यसपटकको देवकोटा जयन्ति भर्चुअल कार्यक्रमका माध्यमबाट देशभित्र र बाहिरका प्रायः सबै साहित्यिक संस्थाहरुले मनाएर राष्ट्रका साहित्य विभूतिको स्मरण गरेको देखियो । सबैले देवकोटाको १११ औं जन्मजयन्ति मनाए तापनि विश्वभर शाखा (चेप्टर) खोलेर आफूलाई आप्रवासको आधिकारिक साहित्य संस्था भन्न रुचाउने तथा विद्वान् सल्लाहकारहरूरहेको अनेसासले भने ११२औं जन्मजयन्ति मनाउनु पर्ने कारण चाहिँ बुझिएन । भनिन्छ, ठूलाबडाहरुको कुरै बेग्लै हुन्छ रे । मैले पढे अनुसार देवकोटाको जन्म १३ नोभेम्बर, १९०९ मा भएपछि स्वतः १११औं हुनुपर्ने हैन ।
यसपटकको देवकोटा जयन्तिमा महाकविलाई अलि नजिकबाट पढ्ने मौका पाए । यो अवसर अनेसास, अटवाले प्रदान गरेकोमा धन्यवाद दिन चाहन्छु । अटवाका वर्तमान अध्यक्ष भानुभक्त आचार्यले सहभागिताका लागि जानकारी दिनुभयो र देवकोटाका बारेमा केही भन्नु पर्छ भनेपछि महाकविका बारेमा अध्ययन गर्दा महाकवि देवकोटालाई नेपाली साहित्यको विश्वव्यापीकरणलाई अगाडि बढाउने स्रष्टाका रुपमा पाए ।
इतिहासमा कुँदिएका हरफहरूबाट थाहा पाइन्छ नेपालको दरबारीय व्यक्तीवादी राजनीतिक अवस्थाले गर्दा नेपालका नागरिकसँगै नेपाली साहित्यले पनि पीडा भोग्दै विदेशिनु परेको थियो । प्रारम्भमा भारत नेपालीहरूका लागि नयाँ जीवन खोज्ने चौतारी रहेको थियो भने आज विश्वका प्रायः सहरहरू नेपालीहरूका लागि सुखसयल खोज्ने चौतारी बनेको छ । नेपालीहरूको विदेशिने क्रमसँगै नेपाली साहित्यकर्मीहरूको विदेशिने क्रम बढ्दै गएपछि नेपाली साहित्यले अन्तर्राष्ट्रिय सीमारेखा पार गरिसकेको छ । बेलायतको उपनिवेशकालमा बेलायतीसँगको घनिष्टताले बेलायती महारानीको आतिथ्यमा राणाकालका जनक जङ्गबहादुरले बेलायतको यात्रा गरेको वर्णन बेनामी लेखकको ‘जङ्गबहादुरको बेलायत यात्रा’बाट नेपाली साहित्यले सीमा काटेको पहिलो साहित्यिक उदारहणका रूपमा लिइन्छ । यो नेपाली साहित्यमा समुद्रपारीको वातावरण भित्र्उने पहिलो प्रयास थियो । सर्वप्रथम यही कृतिमा भारतबाहेक सात समुद्रपारीका देशको चर्चा भएको थियो । त्यस्तै गोरखापत्रका जन्मदाता र मानवतावादीका प्रचारक बझाङ्गे राजा जयपृथ्वी बहादुर सिंहले सन् १९१३ मा मानवतावादी नीति र संस्कारका बारेमा लेखिएको पुस्तक ‘तत्व प्रशंसा’ प्रकाशित गरेको र मानवतावादी दृष्टीकोणको प्रचारप्रसारका लागि एसिया, अफ्रिका, बेलायत र अमेरिकासम्म पुगेका थिए । यसलाई पनि एउटा प्रयासका रूपमा लिन सकिन्छ ।
महाकवि देवकोटाको साहित्यिक जीवनीलाई नियालेर हेर्ने हो भने उनले त्रिचन्द्र क्याम्पसपछि सन् १९३१मा छात्रवृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पढ्ने आशामा भारतको पटना गए । अङ्ग्रेजी विषयमा स्थान नपाएपछि उनले कानूनको अध्ययन गर्न थाले । आफ्नो प्रवासको बसाइमा नेपालबाहिर पनि उनले आफ्नो लेखनलाई निरन्तरता दिँदै गए । पटनामा अध्ययन गर्दादेखि नै देवकोटाका कवितामा रोमानी