सन् २०१६ डिसेम्बर २५/ बेल्जियमको अन्तर्रास्ट्रिय विमानस्थल जाबेन्थामको इमिग्रेसनको लाइन । मान्छे नै मान्छेको जङ्गलमा अर्कै जङ्गलबाट उखेलेर ठिङ्ग उभ्याइएको रुख भएँ । कयौं ढङ्गरङ्गका मान्छेहरू बीच सागरमाथाको एक्लो सन्तानजस्तै थिएँ । भीडमभीडबीच बुद्धको शान्ति र भाइचाराको मन्त्र जप्दै मुसुमुसु हाँस्दै उभिरहें ।

विमानस्थलबाहिर भाइबुहारीसँगै आमाबुबा पनि मेरो प्रतीक्षामा भएको थाहा पाएर फुरुङ्ग थिएँ । मनमा आमाबुबा भेट्ने हर्षको सप्तकोसी उर्लिरहेको थियो । उमेरले पाका बुबाआमालाई छोरी भेट्ने कति हतारो हुँदो हो, अनि त यस्तो जाडोमा पनि मलाई लिन आउनुभयो । मनमा यस्तै मीठो सोँचले डेरा जमाएको थियो।

हाम्रो लाइन परेवाको आन्द्रा झैं बटारिएको थियो । तर, मन न हो, त्यस्ता लाइनलाई सिधै छिचोलेर अघि आमाबुबाकहाँ पुगिसकेको थियो । शरीर पो जहीँको तही । लाइनमा आफू अघिपछिका मान्छे बोल्दा पनि तँलाई काट्छु—मार्छु, टुक्रैटुक्रा पारेर उसिन्छु—खान्छु र ढ्याउढ्याउ डकार्छु भनेझैं लाग्थ्यो ।

मानौं, धरान—भेडेटारको घुमाउरो बाटो हो यो लाइन । न कसैको भाषा बुझिन्छ । मनको भाषा मात्र बुझिने देशमा पुगेको छु  । मैले जान्ने अङ्ग्रेजी, नेपाली, लिम्बु र क्यान्टोनिज भाषा हो तर यहाँ यी कुनै पनि भाषा बोलिँदैन । यहाँ काम गर्ने र बस्ने हो भने डच भाषा जान्नै पर्छ, अरु भाषाको कामै छैन ।

बेल्जियम भूगोलले सानो तर विकास र अरु महत्ताले खास लाग्छ । तीन देशको सिमानाले छोएको, बहुसांस्कृतिक र बहुभाषिक देश हो यो । नेदरलेण्ड र जर्मनको सिमानातिर बस्नेहरू डच र फ्रान्सको सिमानातिर बस्नेहरू फ्रेन्च बोल्छन्। भाइ बसेको क्षेत्रमा बोलिने भाषा नेदरल्याण्ड अथवा डच हो । मलाई नेदरल्याण्ड भाषामा भाइ बोल्दा रमाइलो लाग्छ । कहिले ढिकी कुटेजस्तो, कहिले जाँतो पिने जस्तो र कहिले टिन ठट्टाएजस्तो आवाज निकालेर बोल्छ, म उसको मुखमा हेरेको हेर्यै हुन्छु ।

बेल्जियममा करिब आठ-नौ हजारको हाराहारीमा नेपालीहरूको बसोबास रहेको छ । बेल्जियम युरोप महादेशको एक सानो अनि धनी देश मानिन्छ। जसको राजधानी ब्रसेल्स हो। बेल्जियमको इतिहास हेर्दा पहिलो र दोस्रो विश्व युद्धको प्रमुख यूरोपीय युद्धक्षेत्र बनेको देखिन्छ। युद्धले ध्वस्त यो देशको आर्थिक समृद्धिका कारणले यो पश्चिमी यूरोपको एक उदाहरणीय राजतन्त्रात्मक लोकतान्त्रिक राष्ट्र बनेको छ। ब्रसेल्स ”यूरोपीयन युनियन” र ”उत्तर अटलान्टिक सन्धि सङ्गठन” (नेटो ) को मुख्यालय पनि हो। जसले गर्दा बेल्जियमको राजधानी ब्रसेल्स अन्तर्राष्ट्रिय राजनीतिको प्रमुख चलखेल रहेको सहर भनि चिनिन्छ। परन्तु, प्रमुख रूपमा उत्तरी क्षेत्रका डच भाषी र दक्षिणी भागका फ्रेन्च भाषीको आपसी तनावले बेल्जियमको राष्ट्रिय राजनीति अझै विभाजित छ।

