तीसको दशक नेपाली साहित्यमा लाग्ने युवा साहित्यकारहरु सामूहिक रुपमा एकसाथ जुर्मुराएर लेखन र साहित्यिक गतिविधिमा लागेको समय थियो । साहित्यिक पत्रपत्रिकाहरुको प्रकाशन सङ्ख्या पनि प्रशस्त थिए । नयाँ सडक पीपलबोटमुनि सानुको पत्रिका पसलमा बीसौं तीसौं प्रकारका साहित्यिक पत्रिकाहरुको बिस्कुन देख्न पाइन्थ्यो । ती पत्रिकाहरुमा छापिनु एउटा कुरा थियो, तर त्योभन्दा फरक कुरा के थियो भने मधुपर्क र रुपरेखामा नछापिउन्जेल लेखक कविमा दरिइँदैन भन्ने एक प्रकारको अघोषित मान्यता ।

रुपरेखा निजि क्षेत्रबाट उत्तम कुँवर र बालमुकुन्द देव पाण्डेको सम्पादनमा निस्कन्थ्यो । त्यसमा स्वनामधन्य नेपालका र नेपालबाहिर दार्जिलिङलगायतका विभिन्न स्थानका लेखक साहित्यकारका रचनाहरु प्रकाशित हुन्थे । यता मधुपर्क भने गोरखापत्र संस्थानबाट निस्कने, त्यसमा पनि पुराना पुस्ताका कहलिएका लेखक साहित्यकारका रचनाहरु नै प्रकाशित हुन्थे । वि.सं २०३६ सालको विद्यार्थी आन्दोलनले निम्त्याएको जनमत सङ्ग्रहको घोषणापछि बहुदलको पक्षमा गरिएको सडक कविता क्रान्तिमा भाग लिएर उत्साहित भएको म रुपरेखा र मधुपर्कमा प्रवेश पाउनका लागि प्रयत्नरत थिएँ । रुपरेखामा हुलाकबाट पठाएको पाठक प्रतिकृया प्रकाशित भएपछि रचना पनि प्रकाशित होला भन्ने आशा पलाएको थियो र मैले रचनाहरु पठाउन सुरु गरेको थिएँ । गोरखापत्रको शनिबारिय परिशिष्टाङ्क र मधुपर्कका लागि कथा कविता बोकेर निकै साहसका साथ एकदिन म गोरखापत्र संस्थानको भर्याङ उक्लिएँ । त्यतिबेला गोरखापत्रको शनिबारिय परिशिष्टाङ्क र मधुपर्कको रचना हेर्ने केशवराज पिंडाली थिए । ओठभरि रातो हुनेगरी पान च्याउच्याउ चपाउँदै टेबलमाथि खुट्टा राखेर मधुपर्कको साइनबोर्ड राखिएको कोठाभित्र बसेका पिंडालीले मैले दुई हात जोरेर गरेको नमस्कार नफर्काएका मात्र होइनन्, मैले रचना ल्याएको छु भनेर दिन खोज्दा मेरा रचना छुनसम्म नछोई “उ त्यहाँ छोडेर जानूस्, प्रकाशनयोग्य भए छापिन्छ” भने । र मैले उनको चिउँडोले ईशारा गरेको टेबलमा आफ्ना रचना छाडेर पुन: अभिवादन गर्दै फर्केको थिएँ । फर्कँदा बडो अपमानित अनुभव गरेको थिएँ, सिकारु लेखक भए पनि ।

यस्तो अनुभव मेरो मात्र होइन, हाम्रा छिमलका प्राय: सबै लेखकको उस्तै रहेछ । यो कुरा पीपलबोटमा पनि चर्चाको विषय भयो । केशवराज पिँडालीले नयाँ लेखकलाई मधुपर्कमा स्थान नदिएको विषयमा लेखकहरुको डेलिगेसन गोरखापत्र संस्थानमा गयो भन्ने पनि सुनें, तर को को गए, के के भयो ? त्यसको मेलोमेसो चाहिँ मैले पाइनँ । युवा पुस्ताका जल्दाबल्दा सबै लेखकहरु केशवराज पिँडालीप्रति आक्रोशित थिए, प्रकाशित हुन नपाएकोमा ।

नारायणबहादुर सिंह

यस्तैमा एकदिन पीपलबोटमा हल्ला चल्यो, केशवराज पिँडाली मधुपर्कको सम्पादकबाट हटे भन्ने । यो बडो सुखद समाचार थियो हाम्रा लागि । केही साथीहरुले पीपलबोट छेउछाउका चिया पसलमा चिया पार्टी पनि गरे, पिँडालीको मधुपर्कबाट बहिर्गमनको खुसीयाली मनाउन । त्यसको केही दिनपछि फेरि म गोरखापत्रको भर्याङ चढ्न पुगें, रचना बोकेर । केशवराज पिँडाली जुन कोठामा बस्थे त्यही कोठामा पिँडाली बस्ने गरेको टेबलसँगैको अर्को मेच टेबलमा कालो वर्णको, बाक्लो पावरवाला चश्मा लगाएको होचो कदको व्यक्तित्व देखें र अभिवादन गरें । उनले मेरो अभिवादन फर्काउँदै भनें, “भन्नोस् भैया !”

