मलाई लाग्छ- हामी अधिकांश नेपाली घमण्डी नागरिक हौं ।

सुरुवातमै यति तीतो वाक्य नलेखेको भए पनि हुने हो । तर ढिलो भइसकेको छ । अब तीतो नै लेख्नु पर्छ । हामी मीठोमा धेरै रमायौं । वाहवाही र आत्मरतीमा हरायौं । मनोरन्जन र मोजमस्तीमा व्यस्त भयौं । हामीलाई इतिहासले सत्यबोध नै गराएन कहिल्यै । जहिल्यै हामी इतिहासको अतिरिक्त गर्वमा मस्त भइरह्यौं र वर्तमान अनि भविष्यलाई बेवास्ता गरिरह्यौं । हामी कर्मशील नागरिकबाट अल्छी, विनोदी र गफाडी नागरिकमा परिणत भयौं । त्यति मात्र भएनौं, हामी घमण्डी र रिसाहा नागरिक पनि भयौं । यस्तो हामीलाई हाम्रो इतिहासले बनायो ।

‘विदेश बसेको छ । देशलाई गाली गरेको छ । सिस्टमलाई गाली गरेको छ । नेतालाई गाली गरेको छ ।’ भन्ने आशयका आरोप धेरै खेपें मैले जापान आएदेखि ।

तर ‘विदेश बसेको छ । विदेशको सिस्टम र सरकार देखेको छ । त्यहाँको प्रगति र विकासलाई आफ्ना प्रत्यक्ष आँखाले हेरेको छ । त्यसैले त देशको चिन्ता र चिन्तनमा केही लेखिरहन्छ ।’, यस्तो आशयका प्रतिक्रिया कमै पाएको छु मैले ।

भनिहालें नि, हामी घमण्डी नागरिक हौं । केही अरुको राम्रो सुन्न र अनुकरण गर्न नचाहने नागरिक हौं । यसको पनि एउटै कारण छ- हामीले घमण्डी इतिहास पढ्यौं । हामीले ‘हिंग नभए पनि हिंग बाँधेको टालो हौं’ भन्ने आशयका उक्ति पढ्यौं । हामी वीर हौं भन्ने भ्रमले हाम्रो कर्मशीलताको लगौंटी फुस्काइदिएर सर्वाङ्ग नाङ्गो बनाइदिँदासम्म पनि हामीले आफूलाई वीरका सन्तान हौं भन्न छोडेनौं ।

हामीमा रहेको यो मनोविज्ञान नफेरिएसम्म देश त बन्ने छैन नै, हाम्रा दैनिकी पनि सुखद हुनेवाला छैन । दम्भी इतिहासले परेको प्रभावको मनोविज्ञान हामीमा यति हावी छ कि हामी आपसमा लडिरहेका छौं । आफूलाई ठूलो देखाउने र कसैसँग नझुक्ने मनोविज्ञान यसरी हावी भइदियो कि हामी गल्तीमा पनि झुक्न छोड्यौं । शिर निहुर्याउनु भनेको सानो हुनु हो, होंचो हुनु हो भन्ने चिन्तन यसरी हावी भइदियो कि हामी गल्ती कमजोरीलाई ढाक्न या त इतिहासको या धर्मको या सम्प्रदाय र क्षेत्रको या कुनै पहुँच र पावरको सहारा लिनतर्फ लाग्यौं, आफूलाई सुधार्नतर्फ लागेनौं ।

हेमन्त गिरी

देश बन्न नेता गतिलो हुनुपर्छ- पहिलो शर्त हो । तर नेता गतिलो हुन नागरिक गतिलो हुनु पर्छ- यो अकाट्य सत्य हो ।

जापानका बालबालिकालाई हेर्छु । यिनीहरु पार्कमा खेल्छन्, तर आपसमा लडेको, झगडा गरेको मैले कमैलाई मात्र देखेको छु ।