इमिग्रसेनको लाइन छिचोलेर बाहिर निस्कनेबित्तिकै बाटो छेउको बेल्टमा यात्रुका लगेज घुमिरहेका थिए । पहिले त मैले म आएको प्लेनको सामान हो कि होइन भनेर सूचना बोर्ड हेरें । सुचना बोर्डमा फ्रेन्च र डच दुवै भाषामा सूचनाहरू निस्किरहेका थिए, तर ती दुवै भाषा मेरा लागि काला अक्षर भैँसी बराबर थिए । हाम्रै प्लेनका लगेज रहेछन् । नभन्दै मेरो सानो सुटकेस पनि बेल्टमा घुमिरहेको थियो । मेरो सुटकेस ‘ह्यान्डी’ भएकोले ट्रली खोज्नुपर्ने दुःख थिएन, गुडाउँदै निस्केको त प्रतीक्षालयमा मेरो भाइलाई मलाई देखेर हाँसिरहेको पाएँ ।

होइन, दिदीको प्लेन ल्यान्ड भएको त अहिले होइन, किन पो ढिलो ? मलाई त बेलायत नै फर्काए कि लागेको ।

‘होइन, दिदीको प्लेन ल्यान्ड भएको त अहिले होइन, किन पो ढिलो ? मलाई त बेलायत नै फर्काए कि लागेको ।’ भाइले जिस्क्याउन पनि भ्याइहाल्यो । मेरा आँखा भने आमाबुबा खोज्न प्रतीक्षालय वरपर पलाकपुलुक डुल्दै थिए । धेरैबेर उभिन नसक्ने बिमारी बुबा र आमालाई गाडीभित्रै पुर्याइराखेर भाइमात्र मलाई पर्खिरहेको रैछ ।

‘धेरै नकरा न, इमिग्रेसनमा कम्ता लामो लाइन होइन ।’ मैले भनें । भाइले सम्झायो, ‘लौ, तपार्इं त लाइनमा बस्नै पर्दैनथ्यो ! युरोपियन युनियनमा पर्नेले वल्लोपट्टिबाट फटाफट आउने हो ।’

हो, रहेछ । अघि लामो लाइन छिचोलेर बल्ल काउन्टरमा पुग्दा त्यहाँको कर्मचारीले मलाई अर्कै बाटो देखाउँदै पासपोर्ट मेसिनमा स्क्यान गरेर निस्कन भनेको थियो । मैले हातमा बोकेको पासपोर्ट हेर्दै मेरो छेउछाउका मान्छे गुनगुन गरेकै पनि हुन् । मैले लाइन लाग्नु नपर्ने लाइन पार गरेपछि मात्र थाहा भएपछि के गर्ने ? नजान्नु जति सारो अरु के हुन्छ र ? ती सप दुःख झेलेकी म चुपचाप भाइको पछि लागें ।

हामी कार पार्क पुग्दा गाडीभित्रबाट टाउको निकालेर आमाबुबा हाम्रै बाटो हेरिरहनु भएको थियो । पुग्नेबित्तिकै आमाबुबालाई ढोगें । अनि गाडीमा आमासँगै पछाडि बसें । बुबा अगाडि सिटमा भाइको छेउमा बस्नुभयो ।

‘तिमीहरु अब युरोपेली भयौ । आफ्नै हगनगौंडी जानलाई पनि भिषा लाउनुपर्ने ।’ लामो समय पर्खिनुको पीडा बुबाले यसरी ओकल्दा हामी मरीमरी हाँस्यौं । सपनामा पनि नपुगिने ठाउँमा आमाबुबा भेटेर कस्तो खुसी लाग्यो । ब्रसेल्सका ठूलाठूला हाइवे छेउका रुखले स्वागतमा ताली बजाइरहे झैं लाग्थ्यो । समरमा आउँदा देखिने ठूल्ठूला चौर हिउँले ढाकिएका थिए । यो पाली आमाबुबाको स्वागतमा हिउँ धेरै परेको भनेर भाइले रेला गरिरह्यो । ‘अब तैंले हसाउँने  अरु खजना भेटिनस् र बुबाआमासँग रेला गर्न थालिस् !’ भन्दै आफैं पनि रौसे बुबा निस्फिक्री हाँस्नुहुन्थ्यो । यसरी रेला गर्दैगर्दै हामी भाइको घर लुभेन पुग्यौं ।

