मूल लेखक: मुमताज मुफ्ती

अनुवाद: गायत्री विष्ट

केटीहरूको अन्तिम टोली कुटीबाट बाहिर निस्कियो । देउरालीबाट ओर्लिएर समूहसमूहमा कुरा गरिरहेका थिए । फिजा तिनीहरूको कुराले दिक्क थिइन् । उनी जवानीले भरिएकी थिइन्, दुःखका कारण उनलाई आफ्नो जवानीको जानकारी नभएको जस्तो अनुभव हुन्थ्यो । जब बारम्बार जगन ज्योतिषीलाई एक्लै भेट्दा उनी दुःखले भिजेकी हुन्थिन् ।

एक पटक लामो सास लिएर भनिन्, “ज्योतिषीजी, हेर्नुहोस् त मेरो विवाह हुन्छ कि जिन्दगी एक्लै गुजारा हुन्छ ।” दोश्रीले भनिन्, “के मैले मन पराएकोसँग मेरो मिलन हुन्छ । समाजका कोही दुष्टले रुवाउँछन्, कोही कठोर आमाबाले ।”

यस्तो किन हुन्छ भनेर जगन ज्योतिषीले सोचिरहेको थियो । मिलेर बस्यो भने जिन्दगी अझै सुखले भरिपूर्ण हुन्छ तर एक्लो हुँदा दुःखले चुरचुर हुन्छ । यो कस्तो रहस्य हो, सोच्दासोच्दै ऊ कुटीबाट बाहिर निस्किए‌को थियो ।

अगाडि मेचमा बन्वारी बसेको थियो । चिन्तित भएर गहिरो सोचमा डुबेको थियो, तर यसले के सोचेर बसिरहेको छ, यो त भावनाको दास हो, उसलाई सोचाइसँग के मतलब !

पन्ध्र-बीस दिनको कुरा हो बन्वारी आफ्नो भाग्यको बारेमा जान्नका लागि जरान ज्योतिषीको कुटीमा आएको थियो । उसले एउटा अनौठो खालको प्रश्न सोधेका थियो, “ज्योतिषी मेरो हात हेरेर भन्नुहोस्… मेरो जीवनमा बाहिर हेर्दा जस्तो देखिन्छ त्यस्तै व्यवहार भएकी केटी भेटिन्छे ? म त्यस्तो केटीको खोजीमा छु । के मेरो त्यस्ती केटीसँग भेट हुन्छ ?”

यस्तो प्रश्न सुनेर जगन हैरान भएको थियो । यस्तो कुरा कसैले सोधेका थिएनन् । ज्योतिषीले गम्भीर भएर उसको निरीक्षण गरेको थियो । ऊ राम्रो र जवान थियो तर सिँगारपटारमा चासो नराखेकाले उसको अनुहारमा देखवटी चमक थिएन । धुसे अनुहार, खोसलिएको कपाल र बाक्लो कपडा ।

त्यस ग्राहकलाई फुस्ल्याउने तरिका जगन ज्योतिषीलाई फुरेन । रनभुल्लमा परेको मानिस रहेछ, अझै रनभुल्लमा पारिदियो भने कुरा बन्छ भन्ने सोचेर उसले भन्यो, “पहिले यो बताउनुहोस्, तपाईंको हेराइ नराम्रो भयो कि उनको हेराइ ।”

“होइन, होइन, होइन मेरो नजर नराम्रो छैन । म चश्मा लगाएर हेर्दिनँ । सबै झगडा महिलाको नजरको हो ।” बन्वारीले भन्यो ।

जगनले भन्यो, “मेरो भाइ हेराइ देखिने खिचडीजस्तो होइन, चामल बेग्लै, दाल बेग्लै । त्यो त सज्जनजस्तै हुन्छ । पानीमा चिनी घोलेपछि छुट्टयाउन सकिंदैन ।” जगनले उसलाई रनभुल्लमा मात्र पारेन ऊ बहकियो पनि । ग्राहकलाई बहलाउनु हरेक ज्योतिषीको गुण हो ।

अन्त्यमा जगन बोल्यो, “तपाईंले त्यस्तै केटी पाउनुहुनेछ जस्तो हेराइमा देख्नुहुन्छ र तपाईंहरू दुवैको दिन हाँसीखुसी गरेर रमाइलोसँग बित्नेछ ।”