म जापानी युवाहरुलाई हेर्छु । यिनीहरु रेस्टुरेन्टमा बसेर मदिरा पिउँछन्, बेस्सरी नशा लाग्ने गरी पिएर सडक वा प्लेटफार्ममा ढलेकोसम्म देखेको छु । तर आपसमा लडेको, झगडा गरेको कमैलाई मात्र देखेको छु । हात हालेर लडेको त देखेको नै छैन भन्दा पनि हुन्छ ।

म पसलहरुमा जान्छु, त्यहाँका कर्मचारी ग्राहकसँग झर्केको, रिसाएको, कराएको देखेको छैन । ग्राहक पनि पसलेसँग झगडा गरेको खासै देखेको छैन । सरकारी कार्यालयका कर्मचारीले सेवाग्राहीलाई अनावश्यक दुःख दिएको देखेको छैन । अरु त अरु सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले समेत ठूलो आवाज वा बल प्रयोग गरेको देखेको छैन, उल्टै प्रहरीले जनतालाई हदैसम्म झुकेर अभिवादन गरेको देखेको छु । जताततै सुमीमासेन (एक्सक्यूज मी), गोमेनासाई (माफी चाहन्छु), दोउमो आरीगातोउ गोजाइमास (धेरै धेरै धन्यवाद) भन्दै शिर झुकिरहेको मात्र देख्छु । एक जना आक्रोशित भएर केही बोले पनि अर्कोले शिर झुकाएर सुनिरहेको वा माफी मागिरहेको देखेको छु । खासमा मैले यहाँ भन्न खोजेको म आएदेखि देखेको जापानमा लडाइँ, झगडा, आक्रोश, खिँचाइ र खुट्टा तानातान ज्यादै कम देखेको छु । यस्तो किन भयो होला ? विकसित देशमा जहाँतहीँ यस्तै हुन्छ ? के यस्तो जापान विकसित हुनु अघिदेखि नै थियो ? म घोत्लिइरहन्छु ।

घोत्लिँदै गर्दा सामाजिक संजालतिर आँखा पुग्छन्, अनि देख्छु नेपाली दाजुभाइका लेखाइ, भनाइ, आपसमा कमेण्टमै बाझाबाझ, आपसमा द्वेष ,कलह, क्रिया प्रतिक्रियामा अत्यन्त नकारात्मकता, एकले अर्कोको उठीबास लगाउन उद्दत, वैचारिकभन्दा व्यक्तिगत रिसिवी जस्तो, साह्रै नमीठा, मुटु कुँडिने, मानहानीका शब्दहरु । त्यो भीडमा म आफूलाई पनि पाउँछु अनि फेरि आफैंलाई प्रश्न गर्छु- हामीहरुले यसो किन यसो गर्छौं होला ? जापानीहरुभन्दा हामी नेपाली नजान्ने र अज्ञानी भएर हो त ?

होइन । एउटा सामान्य जापानी नागरिकको भन्दा हाम्रो जेनेरल नलेज (सामान्य ज्ञान) धेरै राम्रो छ, त्यो मैले देखे-भोगेको छु । तर के छैन त हामीमा ? एउटै कुरा छैन, त्यो हो झुक्ने बानीको अभाव । सानो हुने बानी छैन हामीमा । हामीमा संस्कार नै छैन म भन्दिनँ, हामीमा केही चीजको साह्रै कमी छ भने त्यो हो विनम्रता वा स्वीकारोक्ति । र सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ, यस्तो हामीलाई हामीले पढे-सुनेको हाम्रो इतिहासले बनाएको हो ।