दुई महिनादेखि आमाबुबा बेल्जियममा हुनुहुन्थ्यो । म उहाँहरुबाट जम्मा ४५ मिनेटको दुरीमा थिएँ हवाइ यात्रा गरे तर स्थलमार्गबाट भने छ घण्टा लाग्थ्यो । र, आमाबुबा भेट्न पाउने मौका बल्ल मात्र पाएकी थिएँ , कारण भर्खरै नेपाल छुट्टी गएर फर्केको मलाई अफिसले अर्को लामो छुट्टी दिन सम्भव थिएन । तर साथीहरुसँग छुट्टी साटेर पाँच दिनको विदा मिलाएरै छोडें । शनिबार पनि मेरो ड्युटी थियो । त्यो पनि हाप्न नमिलेर दुई बजेसम्म काम गरेर बेलुकी जेट एयरमा टिकट काटेर बाटो लागेकी थिएँ । धन्न, त्यो दिन विजयजीले गेटविक एयरपोर्टसम्म पुर्याइदिनु भयो । नत्र अक्सफोर्डबाट एयरपोर्ट बसमा जान कर लाग्थ्यो । पुग्न त रेलबाट पनि पुगिन्छ तर अक्सफोर्डबाट रिडिङ पुगेर गेटविकको रेल समात्न भारीतारीसँग झमेला हुन्छ । हामी बसेको ठाउँबाट नजिक त हिथ्रो एयरपोर्ट हो तर युरोप जाने धेरैजसो प्लेन गेटविकमा मात्र पाइन्छन् ।

बुहारीको हुक्वाले एक वर्षपछि फेरि स्वागत गर्यो । मासुमाछा तथा अन्य स्वादिष्ट भोजन सबै तयार थियो । जापानिज रेस्टुरेन्टमा काम गर्ने ठूलो भदैले सुसी पनि ल्याएको रहेछ ।

भाइ र म युरोप आएदेखि नै आमाबुबालाई युरोप ल्याउने सपना थियो । त्यै हिसाबले मैले अघिल्लो वर्षको समरमै आमाबुबाको लागि भिषा पेस गरेको थिएँ । घुम्न धेरै रहर गर्ने बुबा आमाभन्दा औधी खुसी हुनुहुन्थ्यो तर त्यसपल्ट भिषै लागेन । किरात याक्थुङ चुम्लुङ बेलायतको वार्षिक भेटघाट कार्यक्रम सिसेक्पा तङ्नाममा आमाबुबासँग घुम्ने र आफन्तीसँग भेट्ने कस्तो सपना बुनेकी थिएँ । तर त्यो पूरो नहुँदा म पनि कार्यक्रममा जाँदै गइनँ । यस वर्ष भने आमाबुबा बेल्जियम आइपुग्नुभयो ।

साँझ आमाबुबासँग निक्कै रमाइलो गरी बिताइयो । बुहारीको हुक्वाले एक वर्षपछि फेरि स्वागत गर्यो । मासुमाछा तथा अन्य स्वादिष्ट भोजन सबै तयार थियो । जापानिज रेस्टुरेन्टमा काम गर्ने ठूलो भदैले सुसी पनि ल्याएको रहेछ । सुसी रेस्टुरेन्ट ठूलो भदै यलम्बरको पहिलो जागिर हो । भर्खर १६ वर्ष पुगेर उसले ‘पार्ट टाइम’ काम गर्ने अधिकार पाएको हो । यलम्बरले फुपूकै लागि भनेर सुसी आफैंले बनाएर ल्याएको भनेपछि झन् खान मन लाग्यो । बल्ल १२ वर्ष पुग्दै गरेको सानो भदै रिजेन्स पनि के कम, माया दर्शाई त हाल्यो, ‘फुपू अर्कोपाली आउँदा म पनि काम गरेर के—के किनिदिन्छु ।’ मानौं, उसलाई उमेर पुगेर मलाई खुवाउन बडो हतारो छ ।

खाना खाइसकेर हामी हल्याण्ड  घुम्न जाने सल्लाहमा सबै आआफ्नो ओछ्यान पसेर सुत्यौं ।

भोलिपल्ट २६ डिसेम्बर २०१६ का दिन बिहान । सबै तयार भएर भाइको कारमा चढ्यौं । बुबा अगाडिको सिटमा आमा, म र बुहारी पछाडि सिटमा । बाहिर सेताम्यै हिउँ एकदम जाडो थियो, तै बुबाआमाको न्यानो काखमा घुम्न पाउँदा जाडोको के पर्वाह र ?