उसले भन्यो, “कहिले भेटिन्छे ऊ ? पाँच वर्ष भइसक्यो म गल्लीगल्ली र टोलटोलमा भौंतारिरहेको छु । तर आजसम्म फेला परेकी छैन ।”

जगनले भन्यो, “फेला पर्छ । छिट्टै फेला पर्छ । तपाईं किन यताउता भौतारिनुहुन्छ, यहीं बस्नुहोस् । यहाँ केटीको भीड लागिरहन्छ ।”

“हो । यहाँ बसेर के काम गर्नु ?” बन्वारीले भन्यो ।

“के गर्नु ? यताउता भौंतारिनुभन्दा मेरो चेला बन्नुहोस् जो केटी आउँछे उसको अन्तर्वार्ता लिनू, उसको इच्छा के हो सोध्नू फेरि उसको पर्चा बनाएर त्यस केटीलाई दिनू म तपाईंले पर्चा दिएको केटीसँग मात्र भेटुँला ।” बन्वारीको भाग्य खुल्यो ।

जगनले निर्णय लिनका लागि भन्यो, “जुन दिन तपाईंले त्यसलाई भेट्‌नुहुन्छ त्यो दिन ढुक्क भएर फर्कनुभए हुन्छ ।”

बन्वारीले सोध्यो, “तपाईंको फिस कति हो भन्नुहोस् ।”

जगनले भन्यो, “पर्दैन चेलासँग पनि कहीं फिस लिन्छन् त ।”

बन्वारी अचम्मको मानिस भएको सोच्यो जगनले । के सोचिरहेको छ यो बन्वारीले भन्ने सोच्दै जगन बन्वारीको नजिक गएर बोल्यो, “के सोचिरहनुभएको ?”

बन्वारीले लामो सास फेरेर भन्यो, “आफ्नो भाग्यमा सोच्नुबाहेक केही लेखेको छैन ।”

“किन, पैसाको चिन्ता लाग्यो ?”

“होइन, ज्योतिषी पैसा त बन्वारीको हातको मयल हो, जति चाहे पनि कमाइ हुन्छ । हिजो राति तीन सय कमाएको थिएँ ।”

“के काम गर्नुहुन्छ तपाईं ?”

घुम्ती पसल राख्ने गरेको छु । दुई घण्टामा जति बनाए पनि सबै बिक्री हुन्छ । भगवान्‌को कृपाले कहिले बन्वारीले ल्याउला भनेर ग्राहकहरूले कुरिरहेका हुन्छन् ।”

“के बनाउनुहुन्छ तपाईं ?” जगनले सोध्यो ।

“पहिले कफी बनाउँथे । फेरि एक दिन बाले भन्नुभयो – सुन, बन्वारी त्यो सामान नबना जुन सामानको माग घटेको छ, त्यो बना जुन चल्तीमा आएको छ । मैले के बनाऊँ भनेर साधेपछि बाले भन्नुभयो – तिमीले आफै थाहा पाउनेछौ ।”

“फेरि थाहा पाउनुभयो त ?” जगनले सोध्यो ।

“केही दिन अगाडि मन उदास भएर बाहिर निस्कन मन लागेको थिएन । हिलटप होटेलको बेयरा यताबाट हिँडेकाले केटालाई मैले केही खानेकुरा पठाइदिनुहोस् भनेको थिएँ । बाहिर जाने मन छैन आज । उसले बर्गर पठाइदिएको थियो । त्यो खान लाग्दा बाको कुरा सम्झिएँ केके मसला राखेको रहेछ भनी खोतलेर हेरेपछि एक हप्ता बर्गर बनाएर परीक्षणका लागि पहिले सधैं पसल राखेको ठाउँमा लाँदा पर्यटक र बच्चा ग्राहकको भीड लाग्यो । होटेलवालाले बीस रुपियाँ लिन्थे । मैले दश रुपियाँ लिएँ । ज्योतिषी, पैसाको मामिलामा मलाई जति चाहेको कमाउनु भनी मप्रति भगवान्‌को कृपा छ तर कमाइको फाइदा, घरजम नभएपछि कमाएको के काम ?”

