१९ वर्षमुनिका गैरआवासीय नेपाली युवाहरूबीच आउँदो श्री पन्चमीका अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । गैरआवासीय नेपाली संघको भाषा , साहित्य , संस्कृति तथा सम्पदा प्रवर्द्धन समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) का पदाधिकारीको संयुक्त अनलाइन बैठकले संयुक्तरूपमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतियोगितामा प्रथम हुने कविलाई रु. एक लाख र प्रमाणपत्रले पुरस्कृत गरिने छ । त्यसैगरी द्वितीय हुनेलाई पचास हजार, तृतीय हुनेलाई पच्चीस हजार र अङ्ग्रेजी विधातर्फका उत्कृष्टलाई पच्चीस हजार र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

कार्यक्रम आयोजना गर्न गठन गरिएको संयुक्त समितिको संयोजकमा सर्बज्ञ वाग्ले (अमेरिका) र सदस्यहरू महेश्वर पन्त (अमेरिका), तिर्थ सङ्गम राई (कतार), डा. केशव शर्मा (अस्ट्रेलिया), बिमला निरौला (अमेरिका) , गणेश खडका (अफ्रिका), गिरिजा गैह्रे (जापान), बिष्णुमाया बिभु (नर्वे) र महता घिमिरे चापागाईं (अस्ट्रेलिया) रहेका छन् । त्यसैगरी समितिको सल्लाहकारमा प्रा. डा. हेमनाथ पौडेल (नेपाल प्रज्ञा प्रतिष्ठान) , गैरआवासीय नेपाली संघका भाषा , साहित्य , संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइला रहेका छन् ।

बैठकमा अनेसासका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, महासचिव सर्बज्ञ वाग्लेलगायत पदाधिकारीहरू र एनआरएनए भाषा , साहित्य , संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापा , उपाध्यक्षहरू महेश्वर पन्त, हरि पौडेल , बेलुकाजी थापा , सदस्य सचिव भगवती बस्नेतलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैठकले नेपाली भाषा र साहित्यको प्रबर्द्धनका लागि आगामी दिनहरूमा संयुक्तरूपमा कार्यक्रमहरू गर्दै लैजाने विषयमा समेत छलफल गरेको थियो ।