कारको स्टेरिङ घुमाइरहेको भाइलाई मैले पछिल्तिरबाट देव युगको ध्रुव जस्तै देखें । सानोमा ऊ जतिको चकचके गाउँमा कोही थिएन । तर जब ठूलो हुँदै गयो, यस्तो लाग्थ्यो कि ऊ भित्रको खराबी हटेर देउता हुँदै गयो । भलाद्मी र बुझाकी । तब न आज कुन कुनाबाट ऊ कहाँ आइपुग्यो । लेप्चुङ र फेम्बुको कान्लातिर घाँस काटी हिँड्ने आमा अनि साप्चुङ्वाको मास्टर ठूलीसँग धान नाची हिंड्ने बुबालाई युरोप घुमाउँदै छ । पोहोरको साल हामी दिदीभेना र भान्जालाई पनि जर्मन र फ्रान्स घुमाएको थियो । बेलाबेला उसले बाटो भुलेर ‘राउन्ड बोर्ट’ घुम्दा लाग्थ्यो, हिन्दु पौराणिक कथामा मयुरको बाहन चढेर कुमारले सुमेरु पर्वत घुमे झैं उसले जानीजानी हामीलाई घुमाएको हो ।

आइतबार बिदाका दिन बाटो खाली—खाली थियो । बेल्जियम र होल्याण्डको दुरी दुई सय ३० किलोमिटर पार गर्न जम्मा ३ घण्टा लाग्यो । सरर…चिल्लो बाटोमा महङ्गा कार फाटफुट दौडिरहेका थिए ।

यहाँ न हल्ला छ, न टाँटाँटुँटुँ हरन नै सुनिन्छ । न गाडीले ह्वार्रह्वार्र गन्हाउने धुँवा फाल्छ । वरिपरि कति सफा जङ्गलमङ्गल । यहाँ न सुन्तला खाएर पेसेन्जरले बोक्रा बाहिर फाल्छन् न बदाम खाएर झ्यालबाट बोक्रा हुर्याउँछन् । यो देखेर बुबाले ‘ठूलो देशको ठूलै सान हुँदो रहेछ गाँठे !’ भन्नुभयो । भाइ र म छक्क पर्यौं बुबाको कुराले । उहाँलाई बूढेसकालमा पनि देशको कत्रो चिन्ता ?

त्यसो त देश भूगोलले मात्र सानो र ठूलो हुन्छ । सार्वभौमिकताको हिसाबले सबै देश समान नै हुन् । देश अनुसार भेष भने पनि नेपाल र यताको नागरिकमा पाइने सचेतना आकासजमिनको फरक छ । वास्तवमा समृद्ध र सभ्य राष्ट्र निर्माणमा राज्यसँगै नागरिकको दायित्व पनि उत्तिकै जिम्मेवार हुन्छ । नेपाली सेनाबाट सेवा निवृत्त बुबालाई युरोपको भौतिक विकास र यहाँको नागरिकको अनुशासनले पक्कै लोभ्यायो ।

जताततै खाली, ठूल्ठूला घाँसेमैदान देखेर मैले आँखा झिम्काउनै भुलें । अगाडि बुबा र भाइ मस्त गफमा थिए । गोराहरुले कति राम्रो ठाउँ रोजेर बसेछन् भन्दै बुबा छक्क पर्नुहुन्थ्यो । हुन पनि न बाढी, न पहिरो, न डुबान हुन्छ युरोपमा ।

नेदरल्याण्ड अपराधिक गतिविधि कम हुने देश भनेर पढेकी थिएँ । तर, हामीले घुमेको रिभर साइड त गाँजा बाहेक अरू केही गनाउँथेन । भाइलाई सोधें, ‘यहाँ किन यति सारो गाँजा गनाएको ?’

