म “तिमी” लाई प्रेम गर्छु !

वर्षमा तीन सय पैसठ्ठी नै दिन,

दिनमा चौबीसै घण्टा,

अनि हरेक घन्टाभित्रका असंख्य पल प्रेम गर्छु  !

हो, म “तिमी” लाई  प्रेम गर्छु !

निर्धक्क, निशंक र निशब्द प्रेम गर्छु ,

असाध्य, निर्लज्ज र आराध्य प्रेम गर्छु !!

तर कति दुःख नमान्नु प्रिये,

त्यो “तिमी” शब्द भित्र तिमी  मात्र छैनौ !!!

त्यहाँ,

मैले खेले हुर्केको धर्तिको दयालु वछ्यस्थल पनि छ ,

मलाई जीवन्त बनाउने फुर्तिलो र वेगवान जल धार पनि छ,

मेरो हर प्रभातलाई ओजिलो र गर्विलो बनाउने

बुद्धको ज्ञान र सगरमाथाको शान पनि छ,

त्यहाँ,

भर्खरै पलाएको हरियो दुवोमा टल्केका शीतका मोतिदाना छन्,

बर्षाले जति ठटाए पनि नरुने चंचल पातका सुस्केराहरु छन् ,

अनि मेरा सपनाहरुका अधुरा प्रसव व्यथाहरु पनि छन्,

त्यहाँ,

मनै बरालिने लहलह झुलेका धानका खेत र मकैका पाखाहरु छन्,

मनै लहसिने खेताल्नी दिदीका आत्मीय लोकभाकाहरु छन्

मध्यरातमा मेरो मनसँगै सुसाउदै गाउने त्रीशुली र नारायणी छन् ,

साँझ झ्यालमा ठोक्किदै मेरो भाग्यसँगै बरालिने बतासका झोँक्काहरु छन्,

त्यहाँ,

सहकर्मी र सहहृदयी साथीहरुसँगका आत्मीय जमघट पनि छन् ,

परिवार, इस्टमित्र र समाजप्रतिका कर्तव्यसतुष्टिका लहर पनि छन्,

भावविह्वल हुँदा पोखिने मसिका चंचल आकृतिहरु पनि छन् ,

निराशाको बादलले थिच्दा गुन्जिने वीर रसका पंक्तिहरु पनि छन् /

त्यहाँ,

निरन्तर बाहिरी संसार देखाउने मेरो सानो झ्याल पनि छ,

आफूलाई भन्दा पृथक माया गरी सफा राखेको ,

तिमीले उपहार दिएको रेशमी रुमाल पनि छ ।

त्यहाँ,

कल्कलाउदा बैंशालु र निश्छल झर्ना हरुको शास्त्रीय संगीतमा,

सलबलाउदा चंचल मत्स्यहरुको मनमोहक र जादुयी नृत्य छ ।

फूलबारीमा रम्दै गुनगुनाउने मौरी र भँवराहरुको त्रिप्तता छ ,

अनि ती चुसिएका थोपा थोपामा, रजहरुको कृतज्ञता छ ।

त्यहाँ,

एकांकीपनले एकाग्रतामा निलेको सिंगो नाङ्गो आकाश छ ,

कल्पनाको संसारमा आध्यात्मको प्रकोपले निलेको शून्यता छ ।

सागरको पानीमा फैलिएका वृतीय अनन्त लहरको किनाराको खोजीको व्यग्रता छ ।

लुकामारी खेल्ने छायासँग मेरो पूर्वजन्म र पुनर्जन्मको त्रिपक्षिय सम्वाद छ ।

तर…

अन्तिममा….

गाँठी कुरा गर्दा

(जिन्दगीमा मर्दापर्दा),

“तिमि” शब्दभित्र यति वृहत् र अकल्पनीय संसार अट्नुमा,

सारा तात्पर्य र सामर्थ्य तिमीमै निहित छ प्रिये !

म बाँचेको छु र त यो सब छ,

तिमि छौ र त म बाँचेको छु प्रिये !!!

  • मस्को