नारी तुम केवल श्रद्धा हो विश्वास रजत नग पग तल में
पियूष श्रोत सी बहा करो जीवन के सुंदर समतल में।
छायावादी हिन्दी कवि जयशंकर प्रसाद रचित कामायनी महाकाव्यमा नारीलाई श्रद्धा र विश्वासको प्रतीक र जीवन रूपी समतलमा बग्ने अमृतधारा समान भनिएको छ। भारतवर्षले आजसम्म वैदिक काल, पुराणकाल हुँदै इतिहासकाल र वर्तमान कालमा प्रवेश गर्ने सुदीर्घ इतिहासको बाटो तय गरिसकेको छ। समय ति पुरानो छ भारतीय नारीको इतिहास पनि त्यति नै पुरानो छ।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता भन्ने वैदिक वाक्य समाजमा नारीको महिमालाई छर्लंग्याउन पर्याप्त छ। जहाँ नारीको पूजा हुन्छ त्यहाँ ईश्वरको निवास हुन्छ। यस वाक्यमा रहेको पूजा शब्दले फूलपाती, भेटी, चन्दन, अक्षता, धूप आदिले नारीको पूजा गर्नु भन्ने बुझाउँदैन। यसले नारीको सम्मान गर्नु, उसलाई चोट-पीड़ा न दिनु, दुख-सुख बुझेर साथ दिनु भन्ने कुरा बुझाउँछ। जहाँ नारीको महत्व बुझेर उसलाई सम्मान, आदर प्रदान गरिन्छ त्यस परिवारमा शान्तिको वास हुन्छ। जहाँ शान्ति हुन्छ, त्यहाँ विकास हुन्छ। जहाँ विकास हुन्छ त्यहाँ समृद्धि हुन्छ। सुख समृद्धिको अर्को नाम नै देवता हो र यस्तो स्थानमा ईश्वरको वास भएको मानिन्छ।
भारत वर्षमा नारीको इतिहास गौरवमय रहे तापनि विभिन्न कालखण्डमा उनी नाटकको दृश्यझैं विभिन्न रूपमा देखापरेकी छिन्। वैदिक कालमा समाजमा उच्च, सम्माननीय र गौरवान्वित पदमा, पुराणकालमा आफू सचेत, गुणी, शिक्षिता भएता पनि पुरुष वर्चस्वाधीन अवस्थामा, कार्मकाण्डकाल वा ब्राह्मणग्रन्थ निर्माण कालमा पुरुष मुक्तिको बाधक, हेय, पापवाहिका, नर्कद्वार समान, पुरुषकी दासीको रुपमा, इतिहासकालमा प्रतापी राजा महाराजा एवं शक्ति सम्पन्न वीरहरूकी निजी सम्पत्ति, युद्ध, कलह र विनाशी साधनको रूपमा रहेको देखिन्छ। मुग़लकालमा आएर सन्तान जन्माउने साधन र भोग्याको रूपमा नारीको गौरवशाली महिमा परिवर्तित भएको देखिन्छ। यहाँसम्म आउँदा हजारौं पुस्ताहरू फेरिँदै गए। समाजले उसको महिमा ठ्याम्मै बिर्सेर उसलाई घरभित्रको वस्तु मात्रै ठान्न थाल्यो। अशिक्षाले स्वयंले आफ्नो गौरवशाली इतिहास बिर्सिदिएर पुरुषको इच्छानै आफ्नो नियति मानेर नारी सम्पूर्ण रूपमा पराधीन भएको देखिन्छ। उसको जन्म बोझको पर्याय भयो। उ असमय मरे राँडी मरी गालै टरी भन्ने उखानहरूको जन्म भयो। मर्दका दशवटी भन्ने उखानसँगै पुरुषको प्रताड़ना, स्वच्छन्दतामा चुपचाप आँसू बगाउन बाध्य नारी लामो समयसम्म मानवी पुतला मात्र बनेर रहेको पाइन्छ।