“तपाईं यति धेरै निराश किन बन्नुहुन्छ ?” जगनले सोध्यो ।

“तपाईंलाई थाहा छैन, ज्योतिषी । म त्यो बच्चा हुँ जो गुँडबाट भुइँमा खसेर बिच्चलीमा पर्छ ।”

“यस्तो प्रतीकात्मक कुरा किन गरेको मसँग ? मलाई भन्नुहोस् तपाईंको जीवनमा के भएको थियो ?” जगनले सोध्यो ।

“के भनूँ ज्योतिषी पहिलो पाइला नै गलत ठाउँमा पर्‍यो । यस्तो सम्झनुहोस् पहिलो ईंट नै टेडो पर्‍यो अब त्यसले इनार बनाउँदा टेडो नै हुन्छ ।

“तेरो प्रेम बस्यो कोहीसँग ?” ज्योतिषीले सोध्यो ।

“हो । नराम्रोसँग घाइते भएँ । तर दुर्भाग्य कुनै जल्दीबल्दी केटीले घाइते भएको भए म सामना गर्दथे कुनै न कुनै तरिकाले, त्यो केटीको अस्तित्व नै थिएन ।”

“यस्तो कसरी हुन सक्छ ?” जगनले सोध्यो ।

“यही त भयो ज्योतिषी ।”

034त्यो केटी नाटकमा बाँचेकी थिइन् जबसम्म नाटक चल्थ्यो उनी उड्थिन्, बस्थिन्, घुमफिर गर्दथिन्, कुराकानी गर्दथिन्, नाटक सकिँदा उनी पनि सकिन्थिन् । तर मेरो दिमागमा गोबर भरिएको थियो। जो केटी नाटकमा कुमारी बनेकी हुन्छे त्यो कुमारी नै हो भन्ने मैले सोचेको थिएँ । बस् उसको वरिपरि घुमिरहेको थिएँ । बडा लज्जित भएँ ।”

बन्वारी चुप लाग्यो । धेरैबेरसम्म उसले बितेको कुरा बताइरह्यो । डिस्कोमा मौनता छाइरह्यो ।

बन्वारी भावविह्वल भएर बसेकाले ठट्टा गरेर उठाउनु ठीक होइन भन्ने सोच्यो जगनले । जगन आफै घाइते भएकाले जवानीको गल्तीको घाउले जीवनभर नाता जोडेको हुन्छ भन्ने उसलाई थाहा थियो । त्यसैले ऊ पनि मौन थियो । धेरै समय मौनतामा बित्यो ।

फेरि बन्वारीले टाउको उठाएर भन्यो, “केही गरी ऊसँग भेट नभएको भए राम्रो हुन्थ्यो । भेट हुँदा एकै नजरमा थाहा भयो कि उनी वेश्या रहिछिन् । कुमारी होइन, वेश्या पनि दुई पैसाकी । यस्तो पोथ्रा जहाँतहीं फोहोर चुच्चाले दागैदाग लगाएको थियो । बस् थाहा पाएँ कुमारी एउटा कुरा, जीविका अर्को कुरा र कुमारीको अस्तित्व नै राखेकी थिइनन् । उनलाई कसरी खोजूँ ?”

फेरि ऊ मौन भयो । कुटीवरिपरि बत्तीहरू निभेका थिए । हावा चलिरहेको थियो र रातले आफ्नो कालो स्वरूप देखाएर फैलिएको थियो । मूल सडक पनि सुनसान भइसकेको थियो ।

लामो समय बित्यो । उनीहरू दुवै चुपचाप बसिरहेका थिए । फेरि बन्वारीले टाउको उठाएर आफ्नै सुरमा गुनगुनायो । लामो सास फेरेर भन्यो, “नाटकमा कुमारीले एउटा गीत गाउने गर्दथी ।”

