नेपालका प्रख्यात नृत्य निर्देशक बसन्त श्रेष्ठको नाम नसुन्ने कमै होलान् । प्राय: जसो नेपाली चलचित्रमा उहाँको नाम प्रकाशित नृत्य निर्देशकको रुपमा देखिएकै हुन्छ । हामी सबै नेपाली चलचित्रलाई माया गर्छौं र प्राय: हेर्ने गर्छौं । त्यसैले बसन्त श्रेष्ठको नाम सबैको मनमा रहन सकेको हो ।
बसन्त श्रेष्ठसँग मेरो पुरानै चिनजान हो । हाम्रो पारिवारिक सम्बन्ध छ भन्दा अत्युक्ति नहोला । सायद चालीस वर्ष पुरानो सम्बन्ध होला । तीसको दशकमा मेरो भाइ हेमन्त श्रेष्ठले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा काम गर्न थालेपछि नै हाम्रो सम्बन्ध सुमधुर बन्न पुगेको हो । बसन्त दाइको शालीन व्यक्तित्व, भद्र व्यवहार र नरम बोलीले म हायल कायल छु । नम्र स्वभावका धनी व्यक्तित्व उहाँ नृत्य विधामा निपूर्ण व्यक्तित्वमा गनिनु हुन्छ । अहिलेको प्राय: सबै चलचित्रका कलाकारहरु उहाँकै प्रशिक्षणबाट पारंगत बन्न पुगेका हुन् भन्दा अत्युक्ति नहोला ।
रमाइलो कुरा, दाइको र मेरो नाम र थर एउटै छ । नेपालमा रहँदा त केही त्यस्तो अनुभव भएन तर यहाँ अमेरिका आएपछि मेरो नामले प्राय: उहाँको सम्झना दिलाइरहन्छ । मैले आयोजना गर्ने गरेका कार्यक्रमहरुमा नामले गर्दा नै म दाइलाई सम्झन पुग्छु ।
सन् १९९४ मा म प्रवासमा आएँ । त्यस समयमा सीमित व्यक्ति र सीमित संस्था मात्र थिए । विशाल सागरमा हाम्रो अस्तित्व खोज्ने मेलोमा, आफ्नो पहिचानको खोजीको क्रममा मैले प्रयोग गरेका उपायहरु मभित्र अन्तर्निहित भाषा, साहित्य, कला र संस्कृति नै त थिए । आफ्नो अस्तित्वको र पहिचानको लागि लडाइँ लड्न मैले जहिले पनि आफूलाई पहिलो प्राथमिकतामा राखें । त्यसैको फलस्वरूप त्यसको निर्माण र विकासमा निरन्तर लागिरहेको संस्थासँग हातेमालो गर्न पुगें ।
सीमित व्यक्ति र सानो जमातबाट गुज्रिएका हामी प्राय: एउटा नै संस्थाले विविध मात्र होइन सम्पूर्ण क्षेत्र ओगटेर कार्य गर्नु पर्ने अवस्था थियो । स्थापित एउटा सामाजिक संस्थाले समाजमा घट्ने या आइपर्ने विविध विषयको निरुपण र सम्बोधन गर्ने कार्य गर्दथ्यो । त्यही सामाजिक संस्थाले सांस्कृतिक, साहित्यिक, सामाजिक र कलाकारिताका गर्ने कार्य पनि हुने गर्थे । त्यही एउटा संस्थाले दशैं, तिहार, नयाँ वर्षको मनाउने कार्यक्रम पनि गर्दथ्यो भने नेपालबाट आएका राजनैतिक नेताको लागि विशेष जमघटको पनि व्यवस्था गर्ने गर्दथ्यो । हरेक सामाजिक गतिविधि आफ्नो समुदायमा उठेका विविध समस्या र निराकरणको लागि एउटा नै स्थापित संस्था थियो । सम्भवत सन् २००८ सालपछि मात्र नेपाली समुदायको संख्यामा वृद्धि भएको कारणले विभिन्न जातीय, क्षेत्रीय, वर्गीय, सांस्कृतिक अनि छाया राजनैतिक संघ संस्था बग्रेल्ती स्थापना भए ।