“गोरखापत्रका लागि यौटा कविता ल्याएको थिएँ !” मैले विनम्रतापूर्वक भनें ।

“ल्याउनोस् न !” उनले भने ।

मैले खल्तीमा पट्याएर राखेको कविता दिएँ । उनले लिए र तत्कालै सरसर्ती पढे अनि टेबलमा घोप्ट्याएर राख्दै भने, ” हुन्छ । छाडेर जानूस् ।”

त्यसपछि अभिवादन गर्दै म फर्किएँ ।

त्यसको एक शनिबारपछिको शनिबार ” जिन्दगी: एक शब्दचित्र” शीर्षकको मेरो कविता पहिलोपल्ट गोरखापत्रमा प्रकाशित भयो । यसरी गोरखापत्रमा मेरो रचना पहिलोपल्ट प्रकाशित गरेर प्रवेश दिने सम्पादक थिए- नारायणबहादुर सिंह ।

ममात्र होइन, नयाँ पुस्ताका धेरैले नारायणबहादुर सिंहको स्नेह पाए र गोरखापत्र तथा मधुपर्कमा प्रकाशनको अवसर पाए, जो पछि पनि निरन्तर लेखनमा लागिरहे र स्थापित पनि भए ।

यसरी नयाँ पुस्तालाई प्रेरणा दिने, हौसला दिने, प्रकाशनको अवसर दिने नारायणबहादुर सिंह मधुपर्क प्रकाशनको सुरुवातदेखि संलग्न भए पनि उनी आफैं वि.सं २०३३ देखि २०३६ सम्म झण्डै पाँच वर्ष मधुपर्कको सम्पादन कार्यबाट अलग थिए । त्यो केशवराज पिँडालीले एकछत्र ढलीमलि गरेको समय थियो । वि.सं २०३६ सालको असोजतिर केशवराज पिँडाली गोरखापत्र संस्थानबाट हटेपछि नारायणबहादुर सिंहले मधुपर्क र गोरखापत्रको शनिबारिय परिशिष्टाङ्क सम्पादन कार्यमा फर्केका थिए । सम्पादनको सम्पूर्ण कार्य उनले गरे पनि उनले आफ्नो नाम मधुपर्कमा राखेनन् । त्यो उनकै शर्तको कारण थियो । उनीभन्दा कनिष्ठको नाममुनि उनलाई आफ्नो नाम छापेर अपहेलित हुन उनको स्वाभिमानले दिएको थिएन । तर वि.सं २०४० सालपछि नगेन्द्र शर्मा गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धक भएपछि उनी वि.सं २०४१ साल जेठदेखि मधुपर्कका सम्पादक भए र पछि प्रधानसम्पादक भए । अनि उनको नाम पनि मुद्रण हुन थाल्यो ।

गोविन्द गिरी प्रेरणा

मधुपर्कको सम्पादनको जिम्मेवारी लिएपछि उनले नयाँ पुस्ताका लेखकहरुको लागि ढोका खोलिदिए । अझ वि.सं २०३७ सालमा “मधुपर्क कथा योजना २०३७” का नाममा कथा विशेषाङ्क निकालेपछि त त्यो अङ्क बहुचर्चित भयो मात्र होइन, त्यसमा नयाँ छिमलका थुप्रै कथाकारहरुले प्रवेश पाए । त्यसरी मधुपर्कमा पहिलोपल्ट त्यो कथा विशेषाङ्कमा प्रवेश पाउने मध्ये म स्वयम् पनि एक थिएँ । मलाई त्यस विशेषाङ्कमा कथा प्रकाशनले कथाकारितामा निरन्तर लाग्न उत्साह, उमङ्ग र प्रेरणा दियो । यस्तो प्रेरणा धेरैले पाए । त्यसपछि मेरा धेरै कथाहरुलाई उनले मधुपर्कमा स्थान दिए ।