भाव देखा पर्न थाल्यो । त्यसपछिका काव्य सिर्जनामा प्रेमिल भाव अझ बढी देखा पर्न थाल्यो । पटनामा आफ्नो अध्ययनको क्रममा देवकोटाले साहित्यलाई नै आफ्नो साथी बनाएका थिए । अध्ययनपछि नेपाल फर्केका देवकोटा नेपाली भाषा प्रकाशिनी समितिमा र त्रिचन्द्र क्याम्पसमा जागिर खान थाले । मरणान्तसम्म शिक्षा र साहित्यको अध्ययन र अध्यापनमा लागेका देवकोटाले नेपालमा पुस्तकालय खोल्ने जमर्को गर्दा जरिमानासमेत तिर्नु परेपछि उनी राणाकालबाट विरक्तिएर बनारस पुगेका थिए । बनारस प्रवासको क्रममा युगवाणी (सन् १९४७) सम्पादन गर्न थाल्नु र नेपालमा राणा शासकबाट उनको सर्वस्व हरण भएको घटनाले उनको मनस्थितिमा प्रभाव पारेको हुनु पर्छ । यसरी उनीभित्र उब्जाएको नैराष्यतालाई केही मात्रामा काव्य सिर्जनाले मलहम पट्टी लगाउने काम गरेको थियो । तर बनारसको बसाइबाट असन्तुष्ट भएर देवकोटा फेरि नेपालनै फर्कनु भयो ।
भारत निर्वासनबाट नेपाल फर्केपछि देवकोटाले नेपाली भाषा, साहित्य र शिक्षाको विस्तारमा नै बढी ध्यान दिन थालेको देखिन्छ । सन् १९४३ मा नेपाली भाषा प्रकाशिनी समितिमा जागिरे भएदेखि नै अन्य साहित्यकारहरुसँग सम्पर्क बढ्दै गएको थियो । सन् १९४७ मा नेपाली साहित्य परिषदको सभापति भएपछि देवकोटाको नेतृत्वमा सन् १९५० मा दार्जिलिङ्गमा भएको साहित्य सम्मेलनमा लेखनाथ पौडेल, बालकृष्ण समसँगै देवकोटाको पनि सहभागिता रहेको थियो । देशमा भर्खर प्रजातन्त्र आएको बेला थियो । देश बनाउन नौंलो सिर्जना र नयाँ साेचको खोजी भइरहेको थियो । यस्तै अवस्थामा सन १९५२ मा राजा त्रिभुवनले ‘सल्लाहकार सभा’मा बुद्धिजीवी वर्गको प्रतिनिधिका रूपमा देवकोटालाई मानोनित गरेका थिए । मनोनित भएपछि तत्कालीन नेपालका बुद्धिजीवि वर्गसँग देवकोटाको उठबस हुन थाल्यो । धेरैले उनको विद्वता बुझ्ने मौका पाए ।
सन् १९५३ मा पूर्ण बहादुर एम.ए.को नेतृत्वमा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम र सिद्धिचरण श्रेष्ठ ‘विश्व युवा सम्मेलन’ मा भाग लिन हङ्गेरीको बुखारिष्टमा पुग्छन् । त्यहाँ नेपाली साहित्यका यी तीन प्रतिष्ठाहरू (महाकवि, नाट्य सम्राट, युवाकवि) ले साहित्यिक प्रस्तुतिहरूबाट नेपाली साहित्यलाई चिन्हाउने काम गरेको हुनु पर्छ । बुखारिष्टबाट फर्कने क्रममा बाटोमा पर्ने रुसको मास्को पुगेर त्यहाँ पनि नेपाली साहित्यलाई चिन्हाउने काम गरिएको हुनु पर्छ । समुद्रपारीको यो भ्रमणपछि तीनै जनाले कविताका माध्यमबाट आफ्नो भ्रमणको बयान गरका थिए । समले ‘मेरो मन बुखारेष्टतिर उड्छ’ कविता लेखेको पाइन्छ भने सिद्धिचरणले रुसको भ्रमणपछि ‘भोलिको नेपाल’ कविता लेखेको पाइन्छ । त्यस्तै देवकोटाले पनि ‘हिमालमाथि जेट हवाईजहाज’ कविता लेखेका थिए भने उनका कविताहरू रुसी भाषामा समेत प्रकाशित भएको बारे जानकारी पाइए तापनि कविता हेर्न पाइएको छैन ।
