प्रवासी प्रवाहले आफ्नो एकाइसौं श्रृङ्खला सम्पन्न गरेको छ । राधा उपन्यासका लागि मदन पुरस्कार विजेता तथा लीला लेखनमा अग्रणी भूमिका निभाउँदै आएका अग्रज साहित्यकार कृष्ण धरावासीको प्रमुख आतिथ्यतामा उक्त शृंखला सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै धरावासीले भने, “२०४६ पछि नेपाली डायस्पोरा विश्वभर फैलिँदै गएको हो र हाल संसारको कुनाकुनामा पुगेको छ । अलि टाढा र दुर्गम सोचिएको अफ्रिकामा पनि नेपाली श्रस्टाहरूले नेपाली साहित्य लेखिरहेको र पुस्तक प्रकाशन गरिरहेको भन्ने जानकारी पाउँदा असाध्यै खुशी लागेको छ ।”

संसारभर नेपालीहरू फैलिएर आफ्नो जीविका आर्जन मात्र नगरी नेपाली भाषा, संस्कृति तथा जातीय गौरव पनि फैलाइरहेको मत धरावासीको थियो । उनले अगाडि भने, “प्रवास बसाइको अवधिमा जे जति नेपाली साहित्यकर्मीहरूले गरिराखेका छन त्यो अवश्य पनि सोचेभन्दा एक पाइला अगाडि छ ।”

धरावासी आफैँ पनि केही समय अमेरिका बसी फर्किएका हुन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अमेरिकास्थित उपाध्यक्ष महेश्वर पन्तले समितिले यस कार्यकालमा गरिरहेका कार्यहरूको बारेमा जानकारी गराउँदै आफ्ना कविता र गजलहरू सुनाएका थिए । त्यसैगरी कर्णालीको जुम्लामा जन्मिएर सन् १९९२ देखि बेलायतमा बस्दै आएका साहित्यकार सुरेशजङ्ग शाह, अस्ट्रेलियामा बस्दै गरेका साहित्यकार केशव शर्मा र नेदरल्यान्डमा बस्दै गरेका कवि धुब्रकुमार सापकोटाले आआफ्ना अनुभव र सिर्जनाहरू वाचन गरेका थिए ।

नेपालबाट भगवती बस्नेतले संचालन गरेको उक्त अनलाइन कार्यक्रम प्रवासी प्रवाहको एक्काइसौं श्रृङखला रहेको थियो ।