देश र प्रदेशमा तिहारको रमझम बढिरहेको थियो । देशभर झिलीमिली बत्ती बाल्ने, दीपावली गर्ने, लक्ष्मीपूजा गर्ने, देउसी र भैलो खेल्ने क्रम चलिरहेको थियो । यसैबेला महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती उल्लासमय किसिमबाट विभिन्न देशहरुमा धुमधामका साथमा मनाइएको थियो । नेपालमा जस्तो दीपावली गर्ने, देउसीभैलो र तिहार मनाउने विशेष उत्सवमय कार्य विदेशतिर नभए पनि नेपालका यी गतिविधिहरुलाई झल्काउन केही गतिविधि भने गर्यौं हामीले पनि ।

अमेरिकामा जाडोयाम सुरु भएसँगैै कोलोराडो पनि कठ्याङग्रिँदै गएको थियो । कोलोराडोको आकाश बादलले ढपक्क ढाक्न थालेको थियो । जाडोसँगैै सुरु भएको यस वर्षको तिहार भने अनौठो किसिमबाट बित्यो । विश्वव्यापी फैलिएको कोरोनाको त्रासले सबैतिर खैलाबैला मच्चाइरहेको थियो । हरेक दिन फेसबुक र समाचार माध्यमहरुबाट कोरोनाले यति जनाको ज्यान गयो र उति जनाको ज्यान गयो भन्ने समाचार सुनिरहनु पर्दछ । भेटघाट र कुराकानीमा केवल यसैको चर्चा सुन्नु पर्छ । सुरुतिर त यस्तो सुन्दा जिउ नै सिरिङ्ग भएर आउँथ्यो । आहो ! कोरोना कहिले सकिएला ? कहिले यसको औषधी उपलब्ध होला ? कोरोना लागिहाले पनि यससँगै लड्न सकिएला या नसकिएला ? यस्ता प्रश्न सधैं उब्जिरहे मनभरि ।

तिहार लागेसँगैै श्रीमतीमा सामान्य रुघाखोकी, मनतातो शरीर र घाँटी खसखस जस्ता लक्ष्यण देखिए । मनमनै मौसम परिवर्तनको खेल भन्ने पनि नलागेको होइन । तातोपानी, बेसारपानी नियमित सेवन गरिरहेका थियौं । साथसाथै ज्वरो कम गर्न टालेनल पनि सेवन गरिरहेका थियौं । विश्वभर कोरोना संक्रमणसँगैै हामीले पनि आफ्नो सुरक्षाकवचका विभिन्न उपायहरु अपनाइरह्यौं । मास्क लगाउने, कामबाट फर्कनासाथ आफ्नो कपडा धुन लन्ड्रीमा हाल्ने, नुहाउने, तातोपानीको बाफ लिने, सोसल डिस्टेन्समा टाढा टाढा बस्ने, खाना खान पनि टाढै बस्ने, आफूले खाएका भाँडावर्तन आफैं धुने, सेनिटाइज गरिरहने, छिन छिनमा हात धुने, घरमा ब्लिच स्पे्र गर्नेजस्ता सावधानीका उपाय विगत आठ नौ महिनादेखि नै नियमित पालना गर्दै आएका थियौं । कोरोनासँगैै हाम्रो जीवनको गतिको लय बदलिएको थियो । सकेसम्म काममा पनि कम जाने र जानु परेमा छिट्टै आफ्नो काम सकेर फर्कने हाम्रो आदत बसिसकेको थियो ।

पदम विश्वकर्मा

श्रीमती स्वास्थ्य क्षेत्रमा काम गर्ने हुनाले काममा कोरोना पोजेटिभ केही बिरामीहरुमा पmाटफुट देखिन थाले । आफूलाई पनि संक्रमण हुन सक्ने आशंकाले कारोनाको र्यापिड टेष्ट गराउन पुगिन् । र टेष्टमा नेगेटिभ रिपोर्ट आएपछि परिवारमा हामीले खुशी साट्यौं । कोरोना संक्रमणबाट बच्न सकेकोमा हाम्रो परिवारमा केही खुशी प्रत्याभूति भयो ।

त्यसको केही दिनपछि पनि श्रीमतीलाई घाँटी खसखस गर्ने, सिँगान बगिरहने र अलिअलि खोकी लाग्न कम भएन । केही दिन पहिले पलाएको हाम्रो खुशीमा आशंकाले घेरा हाल्यो । र्यापिड टेष्टको रिजल्टमा पत्यार लागेन हामीलाई । कोरोना पुनः परीक्षण गर्ने र यसपटक भने नियमित परीक्षण गर्ने निधो ग¥यौं ।

