अघिल्लो दिन नै ट्याक्सीको व्यवस्था भएको छ । बर्माको नाउछोबाट अर्को सहर टाउजी जान बसको व्यवस्था छैन । त्यसैले इन्द्रबहादुरजीको सल्लाहअनुसार नै म बिहानै ट्याक्सीको पर्खाइमा सडकछेउ झोला झुण्ड्याएर उभिएको छु । इन्द्रबहादुरजी भन्दै हुनुहुन्छ– “मैले हिजै भनेको छु । अगाडिको सिट जसरी पनि मिल्छ । ट्याक्सी यहाँबाट नै जाने हो । यात्री नभरी जाँदैन । त्यसकारण हतार गर्नु पर्दैन ।”

केहीबेरपछि ट्याक्सी आउँछ तर अगाडिको सिट खाली छैन । एक जना पाको व्यक्ति बस्नुभएको छ । म जोड गर्दिनँ । मनमनै सोच्छु– “मेरो तीन हजार च्याट (बर्मेली मुद्रा) जोगियो । आखिर पुग्नुपर्ने एउटै ठाउँ अनि समय पनि उही ! केको लागि मुख कालो बनाउनु ! अनौठो खालको परिपाटी छ त्यहाँको ट्याक्सी चालकको । अगाडिको सिटमा बसे बीस हजार च्याट, पछाडि बसे सत्र हजार ।

म ट्याक्सीभित्र पस्छु । मभित्र पसेर सिटमा बसेको मात्र हुन्छु, ती युवती झस्याङ्ग झस्किइन् । उनको अनुहार रातो हुन्छ । उनी डराइन् पनि । उनको झस्काइले म पनि झस्किएछु । तर म लुसुक्क सिटमा बस्छु ।

अगाडि पुगेपछि पछुतो लाग्न थाल्छ । मैले किन अगाडिको सिटमा जोड गरिन् ? एक त त्यो विशाल फाँट, हरियो जंगल, समथर भूमि ! अनि ठाउँ–ठाउँमा मिलेको बस्ती ! अगाडि बसेको भए ती दृश्यहरू मेरा आँखामा सोझै पर्थे होलान्– अर्कोतिर ती युवतीको झस्काइको तीतो अनुभव !

“तिम्रो नाम के हो ?” तर म ती युवतीलाई सोध्छु ।

उनले उत्तर दिइनन् । झन् फेरि झस्किइन् ।

उही कुरो भोलिपल्ट उनलाई मैले सोधेको थिएँ– “सुरुमा तिम्रो र मेरो भेट हुँदा तिमीलाई मैले ‘तिम्रो नाम के हो ? भने सोधेको थिएँ’ किन तिमीले उत्तर नदिएकी ? तिमी त झस्क्यौ नि !”

“म त कहाँ ! तपाईंलाई देखेर आतिए नि ! शब्दै आएन ।”

नगेन्द्र न्यौपाने

अग्लो कदकी, गुमुक्क परेका गाला, गोरो वर्णको अनि सामान्यभन्दा अलिक भद्दा जीउडाल । ती युवती र म मात्र त्यो ट्याक्सीमा छैनौं । अगाडिको सिटमा एक जना पाको व्यक्ति र ड्राइभर छन् भने पछाडिको सिटमा हामी दुई जनाबाहेक एक जना अर्को महिला हुनुहुन्छ । तर कोही बोलेका छैनन् । हाम्रो भाषा उनीहरूले बुझेका छैनन् । मिले पनि, नमिले पनि हामी अंग्रेजीमा नै बोलेका छौं । कतै कतै हिन्दी पनि मिसिएको छ । तर आत्मा मिल्न थाल्यो भने भाषाको जरुरत पर्दैन । आत्माहरू आफैँले आफ्नो भाषाको सृजना गर्दछन् । उनीहरूको आफ्नै भाषा हुन्छ । जसरी पानीले आफ्नो सतह मिलाउँछ ।

