
गोबिन्द गिरीको साहित्य निर्माता
नेपाली साहित्यमा काव्य र महाकाव्य अर्पण गरेर वाङ्मयलाई धनी बनाउने कवि भरतराज पन्तका पुर्खा कवि थिए । उनका पुर्खा लक्ष्मीदत्त पन्त र मोतीराम भट्ट दौंतरी कवि थिए । बाग्लुङको त्यो कवि वंश काठमाडौंका भरतराज पन्तसम्म आइपु्ग्यो ।
मणिदत्त पन्त र ललितादेवी पन्तका छोराका रुपमा उनी काठमाडौंको गुच्चा टोलमा वि.सं १९८६ साल असार ३० गते जन्मेका थिए । तर उनले माताको ममत्त्व ३ वर्ष पनि मुस्किलले पाउन सके- उनकी आमा वि.सं १९८९ फागुनमा धरतीबाट बिदा भइन् । त्यो मातृपीडापछि उनी कुनै न कुनै हिसाबले आजीवन पीडा खपेर बाँच्नुपर्ने नियति लिएर बाँचे ।
उनको सानै उमेरमा विवाहा भयो । तर गरिबी र विविध विसङ्गतिले उनको पत्नीसँग प्रेमभन्दा विवाद बढी हुन्थ्यो । त्यति हुँदाहुँदै पनि उनीहरूको ४ सन्तान भए- दुई छोरा र दुई छोरी ।
उनको साहित्ययात्रा २००९ सालमा सुरू भयो । उनको प्रथम रचना “नारीप्रति” कविता थियो जुन “प्रतिभा” नामक मासिक पत्रिकामा प्रकाशित भएको थियो ।
उनको प्रथम पुस्तक भने “उर्लेको आँसु” शोककाव्य थियो । राजा त्रिभुवनको वि.सं २०११ सालमा निधन भएपछि उनले त्रिभुवनमाथि शोककाव्य लेखेका थिए । एक्काईस श्लोक भएको यो शोककाव्य उनले स्रग्धारा छन्दमा लेखेका थिए । यो शोककाव्य प्रकाशनका लागि तत्कालीन अधिराजकुमार बसुन्धराबाट पचास रुपैयाँ, राजा महेन्द्रबाट साठी रुपैयाँ, कान्तिराज्यलक्ष्मीबाट तीन सय रुपैयाँ सहयोग र बक्सिस पाएका थिए । यो पुस्तक उनले आफैं प्रकाशक बनेर प्रकाशित गरेका थिए ।

गोविन्द गिरी प्रेरणा
वि.सं २०१२ जेठ १४ गते सरस्वती सदनमा विद्यार्थी युनियनको आयोजनामा भएको प्रतियोगितात्मक कवि सम्मेलनमा उनी तेश्रा भएर कविभूषण सुवर्ण पदक बालकृष्ण समको हातबाट ग्रहण गर्ने अवसर पाएका थिए । सो प्रतियोगितामा पहिलो कविकेशरी सुवर्ण पदक नीरविक्रम प्यासीले र दोश्रो कविरत्न सुवर्ण पदक टेकबहादुर नवीनले पाएका थिए । उनले सो प्रतियोगितामा “घण्टाघरको ट्याँग ट्याँग” शीर्षकको कविता सुनाएका थिए । सो समारोहमा उनलाई महाकवि देवकोटाले “बाबुको कविता राम्रो छ” भन्दै तारिफ गरेका थिए । उनको कवितालाई माधव घिमिरे, पूर्णप्रसाद ब्राम्हण, सिद्धिचरण श्रेष्ठ आदिले पनि तारिफ गरेका थिए । त्यस्तै २०१४ साल वैशाखमा उनले अर्को कविता प्रतियोगितामा “के के थियो” कविता सुनाएर दोश्रो भई तत्कालीन शिक्षामन्त्री खगेन्द्रजंग गुरुङको हातबाट रजत पदक प्राप्त गरेका थिए ।
उनका पिता साहित्यकार-कवि नभए पनि साहित्यकारसँग बसउठ भने थियो । भीमनिधि तिवारी उनको घरमा आइरहन्थे । तिवारीले आफ्ना पिता लालनिधि तिवारीको शोकमा लेखेको शोककाव्य “तर्पण” उनका पितालाई उपहार दिन घरमै आएका थिए । उनका पिताले तिवारीको साहित्यिक उपलब्धीको तारिफ गरेपछि तिवारी निकै खुसी भएका थिए र त्यही खुसीयालीमा उनले भरतराज पन्तलाई आफूले चढेर आएको साइकलमा राखेर घुमाइदिएका थिए ।