त्यस समयमा एक दुई मात्र नेपाली संघ संस्था स्थापित थिए । बोस्टन सहरमा ग्रेटर बोस्टन नेपाली समुदाय थियो । त्यस संस्थाले दशैं, तिहार र नेपाली नयाँ वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउने गर्थ्यो । सुरू सुरूमा हार्बर्ड विश्व विद्यालयको कुनै सानो कोठामामा सीमित भएर गरिने कार्यक्रम सन् २००० सालमा वाशिंगटन डिसी स्थान्तरण हुँदा त्यो सानो कोठामा होइन ठूलै कोठामा नअटिने भएका थियौं । सन् १९९८ मा “जीबीएनसी दशक साँझ” सांस्कृतिक कार्यक्रम गर्यो जीबीएनसीले । त्यस संस्थाको निर्देशकको नाताले मैले त्यस कार्यक्रमको जिम्मा लिएँ । त्यसबेलाका स्थापित कलाकारहरु न्हुछे डंगोल, शिशिर श्रेष्ठ, विनोद थापा, देवी थापा, तारा राई , बसन्ती राई , अनु वन्त , ध्रुव वन्त , नरबहादुर दाहाल सम्मिलित सो सांस्कृतिक कार्यक्रम एक सफल र अत्यधिक मन पराइएको कार्यक्रम भएको थियो । एमआइटीको क्रेगर हलमा सम्पन्न सो कार्यक्रमको पर्चामा मेरो नाम निर्देशकको रुपमा लेखिएको थियो । कार्यक्रम अत्यधिक सफल हुनुमा धेरैले मलाई नृत्य निर्देशक बसन्त श्रेष्ठ दाइ म नै हो त्यसैले त यत्रो सफल कार्यक्रम भयोभन्दा रहेछन् । नाम र निर्देशक पद जो मिलेको थियो ।
धेरैले “नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा काम गर्नु हुन्थ्यो होइन ?” भनेर सोध्थे ।
“म होइन मेरो भाई हेमन्त हो” भन्थें ।
“ए मैले त त्यहाँ काम गर्नु हुन्छ भनेर सुनेको” भन्थे ।
सन् १९९९ को कुनै दिन म, आमा र मेरी श्रीमती विद्या बोस्टनबाट आएर मेरिल्याण्डमा अच्युत श्रेष्ठ दाइको घरमा बसेका थियौं । हामी पेन्सिल्भानिया राज्यको ह्यारिशबर्गमा कवयित्री बहिनी सरला श्रेष्ठको दीक्षान्त समारोहमा भाग लिन भनेर जाँदै थियौं । नियात्राकार जय छाङ्छाजी पनि साथै जानुहुने भएकोले हामी एक दिन रोकिएका थियौं । त्यस समय जय छाङ्छा नेपाली दुतावासमा कार्यरत थिए ।
भोलिपल्ट अच्युत दाइले खबर गर्नुभयो, कोही मलाई चिन्ने मान्छे भेट्न आउँदैछन् बाल्टिमोरबाट । तर उहाँले जुन नाम भन्नु भयो । मलाई त्यो नाम याद भएन, चिने जस्तो पनि लागेन । कोही होला पुरानो चिनजानको भन्ने लाग्यो । उहाँहरु डेढ घण्टा टाढाबाट मलाई भेट्न आउँदै हुनुहन्थ्यो ।
दिउँसो करिब एक दुई बजे आइपुगे । अच्युत दाइले भित्र लिएर आउनुभयो अनि मलाई देखाएर भन्नु भयो, “ऊ त्यहाँ हुनहुन्छ बसन्तजी” ।
अनि उनले अक्मकिएर मलाई हेरेर भने “व मखु बसन्त श्रेष्ठ” । (त्यो बसन्त श्रेष्ठ होइन ।)