“मेरो नाम ‘यादनाले लिन’ हो । तर तपाईं मलाई ‘लिन’ नै भन्नुहोला । तपाईंलाई सजिलो हुन्छ ।”
यादनाले लिन पेसाले नर्स हुन् । उनलाई पढाउने शिक्षक भारतीय भएको हुनाले पनि उनलाई हिन्दीका शब्दहरू पनि आउँछ । उनलाई अंग्रेजीमा पनि काम चलाउन सकिन्छ । अर्कोतर्फ उनको अगाडि म सानोतिनो डाक्टर नै छु । आफू डाक्टर नभए पनि मलाई डाक्टरले बोल्ने भाषा र शब्दहरू मुखाग्र छन् । आफू डाक्टरको भाइ भएको नाताले मलाई ती शब्दहरूको ज्ञान छ । नेपालमा हुँदा मैले सामान्य डाक्टरी काम र औषधीसँग परिचित छु । अहिले लिनसँग बोल्न त्यही शब्दहरूले सहज बनाएकाो छ ।

“नाइट ड्यूटी गाह्रो हुन्छ हगि ?”

“के गर्नु नर्स भएपछि । गाह्रो मानेर भयो ?”

हाम्रो गाडी केहीबेर समथर मैदानमा गुडिसकेर ओरालो सडक समात्न थाल्छ । त्यो ओरालो सडकको डिजाइन त्यति मिलेको छैन । सम्म मिलेको ठाउँमा डिजाइन गरिरहेका इन्जिनियरलाई पहाडी ठाउँमा डिजाइन गर्न अनुभव नभएर होला– झुक्किएर ड्राइभरले आँखा झिम्क्याउन पुगे भने गाडी सोझै खोलामा पुग्छ । त्यतिमात्र हो र ! सडकको न चौडाई पर्याप्त छ न घुम्तीको सन्तुलन मिलेको !

“अहो ! कस्तो भिरालो सडक ! यस्तोमा कसरी गाडी कन्ट्रोल हुन्छ ? तिमीहरूको मुख्य सडक नै यही हो ?”

“सरकारले बनाएको भए पो सडक गतिलो होस् ।”

“कसले बनाएको हो त ?” म सोध्छु ।

“वागीले बनाएको हो । सरकारलाई यो सडकको बारेमा थाहै छैन । वागीले राज्य कब्जा गर्न बनाएको थियो, उसले राज्य कब्जा गर्न सकेन तर बाटो चाहिँ बन्यो ।”

“तर सडक गतिलो बनाएनछ” म थप्छु ।

“इन्जिनियर लगाएर बनाएको हो र ? कुल्ली र आतङ्ककारी नै इन्जिनियर हुन् ।”

“अहो ! नदी त ठूलो रहेछ हगि ?” हामी गफ गर्दागर्दै एउटा ठूलो नदी तर्छौं । “यो नदीको नाम के हो ? ”

“डैठावती ।”

त्यो नदीको नाम सुन्नासाथ हिजो इन्द्रबहादुरजीले बोलेको शब्दहरू मेरो कानमा आउँछन् ।

“दुष्तावतीको ओरालो डरलाग्दो छ, होसियार हुनुपर्छ ।”
‘डैठावती’ की ‘दुष्तावती’ ?

“तपाईंलाई जो सजिलो लाग्छ । कसैले यसलाई दुष्ठावती पनि भन्छन् ।”

हाम्रो ट्याक्सी अगाडि बढ्छ । मीठो अभिव्यक्ति नै प्रेम हो । सच्चा प्रेममा मौलिकता हुन्छ भने माया पनि ।

“आज म तपाईंलाई बर्मेली खाना खुवाउँछु है ?” दुष्तावती खोला तरेपछि हरियो जंगल आउँछ अनि सानो सहर । त्यही सहरमा ट्याक्सी रोकिन्छ र ड्राइभर खाना सूचना दिँदै बाहिर निस्किन्छन् ।