सन् १९५३ को जाडोयाममा देवकोटाले रोमानियामा भएको लेखक सम्मेलनमा समेत नेपालको प्रतिनिधित्व गरेका थिए । भनिन्छ, यस सम्मेलनमा जाँदा जाँडोबाट बँच्न देवकोटाले आफ्नो सिरकसमेत लिएर गएका थिए । यसरी भ्रमणको क्रममा देवकोटाले विदेशमा रहेको विश्वविद्यालय र साहित्य अकादमीका बारेमा जानकारी पाएको हुनु पर्छ । त्यसैले भ्रमणबाट फर्केपछि देवकोटाले नेपालमा पनि साहित्य अकादमी र विश्वविद्यालयको परिकल्पना गरेको हुनु पर्छ । विदेशमा भएका साहित्यिक सम्मेलनबाट फर्केपछि देवकोटाले सन् १९५५ मा काव्य प्रतिष्ठानको स्थापना गराएर त्यहीँबाट साहित्यिक गतिविधि गर्न र गराउन थालेको देखिन्छ । डिसेम्बर १४, १९५६ (२०१३ मार्ग २९ गते) का दिन साहित्य एकेडेमीको स्थापनाका लागि पहिलोपटक पहल गर्ने देवकोटाको नेतृत्वमा नेपाली लेखक–साहित्यकारमाझ छलफल भएको थियो । छलफलमा विश्वेश्वरप्रसाद कोइराला, यदुनाथ खनाल, सुवर्ण शमशेर जबरा, सिद्धिचरण श्रेष्ठ, बालकृष्ण सम, गोपाल पाण्डेय, विजयबहादुर मल्ल आदि थिए भने गोविन्दबहादुर मल्ल ‘गोठाले’ र चितरञ्जन नेपालीले आफ्नोतर्फबाट सहमति जनाएका थिए । तर छलफल भएजस्तै ‘एकेडेमी’ तुरन्तै स्थापना हुन सकेन वा स्थापनाका लागि गृहकार्य भइरहेको अवस्थामा अचानक यसबारे जानकारी पाएर तत्कालीन राजा महेन्द्र शाहले २२ जुन १९५७ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको गठन गरेर त्यसको कुलपति आफैं बनेका थिए । नव गठित प्रज्ञा प्रतिष्ठानमा बालचन्द्र शर्मा उपकुलपति थिए भने देवकोटालाई पनि सदस्यमा राखिएको थियो । प्रज्ञा प्रतिष्ठानलाई गतिमय प्रदान गर्ने कार्यमा देवकोटाको अविस्मरणीय देन रहको छ ।
सन १९५७ मा के.आई सिंहको मन्त्रीमण्डल (२६ जुलाई १९५७ – १५ मई १९५८) मा महाकवि देवकोटालाई नेपालको शिक्षा मन्त्री बनाइएको थियो । उनको विलक्षण प्रतीभा देखेर नै उनलाई मन्त्री बनाइएको हुन पर्छ । प्रजातन्त्र प्राप्तिपछिको नेपालको शिक्षामन्त्री बनेपछि देवकोटाले शिक्षाको जग बसाल्न र नेपालमा नै उच्च शिक्षाको अध्ययन अध्यापन गराउन विश्वविद्यालयको परिकल्पना गरेर कीर्तिपुर डाँडामा नेपालको पहिलो विश्वविद्यालय स्थापना गर्ने निर्णय गराएर २५ जुन १९५९ मा । त्रिभुवन विश्वविद्यालयको स्थापना गराएर महत्त्वपूर्ण कार्य गर्नु भएको थियो । १९५९ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयको तीस वर्षपछि सन् १९९० सालको जनआन्दोलनपछि मात्रै नेपालमा अन्य विश्वविद्यालयहरू खुल्न थालेकोबाट पनि देवकोटाको योगदानलाई बुझ्न सकिन्छ । देवकोटा शिक्षामन्त्री तथा त्रिभुवन विश्वविद्यालयको कमिसनको सदस्यमा भएपछि उनले नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनु भयो । नेपाल राष्ट्रभरि विद्यालय र क्याम्पसहरुमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए नेपाली भाषासाहित्यको विकास र विस्तारका लागि काम गर्नु भएको थियो । एकातिर देशमा शिक्षा र साहित्यको जग बलियो बनाउने कार्यमा देवकोटा जुटेका थिए भने अर्कोतिर नेपाली साहित्यलाई विश्वभरि चिन्हाउने काममा पनि अग्रसर भएर लागेका थिए ।