“प्रिय घर लैजाऊ… ।” भद्दा तर भिजेको स्वरमा उसले गीतको अन्तरा गुन‌गुनायो ।

“जब यो गीत उनले गाउँदथिन् म मरेतुल्य हुन्थें । दिनहुँ नाटक हेर्दथें र दिनहुँ मरेजत्तिकै हुन्थें । फेरि एक दिन नाटकका टोली यहाँबाट गए, र जाँदाजाँदै यो दुई लाइन मेरा लागि बोलेर गए । दुई वर्षसम्म यो गीत गुनगुनाउँदै म घुमिरहें, पागलजस्तै गरी गल्लीगल्ली र बजारबजारमा । एक दिन जब म थाकेर एउटा बङ्गलाको झ्यालमुनि सुस्ताइरहेको थिएँ कि बङ्गलाभित्र कसैले यही बोलको गीत गुनगुनाइरहेको थियो। सुनेर पागल भएँ । कुमारीको शरीरमा ज्यान भरिएको जस्तै लाग्यो । बङ्गलाको चौकीदारलाई भेटें । बङ्गलामा कुनै बटुवा र उसकी श्रीमती बसेको थाहा पाएँ। मैले एक पटक त्यस महिलासँग भेटाइदे भनेर चौकीदारसँग अनुरोध गरें तर त्यसले मानेन । मैले त्यसको मुट्ठी गह्रौँ गरिदिएपछि त्यसले मान्यो ।

बाहिरको ढोकामा आएर रिसाउँदै महिलाले भनिन्, ‘को हो तपाईं, के चाहनुहुन्छ ?’

मैले भनें, ‘महाशय तपाईं नरिसाउनुहोस् । म केही चाहन्नँ । अहिले भर्खर तपाईंले गुनगुनाइरहनुभएको गीतको म प्रेमी हुँ ।’

‘फेरि मैले के गर्नुपर्यो ?’ तिनले रिसाएर भनिन् ।

‘तपाईंले यो बोलको गीत कहिलेकाहीँ गुनगुनाइदिनुभए मेरो जीवन सम्हालिने थियो ।’

रिसाएर उनी फर्किन लाग्दा मैले बिन्ति गरेर भनें, ‘सुन्नुहोस् म बङ्गलाभित्र आउँदिन बाहिर झ्यालमुनि बसेर सुन्ने गर्छु । मप्रति दया गरेर तपाईंले दिनको एक पटक गुनगुनाइदिनुहोस् ।’

हसिनाले मेरो कुराको उत्तर दिइनन् । उनको नाम हसिना थियो । एक हप्ता पूरै मैले उनको झ्यालमुनि बसेर बिताएँ तर उनले मलाई घाँस हालिनन् ।”

बन्वारीले लामो सास लिएर भन्यो, “फेरि उनलाई मप्रति दया लाग्यो । एक दिन उनी झ्यालमा आएर उभिएर प्रिय घर लैजाऊ…। भन्ने गीत गुनगुनाउन लागिन् । यति डुबेर गाइन् मेरो मन लट्ठियो ।

फेरि यस्तो भयो, म त्यहाँ पुगेर झ्याल ढकढकाइदिन्थें र उनले मलाई गीत सुनाउँथिन् ।

फेरि उनले झ्याल खोलेर मसँग कुरा गर्नका लागि र एक दिन बूढाकी श्रीमती नभएर त्यसले मनोरञ्जनका लागि उनलाई राखेको रहेछ भन्ने मैले थाहा पाएँ । मलाई उनीप्रति दया लाग्यो । उनलाई केही दिन मन लाग्यो । दुई दिनसम्म शहरमा घुमेर उनका लागि एउटा हार किनें । हार देखेर हसिनाको आँखा आँसुले भरियो । भनिन्, ‘बन्वारी, तिमी यस्तो नगर बरु लोग्नेमानिसले कहिल्यै यस हसिनालाई चिनेका थिएनन् । म बिक्री भइसकेकी सामान हुँ भन्ने कुरालाई पनि तिमीले बिर्साइदियौ । तिमीले उपहार दिएको मलाई राम्रो लाग्दैन ।’”

“ज्योतिषी,” बन्वारीले भन्यो, “दुई महिनासम्म हामीले भेट गरिरह्यौं । ती दिन कस्ता थिए ।” फेरि ऊ मौन भयो ।

“एक दिन उनले प्रेमपूर्वक भनिन्, ‘बन्वारी किन आफ्नो ज्यान लुटाइरहेका छौ । तिमीले मलाई के देख्यौ ?’