“यो ठाउँलाई लकसक भन्छन्” भन्दै लिन मलाई एउटा होटलतिर लग्छिन् ।

लिनको यो प्रस्तावमा कताकता मेरो समस्या समाधान भएको अनुभव गर्छु । म खुसी हुन्छु । सुरुदेखि नै मलाई भाषाको समस्या थियो । आफ्नो भोक अभिव्यक्ति र खानाका नाम थाहा गर्न नसक्नु मेरो कमजोरी थियो । त्यसकारण म उनको प्रस्तावलाई सहर्ष स्वीकार गर्छु र उनको पछि पछि लाग्छु । उनैले रोजेको कुर्चीमा बस्छु ।

हामीहरू खाना खान्छौं र निस्किन्छौं । उनैले मेरो थप ४०० च्याट तिरिदिन्छिन् ।

“तपाईंले १ हजार च्याटको खाना फ्याक्नुभयो नि ! थप सब्जी माग्न नहुने ।”

म लज्जित हुन्छु । मेरो अनुहार रातो हुन्छ । र बिस्तारै उनलाई सान्त्वना दिँदै बोल्छु, “एक जनालाई माग गरेको खाना दुई जनालाई पुग्दो रहेछ । हामीले एक जनालाई मात्र मगाउनुपर्ने ।”

हाम्रो ट्याक्सी अगाडि बढ्छ । सम्म ठाउँको सडक मिलेको मौसम अनि आरामदायी शरीर । खाना खाएपछि मेरो आँखा झकाउन थाल्छन् तर लिन मलाई सुत्न दिन्नन् ।

“तपाईं नसुत्नु होस् है ! यहाँ सुत्न मिल्दैन ।”

“किन ?” म विस्तारै आँखा खोल्छु ।

नभन्दै ट्याक्सी विस्तारै सडकको किनारतिर लाग्छ र रोकिन्छ । हाम्रो ट्याक्सीभन्दा अगाडि थुप्रै गाडीहरू रोकिएका छन्, पछाडि पनि रोकिने क्रम जारी नै छ । गाडीहरूको लाम लामो छ ।

“किन रोकिएका हुन् यी गाडीहरू ?” म सोध्छु ।

“यहाँ सैनिकले सुरक्षा जाँच गरेको हो । वागी यहाँतिर पसेको संकेत पाएर सैनिकको जाँच पड्ताल बडा हुनेगर्छ ।” उनी प्रसंग बदल्दै फेरि थप्छिन्– “तपाईं सैनिकसँग केही पनि कुरा नगर्नुहोस् है । केही सोधे भने म नै उत्तर दिन्छु । तपाईं नबोल्नुहोस् ।”

त्यतिबेला दुई जना राइफलधारी सैनिकले हाम्रो ट्याक्सीलाई दायाँ–बायाँतिर घेरा हालिसकेका हुन्छन् र ट्याक्सीको झ्यालबाट हात घुसारेर झोला छामछुम गर्छन् । अन्य यात्रुहरूसँग केही सोधपुछ गर्छन् तर म एक शब्द पनि बोल्दिनँ । हेरिरहन्छु ।

गाडी अगाडि बढ्छ । केहीपर पुगेपछि म लिनलाई सोध्छु, “तिमीले मलाई किन नबोल भनेकी ?”

“तपाईं बोल्नुभयो भने सैनिकलाई शंका पर्न सक्छ । तपाईंलाई विदेशी भनेर दुःख दिन थाल्छन् । तपाईंको अनुहार बर्मेलीको जस्तो छ, बोली विदेशी ! विदेशी भएपछि अझ कागजपत्र पनि देखाउन पर्छ । तपाईंलाई थप शूल्क पनि लगाउन सक्छन् ।”

हाम्रो ट्याक्सी टाउजीभन्दा उत्तरतिर अर्को सानो सहर स्याउनमा पुग्छ र मूल सडकभन्दा केही परको घर अगाडि रोकिन्छ ।

“तपाईं बस्ने घर यही हो ।” उनी मलाई सोध्छिन् ।

“हो ।”

“तपाईंलाई लिन आउने को हुन् ।”

“मेरो साथीको भाइ । मेरो साथी नै मलाई लिन आउने कुरो थियो तर उहाँलाई काम पर्यो अरे, भाइ पठाउनु भएको ।”

“ऐ ! अगि उहाँसँगै नै हो तपाईंको कुरा भएको फोनमा ?”