वर्तमानमा आएर नवीन शिक्षा-दीक्षाले नारी प्रत्येक क्षेत्रमा आफ्नो झण्डा गाड्न सफल भएको त देखिन्छ तर समाजको सोच अहिले पनि भनेजस्तो गरि बदलिएको छैन। आज पनि नारीको स्वतन्त्रता समाजलाई पच्दैन। स्वतन्त्रतालाई स्वच्छन्दता र व्यभिचारको नाम दिएर कतिपयले उसलाई अपमानित गरेको देखिन्छ। कतै आफ्नै परिवारले उसको अपमान गरिरहेको देखिन्छ भने कतै कैयों नारी बलात्कार जस्तो कुकृत्यको शिकार भइरहेका छन्। कतै दाइजोको लागी डढ्दै छन् भने कतै ललाई फकाईको जालमा परेर रेड लाईट एरियामा नर्क तुल्य जीवन बिताउन बाध्य भएका छन्। तै पनि वर्तमान की नारी विभिन्न प्रकारका चुनौतिहरू झेलेर अघि बढ्दै गरेको तथ्यलाई नकार्न सकिँदैन। आज कुनै पनि यस्तो क्षेत्र छैन जहाँ उ पुगेकी छैन। आज उ नौ दुर्गा सरह अट्ठारह किसिमका विषमताहरू झेलेर पनि आफ्नो नाम उच्च राख्न कटिबद्ध भएकी देखिन्छे।
नारीलाई घरको वस्तु मान्ने कतिपय शास्त्रका कुरा, पाप द्वार मान्ने शास्त्रको उक्ति, पुरुषकी निजी सम्पत्ति मान्ने, माता-पिताकी कष्टकारिणी मान्ने, शास्त्र वा लोकशास्त्रको मत पछि वैदिक शास्त्र एवं धर्मग्रन्थमा उसलाई कुन रूपमा वर्णित गरिएको छ भन्ने कुराको उल्लेख र विश्लेषण गर्न यहाँ अनिवार्य देखिन्छ। हाम्रा शास्त्रहरूमा के कस्तो नारी चेतना छ र आजको समाजको नारी प्रति के दृष्टिकोण छ, वैदिक शास्त्र अनुकूल छ वा छैन, उसलाई कुन स्थान दिइएको छ भन्ने कुराको चर्चा यहाँ गरिनेछ छ। यसका तल लेखिएका बिन्दुहरूको आधारमा भारतीय शास्त्रमा के कस्तो नारी चेतना छ भन्ने कुराको विवेचना गरिने छ।
शक्ति – नारी सृष्टिको आधार हो। रचना कर्मको लागि प्रकृतिको सर्वश्रेष्ठ कृति हो। भारतीय परिकल्पनामा नारी सर्वशक्तिमान हो। यसैले मानव शक्तिअर्जनका लागि शक्तिको उपासना गर्ने गर्दछ। देवी भागवतमा वर्णित कथा अनुसार ब्रह्मा, विष्णु र महेशको समन्वित रूप हो नारी शक्ति। पुरुष शक्तिले जब महिषासुर अघि घुँड़ा टेक्यो तब दुर्गा नारीशक्तिले त्यसको संहार गरि तीन लोकको त्राण गर्यो। दुर्गाको अर्थ दुख विनाश गर्ने हो। नारीको यति गौरवान्वित रूप शायदै विश्वका कुनै धर्म शास्त्रले स्वीकारेको छ होला। शक्तिलाई नौ दुर्गाको रूपमा पूजा गरिन्छ। शक्ति, ब्रह्मचारिणी, शैलपुत्री, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कालरात्रि, महागौरी, र सिद्धी दात्री। समस्त शक्तिको बेग्लाबेग्लै स्वरूप छ र नवरात्रमा यिनै नौ दुर्गाहरूको पूजा गरिन्छ।