हरेक देशको नागरिकलाई आफ्नो देशको इतिहास, सम्पदा र धरोहरप्रति गर्व हुन्छ । त्यो हामी नेपालीलाई पनि छ, जापानीलाई पनि छ । फरक के छ त भन्दा हाम्रो नहारेको, नझुकेको इतिहास छ । नझुकेको, नहारेको इतिहास हुनु आफैंमा गौरवको विषय हो । तर गर्व कति गर्नु र कोसँग गर्नु भन्ने कुराले महत्व राख्छ । हामीले इतिहासको बखान पराईलाई आफ्नो देश चिनाउन कमै गर्ने गरेका छौं, बरु आफ्नालाई गिराउन बढी गरेका छौं । बुद्ध जन्मभूमि, सगरमाथाको देश जस्ता इतिहास र भूगोलका यी सौभाग्यहरुका रटान र आत्मरतिले एकातिर त हामी कर्मबाट विचलित भइरहेका छौं, अर्कोतर्फ फरक विचार राख्ने आफ्नै नेपाली दाजुभाइको इतिहासप्रतिको स्वामित्वको हक पनि खोसिरहेका छौं । बिर्सिरहेका छौं- राज्यका प्रत्येक अवयवहरुमा हरेक नागरिकको बराबरीको हक रहन्छ । हामी त साझा राष्ट्रिय विभूति र धरोहर हरुलाई समेत ‘तेरो होईन, मेरो हो’ भनिरहेका छौं वा ‘मेरो होइन तेरो हो’ भनिरहेक़ा छौं । तेरो जातको र मेरो जातको भनिरहेका छौं । तेरो क्षेत्रको र मेरो क्षेत्रको भनिरहेका छौं । हाम्रो गौरवपूर्ण इतिहासलाई हामीले सकारात्मक रूपमा नभई आफ्नो दम्भको रूपमा ग्रहण र प्रस्तुत गरिरहेका छौं । इतिहासप्रति गर्व गर्नु एक नागरिकको धर्म होला तर इतिहासमाथि दम्भ गर्नु नागरिकको कमजोरी हो । र हामीलाई यही कमजोरीले पछि पारिराखेको छ ।

भनिन्छ नि, मरिच आफ्नै रागले खुम्चिन्छ । हामी इतिहासको अतिरन्जनात्मक रटान र दम्भले खुम्चिरहेक़ा छौं । हामी हाम्रो आलोचनात्मक चेत खुलाउन नै चाहान्नौं । हामी जति इतिहासमा पुर्खा नहारेकोमा दम्भ गर्छौं, त्यति वर्तमानमा आफू परनिर्भर भएकोमा लज्जाबोध चाहिँ गर्दैनौं ।

जापान जैविक विविधता र प्राकृतिक सम्पन्नताको हिसाबले नेपाल जस्तै तर कम अनुकूल भूमि हो, पृथ्वीमा । पचास वर्षको अन्तरालमा उस्तै दुई देशमध्ये एक संसारकै सम्पन्न राष्ट्र र अर्को संसारकै विपन्नमध्येको एक कसरी हुन पुगे त ? तत्तत् देशका सरकारको कारणले हो त ? तत्तत् देशमा भएका राजनीतिक परिवर्तन र राजनीतिकर्मीको कारणले मात्र हो त ? वा तत्तत् देशका बाहिरी विश्वसँगका सम्बन्धका कारणले मात्र हो त ? हुनसक्छ, यी कारण मध्यम मात्र हुन, प्राथमिक कारण नागरिक नै हुन । र उनीहरूलाई सिकाइएको त्यो देशको इतिहास हो । विश्वयुद्ध अघिको शक्तिशाली साम्राज्यको इतिहास मात्र जबर्जस्ती रटाइएको भए सायद आज जापान नेपाल जस्तै रहने थियो होला ।