“हो ।”

“घर त मूल सडकमा नै रहेछ । म तपाईंलाई भोलि फोन गर्छु है !

“हुन्छ ।”

ट्याक्सी मलाई छोडेर जान्छ । म डिलारामजीको भाइको पछिपछि लागेर उहाँको घरमा पुग्छु ।

नभन्दै भोलिपल्ट बिहाने लिनको फोन आउँछ ।

“तपाईं तयार हुनुभयो । म तपाईंको घर नजिकै छु । बाहिर आउनुहोस् ।”

“यतिबेलै ! म त तयार भएकै छैन । कहाँ जाने हो ?”

“ल ! हिजै भनेको होइन तपाईंलाई । ‘इन्ले ताल’ हेर्न जाने भनेर ? दिउँसो घाम चर्को हुन्छन् । अहिल्यै जानपर्छ ।”

लिनले मलाई इन्ले तालको बारेमा हिजो बताएको थिइन् । यो बर्माको सबैभन्दा उच्च भागमा रहेको ठूलो ताल हो । यहाँ डुङ्गा तरेर धेरै टाढासम्म जान सकिन्छ । यहाँ माछा मार्न पनि पाइन्छ ।

सुरुमा देख्दा त, झस्केकी बर्मेली युवतीबाट यस्तो प्रस्ताव म धेरैबेर अकमक्क पर्छु ! मलाई के गरौं कसो गरौं हुन्छ । उत्तर फर्काउन धेरैबेर लाग्छ तर उनले फोन छोडेकी हुन्नन् ।

“हलो ! खै तपाईं त निस्किनु भएन नि !”

“आएँ ! आएँ” भन्दै म बाहिर निस्किन्छ ु। बाहिर उनी आफ्नो नीलो रङ्गको स्कुटरमा मलाई पर्खेर बसेकी हुन्छिन् । म त्यसैमा बस्छु ।

उनको भर्खर नुहाएको ओसिलो कपाल, वास्नादार रङ्गीन कपडाबाट आएको मीठो सुगन्ध अनि कसिलो शरीरमा टासिएको मेरो छाति । मेरो जीवनमा नयाँ गति आएको हुन्छ । म कताकता विविध विसंगतिको अनुभव गर्छु । मेरो मानसिकता खलबलिन पुग्छ, अनि तत्काल होसियार हुन कर लाग्छ तर उनी निवदि रूपमा स्कुटर हाकिरहेकी हुन्छिन् ।

“डर लाग्यो ?” उनी मलाई सोध्छिन् । म केही बोल्दिनँ । उनलाई छुइन्छ कि भनेर म पछि–पछि हटिरहेको हुन्छु तर म लड्छु कि भनेर उनी मलाई आपूmतिर तानिरहेकी हुन्छिन् । हाम्रो यात्रा डरै–डरैमा अगाडि बढ्छ । रमाइलो–रमाइलोमा नै बगिरहेको हुन्छ । उनी मलाई बेला–बेला भनिरहेकी छन्, “डराउनु पर्दैन । मलाई च्याप्प समात्नु होस्, केही हुँदैन ।”

उनी स्कुटर तालको छेउमा नै रोक्छिन् र पार्क गरिसकेपछि टाउकोबाट हेलमेट बाहिर निकाल्छिन् अनि मलाई सोध्छिन्, “तालमा डुङ्गा चलाउने ?”