शनिबार लक्ष्मीपूजाको दिन थियो । घरमा सेल रोटी पाके । साँझमा लक्ष्मीपूजाको तयारी भयो । हामीले पनि घरका भित्ताहरुमा सानातिना बत्ती झुण्ड्यायौं । श्रीमती, म र दुवै छोरा पूजामा जुट्यौं । श्रीमतीलाई भने त्यस रात पनि घाँटीको खसखस, रुघाखोकी सयमा उन्नान्सय पनि भएन । तातोपानी, औषधी सेवन गरिरहँदा पनि यी समस्या ज्यूँका त्यूँ थिए । हाम्रो मनमा लागेको शंकाको घेरो फाट्नै सकेन ।
सोमबार विहान हुन नपाउँदै भाइटीका लगाएका फोटोहरु नेपालतिरबाट फेसबुकभरि छ्यापछ्याप्ती रंगीइसकेका थिए । हाम्रो घरमा यसपाली भाइटीका थिएन । मेरो त यसै पनि कहिल्यै हुँदैन भाइटीका । तैपनि विभिन्न परिकार, मिष्ठान्नहरु बने । साँझतिर इष्टमित्र र केही साथीहरु भेला हुने र रमाइलो गर्ने योजना थियो । हामी उनीहरुकै प्रतिक्षामा थियौं । अमृतजी भने यतै आउनेक्रममा घरनजिकै आइपुगेको खबर थियो । यस्तै पाँच बजेतिर श्रीमतीको फोनमा घण्टी बज्यो । फोन क्लिनिकबाट आएको थियो । “तपाईंको रिजल्ट आयो, टेष्टमा पोजेटिभ देखियो, चौधदिन क्वारेन्टाइनमा बस्नु र घरका सबै सदस्यहरुले पनि कोरोनाको टेष्ट गर्नुपर्छ” – नर्सले भनिन् । श्रीमती हतारिँदै इस्टडिरुमतिर आइन् । उनको मुख नीलोकालो थियो, आकाशको कालो बादलजस्तै । उनले भनिन्, “रिजल्ट पोजेटिभ आयो रे, के गर्ने ?”
हामी झनै अत्तालियौं ।

तिहारको दिन थियो, साथीहरु जम्मा हुने योजना थियो । मैले सबै साथीहरुलाई तुरुन्तै खबर गरें र घरमा नआउन जानकारी गराएँ । घरनेरै आइपुग्न लाग्नुभएका अमृतजी पनि उतैबाट फर्कन भनें । तत्कालै श्रीमतीलाई क्वारेन्टाइनमा राख्यौं । तिहारसँगैै हाम्रो घरमा कोरोना भित्रियो । ट्रेभरि रोटीहरु, अनेकथरिका खानेकुराहरु हामीलाई टुलुटुल हेरिरहेका थिए । हामी पनि तिनीहरुलाई हेरी मात्रै रह्यौं । मनभरि भने अनेक शंका र आशंकाले डेरा गरिरहेको थियो । कोरोनाको भयावह स्थिति हामीले चौतर्फी देखेका थियौं, आफ्नै आखाँ अगाडि आफन्तहरु, साथीहरु, चिनजानका मनहरु क्रमैसँगै यस संसारबाट बिदा लिइरहेको नमीठो दृश्यहरु यिनै आँखाहरुले देख्नु परिरहेको थियो । हाम्रा आँखावरिपरि तिनै दृश्य घुमिरहे । हामीले केही खान सकेनौं । हामीमा यसले संक्रमण गर्नसक्ने प्रवल संभावना त थियो नै । परिवारका बाँकी सदस्यहरु पनि भोलिपल्ट विहानै कोरोना परीक्षण केन्द्रतिर लाग्यौं ।