नेपालसँग जितेको इतिहास भए जस्तै जापानसँग हारेको इतिहास छ । पूर्वी एसियाको महाशक्ति थियो कुनै समय जापान । जोखेरै हेर्ने हो भने हामीसँग भन्दा वजनदार इतिहास हुनसक्छ जापानीहरुसँग । तर यिनीहरुलाई यति विघ्न झुक्न, यति अनुशासित र परिश्रमी हुन बाध्य के ले बनायो त ? मात्र एउटा हारले । आज हेर्नोस् त, जापानीहरुले हारेर पनि विश्वलाई जितिरहेक़ा छन् । आज जापानी नागरिकले आफूलाई चिनाउनको लागि न कुनै इतिहासको वर्णन गर्नुपर्छ, न भूगोल र प्राकृतिक सौभाग्यहरुको । उनीहरु विश्वमाझ हरुवा भनेर चिनिन्नन्, विजेता भनेर चिनिन्छन् । उनीहरु बिजेता कर्मले बनेका छन् । कर्म गर्न उनीहरुलाई हारेको इतिहासले सिकाएको हो । कर्मवीर जापानीहरुका हरेक उत्पादनले आज तपाईं-हाम्रो बैठक सजाएका छन, विश्वका अधिकांश बैठक कोठामा शानसँग जापानी स्वभिमानले डेरा जमाएको छ । तैपनि जापानीहरु दम्भ गर्दैनन्, एकले अर्कोलाई गाली गर्दैनन् । एकआपसमा मिलेर बसेका छन्, एकअर्काप्रति झुकेका छन्, विनम्र बनेका छन् फलेको वृक्षको हाँगो झुके जस्तै । अमेरिकाले हिरोशिमा र नागाशाकीमा परमाणु बम नखसालेको भए, बारम्बार भूकम्प र सुनामी अनि ज्वालामुखीले चुनौती नदिएको भए जापानीहरुमा यति झुकाव हुन्थ्यो होला त ? सायद हुँदैन्थ्यो । उनीहरु पनि विश्वयुद्ध अघिको आफ्नो साम्राज्यमयी इतिहासमाथि दम्भ गर्दा हुन् ।

स्कूल पढ्नेताका मलाई सबै राजा महाराजाको जन्म, छैटी, पास्नी, व्रतबन्ध, बिहे, सुहागरात, राज्याभिषेक, मृत्यु आदिको तिथिमिति, शिकार खेलेका वन जंगलका नाम, दासीहरुलाई श्रीमती बनाएर राखेको खोपीको ठेगाना, आफैं आफैं लडेर मरेका भाइभरदारको नाम पुरै कण्ठस्त थियो । कण्ठ गर्नु पनि पर्थ्यो, नत्र परीक्षामा पास भइँदैनथ्यो । र अनौठो कुरा, धेरैलाई इतिहास विषय नै सबैभन्दा बढी मन पर्थ्यो । कारण, इतिहास विषय एउटा रोचक चलचित्र जस्तो लाग्थ्यो । राजा महाराजाहरु लडेका, मरेका, मारेका, गायब पारेका, पारिएका घटना सुन्न पढ्न खुब रुची लाग्थ्यो । मनमा अझै पनि ती राजा महाराजा, भाइभारदारका तस्बिरका निशान छन् । यति गहिरो छाप पर्नेगरी कुन चतुरले हाम्रो इतिहास लेख्यो होला ?

केटाकेटीमा केही चुनौतीपूर्ण काम गर्नुपर्यो भने फूटानी लगाउँदै भनिन्थ्यो, ‘यो काम त हाम्रा बाले गर्न सक्छन्’, उतिबेलै के महसूस हुन्थ्यो खै ? अनि भनिन्थ्यो, ‘हैन हैन, बाले पनि सक्दैनन्, राजाले मात्र गर्न सक्छन’ । एक बच्चाको लागि संसारमा सबैभन्दा बहादुर र बलिया उसका बा हुन्छन् । बाप्रतिको बच्चाको विश्वास नै डगमगाउने गरी लेखिएको हाम्रो इतिहास साँच्चै कुनै ठूलै दरबारिया चतुरले नै लेखेको हुनुपर्छ । त्यसैले त त्यो इतिहासभित्र जति राजा महाराजाका गौरवका गाथा थिए त्यति नागरिकका पीरका गाँठा पनि थिए भन्न आज हामी थुरथुर काप्छौं । भनिहाले पनि अनर्गल गाली खाइने उत्तिकै सम्भावना रहन्छ ।