अच्युत दाइ भन्छन्, “व हि ख नी बोस्टन नि से व उ” । (उही त हो नि बोस्टनबाट आउनु भएको बसन्त श्रेष्ठ ।)
उहाँहरु दुई जना बोल्दै हुनुहुन्थ्यो “ मखु मखु जी मश्यु मे म्मै ख” । (होइन होइन, मैले चिनेको बसन्त श्रेष्ठ अर्कै हो ।)
हामी असमन्जसमा थियौं । अनि पछि उहाँले भन्नु भयो, चलचित्रमा आउने के । त्यसपछि हामी प्रष्ट भयौं कि उहाँहरु चलचित्रका नृत्य निर्देशक दाइ बसन्त श्रेष्ठलाई पो भेट्न त्यति टाढादेखि आउनुभएको रहेछ । एकछिन बसेर उहाँहरु फर्किहाल्नु भयो । मलाई अति नमज्जा लागेर आयो । त्यत्रो लामो बाटो आएर पनि उहाँले भनेको बसन्त म होइन रहेछु ।
नेपाली दुतावासमा प्रजातान्त्र दिवसको कार्यक्रम थियो । भीडभाड थियो । त्यस्तै भीड छिचोल्दै एउटा सज्जन आइपुग्नु भयो मेरो सामुन्ने । हामीले चिनजान गर्यौं । उनी फ्रान्सको नेपाली दुतावासमा कार्यरत सज्जन रहेछन् ।
मेरो नाम भन्नेबित्तिकै उनले भने “म तपाईंलाई चिनी हाल्छु नि ? नृत्य निर्देशक तपाईंको नाम नसुन्ने को छ !”
मैले भनें, ‘होइन होइन, म त्यो बसन्त श्रेष्ठ होइन । मलाई त नाच्न पनि आउँदैन । कहाँबाट निर्देशन गर्ने ?”
उनले नपत्याए झैं एकपटक मुखमा हेरे अनि भने, “होइन होला ।”
त्यति नै बेला मलाई कसैले खोज्दै आए र म उनीसँग छुट्टिनु पर्यो । पछि खोजें उनलाई भेट्न सकिनँ । अहिले पनि मलाई उनलाई विश्वस्त पार्न नसकेकोमा दु:ख लागिरहन्छ । मान्छेलाई भ्रममा त बाँच्न दिनु भएन नि ।
एएनएको कार्यक्रम बोस्टनमा भव्यसँग हुँदै थियो । म कविता गोष्ठीको कार्यक्रमको तयारीमा लाग्दै थिएँ । मैले चिनेको मित्रले एउटा सज्जन व्यक्ति लिएर म भए ठाउँमा आउनु भयो। नौलो व्यक्तिसँग चिनापर्ची गराइदिनु भयो ।
उसले भन्यो, “मैले तपाईंलाई भेटेको छु ।”
तर मलाई याद नै भएन । ठम्याउन पनि सकिनँ । सम्झन खोजें, भेटे जस्तो लाग्दै लागेन । उनले कार्यक्रममा कतै मेरो नाम पढेछन् र मलाई भेट्न आएका रहेछन । उनले भने, “हुलमुलमा भेटेको हो, प्रज्ञाप्रतिष्ठानमा तर तपाईंलाई याद भएन ।”
तर मलाई लाग्छ उसले मलाई होइन नृत्य निर्देशक बसन्त दाइलाई नै भेटेको हुनुपर्छ ।
कहिलेकहीँ अप्ठेरो पर्छ चिनेको छैन भन्न सकिन्न, भेट्न आएको मान्छेलाई । बिर्सन पनि सकिन्छ । तर सम्झना पटक्क आउँदैन । ‘ए बिर्सेछु’ भन्नुबाहेक ।
कोलोराडोको डेनभरमा ग्लोबल फिल्म फेयर अवार्डसको कार्यक्रमको आयोजना हुँदै थियो । चलचित्रका थुप्रै नायक, नायिका र सम्बन्धित व्यक्तिहरुको ठूलै जमघट हुँदै थियो । कार्यक्रम हुन अझै दुई दिन बाँकी नै थियो । एक बिहानै मेरो सेल फोनको घन्टी बज्न थाल्यो । कोलोराडोबाट मेरो चिनजानको मित्रको फोन रहेछ ।
उसले एक्कासी सोध्यो, “भरे बेलुकाको कार्यक्रम के छ ?”