सन् १९५८ को अक्टुबरमा तत्कालीन सोभियत गणराज्य उज्बेकिस्तानको राजधानी तासकन्दमा भएको अफ्रो–एसियाली लेखक सम्मेलनमा देवकोटाले नेपाली मण्डलको नेतृत्व गरेका थिए । एफ्रो एशियाली लेखक सम्मेलनमा महाकवि देवकोटा र राष्ट्रकवि माधव घिमिरेको सहभागितापछि विश्वसाहित्यिक मञ्चमा नेपाली साहित्यको सहभागिता बढ्दै जान थाल्यो । त्यसपछिका वर्षहरूमा विश्वसाहित्य सम्मेलनहरूमा नेपालीहरूको सहभागिता बढ्दै गएको देखिन्छ ।
सन् १९५८ डिसेम्बर २३ देखि २९ तारिखसम्म भारतको दिल्लीमा आयोजना भएको एसियाई लेखक सम्मेलनमा सहभागीता जनाउनका लागि १९५६ डिसेम्बर १३ तारिख (२०१३ मार्ग २९ गते) का दिन देवकोटाको अध्यक्षतामा काव्य प्रतिष्ठानको बैठक बसेको थियो । उक्त बैठकले नेपालबाट महाकवि देवकोटाको नेतृत्वमा काव्य प्रतिष्ठानबाट केदारमान व्यथित, भीम दर्शन रोका, माधवप्रसाद घिमिरे र शंकर गार्गेय पाँच जनाको प्रतिनिधि मण्डलको सहभागिता रहने र ईन्द्रेणी पत्रिकाको ९औं अङ्कका रुपमा निकाल्ने समेत निर्णय भएको थियो । यहीँ निर्णय बमोजिम एसियाई लेखक सम्मेलनमा नेपालबाट पाँचजना साहित्यकारहरुको उपस्थिति रहेको थियो । (कान्तिपुर)
आफ्नो स्वास्थ्यका कारण देवकोटा तास्कन्दको अफ्रो–एसियाली लेखक सहभागि नबन्ने स्थितिमा थिए । तर माधव घिमिरेको सुझाव मानेर सपत्नी रुस गएका थिए । रुसमा महाकवि बिरामी भएर अस्पतालमा भर्ना हुनु परेको थियो । अस्पतालको खर्च बेहोर्न देवकोटाले त्यहाँ निबन्ध लेखेको र त्यसलाई श्री रेडकोभलाई दिएर रसियन भाषामा छपाउने र केही रकम पाउने गरेको बारे रेडकोभ नेपालमा रुसको कल्चरल अटेची बनेर आउँदा जानकारी गराएका थिए ।
तस्कन्दको अफ्रो–एसियाली लेखक सम्मेलनमा सहभागिता बनेको बारे देवकोटाका विरुद्ध त्यसबेलाका हनुमाने साहित्यकारले राजाको चाकरी गर्दै कुलपतिसमेत रहेका राजा महेन्द्रलाई सुनाएपछि राजा महेन्द्रले देवकोटाको तीन महिनाको तलब जरिवानाबापत रोक्का गरे । यस घटनाले देवकोटा निरास बनाएको थियो । बिरामी देवकोटाले विश्वमा नेपाली साहित्य चिन्हाउने काम गर्दा उनीमाथि अनावश्यक आरोप लगाइएको थियो । हुन त त्यतिबेला नेपाली कांग्रेसको सरकार थियो र देवकोटाले सरकारसँग स्वीकृति लिएर नै गएका थिए । उनले राजासँग भने कुनै स्वीकृति नलिएको भनेर अनावश्यक आरोप लगाइएको थियो । भारतको नयाँ दिल्लीबाट भिसा लिँदै उनी र माधव घिमिरे तासकन्द सम्मेलनमा सहभागि भएका थिए । सम्मेलनमा सहभागिताका लागि मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि प्रज्ञा प्रतिष्ठानका उपकुलपति बालचन्द्र शर्मासम्मले देवकोटालाई स्वीकृति दिएका थिए । तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले प्रज्ञाबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो । पछि त्यसको रहस्य खुलेपछि देवकोटाको एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले पारिश्रमिक निकासा गरिदिए । यसरी देवकोटाका विरोधीहरुबाट भइरहेका अनावश्यक अडचनहरुले पनि देवकोटालाई निरास बनाइदिएको थियो ।