भरतराज पन्त काठमाडौंमा लेखनाथ पौड्यालको रथयात्रा हुँदा सो यात्रामा सामेल भएका थिए । उनी जयतु संस्कृतम् आन्दोलनमा समेत सहभागी भएका थिए । पूर्णप्रसाद ब्राम्हण, काशिनाथ गौतम, राजेश्वर देवकोटा आदि उनीभन्दा माथिल्ला कक्षाका विद्यार्थी थिए । कतिपय पक्राउ परेका र डाँडा कटाइएका थाहा पाएपछि भरतराज पन्त पक्राउ पर्ने डरले लुकेका थिए तर पछि प्रथमा परीक्षा दिन बाहिर निस्केका थिए ।
वि.सं २००७ सालताक उनलाई आँखाको समस्या भएको थियो । उनी धमिलो देख्थे र अन्धो भइएला कि भनी पिरोलिएका थिए । उनको डर र आशङ्का अनुसार उनी अन्धो त भएनन् तर उनलाई जीवनभर आँखाले भने दु:ख दिई नै रह्यो ।

भरतराज पन्त
यस्ता कविसँग मेरो काठमाडौंमा भेटघाट जुर्यो । उतिसारो नजिक हुने अवसर नपाए पनि विभिन्न कवि गोष्ठीहरूमा जम्काभेट भइरह्यो । उनका पारिवारिक विसङ्गति र पीडाका कथाहरू पनि अरूहरूबाट सुनें । तर उनलाई मैले जतिपल्ट भेटें उस्तै रूपमा पाएँ । मज्जाले हाँसेको पनि देखें । घतलाग्दा कुरा पनि सुनें । कवि गोष्ठीबाहेक मैले कामको सिलसिलामा अर्थात् त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयको तर्फबाट आन्तरिक लेखा परीक्षणको लागि सरस्वती क्याम्पसमा जाँदा पनि भेट्ने अवसर पाएँ ।
उनी विशेष गरी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट “दोभान” महाकाव्य प्रकाशित भएकोमा निकै प्रशन्न भएको भेटेको हुँ । उनले सो महाकाव्य वि.सं २०३८ सालमै पूरा गरिसकेका थिए । वि.सं २०३८ सालमा प्रकाशित उनको आत्मपुराणमा उनले लेखेका थिए- “वास्तविकतालाई अँगालेर आफ्नै जीवनयात्रामा आधारित एउटा एक्काईस सर्ग भएको “दोभान” भन्ने महाकाव्य शास्त्रीय छन्दमा लेखी तयार गरें । सके जीवनकालमै प्रकाशित गरुँला नसके जीवनोपरान्त छापिएला भन्ने सम्झेको छु ।”
दोभान उनको जीवन कालमै प्रकाशित भयो । त्यो पनि देशको सर्वोच्च साहित्यिक संस्था नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट । त्यतिमात्र होइन, त्यस महाकाव्यले सो वर्षको मदन पुरस्कार पाउने हल्ला पनि साहित्यिक वृत्तमा चल्यो । भरतराज पन्त पनि यसमा निकै आशावादी देखिएका थिए । तर पुरस्कार भनेको संयोगको खेल पनि हो । उनलाई मदन पुरस्कार जुरेन । त्यस वर्षको पुरस्कार कञ्चन पुडासैनीको “प्रत्यागमन” काव्यले पायो । अनि भरतराज पन्त निकै आक्रोशित भई साह्रै कडा आक्रोश पोखे एउटा अखबारमा ।
मदन पुरस्कार नजुरे पनि उनले गुणराज पुरस्कार(२०४४), रुद्रराज पाण्डे पुरस्कार(२०४९), सीताराम मुक्ति पुरस्कार(२०५१), राष्ट्रिय प्रतिभा पुरस्कार(२०५३), भूपालमान सिंह कार्की पुरस्कार(२०५७) आदि पुरस्कार प्राप्त गरेका थिए ।
पहिलो कृति नै शोककाव्य लेखेका भरतराज पन्तले आफ्नो जीवनकालमा कूल ४ शोककाव्य लेखे । दोश्रो शोककाव्य उनले आफ्नै जेठो छोरा “दिनेश” को निधनमा लेखेका थिए । पारिवारिक कलह र वैमनस्यताले पढाइ छाडेर मदिरामा लट्ठ हुन थालेका दिनेशले विषपान गरेका थिए ।