यसैबीच यौटा अनपेक्षित घटनाले नारायणबहादुर सिंह र मेरो सम्बन्ध बिग्रियो । डा. रामदयाल राकेशले उनलाई के के कुरा सुनाइदिएछन्, अनि उनी सत्यतथ्य नबुझी मसँग ठुस्किए । मेरा रचनाहरु प्रकाशन हुन पूरै बन्द भयो । म सदा झैं रचना लिएर जान्थें, तर उनको व्यवहार पहिलेको जस्तो स्नेहालु नभएर चीसो अनुभव गर्थें । रचना छाडेर आउँथें, प्रकाशन भयो कि भनेर हरेक महिना मधुपर्क पल्टाउँथें, तर मेरो रचना मधुपर्कमा प्रकाशित भएन, प्रतिबन्धित झैं नै भयो । यो बडो दु:खदायीपूर्ण अवस्था थियो ।

तर यौटा अर्को घटनाले त्यो तिक्ततालाई गज्जबले मेटिदियो ।

सुन्धाराको छेउमा अवस्थित फ्रान्सेली साँस्कृतिक केन्द्रको सभाकक्षमा नेपाली साहित्यिक कार्यक्रम भइरहन्थे । यस्तो कार्यक्रम भएको बेला आगामि कार्यक्रमको निम्तो बाँड्ने अवसर पनि हुन्थ्यो । कुनै कवि गोष्ठी भएको दिन थियो । गोष्ठी सकिनेबेलामा कवियत्री वानिरा गिरी र आरडी युयुत्सु त्यहाँ देखा परे । उनीहरू वानिराको हालै प्रकाशित आरडी युयुत्सुले अनुवाद गरेको तथा युयुत्सु संलग्न भारतको नयाँ दिल्लीको निराला प्रकाशनबाट प्रकाशित “फ्रम द अदर इण्ड” को विमोचनको निम्तो बाँड्न आएका थिए ।

म भोलिपल्ट वीर अस्पतालमा उनको बेड खोज्दै गएर भेटें । वानिराको निम्तो दिएँ, र स्वास्थ्य स्थिति के कसो छ सोधपुछ गरें ।

मलाई पनि केही निम्ताहरु वितरणका लागि वानिराले निम्तोपत्रहरू दिइन् । नारायणबहादुर सिंहलाई पनि उनले निम्तो लेखेर यो कसले लगिदेला भन्दै थिइन् । कसैले बतायो “नारायण दाइ त वीर अस्पतालमा पो हुनुहुन्छ !”

म त्यतिबेला एक चार्टर एकाउण्टेण्टसँग मिलेर वीर अस्पतालको आन्तरिक लेखा परीक्षण कार्यमा संलग्न थिएँ । मैले भनें, “म वीर अस्पताल जाने गर्छु, म लगिदिनछु नि !”

वानिराले सो निम्तोपत्रमा “दाइको शीघ्र स्वास्थ्यलाभको कामनासहित” भन्ने हरफ हातले लेखेर मलाई दिइन् ।

म भोलिपल्ट वीर अस्पतालमा उनको बेड खोज्दै गएर भेटें । वानिराको निम्तो दिएँ, र स्वास्थ्य स्थिति के कसो छ सोधपुछ गरें । उनी दीर्घ रोगी थिए, अलिक च्यापेपछि अस्पताल भर्ना भएका रहेछन् । त्यति सिरियस थिएनन् । केहीबेर बसेर फेरि आउने बाचा गर्दै फर्किएँ । उनलाई भेट्दा मसँग ठुस्केका र मेरा रचना नछाप्ने कसम खाएजस्ता लागेनन् । उनको व्यवहार स्नाहालु नै पाएँ ।

एक दुई दिनपछि फेरि भेटौं भनेर जाँदा उनी डिस्चार्ज भएर घर फर्किसकेका रहेछन् ।

अनि म मधुपर्कको कार्यालय पुगें, अलिक दुब्लाएका नारायणबहादुर सिंह सम्पादकको कुर्सीमा थिए । मैले सदा झैं अभिवादन गरें । उनले अभिवादन फर्काउँदै भने, ” बस्नोस् भैया !”

