सन्नी लियोनीसित आनन्द भोग गरेको कल्पनाको वर्णन गर्नाले कथा नै अश्लील बन्न पुगेको छ।

कथासङ्ग्रहमा अत्याधिक अंग्रेजी शब्द प्रयोग गरिएको पाइन्छ। सङ्ग्रहको नाम नै डार्क फेन्टासी हुनाले अंग्रेजी शब्द कति छन् अनुमान गर्नु सकिन्छ। हाम्रो समाजले दैनन्दिन प्रयोग गर्ने अंग्रेजी शब्दको अधिक मात्रामा पाइन्छ। कथाकारले तिनै सामान्य रूपमा प्रयोग हुने अंग्रेजी शब्दलाई अक्षरसः लेखेका छन्। सङ्ग्रहका जम्मा पच्चीसवटा कथाका शीर्षकहरू नै अंग्रेजी, हिन्दी, छ्यासमिस र नेपालीमा छन्। पाँचवटा शीर्षक अंग्रेजीमा, तीनवटा हिन्दीमा, दुईवटा मिश्रित र बाँकी नेपालीमा शीर्षक बनाइएको छ। कथालाई जनरूचिमा हाल्नका निम्ति यसो गरिएको हुनसक्छ। कुनै कुनै त पूरै वाक्य नै अंग्रेजीमा बोलेको नै राखिएको छ।

यस सङ्ग्रहमा सबै कथाको विषय यौन मात्र हुनाले सामान्य पाठकलाई एकरसता भई दिक्दारी पनि लाग्न सक्छ। कतै कथाको भाषामा साहित्यकताभन्दा ठाडो, सोझै हुनाले साहित्यिकताको कमी पनि पाइन्छ। कतै बढी अश्लीलता झलक पाउन सकिन्छ त कतै कथावस्तुको बुनोटमा कमजोरी पनि देखिन्छ। ‘’मोक्तान बाबु त छिटो छ है’’ भन्ने खालको संवादले कथालाई अमर्यादित तुल्याएको छ। यौनको वर्णनमा पनि कलात्मकताको कमी पनि परिलक्षित हुन्छ। यद्यपि, यसलाई छद्म रूपमा रहेको आमरूचिलाई आँक्न सकेको छ। भारतमा छद्म रूपमा यौनजन्य इन्टरनेटका वेबसाइट, सिनेमा, साहित्य आदि जस्ता सामाग्रीको अत्याधिक चलन रहेको छ भने यसमा रहेका सामान्य प्रेम, नारी आशक्ति, आकर्षण आदि वर्णन भएको कथासङ्ग्रहलाई अश्लील कथासङ्ग्रह नमानेर साहित्यिक रूचिको मान्न सकिन्छ।

अतः हरीश मोक्तान अल्लरेको नयाँ कथासङ्ग्रह डार्क फेन्टासी नेपाली कथासंसारमा अर्कै नयाँ स्वाद, रूचि र परिपाटी लिएर आएको छ। यसभित्र दुर्वल र सबल पक्ष दुवै छन्। यौन विषयकेन्द्रित यसका कथा साहित्यिक र साहित्येतर पाठकका निम्ति पनि रूचिकर बनाउने प्रयास गरिएको छ। पुस्तकको आवरण, सेटिङ, मुद्रण सम्पूर्ण रूपले सुन्दर र आकर्षक बनेको छ। आम पाठकको रूचि, केही नाङ्गो सत्यको उद्घाटन र मानवीय अनुभूतिको प्रतिनिधित्व गर्दै यस सङ्ग्रहका कथाहरूले छुट्टै स्थान ओगट्न सक्ला, आशा गरौं।