खासमा दिनेशले घरको पैसा चोरेर बेपत्ता हुने जस्ता काम गर्न थालेका थिए । वि.सं २०२३ सालको दशैंमा त भरतराजले जागिरबाट ल्याएको तलब, दसै पेश्कीलगायत चार सय चानजुन जति थियो, त्यो सबै पैसा लिएर दिनेश घरबाट बेपत्ता भएका थिए । यी र यस्ता अनेकन चोट र पीर खपेरै पनि उनले घर धानेका थिए । घरमा पैसा नहुँदा उनले बेच्न मिल्ने सुन, चाँदी मात्र होइन तावाका भाँडा, पित्तलका गाग्री र चरेशका थालहरूसमेत बेचेका थिए । माटाको गाग्रामा पानी ल्याउने र तानचिनको थालमा खाना खानुपर्ने अवस्था भएको थियो ।
तिनै छोरा दिनेशले वि.सं २०२८ सालको कुशेऔंशीको दिन आत्महत्या गर्ने मनशायले विष्णुमतिका तीरमा गएर विषपान गरेछन् र घरमा आई छटपटिन थालेछन् । उनलाई अस्पताल लगियो, तर २ दिन उपचार गरेपछि भरतराजको हात समातेको समात्यै उनले प्राण त्यागेका थिए । सोही चोटको प्रतिफल थियो, दिनेश शोककाव्य ।
उनले यो शोककाव्य बालकृष्ण समलाई सुनाउँदा उनी प्रभावित भएर “यो अमर काव्य हो, छाप्नै पर्छ” भनेका थिए र भूमिका समेत लेखिदिएका थिए । यस शोककाव्यमा बालकृष्ण सम र माधव घिमिरेका भूमिका रहेका छन् । र यो काव्य प्रकाशनका लागि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले प्रेसको बिल तिरिदिएर सहयोग गरेका थिए ।
“दिनेश” शोककाव्यको भूमिकामा बालकृष्ण समले लेखेका छन्- “वार्णिक छन्दका सिद्धहस्त कवि भरतराज पन्तको हृदयले लेखिएको यो शोक-काव्य मैले हृदयले पढें । यसमा करुणा रस सरसतापूर्वक नदीतुल्य बहेर अनन्त सिन्धुमा सफलतापूर्वक मिल्न गएको छ । ”
माधव घिमिरेले लेखेका छन्- “जीवन जहाँदेखि नीरस हुन्छ त्यहीँबाट पनि कविले सरलताको सृष्टि गर्नुपर्छ रे, आफू मर्माहत भएर पनि मधुर गीत गाउनै पर्छ रे ! चढ्दो जवानीको जेठो छोरोलाई गुमाएर पनि पन्तजीले शोककाव्य लेख्नै पर्यो ।”
“मुटु थिचेर लेख्नै पर्यो” भन्दै उनी आफैंले लेखेका छन्- “अभिशाप ! जिन्दगीको परीक्षा रे ! कहिल्यै नटुङ्गिने परीक्षामा यस्तो अभिशाप पनि पर्दो रहेछ-न भूतो न भविष्यति ! हँसिलो साहित्य सिर्जनुमा र रुञ्चे कविता कोर्नुमा कुनचाहिँ विशेषता हो, जीवन प्रश्न-चिन्ह भइदिन्छ । सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा र चक्रपाणी चालिसेलाई परेको भन्दा पनि चर्को चोटले म आफूलाई दोश्रो विश्व-युद्धको हिरोशिमा जस्तै जिन्दगीमा पाउँछु । किनकि पितृ-शोक ओकल्ने हृदयलाई पुत्र-शोक…….”
उनको शोक जेठो छोराको छोराको अवसानमा टुङ्गिएन, उनको कान्छो छोराको पनि पोखराको पाताले छाङ्गोमा भएको अकल्पनीय रहस्यमय मृत्युले उनी पुन : आहत भए । जेठो छोराको शोकको खाटामाथि कान्छो छोराको शोकको आलो चोटले उनी पुन: मर्माहत भए र उनको कलमले लेख्नु पर्यो- “मेरो रुमु” अर्को शोककाव्य ।
सम्भवत: कुनै नेपाली कविले ४ वटा शोककाव्य रचना गरेको घटना दुर्लभ हो, त्यो दुर्लभ कर्म भरतराज पन्तबाट भयो ।
उनी शोकमा मात्र हैन मुटुमा गाँठो पारेर हाँस्यरसका कविता लेख्न पनि पछि थिएनन् । हाँस्यव्यङ्ग्य कवि गोष्ठीमा उनले दमदार प्यारोडी सुनाएको मैले सुनेको छु । उनको कलम अनुवादमा पनि सक्रिय थियो ।
यस्ता कविको वि.सं २०६५ वैशाख १८ गते देहावसान भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