मूल गृहणी कोठामा एकान्तबासमा थन्किइन् । छोराहरु मेरो अनुहारमा टुलुटुल हेर्थे । उनीहरुको उदास र मलिनो अनुहार देखेर म झनै उदास हुन्थें । त्यही रात मलाई पनि अलि ज्वरो आयो । डरले मन ढक्क फूल्यो । ज्वरो आएको बेलामा सधैं औषधि, तातोपानी खान दिने जीवनसंगिनी थिइनन् साथमा । उनीहरुको लागि पनि यस्तो बेला आफू आत्तिएको देखाउनु भएन । श्रीमती र छोराहरुलाई पकाउने, खुवाउने र श्रीमतीको स्याहारसुसार गर्नु प्रमुख दायित्व मेरो काँधमा आयो । श्रीमतीलाई विहान बेलुकै वाफ लिन तातोपानी दिने, बेसार–जिरापानी पटक पटक पकाएर खानदिने, चिया–खाजा, खाना, सुुपहरु नियमित खानदिने, ओखतिमूलोको बन्दोबस्त गर्ने आदि प्रबन्धमा मेरा दिन रात बिते ।

हाम्रो टेष्टको रिजल्ट नआउँदासम्म हामी तीनै जना आतंकित बनेका थियौं । टेष्ट रिजल्ट नेगेटिभ आएपछि भने हामीले लामो सास फेर्यौं । कोरोनाको अवधि निकै कष्टप्रदरुपमा बिते । श्रीमती बसेको कोठामा जाँदा पनि मास्क लगाएर डराइडराई जान्थ्यौं । खाना, पानी आदि ढोकाको बाहिर राखेर ढोका ढकढक गरेर दौडदै फर्किन्थ्यौं । कोठामा बाघ थुनेर राखेजस्तै भान भयो हामीलाई । यो डर उनीसँगको नभएर रोगसँगको डर थियो । उनी चौध दिनसम्म जेलमा बसेजस्तो गरी कठोर तपस्या गरी बस्न बाध्य भइन् । यतिका दिनसम्म न हामीलाई देख्न सकिन्, न त हामीले नै देख्यौं । कति कठोर भयो होला यी जेलरुपी दिनहरु बिताउन ? उनको स्वास्थ्य केकस्तो छ, केही आवश्यकता छ कि भनेर पटक पटक फोनबाटै सोध्ने गथ्र्यौं । हामी एउटै घरमा बसेर पनि संसारको अर्को कुनामा बसेको अनुभूति भइरहेको थियो । यी चौध दिन रामको चौध वर्षको एकान्तबासजस्तै लाग्यो भन्छिन् उनी । अब यतिबेला उनको साथी फोन र फेसबुक थियो । धन्य मार्क जुकरवर्ग !

यो अवधिमा उनलाई भेट्न कोही आएनन् । कस्तो अचम्मको रोग रहेछ यो ? अरु रोग लागेमा आफन्त, इष्टमित्र, छिमेकी सबै भेट्न आउने, यसमा परैबाट भाग्नु पर्ने ? एक्लै रोगसँगै लड्नु पर्ने, एक्लै दुखेसोको पाटाहरु भोग्नुपर्ने । लाग्छ, यस्तो रोग यस संसारमा अरु कसैलाई पनि नलागोस् । यस्तै दुःखकष्टमा आफ्ना साथीसंगी चाहिने बेलामा सबै जना पर पर भाग्ने अनौठो रोग ।

यसैबीचमा केही अनौठो अनुभूति भने भयो । खासगरी घरमा मैले खाना बनाउन छाडेको घेरै वर्ष बितिसकेको थियो । म काममा जान्थें र बाँकी समय पढ्न र लेख्नमा बिताउने गर्दथें । एकप्रकारले खाना बनाउने बानी हटिसकेको थियो ।

एकदिन ब्रेकफास्ट बनाउन लागेको थिएँ । ब्रेकफाष्टमा अण्डा र टोष्ट खाने सोचाइ आयो । तयार गर्न पनि सजिलो त्यही थियो । अण्डा बनाउन तेलको रुपमा बटर राखें प्यानमा । प्यानमा राखेपछि बटर त डढ्न थाल्यो । हत्तनपत्त अण्डा फुटाएँ र प्यानमा खन्याएँ । अण्डाले अर्कै रुप लियो, कालो न कालो भयो अण्डा । अण्डा डढ्नुको कारण त अर्कै रहेछ, बटर नभएर ब्रेडमा राखेर खाने क्रिम रहेछ । अण्डा किन नडढोस् त ? उता चिया भुलुक्क उम्लिएर पोखियो र चुल्हो भरि भयो चिया । भस्याक भुसक निभ्यो चुल्हो । चुल्हो सफा गर्न थालें । चुल्हो सफा गर्दा ओभनले हात पोल्यो, हातमा रातो डाम बस्यो । फोका फुरुरु उठ्न थाले ।