केहीलाई के लाग्दो रहेछ भने, आँखा चिम्लेर रटेको इतिहास फरर बोल्ने हो भने महान राष्ट्रवादी भइन्छ । ती मारेका, मरेका, राजा महाराजाले नानाभाँति गरेका तिथिमिति, शिकार खेलेका जंगलका नाम, सयौं रानी र हज़ारौं दासीका खोपीका नाम कण्ठ पारेको इतिहासको शिक्षाले दिएको के छ ? धेरै त केही होइन, एउटा अनौठो दम्भ दिएको छ । यस्तो दम्भ जसले आफूआफूमै लडाइरहेको छ ।

एकथरी भनिरहेछन- म फलानाको सन्तान ! अर्कोथरि भनिरहेका छन- म फलानोको अनुयायी । अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवर जस्ता केही महान योद्धाहरुले देशको रक्षा गरेकोमा हामी जति गर्व गर्छौं त्यति नै हामी दरबारभित्रै राजा, महाराजा, मन्त्री अनि सिपाहीका मुखियाहरु सत्ता, शक्ति र वासनाको लागि आपसमा लडेकोमा, मरेकोमा, मारेकोमा शरमचाहिँ हामी गर्दैनौं । किनकि हामीलाई इतिहास पढाइएको होइन, रटाइएको हो । र केही समययता रटेको इतिहासमाथि अलि बढी नै गर्व गर्ने अभियान चलाइएको छ । त्यही अभियानलाई यहाँनेर दम्भ भनिएको हो ।

जित र सम्पन्नताको अझ भनौं दरबार, दरबारिया र दरबारिया मानसिकताको इतिहास देखाएर दम्भ गर्न त सिकाइएको छ । तर आफैंआफैंमा लडेको र आफैंभित्र हारेको अनि अभाव र विपत्तिको इतिहास लुकाएर कर्म गर्न चाहिँ सिकाइएको छैन ।

एउटा विवेकशील नागरिकले इतिहासका पन्ना पन्ना केलाउँछ, गर्व गर्ने ठाउँमा प्रशस्त गर्व गर्छ, आलोचना गर्ने ठाउँमा ‘किन यस्तो ?’ भन्छ । ‘भानुभक्तलाई आदिकवि बनाउन प्रेरणा दिने घाँसी कहाँ गए ?’ भनेर खोज्छ । ‘पृथ्वीनारायणलाई अर्तिबुद्धि दिने बिसे नगर्चीको जीवनबयान गरिएको खोई ?’ भनेर सोध्छ । ‘देवकोटाले किन उपचार पाएनन भनेर ?’ प्रश्न गर्छ । तर एउटा सुँगा रटानेले जे रटेको छ त्यसमै आफूलाई अब्बल देख्छ । हाम्रो आलोचनात्मक चेत र पिन्जडामुक्ति पछिको सुँगाको उडान उस्तै उस्तै हुनभन्दा फरक नपर्ला । विवेकको खुला आकाशको सट्टा भक्तिको सुनौलो पिन्जडा प्रयोग गरिएको चतुर इतिहासका घोकन्ते विद्यार्थी हौं हामी नेपाली । हामीबाट स्वतन्त्र उडानको के अपेक्षा ? अनि उडानपछिको विश्राममा विनम्र झुकावको के अपेक्षा ?