मैले भनें, ‘केही देखेर नै त म झुमिरहेको छु ।’

‘सुन बन्वारी, म त्यो होइन जे तिमीले देखिरहेका छौ ।’

‘किन होइन तिमी ।’

‘केवल म मात्र होइन । कुनै पनि महिला देखिएजस्ती हुन्नन् ।’

‘तर किन ?’ मैले सोधें ।

‘किन हो मलाई थाहा छैन । तर महिला देखावटी बन्न बाध्य हुन्छन्, कसैले ऊभित्र रजाइँ गरिरहेको हुन्छ । भन्छन् दुःखी, वैराग भएर बस्दा आफूले आफैलाई हेर्न मन लाग्दैन, फेरि हेर्नका लागि बाध्य पारिदिन्छन् । रोएर बसेको भए पनि जबरजस्ती ओठमा मुस्कान ल्याउनुपर्छ ।’

फेरि अन्तिम पटकको भेटमा उनले भनिन्, ‘बन्वारी, तिमी एक जना यस्तो लोग्नेमानिस हौ, जो मलाई भेट्न लोग्नेमानिसको रूपमा आएनौ । वासनापूर्ति गर्ने हिसाबले हेरेनौ ।’

मैले भनें, ‘हेर । पहिलो पटक त्यस दिन उनलाई मैले हसिना भनेर बोलाएको थिएँ ।’ मैले फेरि भनें, ‘मैले तिमीलाई कहिल्यै आँखा उघारेर पनि हेरेको छैन, आँखा चिम्लिएर तिम्रो छेउमा बस्ने गरेको छु र कोही मेरो आफन्त छ जसले मेरो साथ दिइरहेको छ जस्तो मलाई लागेको छ । घरमा एक्लै बसेको बेलामा पनि तिमी मेरो साथमा हुन्छ्यौ । यी दिनहरूमा म त कहिल्यै एक्लो भएको छैन ।’

हसिनाले भनिन्, ‘बन्वारी, तिमी मेरो हृदयमा बसिसकेका छौ । थाहा छैन, म तिमीबिना बाँच्न सक्छु वा सक्दिनँ । तर तिमीले मनोरञ्जनको रूपमा लिएको भए तिमी मेरो हृदयमा बस्न सक्ने थिएनौ ।’”

“हसिनाले अन्तिम पटक मसँग भेट गरिरहेकी छिन् भन्ने मलाई थाहा थिएन ।” बन्वारीले भन्यो, “अर्को दिन म बङ्गलामा जाँदा बङ्गला खाली थियो । फेरि आवाराजस्तै भएर घुम्दाघुम्दै म तपाईंकोमा आएँ ज्योतिषी ! ज्योतिषीसँग सोध्छु भन्ने सोचेर यहाँ आएँ । तपाईंले उनी अवश्य भेटिनेछिन् भनेर मलाई हौस्याउनुभयो । त्यसैले आशा जगाएर म यहाँ बसिरहेको छु ।” ऊ लामो सास लिएर मौन भयो ।

धेरैबेरसम्म दुवै जना मौन बसिरहे । “हे ईश्वर। होइन, होइन, होइन ।” कसैले जबरजस्ती बोल्न बाध्य बनाएजस्तै गरी जगन चिच्च्यायो ।

बन्वारी झस्कियो, “के होइन ।”

जगनले भन्यो, “म पनि त्यो होइन, जे तपाईंले देख्नुभएको छ । म ज्योतिषी होइन । भोलि के हुन्छ मलाई थाहा छैन । हातको रेखाले के बताउँछ मलाई थाहा छैन । मैले ज्योतिषीको स्वाङ गरेको मात्रै हुँ । म मानिसलाई त्यही भनिदिन्छु जुन उनीहरू सुन्न चाहन्छन् । तपाईंको मन राख्नका लागि मैले उनी अवश्य भेटिनेछिन् भनिदिएको हो ।”

यस्तो कुरा सुनेर बन्वारीलाई चोट लाग्यो । भन्यो, “यस्तो कुरा भए म यहाँ के आशाले बसेको छु ।”

“मैले आफूले आफैंसँग सोधिरहेको छु जगनजी, तपाईं यहाँ के आशाले बस्नुभएको छ ? यो प्रश्नको उत्तर मैले कहिल्यै पाइनँ । यस धुनीबाट केही प्राप्त हुँदैन भन्ने जान्दाजान्दै पनि हामीले धुनी जगाएर बसेका छौं जस्तो लाग्छ । फेरि पनि बसिरहेका छौं ।”