नेपाली भाषासाहित्यमा रूमानी प्रवृत्तिलेखन र स्वछन्दवादी कवि देवकोटाले नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्याउने काम पनि देवकोटाबाट भई सकेको थियो । देवकोटा चौध भाषा बुझ्थे। उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमा प्रकाशित भएको थियो । विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा देवकोटाको महत्वपूर्ण योगदान रहेको छ । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गराएका थिए । नेपाली सहित्यलाई विश्वमा परिचय दिलाउने कार्यको थालनी देवकोटाले गरी सकेका थिए । उनकै प्रयासबाट नेपाली साहित्यमा संस्कृत शब्दको ठाँऊमा चलनचल्तिका नेपाली शब्दहरूप्रयोग हुन थाल्यो । झ्याउरे छन्दको प्रयोग गरेर देवकोटाले नेपालीपनको आभाष साहित्यमा दिने प्रयास गरेको देखिन्छ । तर उनको झ्याउरे छन्दले निरन्तरता पाउन सकेन ।
यसरी विश्वका विभिन्न राष्ट्रमा आयोजना हुने साहित्यकारहरुको सम्मेलनमा नेपालको प्रतिनिधित्व पनि बढ्दै जान थाल्यो भने त्यसमा देवकोटाको सहभागिता पनि बढ्न थालेको देखिन्छ । तर अफसोच अल्पायुमा नै देवकोटाको निधन भएकोले यसले निरन्तरता पाउन सकेन । भनिन्छ देवकोटा जन्मेदेखि नै रोगी थिए । घरको आर्थिक स्थितिले गर्दा पौष्टिक आहारबाट पनि बन्चित हुनु परेको थियो । त्यसमाथि फेरि दुई वर्षको अन्तरालमा उनका बुबा, आमा र दुई वर्षे छोरीको मृत्यु भयो । त्यसपछिका दिनहरुमा उनका कलिला छोराहरू प्रकाश र कृष्णको असामयिक मृत्युले उनलाई अझ दुःखी बनायो र यसले उनको मस्तिष्कलाई समेत चोट पुर्याएको हुनु पर्छ । शौकिनका रुपमा पिउने चुरोट अम्ल बन्दै गयो । ती वियोगान्त घटनाहरूले उनलाई मर्माहत तुल्यायो र चुरोटको अम्ली बनायो र चुरोट देवकोटाको बाँचुन्जेलको साथी बन्न पुग्यो । यस्तै घटनाले गर्दा उनी मानसिक रोगीसमेत बनेर पाँच महिना भारतको राँची मानसिक अस्पतालमा उपचार गराउन पुगेका थिए । देवकोटालाई १९५८ (वि. सं. २०१५) को आन्द्रमा क्यान्सर लागेको थाहा भएपछि उनलाई उपचारका लागि भारत पठाएर ठूलो आन्द्राको शल्यक्रिया भएको थियो । त्यसपछि उनको स्वास्थ्य बिग्रदै जान थाल्यो । अन्ततः १९५९ सेप्टेम्बर १४ तारिख ( वि.सं.२०१६ साल भाद्र २९ गते) का दिन उनको दुःखद निधन भयो ।