पञ्चकन्या – भारतीय नारीको इतिहास कदाचित पनि दीनहीन अवस्थामा रहेको छैन। समाजमा उनिहरूको स्थान उच्च रहेको कुराको साक्षी हाम्रा धर्मशास्त्रहरू छन्। पञ्चकन्याको नामले विख्यात नारीहरूको स्थान तत्कालीन समाजमा यति उँचो थियो कि उनिहरू आजपर्यन्त समस्त नारी जातिका लागि प्रेरणाश्रोत र वन्दनीया रहेका छन्। रामायणमा रामपत्नी सीता, रावणपत्नी मन्दोदरी, बालीपत्नी तारा, महाभारतमा पाण्डवपत्नी द्रौपदी, गौतम ऋषिकी पत्नी अहिल्या पूजनीया रहेका छन् र यिनीहरूको नाम प्रातस्मरणमा लिइन्छ।
कालान्तरमा समाजले नारीहरूलाई उपदेश दिँदा यिनै नारी जस्ता हुनु भन्ने दिन थाल्यो। यिनीहरूको गरिमा, विद्वता, शक्तिलाई ठयाम्मै बिर्सिदिएर यिनीहरूले भोगेको कष्ट र अन्य प्रकारका प्रताड़ना चुप लागेर सहनु भन्ने अर्ती समाजले नारीलाई सिकायो। यसरी समाजले सही तत्व नबुझी छाड्नु पर्ने कुरालाई नै आदर्श मान्नु भनी नारीलाई शिक्षा दिन थाल्यो। त्यसको दूरगामी परिणामस्वरूप नारी जीवन भनेको पति, परिवार, समाज आदिको प्रताड़ना सहनु भन्ने पर्याय मानिन लाग्यो। यसैले नारी भनेको धरती हो भन्ने सूक्तिको निर्माण भयो। धरती भन्नाले नारीको प्रजनन शक्ति, पालन क्षमता, ममता, निस्वार्थ माया, दात्री स्वरूप हुन्छ तर समाजले यसको गलत व्याख्या गर्दै धरती स्वरूपाको अर्थ प्रत्येक प्रताड़ना चुप लागेर सहनु पर्ने भन्ने लगाएको देखिन्छ।
वेदमा नारी – वैदिक कालमा नारीको समाजमा सम्मान हुन्थ्यो भन्ने कुराको तथ्य वेदले नै दिन्छन्। यस कालमा नारीहरू धेरै शिक्षित रहेको र सामाजिक, धार्मिक तथा अन्य क्षेत्रमा अग्रगणी रहेका थिए भन्ने कुराको प्रमाण पाइन्छ। वैदिक कालमा सम्मानित नारी हरूमा मैत्रेयी, गार्गी, अपाला, घोषा आदिको नाउँ लिन सकिन्छ र यिनीहरू वेदका ज्ञात्री थिए भन्ने कुरा शास्त्रले जनाउँछन्। वेदमा नारी स्वरूप, नारी विवाह, नारी शिक्षा, परिवार वा समाजमा नारीको स्थान, नारी अधिकार अदिको उल्लेख निम्नलिखित सूक्तहरूमा पाइन्छ-
अथर्ववेद,सूक्त ११,५,१८ – कन्याहरू ब्रह्मचर्यमा रहेर विद्या ग्रहण गरेपछि मात्रै विवाह योग्य हुनेछन्। उनिहरू सम्पूर्ण रूपमा विदूषि भएपछि मात्रै विवाह गरून्।
अथर्ववेद,सूक्त १४,१,६ – आफ्नी छोरी विवाह भई पराइ घर जाँदा पिताले उसलाई बुद्धिमता र विद्याबलको दाइजो दिउन् अर्थात उसलाई ज्ञानको दाइजो दिउन्।
अथर्ववेद,सूक्त २, ३६,५ – दूलहीलाई मान्य जनको आशीर्वाद यसरी दिएको पाइन्छ- दुलही तिमी ऐश्वर्यको नाउ चढ़ र तिमी स्वयं मन पराएर चुनेको आफ्नो पतिलाई संसार सागर पार गराइ देउ।
अथर्ववेद,सूक्त ११,१ १७ – नारी शुद्ध, पवित्र र याज्ञीय अर्थात यज्ञ समान पूजनीय छिन्।
अथर्ववेद,सूक्त ७,३८,४ र १२, ३, ५३ – नारीहरू सभा र समितिमा भाग लिएर आफ्ना विचारहरू प्रकट गरून्।