जगनले चिसो लामो सास तान्यो र आफ्नो कथा भन्न लाग्यो, “म पनि प्रेमको चक्करमा फसेको मानिस हुँ । उनलाई देख्नासाथ म तनमनले उनको भएको थिएँ । उनी पनि मेरी भएकी थिइन् । हामी दिनहुँ भेट्थ्यौं । एक वर्षपछि उनले मेरो कुरा मानेर उनी मेरी भएकी थिइन् । हामीले विवाह गर्यौं । दुई जना बच्चा मिलेर खेलेजस्तै गरी एक वर्षसम्म हामी एक भएर बसेका थियौं । फेरि एक दिन मलाई छोडेर उनी दोजेसँग भागिन् । एउटा पत्र लेखेर छोडेकी थिइन् । लेखिएको थियो, मैले तपाईंलाई जस्तो देखेको थिएँ त्यो मानिस तपाईं होइन भन्ने थाहा पाएँ । मेरा हेराइमा गल्ती भयो । म जाँदै छु । मेरो खोजी नगर्नू ।”

जगन मौन भयो । धेरैबेरसम्म दुवै जना मौन बसिरहे । फेरि जगनले कुरा गर्न शुरू गर्दै भन्यो, “आमाले छोरा म तिम्रो दोस्रो विवाह गरिदिन्छु । घरबार गरेर बस भन्नुभयो । मैले भनें – गर्दिनँ मेरो मन ठीक ठाउँमा छैन । मलाई जान दिनुहोस्, आवारा बनेर घुम्दा मन ठीक ठाउँमा आउँछ कि फेरि गाउँमा जोगी बाबा आउनुभयो । फिरन्ते भएर नघुम्नू, घरबार गरेर बस्नू भनी सम्झाइदिनुहोस् बाबा भनी आमाले सबै कुरा त्यसलाई सुनाउनुभयो । जोगी बाबाले सबै कुरा सुनेपछि टाउको फुकाउनुभयो । धेरैबेरसम्म चुप लागेर बस्नुभयो । फेरि भन्नुभयो – हुँदैन बहिनी, हुँदैन उसलाई नरोक्नुहोस् । उसलाई जान दिनुहोस् शायद बाहिर गएर ऊ फेरि प्रेमको चक्करमा फसोस् । हेराइको चक्करमा नफसेसम्म यसको घरबार हुँदैन ।

मैले सोधें, ‘बाबा । यो प्रेमको चक्कर के हो ?’

‘छोरा, यो प्रेमको चक्कर एउटा पर्दा हो ।’

‘केको पर्दा, कसको पर्दा ?’ मैले सोधें ।

‘छोरा जसले कुराकुरामा देख्छ । जसले पाइलापाइलामा देख्छ, त्यो हामीद्वारा देखिन चाहँदैन । त्यसैले हाम्रो ध्यान उता नजाओस् यतै मात्र जाओस् भनेर उसले हामीलाई प्रेमको चक्करमा पारेको हुन्छ ।’

‘जसको ध्यान प्रेमको चक्करमा परेन भने उसलाई के हुन्छ बाबा ?’ मैले सोधें ।

‘प्रेमको चक्करबाट टाढा रहेपछि कोही पनि रहँदैन । न म हुन्छु, न तिमी । न दुःख, न सुख । न उज्यालो, न अँध्यारो ।’”

ठीक त्यसै समयमा टाढाबाट उज्यालोको किरण चम्कियो ।

दुवै जना सतर्क भए । कोही आइरहेको थियो । उसको हातमा टर्चलाइट थियो । बङ्गलाको चौकीदार बन्वारीको अगाडि आएर उभियो र भन्यो, “उहाँले तपाईंलाई साँझदेखि खोजिरहनुभएको छ ।”

हसिना बन्बारीको नजिक आएर उभिइन् र भनिन्, “बन्वारी, म आएँ । आएदेखि बस्न नै सकिनँ । विवश भएँ । अब चाहे तिमीले चिन वा नचिन । उनले मेचमाथि बसेर भनिन्, ‘नजा भनेर मैले आफूलाई धेरै सम्झाएँ ।”

“किन ?” बन्वारीले भन्यो ।

हसिनाले आफ्नो शिर बन्वारीको काखमा राखिन् र सुरिलो आवाजमा गुनगुनाउन लागिन्, “प्रिय घर लैजाऊ…।” उनको सुरिलो मीठो स्वरले पानीका थोपा बर्सिरहेजस्तै अनुभव भइरहेको थियो ।

(गायत्री विष्टको ‘उर्दू कथा नेपालीमा’बाट)