केही समयअघि अमेरिकी राष्ट्रपतिले जापानको भ्रमण गर्दाको बखत प्रसंगवश एक जनासँगै काम गर्ने जापानी साथीलाई उसको देशको इतिहास, राजनीति र राजारानीको बारेमा धेरै कुरा सोधेको थिएँ । उसले वर्तमान राजा र प्रधानमन्त्रीको नामसम्म बताएको थियो । बाँकी राजा र राजनीतिको बारेमा थाहा नभएको बताएको थियो । चाहेको भए ठूलो नाक पारेर उसले पनि आफ्ना महान साम्राज्यवादी राजा महाराजाको रटाने कथा सुनाउन सक्थ्यो होला, पर्ल हार्बरका वीरता सुनाउन सक्थ्यो होला, केही त पक्कै पनि थाहा थियो होला ।

फेरि सोधें, “हिरोशिमा र नागाशाकी आक्रमणको बारेमा के थाहा छ ?” तब उसले जाने बुझे जति सबै बतायो । जापानी नागरिकले पाएका दुःख र गरेका संघर्षका कहानी सुनायो । अनि संघर्षले बनाएको आजको जापानको खुसी आफ्नो मुहारमा छल्कायो । एक जना नेपालीलाई सोध्नोस्, राजा महाराजा र नेताहरुको बारेमा के कति थाहा छ ? नाक फुलाएर आँखामा रवाफ ल्याएर फरर.. नालीबेली भन्छ । पहुँचवालासँगका आफ्ना उठबसदेखि बाका पालादेखिका हिङ बाँधेका टालाका बखानले आफूलाई इतिहासमा नाम लेखिएकाहरुसँग बडो शानसँग जोड्छ । अनि फेरि सोध्नुहोस्, ९० सालको भूकम्पको बारेमा के थाहा छ, नालापानी र कालापानीमा के भिन्नता छ, सुस्ता र टिष्टाको बारेमा के थाहा छ ? उसले खासै केही बताउन सक्दैन । खुबै बताए यति मान्छे मरेका थिएसम्म भन्ला । यही हो हामीलाई सिकाइएको फरक इतिहास ।

त्यसो त एउटा भनाइ छ- इतिहास जित्नेको मात्र लेखिन्छ । तर दृष्टान्तले के देखाउँछ भने जित्नेको इतिहासले समाज र सभ्यतालाई दम्भी बनाउँछ, अहंकारी बनाउँछ । हाम्रो केही गौरवपूर्ण र केही हतासपूर्ण इतिहासको समुचित समायोजनसहित इतिहासको पुनर्लेखन नभए हाम्रा आगामि पूस्तालाई कहिले असाध्यै दम्भी बन्नुपर्ला त कहिले असाध्यै निरिह बन्नुपर्ने पनि दिन आउनेछ । हामीले गर्व र आलोचना दुवै गर्न सक्ने इतिहासलाई आफ्नो दम्भ अनुकूल अध्ययन र व्याख्या गर्यौं र त्यसको प्रयोग आपसमै लड्नमा गर्यौं । कम्तिमा हाम्रा सन्ततिलाई कर्म गर्न सिकाउने इतिहास दिऊँ । त्यसको लागि भानुभक्तसँग जोडिएका घाँसी र पृथ्वीनारायणसँगै जोडिएका बिसे नगर्चीका विस्तृत जीवन पनि इतिहासमा समेटौं । मैले पढेको इतिहासमा त्यस्ता पात्र कोही अटाएनन् त के भो, मेरा सन्तानले पढ्ने इतिहासमा कुलमान, गोबिन्द के सी, सन्दूक रुइतहरू अटाऊन्, न कि गिरिजा, प्रचण्ड, माधव, शेर, ज्ञानेन्द्र वा केपी मात्र । कर्म गर्ने हरेक नागरिकलाई लागोस्- भोलि लेखिने इतिहासमा राजा, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीज्यूहरुको मात्र होइन मेरो नाम पनि समाविष्ट हुनेछ ।

मैले जे जस्तो इतिहास पढे पनि मेरा सन्तानले पढ्ने इतिहासले दम्भको अन्त्य र कर्मको आरम्भ गरोस् ! हामी घमण्डी नागरिकबाट विवेकशील नागरिकमा रूपान्तरण हुन पाइयोस् ! अस्तु: ।।

हालः जापान