‘ए दिदी यहाँ त गाँजालाई चुरोटको रुपमा प्रयोग गर्छन्’ भाइले भन्दा पो छक्क परें ।

नेदरल्याण्ड युरोप महाद्विपको एक प्रमुख देश हो । यो देश युरोपको उत्तरपूर्वमा अवस्थित छ । यसको उत्तर तथा पश्चिम सिमाना समुन्द्र पर्छ, दक्षिण सिमानामा बेल्जियम र पूर्वमा जर्मनी । हामी राजधानी एम्स्टर्डममा थियौं जहाँबाट ‘द हेग’ नामको राजाले शासन चलाउँछ । यो सहर युरोपियनले १२ औं शताब्दीको अन्त्यतिर माछा मार्ने ठाउँको रुपमा स्थापना गरेको र एम्स्टल नदीको नामबाट नाम रहन गएको मानिन्छ ।

एम्स्टर्डम नेदरल्याण्डको सबैभन्दा धेरै जनसङ्ख्या रहेको शहर, मेट्रोपाँलिटन रैन्डस्टैडको एक हिस्सा । यहाँका मान्छे शालीन र बोली नरम । लाग्छ, उनीहरुलाई कहिल्यै रिस उठ्दैन । अथवा पहिलो र दोश्रो विश्वयुद्ध लड्दालड्दा थाकेका जस्ता । यहाँको राष्ट्रिय भाषा डच हो ।

एम्सटर्डमको ऐतिहासिक आकर्षण रिजक्स म्युजियम, भ्यानगग  म्युजियम, स्टैलिक्स म्युजियम, हेर्मिटेज एम्स्टर्डम, ऐनी फ्रैंक हाउस, एम्स्टर्डम सङ्ग्रहालय रहेछन् तर समय अभावले हामीले ती सबै ठाउँ घुम्न पाएनौं । बरु हामी रेक्स म्युजियम पस्यौं । बाहिर त चिसोले घुमिसक्नु भए पो । भाइ र बुहारीले नै जिउगन्ती युरो १७ तिरेर टिकट काटे । भित्र न्यानो थियो । म्युजियम भित्रका बस्तु भने झुर थिए । जता हेरे पनि बिचित्रका चित्र मात्र । कतै—कतै त यति नग्न तस्विर र पेन्टिङ भित्ताभरि टाँगिएका थिए कि नेपाली नजर झुकेको झुकेकै भयो । लाजैले हो भाइ बुबाको हात समाएर बेपत्ता भयो । म र बुहारी आमाको एउटा—एउटा पाखुरा समातेर नग्न तस्विरवरिपरि घुमिरह्यौं । मान्छेको अङ्ग पनि त्यति आकर्षक हुने बल्ल थाहा भयो । नहुने भए त्यस्ता नग्न तस्विरमा गुलियो आँपको कोयामा झिंगा झैं किन झुम्मिन्थे मान्छे ?

संसार घुमिहिँड्ने गोराले कहाँ—कहाँबाट भेला पारे होलान् यी मूर्ति र तस्विर ? भित्ता नियाल्दै बुहारीले सोधेकी थिइन् । तर, म लाजैले सुनेर पनि नसुने झैं गर्दै अघि बढें । नेपाली संस्कार जहाँ पुगे पनि खुर्केर फाल्न नसकिँदो रैछ । छोरीमान्छेका कुनैकुनै तस्विर यति विद्रुप र कारुणिक थिए कि ती तस्विरले मानव सभ्यतालाई नै गिज्याइरहेको थियो ।

म्युजियमदेखि तलको ठूलो हलमा निस्केपछि भाइ र बुबा टोइलेटतिर लागे । आमा र म चिसो मार्बलको चिल्लो बेन्चमा बस्यौं । बुहारी पानी किन्न कफीशप छिरिन् ।

‘म्युजियम घुम्दाघुम्दा बेकारमा थाकियो मात्र ।’ मैले भनें, मुसुक्क हाँसिन् मात्र बुहारी । साँच्चीकै म मानसिक रुपमै थकित भएँ । म्युजियमदेखि तलको ठूलो हलमा निस्केपछि भाइ र बुबा टोइलेटतिर लागे । आमा र म चिसो मार्बलको चिल्लो बेन्चमा बस्यौं । बुहारी पानी किन्न कफीशप छिरिन् । भाइ र बुबा आएपछि हामी एकछिन त्यहाँको गिफ्टसपमा छिरिहेर्यौं तर खासै किन्न लायक केही देखिएन र बाहिर निस्क्यौं ।