मैले भनें, “अहिलेसम्म त केही छैन ।”
उसले खुशी हुँदै भन्यो, “त्यसो भए ठीक छ म तपाईंलाई दिउँसो नै लिन आउँछु, दिनभर तपाईंलाई घुमाउँछु अनि डिनर म कहाँ नै गर्ने हुन्न ?”
मलाई अचम्म लाग्यो । कोलोराडो बस्ने मित्र यता भर्जिनिया कहिले आएछ । अनि मैले सोधें, “तिमी कहिले आएको ?”
उसले भन्यो, “काम विशेषले बाहिर गएको थिएँ । हिजो राति मात्र आइपुगें । राति नै थाहा पाएँ । त्यसैले अहिले बिहानै फोन गरेको ।”
मैले अच्चम्म मान्दै सोधें, “तिमि अहिले कोलोराडो मै होइन र ?”
उसले भन्यो, “हो म यहीँ छु । मैले हिजो राति मात्र थाहा पाएँ तपाईं कोलोराडो आउनु भएको भनेर ।”
अब अचम्म हुने पालो मेरो थियो । मैले भनें, “तिमी के कुरा गर्दैछौ ? म त अहिलेसम्म यहीँ भर्जिनियामा छु ।”
अब अचम्म मान्ने पालो उसको थियो । उसले भन्यो, “कार्यक्रमको लागि भनेर बसन्त श्रेष्ठ आउनु भएर हिल्टन होटल बसेको छ भनेर मलाई साथीहरुले भनेको ।”
अनि मैले उसलाई सम्झाउँदै भनें, “पदमजी, त्यो बसन्त श्रेष्ठ कविता लेख्ने बसन्त श्रेष्ठ नभएर चलचित्रमा नृत्य निर्देशक भएर काम गर्ने मेरो प्यारो दाइ बसन्त श्रेष्ठ पो आउनु भएको होला ।”
अनि हामि दुवै मरी मरी हाँस्न थाल्यौं ।
यसरी परदेशमा धेरै पटक बसन्त दाइ मेरो भावनाभित्र मसँग रहेर घुमिरहनु हुन्छ । जतिपटक नयाँ मान्छेसँग भेट्छु चिनापर्ची गर्छु अनि दाइको हँसिलो अनुहार सम्झने गर्छु ।
आजकाल मैले कसैसँग परिचय भएपछि कसैले “तपाईंको नाम सुनेको छु” भन्नेबित्तिकै तिनले केही भन्नुअघि नै भन्ने गर्छु, “अँ, त्यो तपाईंले सुन्नु भएको बसन्त श्रेष्ठ चैं नृत्य निर्देशक बसन्त श्रेष्ठ अर्कै हुनुहुन्छ । म होइन है !”
मैले एकपटक दाइलाई भेटमा यो कुरा भनेको पनि छु । बसन्त दाइ ठूलो दिल पारेर मलाई फुर्काउनु हुन्छ । हो मलाई पनि कसै कसैले मैले नाम भने पछि सोध्छन्, “तपाईं कविता लेख्ने बसन्त श्रेष्ठ होइन ?” भनेर । अनि हामी दुवै मरी मरी हाँस्दछौं ।
भर्जिनिया, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।