लगातार खोकी लागि रह्यो । छट्पट भयो। उठेर पानी पिएँ, बाहिर निस्पट्ट अन्धकार , टाढा- टाढा कुकुर भुकेको आवाजले रातको सन्नाटालाई चिर्दै कानमै ठोकिएको जस्तो भान भैरहेको थियो।

निधारमा चिट्चिट् पसिना आइरहेको थियो। निधारमा हात राखे आगोको राप झैँ अनुभव भयो। आँखा र नाकका फोराबाट पनि तात्तातो बाफ उडे जस्तो भयो। मनमा एक्कासी अनेक भावनाहरु हुरी झैँ एकै वेगमा हानिएर आए । विगतका अनेक घटनाहरु, सोचाइहरु अनायाशै सम्झिन पुगें । यावत् सोचाइहरुले एक्कासी भीमकाय चट्टानले थिचेसरि उकुसमुकुस भएर स्वास फेर्न नै गाह्रो भए जस्तो अनुभव भयो।

मनमा अनेक शंका उपशंकाले जरा गाड्यो, यो महामारीको सन्त्रास, दैनिक रुपमा विश्वले भोगेको पीडाबाट म पनि अलग्गिन सकिनँ । ला ! अब म पनि यो भाइरसदेखि अलग रहन सकिनँ ! यति सजगता अपनाउँदा पनि छोडेन मलाई । कसरी हो ? भाइरसले आक्रमण गर्न सुरु गरिसकेछ । मास्क पनि लगाएकै थिएँ, भीडभाडमा पनि गएको थिइनँ, अपनाउनु पर्ने सजगतामा कतै लापर्बाही गरे जस्तो पनि लाग्दैन।

मन गह्रुङ्गो भयो, मृत्युको भए र त्रासले मुटुको चाल एक्कासी बढेर आयो। दुर्घटनाको त्यो भयावह दृश्य पर्दाका चित्र झैं मानसपटलमा आए। केटाकेटी सानै छन्, मेरो अनुपस्तिथिमा परिवारको के हाल होला ? लालनपालन एउटी श्रीमतीको काँधमा मात्रै आउँदा कस्तो पीडा होला ? आफ्नो चिन्ताभन्दा अझ बढी परिवारप्रतिको उत्तरदायित्वले पो मेरो मन चुडिएर आयो ।

बिष्णु खरेल

सबैलाई अन्तिमपटक अघाउन्जेल हेर्न मन लाग्यो। कतै केही भैहाल्यो भने पनि मनमा अन्तिम धोका नरहोस् भनेर । आफन्तलाई फोनमै भए पनि भेट गर्न मन लाग्यो । कहाँबाट सुरु गरौं ? कसलाई पहिला फोन गरौं ?

परिवार, साथीभाइ, आफन्त, नातागोता , छरछिमेक सबैको फोन नम्बर हेर्दै कल गर्दै गएँ । कसैले भने ‘आत्तिनु पर्दैन, मौसम परिवर्तनले गर्दा चीसो लागेको होला । अन्न पानीको शरीरहो कहिलेकाहीँ त त्येस्तो भैहाल्छ नि ! बरु तातोपानी मनग्गे पिउनू, अदुवाबेसार अझ तुलसीको पात छ भने त्यो पनि हाल्नू, राम्रो गर्छ।’

मनमा अलि हौसला आयो । हो त नि ! म किन आतिएको ? अन्नपानीको शरीर पहिला पनि त बिरामी भएकै हो क्यारे ? अनि बिरामी नहुने यो संसारमा को होला र ? अनावश्यक चिन्ताले चितामा पुर्याउँछ भनेको त्यही होला।

फेरि कोही आफन्तले पहाड बनाउने कोसिस गरे। ‘लौ बर्बादै हुने भयो, तेरा केटाकेटीको त बिचल्ली हुने भयो। कोभिड टेस्ट गरिस् ?’