यसै प्रसङ्गमा महाकविका बारेमा थप जानकारी आएकोले यहाँ चर्चा गर्न उपयुक्त ठानेको छु । भर्खरमात्र २०७७ मंसिर ५गते सेतोपाटीमा प्रकाशित सुदीप श्रेष्ठले इतिहासकार तथा पुरातत्वविद् मोहनप्रसाद खनालसँग लिइएको अन्तर्वातमा पुरातत्वविद् खनालले महाकवि बारे एउटा नयाँ साहित्य सामग्रीको उत्खनन् भएको बारे जानकारी गराउनु भएको छ । उनले अमेरिकाको एक निर्जन गाउँको एकान्त घरबाट नेपाली साहित्यका एक कविको दुर्लभ सामग्री आफ्नो हात लागेको बारे चर्चा गरेका छन् । अमेरिका भ्रमणमा रहँदा अचानक सम्पर्कमा आएकी क्याथरिन र उनको घरमा नेपालबारे धेरै सामग्री उनका दिवङ्गत बुबाले जतनसाथ राखेको र त्यो नेपालको नासो कुनै नेपालीलाई हस्तान्तरण गर्ने ईच्छा आफूमा रहेकोले पुरातत्वविद् खनाललाई बताएपछि उनले ती अमूल्य दस्तावेजहरुको जिम्मा लिएकोबारे रोचक जानकारी गराएका छन् । नेपाली कवि डाकोटबारे जानकारी गराउन क्याथरिनले पुरातत्वविद् मोहन खनाललाई घर ल्याएको र नेपालको कवि डाकोट बुझ्न पुरातत्वविद् खनाल क्याथरिनको घर पुगेर उनको दराजमाथि महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्बिर देखेपछि अचम्भित भएका थिए । क्याथरिनको डाकोट नेपालका महाकवि देवकोटा रहेको थाहा पाएपछि उनी आफैं दङ्ग परे । यस अन्तरवार्तामा क्याथरिनका बुबाको नेपाल भ्रमणको बेला देवकोटासँग लिइएको अन्तर्वार्ताको टेपसमेत पाएको चर्चा छ ।
क्याथरिनका बुबाले संकलन गर्नु भएका थुप्रै नेपाली साहित्यकारका हस्तलिखित सामग्रीमा देवकोटा, भीमनिधि तिवारी, बालकृष्ण सम, लेखनाथ पौड्यालका कृतिहरू थिए । पूर्वी र पश्चिमी साहित्यका अध्येता क्याथरिनका बुबाले आफ्नो अध्ययन क्रममा ती सामग्री संकलन गरेका रहेछन् । देवकोटाको विलक्षण प्रतीभाबाट परिचित भएर उनले देवकोटाको तस्बिर फ्रेम गरेर दराजमाथि राखेको र देवकोटाको अन्तर्वार्ता लिएकोबाट अनुमान लगाउन सकिन्छ । यो भेटघाट सन् १९५९ ताकाको हुनु पर्छ । पुस्तकको खातमा एउटा पुरानो डिस्कमा नेपालीमा बोलेको मसिनो स्वर महाकवि देवकोटाको रहेको ठम्याउनका साथ पुरातत्वविद् खनाल आफू भावविभोर भएर हर्षको आँशु खसालेको प्रसङ्गले साहित्यप्रेमी जो कोहीलाई पनि विभोर बनाउन सक्छ । त्यो स्वराङ्कन (रेकोडिङ्ग) सन् १९५९ मा क्याथरिनको बुबाको नेपाल भ्रमणको बेलाको रहेछ । त्यसमा महाकविको जीवनका अन्तिम दिनमा नेपाली साहित्यका स्वनामधन्यहरूसँग गरेका कुराकानीको रेकर्डिङ रहेछ । देवकोटाको मसिनो स्वरमा तिथिमिति, स्थान र वार्तामा संलग्न व्यक्तिहरूको नाम पनि उल्लेख गरिएको छ । क्याथरिनका बुबाको देवकोटाको उपचारमा संलग्न डाक्टरसँग राम्रो सम्बन्ध भएको आधारमा अन्तिम समयमा देवकोटासँग भेट्न, कुराकानी गर्न पाएका रहेछन्। करिब साढे दुई घन्टाको रेकर्डिङमा देवकोटाले आफ्ना समवयी साहित्यकारहरू, इष्टमित्र र पत्नीका बारेमा कुरा गरेका छन् । महाकविको जीवनसँग जोडिएको दुर्लभ सामग्रीलाई मोहन खनालले देवकोटाबारे जान्न चाहने नयाँ नेपाली पुस्तालाई बुझाउन चाँडै नै रेकर्डिङ सार्वजनिक गर्ने कार्यमा लागि परेका छन् । रेकाडिङ्गमा बोलिएका शब्द शब्दहरुलाई टिपेर महाकविको त्यो अन्तिम आवाज सार्वजनिक गरेपछि नेपाली साहित्यको इतिहासमा एउटा नयाँ आयाम थपिने विश्वास गर्न सकिन्छ ।
टोरन्टो, क्यानडा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।