तर म उत्तर दिन भ्यादिनँ । मेरो ध्यान उनको प्रश्नतिर जान सक्दैन । उनको भर्खर खुलेको निधार, राता गाला अनि हँसिलो अनुहारतिर केन्द्रित हुन्छ । सायद मेरो नजर उनको अनुहारमा परेको हुनाले उनलाई लाज लाग्छ । मलाई पनि । हामीहरू केही हेराहेर मात्र गर्छौं । केहीबेरपछि उनी मुसुक्क हाँस्छिन् र फेरि सोध्छिन्, “तपाईंलाई पानीसँग डर लाग्छ ?”

“मलाई पानीसँग डर लाग्दैन तर तिमीसँग डर लाग्छ । तिमी त कस्तो डरलाग्दो तरिकाले स्कुटर चलाउँदी रहेछौ ! सधैं यस्तो हो ?”

केही लजाएको जस्तो गरेर मुसुक्क हाँस्छिन् अनि बिस्तारै बोल्छिन्– “होइन ।”

हामीहरू तालमा डुङ्गा चलाउँदैनौं बरु किनार–किनार अगाडि बढ्छौं । एकातिर ताल, अर्कोतिर स–साना पसलहरू, बीचमा सफा सडक ! वातावरणमा स्वच्छ अनि रोमाञ्चित छ ।

“आज म तपाईंलाई बिहानको बर्मेली खाना ‘टुसु’ खुवाउछु है ?”

“तर पैसा म तिर्छु नि !”

“किन ?”

“हिजो तिमीले तिर्यौ, आज मेरो पालो ।”

“पालो ?” उनी आफ्ना आँखा कोप्रा पार्दै मतिर हेर्छिन् अनि बोल्दै जान्छिन्– “मलाई व्यापारिक भाषा बोल्न आउँदैन । तपाईंले मलाई व्यापारी ठान्नुभएको ? पाहुनालाई पालोको लाइनमा राख्नुहुन्छ ?”

उनको नमीठो बोली सुनेपछि मलाई डर लाग्न थाल्छ अनि हिनताबोध पनि । मानवीय भाषामा व्यापारी भाषाले स्वतः बिझाउने गर्छ । अझ हाम्रो भर्खर संघारमा ती शब्दहरू उनको लागि अवश्य अप्रिय हुने नै भए । म उनको पछिपछि लाग्छु र उनले रोजेको होटेलमा पस्छु ।

हामीहरू उनको घरमा पुग्दा घरमा अझ केही हुँदैन । उनैले मूल ढोकाको साँचो खोल्छिन् । हामीहरू बैठक कोठामा पुग्छौ ।

“तिमीसँग बस्ने अर्को व्यक्ति को हो ?” म भित्तामा झुन्डयाइएका फोटोहरूमध्ये एउटा फोटोलाई संकेत गर्दै उनलाई सोध्छु ।

उनी भावुक हुँदै उत्तर दिन्छिन्– “मेरो श्रीमान् ।”

केहीबेर कोठाको वातावरण सुनसान हुन्छ । न उनी केही बोल्छिन् न म ।

“तपाईंको अनुहारसँग मेरो श्रीमान्को अनुहार ठ्याक्कै मिल्छ नि हगि ! सुरुमा भेट हुँदा तपाईंलाई देखेर म झस्केको थिएँ नि ! तपाईंले थाहा पाउनुभयो ?”

म अगिल्ला दिनको घटना सम्झन्छु अनि उत्तर दिन्छु, “हो त ! किन झस्केकी ?”

तर उनी केही बोल्दिनन् बरु मलाई गहिरो नजरले हेर्छिन् ।

“खै त ! उहाँ अहिले ?”, म फेरि सोध्छु ।

“उहाँ परलोक हुनुभयो । उहाँ यो संसारमा हुनुहुन्न । वागीले सहिद बनाए । तर उहाँको आत्मा मेरै वरिपरि घुमेको छ । उहाँ मसँग नै हुनुहुन्छु ।”

“बिदाई कति अप्रिय हुन्छ हगि ?” म उनको स्कुटरबाट बाहिर निस्कँदै बोल्छु ।

“अप्रिय ?” उनी मलाई सोध्छिन् तर उत्तरको अपेक्षा नै नगरी बोल्छिन्, “बिदाई नहुँदो हो त, अर्को सुरुबाट कसरी हुन्छ ? आजबाट म नयाँ दिनको पर्खाइमा हुनेछु । मेरो दिमागले तपाईंको बाटो हेर्ने छ ।”

“मेरो बाटो ? तिमीलाई विश्वास छ म फेरि बर्मा आउँछु भन्ने ?”