बाहिर निक्कै आनन्द लाग्यो । हरियो ठूलो चौरीमा रेखा र अमिताभ बच्चनको चर्चित फिल्म ‘सिलसिला’को गीत ‘देखा एक ख्वाब तो…’ मा नाचे झैं गरी हामीले त्यहाँ फूलैफूलको माझ उभिएर एक स्न्याप फोटो खिच्यौं र त्यो चौरी तरेर पल्लोपट्टिको बजार पुग्यौं ।

बिमारी बुबा बलैले हिँड्नुहुन्थ्यो । सन्चोकी आमालाई पनि सञ्चो कहाँ थियो र ? मोटी भएकाले सास बढी रहेको थियो । हामी घुम्दैघुम्दै डाइमण्ड बजार पुग्यौं, त्यहाँ तयारी गरगहना र ‘प्योर डाइमण्ड’ पनि किन्न पाइने साइनबोर्ड देखिन्थे । त्यहाँ पनि हामीले पालैपालो फोटो खिच्यौं ।

हाम्रो कार भाइले त्यही नजिकै पार्क गरेको थियो । पार्किङ समय सकिएकोले फेरि दुई घन्टाको पैसा थप्यो अनि राजधानी एम्स्टर्डम हुँदै खोला साइड घुम्न थाल्यौं ।

त्यो बजार बीच बग्ने खोला र त्यस खोलामाथि तैरिरहेका सानाठूला पानी जहाज देख्दा मलाई लन्डन बीच भएर बग्ने थेम्स नदीको बेस्सरी याद आयो ।

एम्स्टर्डमको ठूलो प्राङ्गणमा निस्कँदा हल्का घाम लागिरहेको थियो । म्युजियमतिरबाट बाटो काट्नै लाग्दा केही पुलिसका गाडीसहित मान्छेको ठूलो हूल नाराबाजी गर्दै आयो । वारि नै उभिएर नसकुन्जेल त्यो हूललाई हेरी पठायौं । सबैको हातहातमा जुलुस बोर्ड देखिन्थ्यो । ती बोर्डमा लेखिएका अक्षर बुझे त मरिजाऊँ । हूल सकिएपछि हामी एकअर्कालाई पछ्याउँदै आफ्नो गन्तव्य खोज्न लाग्यौं । मलाई बिहान महसुस गरेको गाँजाको गन्धले अझै पछ्याई रहेथ्यो । अरुलाई थाहा भयो—भएन, हस्पिटलमा काम गर्ने म गाँजाको गन्धसित राम्रैसँग परिचित थिएँ ।

हल्का भोक लागेको थियो, नजिकै पानी जहाजभित्र एउटा मज्जाको रेस्टुरेन्ट देखें । भाइ र बुबा निक्कै पछि थिए । उहाँहरु पनि आइपुगेपछि पस्यौं रेस्टुरेन्टमा । पानीमाथि भएकाले रेस्टुरेन्ट हल्लिरहेको थियो । खाना अर्डर गरेर कफी पिउँदापिउँदै जहाज त हिँड्यो । ‘हौ, तिमीहरूको दोकान त हिँड्न थाल्यो नि, के पो ?’ बुबा यसो भन्दै हाँस्नुभयो । बुबाको कुराले आमा साँच्ची डराए झैं लाग्यो । ‘डराउनु पर्दैन क्या ! खाजा खाई नसक्दै यही ल्याई पुर्याउँछ’ भाइले भन्यो । त्यसपछि सबै हाँस्न थाल्यौं । यो मोबाइल रेस्टुरेन्ट भएको नदी नेदरलैण्डको बीच भएर बग्दो रहेछ । खाजा खाई सकेर पानी जहाजबाट ओर्लियौं र चोकमा पुगी एकछिन घुम्यौं ।

दिनभर घुमेर लखतरान भै घर फिर्यौं । हल्याण्ड सारै रमाइलो लाग्यो, सफा वातावरणमा हराउँदाहराउँदै दिन बितेको पत्तै भएन । गाडी चढेपछि पो दुख्न थाल्यो हातगोडा र शरीर । आमाबुबा गाडी चढेपछि फुस्सै निदाउनु भयो । म मात्र भर्खर घुमेको नेदरल्याण्डको बयान मनमा गर्दै बसें । केही महत्वपूर्ण कुराहरु बिर्सन्छु कि भनेर नोटमा टिप्न थालें ।