मैले स्वास्थ्यको स्थितिबारे जिज्ञासा राखें । उनले अलि सुधार भएको बताए । चिया पनि मगाए । अलि अघि ठुस्केका नारायणबहादुर बेपत्ता थिए, सुरुमै भेटेजस्ता नारायण बहादुर थिए त्यहाँ ।

उनले भने, ” कथा ल्याउनु भाको छैन ? ल्याउनोस् न ! धेरै भो नि मधुपर्कमा नछापिएको । अनुवाद पनि गर्नुहुन्छ नि हैन ? ल्याउनोस् अनुवाद पनि । हिन्दीबाटै गरेको भए पनि हुन्छ, संसारको सबै भाषा कसले जानेको हुन्छ र ! ”

वीर अस्पतालमा गएर भेटेपछिका नारायणबहादुर सिंहको आत्मीयता र स्नेहालु कुरा यस्ता थिए ।

त्यसपछि मेरा कथा पुन: मधुपर्कमा छापिन थाले । अनुवाद त दिनेबित्तिकै हरेक अङ्कजसोमा राखिदिन थाले । उनी भन्थे, “तपाईं अनुवाद कथा ल्याउनोस्, हरेक अङ्कमै राख्छु, मलाई कसैसँग मतलव छैन, मेरो रोजाइ हो !”

यसबीच उनी पनि निबन्ध लेखानमा निकै उर्वर भए । बिभिन्न पत्रपत्रिकामा उनका निबन्धहरु धमाधम प्रकाशित भए । साना मसिना विषयलाई पनि रोचक ढङ्गले उनेर, बुनेर पठनीय र रोचक तरिकाले प्रस्तुत गर्ने खूबी उनमा थियो । ती निबन्धहरु पछि साझा प्रकाशनबाट “श्रृङ्खलाहीन श्रृङ्खलाहरू” नाममा पुस्तकाकारमा प्रकाशित भयो ।

हुन त उनी नेपाली चित्रकलाका आधिकारिक व्याख्याता तथा इतिहासकार थिए । नेपाली चित्रकलाको इतिहास, नेपाली चित्रकार जस्ता कृतिका श्रष्टा थिए । कला समीक्षामा उनी अब्बल मानिन्थे । तर निबन्ध पनि उनको गहकिलो र खँदिलो हुन्थ्यो ।

म बेलाबेलामा मधुपर्कको कार्यालयमा समय पायो कि झुल्किन पुग्थें ।

एक दिन उनलाई निकै निन्याउरो देखें र सोधें,” के भयो दाइ ?”

उनले भने, “निद्रै लागेन । काम्पोज खाएर सुतेको, निदाएको निदायै भएछु । दस बजे पो निद्रा खुल्यो र अफिस आएको ।”

यो कुराकानी भएको केही दिन मात्र भएको थियो, उनी दिवङ्गत भएको खबर सुन्नु पर्यो ।

उनको पहिलो पुस्तक “नेपाली कलाकार” २०२७ सालमा प्रकाशित भएको थियो । उनले शिक्षा मन्त्रालयबाट एकपटक नगद पुरस्कार प्राप्त गरेका थिए ।

नारायणबहादुर सिंहले आफ्नो पूरै जीवन डेराको डेरामै बिताएका थिए । उनको जन्म वि.सं १९८७ साल फागुन २४ गते काठमाडौंको ठमेलमा साल्यकी बहादुर सिंह र तारादेवी सिंहका सुपुत्रका रुपमा भएको थियो । उनले सन् १९५३ सालमा वनारस हिन्दू विश्वविद्यालयबाट बिए गरेका थिए । वि.सं २०१५ सालमा लेखन आरम्भ गरेका उनको लेखनको मूल क्षेत्र कला समीक्षा थियो । उनको पहिलो पुस्तक “नेपाली कलाकार” २०२७ सालमा प्रकाशित भएको थियो । उनले शिक्षा मन्त्रालयबाट एकपटक नगद पुरस्कार प्राप्त गरेका थिए ।

उनले सन् १९६३ मा बैङ्ककमा इकाफेद्वारा आयोजित एसियाली लेखकहरुको पहिलो राउण्ड टेबल सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै भाग लिएका थिए । त्यस्तै सन् १९८० मा फुकुओका जापानमा फुकुओका आर्ट म्युजियम जापानद्वारा आयोजित फेस्टिभल अफ कन्टेम्पोररी एसियन आर्ट शो विषयक सिम्पोसियम तथा एक्जिविसनमा प्रतिनिधित्व गरेका थिए भने सन् १९८२ मा भारतको नयाँ दिल्लीमा आयोजित त्रिनाले प्रदर्शनीमा समेत प्रतिनिधित्व गरेका थिए ।

आफ्नो निजि जीवन जतिसुकै पीडादायी भए पनि, मधुपर्कमा आफूभन्दा कनिष्ठको मुनि बसेर काम गर्नु परे पनि, उनको कुनै गुनासो थिएन । ती सबबाट असम्पृक्त भएर उनले नयाँ पुस्ताका लेखकहरुलाई आफ्नो जीवनकालमा सधैं सधैं प्रोत्साहन र प्रकाशनको अवसर दिइरहे ।

फल्स चर्च, भर्जिनिया, अमेरिका