“विश्वास नहुने भए म किन आशा गरेर बस्थेँ ?”

म केही बोल्दिनँ । बरु उनी एउटा प्याकेज मेरो हातमा थमाउँछिन् र केही पाइला अगाडि सरेर बिस्तारै बोल्छिन्, “यो तपाईंको लागि । लिनुहोस् ।”

“यो के हो ?” म सोध्छु ।

“तपाईंको लागि उपहार ! बर्माको राष्ट्रिय पोसाक कुर्ता र पसो (लुङ्गी) ! तपाईंले खुब मन पर्यो भन्नुहुन्थ्यो ।”

म बिस्तारै उनको उपहार हातमा लिन्छु र बोल्छु, “तिम्रो लागि दिने मसँग केही छैन, के दिऊँ त !”

“तपाईंले केही दिनुहुन्छ भनेर मैले तपाईंलाई उपहार दिएको हुँ र ? मैले त तपाईंबाट उपहार लिइसकें । पाइसकें ।”

“लिइसकें ?।” म उनीतिर पुलुक्क हेर्छु । “के लियौं ? मैले त केही दिएको जस्तो लाग्दैन । खै के लियौ ।”

“त्यो तपाईंले नै बुझ्नुपर्ने हो । के लिए भनेर ! तपाईंलाई थाहा छ ।”

तर मैले केही बुझिनँ ।

आजको रात्रिबसमा म टाउजीबाट रंगुन जाँदैछु । भोलि साँझ मेरो यात्रा रंगुनबाट काठमाडौँको हुनेछ । म हतारमा छु । उनले दिएको उपहार मैले मेरो झोलामा राख्छु र स्कुटरबाट ओर्लन्छु अनि सरासर बसमा चढ्छु ।

……………

सधैँजसो आज पनि मैले इमेल खोलें । चारवटा इमेल आएका छन् । आजकल धेरै इमेलहरू आउँदैनन् । धेरैजसो फेसबुक र मेसेन्जरबाट नै गफ हुने गर्छ । तीमध्ये एउटा थियो लिनको । उनले बर्माको रंगुनबाट पठाएकी छन् । उनले लेखेकी छन्– “तपाईं नेपाल फर्कनुभएको एक वर्ष भएछ हगि ! फोहोर साल आजैको दिन हामी इन्ले ताल हेर्न गएका थियौं । तपाईंलाई सम्झना छ ? अब तपाईं बर्मा कहिले आउनुहुन्छ ? मसँग एउटा खुसीको खबर छ । मैले मुद्दा जितें नि ! मैले श्रीमानको क्षतिपूर्ति पाएँ नि ! हुन त तपाईंलाई रंगुन मन पर्दैन । गर्मी भयो भन्नुहुन्थ्यो । टाउजी नै तपाईंलाई मन परेको ठाउँ हो । तर के गर्नु मैले टाउजीमा सुरक्षित देखिनँ । म अहिले रंगुनमा छु । रंगुनको एउटा अस्पतालमा काम गर्दैछु । ”

“अहो एक वर्ष बितेछ हगि ।” मैले मनैमनै सोचे र लेख्न थालें । उनलाई मैले लेख्नपर्ने विषय थुप्रै छन् । धेरै कुरा बताउनु थियो तर केवल लेखें– “जिन्दगी नै पर्खाइ हो । कुनै पर्खाइको अन्त्य हुन्छ त कुनै हुँदैन तर पर्खिन छोड्न हुँदैन ।”