यजुर्वेद, सूक्त २०,९ – स्त्री र पुरुष दुवैलाई शासक चुनिने समान अधिकार छ।
यजुर्वेद,सूक्त १७, ४५ – स्त्रीहरूको पनि सेना हुनु पर्छ। उनिहरूलाई युद्धमा भाग लिन प्रोत्साहित गर्नु पर्छ।
यजुर्वेद, सूक्त १०,२६ – शासकवर्गका स्त्रीहरूले अन्य स्त्रीलाई राजनीतिको शिक्षा दिउन। जसरी राजाले न्याय गर्छन त्यसरी नै रानीले पनि न्याय गरून्।
वेदमा नारीलाई वीर प्रसूता, सुविज्ञ, यशस्वी, रथ सवार गर्ने, सम्पदाशाली, परिवार, समाज र सृष्टि वाहिका, सेनामा जाने, तेजोमयी, धनधान्य र वैभव दिने भनेर वर्णन गरिएको छ।
मनुस्मृतिमा नारी
मनुस्मृतिमा हेर्नु हो भने स्मृतिकारले नारी सम्बन्धि अवधारणालाई व्यापक रूपमा विवेचना गरेको पाइन्छ। यसमा उसलाई मानव पीढ़ीकी वाहिका, घर उज्यालो पार्ने, भाग्यदात्री, र सम्पन्नताको प्रतीकको रूपमा स्वीकार गर्नका साथै नारी अधिकार, परिवार या समाजमा नारीको स्थान, नारीप्रति गरिने दुर्व्यवहार, निश्चित दण्डविधान अदिको चर्चा वृहत् रूपमा गरेको पाइन्छ। केही उदाहरणहरू यहाँ प्रस्तुत छन् –
श्लोक २६ – नारी गृहलक्ष्मी हुन्।
श्लोक ९,९६ – नारी र पुरुष एक अर्का बिना अपूर्ण हुन्छन्।
श्लोक ३,५५ – पिता, भाई, पति, देवरले नारी प्रति सदैव मधुर व्यवहार गरेर उनिहरूलाई खुशी राखुन। यदि पारिवारिक खुशी, शान्ति र समृद्धिको इच्छा कसैले राख्दछ भने परिवारकी माता या पत्नीलाई खुशी राख्नु पर्दछ।
श्लोक ३,५७ – जुन परिवारमा पुरूषले नारीलाई दुखी तुल्याउछन् त्यो परिवार निश्चय नै पतन हुन्छ।
श्लोक ३,६२ – यदि कुनै पुरुषले आफ्नी पत्नी खुशी राख्न सक्दैन भने समस्त परिवार दुखी रहने छ। पत्नी खुशी छन् भने परिवार खुशी रहन्छ।
श्लोक, ९,११ – नारीलाई घरको प्रबन्धन, पौष्टिक तत्वको जोगाड़, आध्यात्मिक र धार्मिक क्रियाकलाप, स्वच्छता, अर्थ प्रबन्धन जस्ता कार्यमा नेतृत्व र स्वायत्ता प्रदान गरिनु पर्छ।
श्लोक ३,५५ – पिता, भाई, पति, देवरले सदैव नारीप्रति मधुर व्यवहार गरेर उनलाई खुशी राखुन। यदि पारिवारिक खुशी, शान्ति र समृद्धिको कसैले इच्छा राख्दछ भने परिवारकी माता या नारीलाई खुशी राख्नु पर्दछ।
श्लोक ३,५७ – जुन परिवारमा पुरुषहरूले नारीलाई दुखी तुल्याउँछन् त्यो परिवार निश्चयनै पतन हुन्छ।
नारी सुरक्षा
श्लोक ९,१२ – नारीलाई आत्मरक्षाको तालिम प्रदान गरिनु पर्छ।
श्लोक ५, १४९ – नारीले सँधै महसुस गर्न सकून कि उ सुरक्षित छिन्। पिता, पति, भाई र छोराहरूले सदैव उसको सुरक्षा गरून्।
श्लोक ८,२८,२९ – यदि कुनै नारीका सन्तान छैनन भने या कुनै पुरुष उसका सुरक्षाका लागी छैन भने, या विधवा, या पति परदेश गएको छ भने, या रोगी छ भने त्यस नारीको सुरक्षाको जिम्मेदारी, समाज, राज्य वा सरकारको हुन्छ।