प्रश्न र प्रतिप्रश्न अनि समवेदनाका कुटिल वाक्यहरुले झन् मनोबल गिरेको अनुभव भयो। बेकारमा फोन गरे छु। चुप्प लागेर नबसेर । आफैंप्रति रीस उठेर आयो। अनि फोन राखिदिएँ ।

आत्मबल भनेको सबभन्दा ठूलो बल हो भन्ने सुनेको थिएँ, र भगवानको जप गर्यो भने तेसले अभूतपूर्व शक्ति दिन्छ भन्नेमा पनि म पूर्ण विश्वास गर्छु। ती मनोबल गिराउने अभिव्यक्तिहरुले आफूले टेकेको धरती भाँसिन लागेसरि गोडा कामेका भए पनि आत्मबल बढाउने सोचले धेरै राहतको अनुभूति भयो । सही ढंगले काम गर्नुपर्छ, र सहनशीलताले काम लिनुपर्छ भनेर सिकेका कुरा नै जीवनको सबभन्दा बलवान् हतियार हो भन्ने कुरामा पनि विश्वस्त भएँ। आफू स्वास्थ्यकर्मी भएको नाताले कुनै कुरालाई नजर अन्दाज गरेर बस्न पनि भएन, अझ यो त आफ्नै स्वास्थको कुरा।

कपी र कलम लिएर विगत दुई हप्तादेखिका हरेक क्रियाकलापहरुलाई सम्झी सम्झी लेख्ने कोसिस गरें । कहाँ कहाँ गएँ, कस कसलाई भेटें, कति नजिकबाट मानिससँग संसर्ग भयो। सबैलाई फोन गर्ने निधो गरें। मैले भेटेका कोही मानिसहरुलाई केही लक्ष्यणहरु देखा परेका छन् कि ? फेरि मन दोधारमा पर्यो, कसैको व्यक्तिगत गोपनीयतामा आँच आएर नराम्रो पो मान्ने हो कि भन्ने पनि लाग्यो।

सर्वप्रथम त सरसफाईलाई ध्यान दिनुपर्यो भनेर सबैतिर सफा गरें, कपडाहरु फेरें, डाक्टरलाई फोन गर्ने निधो पनि गरें। यावत् कुराहरुको योजना बनाउँदा बनाउँदै पनि भगवानलाई पुकारा गर्न पनि छाडिनँ, ‘हे ! भगवान मलाई केही नहोस्।’ ब्रम्हशक्तिको अगाडि सबै कुराहरु निस्तेज हुन्छन् भन्नेमा पूर्ण विश्वास भएपछि त्यो दृढ निश्चय अनि आत्मबलले पनि धेरैहदसम्म समस्याबाट पार पाउन मद्दत मिल्ला नि ? वर्तमानलाई आत्मसात गर्नुबाहेक मानिसको अर्को विकल्प पनि त हुँदैन नि । समय नै सबभन्दा ठूलो औषधी हो भन्नेमा पनी विश्वस्त छु।

मनका तर्क वितर्कहरुले मन भारी भैरहेको थियो। साँचै हो रहे छ, ज्यान थाक्यो भने त एकछिनको आरामले सुस्ताउँछ, तर मन थाक्यो भने त धेरै समय लाग्छ सुस्ताउन । पल्लो कोठाबाट एक्कासी ठूलो नारी स्वरको बोलाहट आयो, ए ! पख पख भन्दै हत्तपत्त मास्क निकालेर लगाएँ । पदचाप मतिरै झन् झन् नजिक हुँदै आएको सुनें।

‘हैन, काममा जाने होइन आज ? ढिला भैसक्यो ।’ श्रीमतीको आवाजले पो म त झसङ्ग भएछु। आँखा मिचें, यता उता हेरें । उनी अगाडि उभिएर मलाइ एकटकले हेर्दै थिइनँ।

‘हैन, सन्चो भएन कि क्या हो ?’, श्रीमतीको प्रश्नले कता कता रीस पनी उठ्यो । के प्रश्न होला ? आफूलाई कस्तो भाको छ।

‘ल, पक्का पनि आज नराम्रो सपना देख्नुभए छ।’

उनको बोली भुइँमा खस्न नपाउँदै, नजिक बोलाएर टाउकोमा हात राख्न लगाएँ ।

‘तातो छ ? भन त । मैले खोकेको सुनेऊ ?’

श्रीमतीले अचम्म मान्दै भनिन्, ‘छैन, खोकेको पनि सुनिनँ ।’

बल्ल ढुक्क भएँ , त्यो विस्मयकारी घटना त बस दुस्वप्न पो रहेछ। धन्य भगवान् ।

(संसारका सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा समर्पित)               

भर्जिनिया अमेरिका