एरिजोनामा विगत लामो समयदेखि बस्दै आउनु भएका रोहिणी शर्मा दाइ भाउजु बित्नुभएपछि आफैं खाना बनाउनुहुन्छ आजभोलि । “खाना बनाउँदा हात पोल्छ पदमजी” भन्नु भएको प्रसंगैको सम्झना आयो । रोहिणी दाइले जीवनमा कहिल्यै खाना बनाउनु भएन होला सायद, त्यसैले उहाँको हात पोल्यो मेरोजस्तै ।

त्यसै साँझ चिकन बनाउने, त्यसैबाट श्रीमतीलाई पनि सुप हुन्छ, भात खानको लागि छुट्टै दाल पनि चाहिएन । चिकन करी अर्थात् करी चिकन तेही हुन्छ भन्ने मनसायले चिकन बनाउने विचार आयो । चिकन काटकुट गरें । पकाउन डेप्ची बसालें । बेसार, नुन, मसला राख्दै गएँ । एकछिनमा चिकन तयार भयो । चिकनमा नुन लाग्यो वा लागेन लागेन भनेर पत्ता लगाउन चाख्न मन लाग्यो । चिकन त अमिलो न अमिलो पो छ बा । फसाद भयो, अब के गर्ने ? फ्रिजबाट झिकेको मसलाको पेष्ट भनेर हालेको त मःमको लागि बनाइएको अचार पो हालेछु, चिकन किन अमिलो नहोस् ।

अर्को दिन ब्रेकफास्ट खानेबेला आयो । ब्रेकफास्टको लागि बेगल र अण्डा खाने छोराले इच्छा राख्यो । अण्डा बनाएँ, बेगल टोष्टरमा राखें । बेगल टोष्टरबाट निकालेपछि बटर दलें । बेगलको स्वाद त वाक्क आउलाजस्तो पो भयो । किन यस्तो स्वाद भयो बेगल भनेर पत्ता लगाउँदा त क्रिम लगाउनु पर्ने बेगलमा सावरक्रिम दलेछु । सबै बेगल फ्याँक्नु पर्यो ।

खान पकाउन थाल्यो, दाल, बेसार, अदुवा, मसला केही पाउने हैन क्यारे । बिर्सनै नहुने अर्को फरक अनुभव – एकदिन खाना बनाउँदै थिएँ । तरकारीमा मसला राख्नु थियो । मसलाको धुलो राखिएको बट्टामा चम्चा थिएन । बट्टाबाट मसला तरकारीमा खन्याउदै गर्दा मसलाको धुलो सबै पकाउँदै गरेको तरकारीको डेप्चिमा खनियो । तरकारी खाइसक्नु नहुने भयो भन्ने डरले हत्तरपत्तर सबै तरकारीलाई पानीले पखालें । फेरि त्यो तरकारी पुनः पकाउनु पर्यो । फ्रिजभरि काउली, बन्दा आदि हरियो सागसब्जी कुहिएका थिए । लक्ष्मीपूजाको दिनमा बनाएको सेल त्यत्तिकै ट्रेमा थिए । छोराहरुलाई आएको कोसेली स्वरुपका पुरी, अचार, मिठाइमा ढुँडी लागेका थिए्, ती पनि त्यतिकै फाल्नु पर्यो । लण्ड्रीका लागि थुपारिएका कपडाहरुले सबै बास्केट भरिएका थिए ।

चौधौं दिन । हाम्रो घर उत्सवमय भयो, बेहुली भित्रिएकोजस्तै । धेरैदिनपछि श्रीमती भित्रिएकी थिइन् । मनमनै एकप्रकारको खुशी पनि छायो, “अब भने सावरक्रिम लगाएको बेगल खानु पर्दैन । चुल्हो पनि सफा गर्न पर्दैन ।” हामीले घर सफा गर्यौं । ब्लिच लगाएर घरका सबै टेबल, किचन एरिया, बाथरुमहरु, ढोकाका नबहरु, झ्यालढोकाहरु पुछपाछ गर्यौं । उनले लगाएका र प्रयोग गरेका कपडाहरु धुन लण्ड्री गर्यौं । फ्रिजका पुराना खानेखुराहरु ट्रयास गर्यौं । हाम्रो घरमा मनको दीयो बल्न थाल्यो । घरले नयाँ गति पायो । यस अवधिमा आफूले अनेक कष्टहरु झेल्नु परे तापनि श्रीमतीले कोरोनालाई जित्न सफल भएकीमा हामी खुशीले पुलकित भयौैं, मनमनै कोरोनाप्रति रोष प्रकट गर्यौं ।