नारी विवाह
श्लोक ९,८९ – अयोग्य पुरुषसँग विवाह गर्नु भन्दा नारीहरू अविवाहित बसेकै असल हुन्छ।
श्लोक ९,९०–९१ – वयस्क भए पश्चात कन्याले आफ्नो वर आफैं रोज्न सक्छिन्। यदि उसका बा-आमाले सुहाउँदो वर उसका लागि खोज्न असफल भए उ आफैं आफ्नो वर खोज्न सक्छिन्।
सीता, दौपदी, रूक्मिणी आदिले आफू पूर्ण वयस्का र शिक्षित भएर आफ्नो पति आफैं रोजेको कुरा हाम्रा धर्मग्रन्थमा प्राप्त हुन्छ। त्यहाँ बाबु आमाको कुनै किसिमको करकाप थिएन। बाबु आमाले योग्य वर चुनने अवसर प्रदान गर्ने वा स्वयंवरको चाँजो मिलाउने कर्तव्य मात्र पालन गरेको र योग्य वर चुनने अधिकार चाहिं पुत्रीहरूलाई नै पौरुषतानै सबै थोक मानिन्थ्यो।
सम्पत्तिको अधिकार
प्रायः नारीलाई पिताको सम्पत्तिको अधिकारिणी मानिंदैन। पिताको सम्पत्तिको अधिकार छोराले मात्रै पाएको देखिन्छ। मनुस्मृतिमा नारी सम्बन्धी सम्पत्तिको अधिकारको वर्णन यसरी गरेको पाइन्छ-
श्लोक ९,१,३० – छोरा र छोरी दुवैलाई पिता-माताको सम्पत्तिको समान अधिकार छ। छोरीको सम्पत्ति अधिकार उबाट कसैले छिन्न सक्दैन।
श्लोक ९,२१२–१३ – यदि कुनै पुरुषका छोरा छोरी छैनन भने उसको सम्पत्ति उसका भाई-बहिनीहरूमा बाँड़िनु पर्छ। यदि जेठोले आफ्ना भाई-बैनीलाई बराबरी रूपमा सम्पत्ति बाँड़्दैन भने उसले दण्ड पाउनु पर्छ।
नारी प्रताड़ना
समाजमा हुने नारी प्रताड़नाको सम्बन्धमा मनुस्मृतिमा धेरै लेखेको पाइन्छ। केही बिन्दुहरू प्रस्तुत छन्-
श्लोक ८,३२३ – जसले नारीको अपहरण गर्छ त्यो मृत्युदण्डको भागी हुन्छ।
श्लोक ९,२,३२ – जसले नारी, बच्चा र विद्वानको हत्या गर्छ त्यो कठोर दण्डको भागी हुन्छ।
श्लोक ८,३५२ – जस्ले नारी यौन उत्पीड़न गर्छ त्यसले यति कठोर दण्ड पाउनु पर्छ कि कुनै अर्कोले यस्तो अपराध गर्नु भन्दा अधि धेरै पल्ट सोच्न बाध्य होस्।
श्लोक ८,२७५ – पत्नी, आमा, छोरी-बहिनी अकारण प्रताड़ित गर्ने पुरुषले कड़ा दण्ड पाउनु पर्छ।
नारी प्रथम (Ladies First)
अङ्ग्रेजीमा लेडिज फर्स्ट भन्दै आधुनिक सभ्य समाजले पालन गर्दै आएको धारणा नारी प्रथमको विचार सर्वप्रथम पूर्वीय शास्त्रमा निम्न श्लोकको माध्यमबाट मनुस्मृतिले प्रदान गरेको पाइन्छ।
श्लोक २,१३८ – पुरुषले नारी, राजा, ज्येष्ठ नागरिक, रोगी, भारवाहक, बेहूला र छात्रलाई बाटो दिनु पर्छ।
श्लोक ३,११४ – अतिथिलाई भोजन गराउनु भन्दा अघि नवविवाहिता, कन्या र गर्भिणी स्त्रीलाई भोजन गराउनु पर्छ।
वैदिक कालमा समाजमा भारतीय नारीको स्थान सम्मानित रहेको देख्न पाइन्छ। समयको गति सँगसँगै समाजले कतिपय कुराहरू स्वयं निर्मितगरि शास्त्रमा लेखिएको कुरा भन्दै नारीमाथि धेरै विपदाहरू थोपेको देखिन्छ। यसका साथै कालान्तरमा वैदिक शास्त्रसँग ठ्याम्मै मेल नखाने र धर्मसँग सम्बद्ध कर्हमकाण्डहरूको निर्माण गरेर नारी गौरवलाई धमिल्याएको देखिन्छ। आज पनि कतिपय छोरीहरू आफ्ना बा-आमाले दिएका ठाउँमा करले जान बाध्य छन्। कतिपय बाबु-आमाले आफ्ना छोरीबाट वरको चुनाउ गर्ने अधिकार छिनेको पाइन्छ। छोरीलाई मात्र अर्काकी जहान मान्ने, समाजमा बढ़ेर हिस्सा लिनु हुँदैन भन्ने, पारिवारिक प्रताड़नालाई आफ्नो भाग्य मान्नुपर्छ भन्ने अर्ती उपदेश, जुवाडी, रक्स्याहा, व्यभिचारी, दुराचारी जस्तै भएपनि आफ्नो पति देउता सरह हो भन्ने, पारिवारिक अन्यायको विरोधमा आवाज उठाउन नारीले हुँदैन भन्ने आदि सोचको आधार हाम्रा कुन शास्त्रमा छ? कहाँ छ? यो सोच्ने कुरा हो। वैदिक परम्परा मान्ने समाजले आफ्ना सोचहरू सही छन् वा छैनन् भन्ने कुराको मूल्याङ्कन एक पटक फेरि गर्न आवश्यक छ। समाजले नारीको महिमालाई र स्वयं नारीले पनि आत्मगौरव चिन्न, चिंतन गर्न र आत्मसात गर्न आवश्यक छ।
आज शिक्षाको उज्यालो चारैतिर फैलिएको भएतापनि समाजमा अनैतिकताको अँध्यारो पनि कम छैन। कड़ा भन्दा कड़ा कानून भएता पनि दिनहुँ हजारौं नारी, बाला, युवतिहरू बलात्कार, हत्या, एसिड आक्रमण जस्ता विभिन्न प्रकार का प्रताड़ना जस्ता असामाजिक क्रूरताका शिकार हुन बाध्य छन्। यो नारी स्वतन्त्रता पचाउन न सक्ने समाजका एउटा पाटाको दृष्टिकोण हो। यसैले आज नारी आफैं सचेत भएर मानिसक र शारीरिक रूपमा सबल हुन नितान्त आवश्यक छ। समाजको दृष्टिकोण भने केहि मात्रामा बदलिएको देखिन्छ। आउने दिनहरूमा अवश्य पनि समाजमा नारी जातिको सम्मान र महत्व बढने छ भन्ने आशा राख्न सकिन्छ।
मणिपुर
संदर्भ श्रोत
- Women from Indian epics I Love- ShomShukla, Internet, posted 26thMarch 2011
- www.agniveer.com/manusmriti-and-women-hi/- Sanjeev, May 3, 2011
- www.agniveer.com/129/women-in-vedas
- Rgveda Samhita, Vol xiii, Swami Satya Prakash Saraswati &Satyakam Vidyalankar, Ved Pratisthana, New Delhi
- अथर्ववेद-हिंदी भाष्य ( अध्याय ७-१०) श्रीपाद दामोदर सातवलेकर
- ऋग्वेद भाष्म, भाग3 , स्वामी दयानंद सरस्वती, वैदिक यन्त्रालय
- कामायनी (हिन्दी महाकाव्य), जयशंकर प्रसाद, 1936
- www.timesofindia.indiatimes.com/india/castrate-child-rapist-delhi-judge- suggests/articleshow/8130553.cms
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।